शीतयुद्धको जीवित इतिहास बर्लिनको पर्खाल ढलेको हिजो सोमबार कात्तिक २४ गते अर्थात् नोभेम्बर ९ मा ठीक ३१ वर्ष पुग्यो । पुँजीवादी स्वतन्त्र विश्व र साम्यवादी विश्वबीच विभाजन र द्वन्द्वको बिम्ब बनेको उक्त पर्खाल युरोपमा पूर्वी जर्मनी र पश्चिमी जर्मनीलाई विभाजन गर्न तत्कालीन साम्यवाद केन्द्र सोभियत सङ्घले बनाएको थियो । पूर्वी जर्मनीमा स्टालिनवादी एकदलीय शासन प्रणाली थियो भने पश्चिमी जर्मनीमा उदार प्रजातन्त्रवादी शासन थियो । ४५ किलोमिटर लामो यो पर्खाल सन् १९६१ मा बनाइएको थियो । जसलाई पार गरेर भाग्न खोज्दा हजारौं मानिस गिरफ्तार भए भने कतिले मृत्युवरण गरे । साम्यवादी पूर्वीय जर्मनीमा स्वतन्त्र थिएन, दमन थियो । त्यस दुष्चक्रबाट भाग्न खोज्नेहरूका लागि रोक्न बनाइएको यो पर्खाल शीतयुद्धको बिम्बका रूपमा सन् १९८९ सम्म रहिरह्यो ।
‘गोर्वाचोभ महोदय यो पर्खाल ढाल्नुस्’ भनेर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन गर्जिएको केही समयपछि उक्त पर्खाल बिना कुनै रक्तपात ढल्यो । लाखौं मानिसहरूबीच विभेदको रूपमा रहेको यो पर्खाल ढलेपछि स्वतन्त्र विश्व खुशी भयो । पूर्वी युरोपबाट विस्तारै साम्यवादी शासन प्रणालीहरू समाप्त भए । बाल्टिक राज्यहरू स्वतन्त्र भए । सन् १९९१ सम्म आइपुग्दा सोभियत साम्यवाद पतनमात्र भएन, उक्त राष्ट्र नै विघटन भयो । बीसौं शताब्दीकै मूलस्वर स्वतन्त्रता हो भन्ने इतिहास रचियो । हुन त सन् १९८५ मा सत्ता आएपछि सोभियत नेता मिखाइल गोर्भाचोभले पुनःनिर्माण र खुलापनको कार्यक्रम ल्याएका थिए । सोभियत साम्राज्य आर्थिक सङ्कटमा फसेको थियो । उक्त भूराजनीति विश्वबाट पछि हट्दै गएको केही समय भएको थियो । अमेरिकीहरूले नेतृत्व गरेको स्वतन्त्र विश्वको विजय भयो जुन शीतयुद्धको अन्त्य भनेर मानवजातिको इतिहासमा अङ्कित छ ।
करिब ४५ वर्ष लामो वैचारिक ध्रुवहरूको यो द्वन्द्व युरोपमा बढी केन्द्रित थियो । दोस्रो विश्वयुद्धपछि चर्किएको यो द्वन्द्वका क्रममा हङ्गेरी र चेकोस्लाभाकियाले सोभियत साम्यवादको हस्तक्षेपमा कम्युनिष्ट शासन अन्तर्गत रहनुप¥यो । पोल्याण्ड, रुमानिया, अल्बानिया आदि राष्ट्रहरू साम्यवादी भए । युगोस्लाभिया आफ्नै प्रकारले साम्यवादी बन्यो । पूर्वी युरोप, साम्यवादी र पश्चिम युरोप पुँजीवादी बने । पूर्वी जर्मनीका जनता पश्चिमी जस्तै स्वतन्त्र र सम्पन्न बन्न चाहन्थे । तर, त्यसलाई बर्लिनको पर्खालले रोक्यो । बर्लिनको पर्खाल ढलेपछि पूर्वी जर्मनीका अन्तिम शासक एरिक होनेकरले क्युवामा शरण लिए । वर्तमान रुसका राष्ट्रपति बर्लिन पर्खाल ढलेको बेला पूर्वी जर्मनीको ड्रेसडेन सहरमा केजीवी गुप्तचर संस्थाको अधिकारी थिए । शीतयुद्ध अन्त्यलाई बीसौं शताब्दीको ‘ठूलो भूराजनीतिक विध्वंश’ भन्ने पुटिन अहिले शीतयुद्धकालीन आफ्नो राष्ट्रको वैभव फर्काउन लागिपरेका छन् । शीतयुद्धको अन्त्यलाई प्रसिद्ध हावर्ड विश्वविद्यालयका प्राध्यापक स्यामुअल हण्टिङ्टनले प्रजातन्त्रको तेस्रो लहर भने । उनले ‘थर्ड वेब’ पुस्तक नै लेखे ।
अर्का राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले यस घटनालाई ‘इतिहासको अन्त्य’ भनेर नामाकरण गरे । प्रजातन्त्र र बजार अर्थ प्रणालीलाई नै विश्वको अन्तिम शासन पद्धति भनी ठोकुवा गरे । तर, त्यो सत्य साबित भएन । संसार अहिले एकाधिकारवादतर्फ फर्किरहेको छ । उदार प्रजातन्त्र सङ्कटमा छ । मानवजाति प्रविधि सभ्यतामा प्रवेश गरिरहेको छ । इतिहासको अन्त्य भविष्यवाणीबाट फ्रान्सिस फुकुयामाले नाम र बदनाम दुवै कमाए । उक्त घटनापछि पूर्वी युरोपलगायत विश्वका कयौं राष्ट्रहरूले खुला बजार र प्रजातान्त्रिक पद्धति अपनाए । जसलाई अर्थशास्त्रीहरूले नवउदारवाद भन्छन् । यसले आम जनताको जीवनस्तर उकास्न सकेन । केही सीमित मालिकहरूमा अपार सम्पत्ति थुप्रियो । प्रजातन्त्र चलाउनेहरू नै यसलाई बिगार्न उद्यत बने । पूर्वी युरोपभरि लोकप्रियतावाद हाबी छ । युरोपियन युनियन मरिरहेको छ भने बेलायत युरोपबाट निस्कने सकसमा छ । अमेरिका डोनाल्ड ट्रम्पको जातिवादी, अनुदारवादी र लोकप्रियतावादी शासनको सिकार भएको छ । पश्चिमी विश्व व्यवस्थाको ‘प्रोजेक्ट’ धरासायी भएको छ । शीतयुद्धको अन्त्यपछि जुन आशा देखिएको थियो, त्यो अहिले निराशा, विभाजन र शासनको सङ्कटको रूपमा देखापरेको छ । यो ३१ वर्षमा एउटा पुस्ता हुर्किएको छ ।
जसलाई बर्लिनको पर्खाल ढलेको सम्झना छैन । सूचना र प्रविधि क्रान्तिले सकारात्मक कुराहरू ल्याएपछि यसले मानिसलाई एक्लो विभाजनकारी बनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगले प्रजातन्त्रलाई सङ्कटमा पारेको छ । यस्तो बेला बर्लिनको पर्खाल ढलेको ३१ वर्षलाई कसरी लिने ? जर्मनीकी चान्सलर एञ्जेला मार्केलले यस उपलक्ष्यमा बोल्दै पर्खालको पतनले जर्मनीको एकीकरण सम्भव भएको बताइन् । उनले प्रजातन्त्र, मानवअधिकार र कानूनको शासनमा जोड दिँदै स्वतन्त्रताको मूल्य खेलाँची नभएको बताइन् । जर्मनीको पर्खाल ढलेको घटनाले नेपालमा पनि एउटा सपनाको जन्म गराएको थियो । यही क्रममा ३० वर्ष लामो एकदलीय पञ्चायती व्यवस्था समाप्त भई प्रजातन्त्रको स्थापना भयो । तर, विरोधाभाषमा पो छ कि विश्वका साम्यवादी पतन हुँदै गर्दा नेपालका साम्यवादी पञ्चायत ढाल्न सहायक बने । अहिले १० वर्ष ‘जनयुद्ध’ गरेको माओवादी घटक पनि प्रजातन्त्रीकरणसँगै सत्तामा छ । यहाँका साम्यवादी दलहरू विचारको राजनीति नगरेर प्रजातान्त्रिक संविधान अन्तर्गत छन् । पञ्चायत ढलेको ३० वर्षपछि पनि नेपाली जनताको जीवनस्तर भने उठ्न सकेको छैन । प्रजातन्त्र स्थापनापछि नेपालमा अपनाइएको आर्थिक नीति नवउदारवादले कल्याण गरेन । सीमित व्यक्तिहरू धनी बने । यस्तो परिस्थितिमा शासन गरिरहेका साम्यवादी भन्नेहरू उदार प्रजातन्त्र अन्तर्गत नै छन्, जसलाई हेगलवादी चिन्तक स्लोभाज जिजेकले ‘फुकुयामावादी वामपन्थी’ भनेका छन् । यिनीहरू लोकप्रियतावादी, प्रेसप्रति अनुदार र एकाधिकारवादी मनोविज्ञानले ग्रस्त छन् ।
आज अमेरिका र मेक्सिको सिमानामा पर्खाल बनाउनेहरू सक्रिय हुन थालेका छन् । नयाँ शीतयुद्धको सङ्कट देखिएको छ । यी नयाँ शीतयुद्ध चीन र अमेरिकाबीच चल्ने देखिन्छ । एशियामा चीनले आफ्नो प्रभुत्व जमाएको देखेर अमेरिका विक्षिप्त भएको छ । अमेरिका आफूभन्दा शक्तिशाली अरू भएको देख्न चाहँदैन । त्यसैले अमेरिका हरतरहले चीनको आलोचना र आरोपमा उत्रिएको छ । भर्खरै अमेरिकी विदेशमन्त्री पेम्पाओ एसियाका मुलुकहरूको भ्रमणमा निस्किएका छन्, जुन चीनलाई कमजोर बनाउने र देखाउने षड्यन्त्रको उपज हो ।
वर्तमान रुस पनि पश्चिमसँग द्वन्द्वरत छ । उत्तर कोरियाको आणविक कार्यक्रम र इरानको आणविक बम निर्माण गर्ने महŒवाकाङ्क्षा नयाँ शीतयुद्धका प्रेरकहरू हुन् । साम्यवाद एउटा राजनीतिमात्र नभएर पुँजीवाद विरुद्धको नयाँ जीवन पद्धति निर्माण दाबी गरिएको दर्शन थियो ।
त्यो अब रहेन, तर नयाँ आवरण र स्वार्थहरूले गर्दा विश्व फेरि नयाँ ध्रुवीकरणतर्फ जाँदैछ । शीतयुद्धको अन्त्यपछि अमेरिकी चिन्तक चाल्र्स क्राथिमिरले अमेरिकाको विजयलाई एकध्रुवीय क्षण भनेका थिए । तर, ३० वर्षपछि विश्व बहुध्रुवीय मात्रै होइन, झन् धेरै समस्याहरुले घेरिँदै गएको छ । तर वर्तमानमा विश्व मालिक बनेको पुँजीवादी पश्चिमाको विरुद्ध त्यस्तो वैकल्पिक विचारधाराले चुनौती दिएको छैन । तर, राष्ट्र–राष्ट्रबीचको महाखेल र भूराजनीतिक प्रतिस्पर्धाले बर्लिनको पर्खाल फेरि कतै बन्ने त होइन भन्ने आशङ्का जन्माएको छ । बर्लिनको पर्खाल बनेपछि युरोपको शक्ति सन्तुलनमा परिवर्तन आयो । पूर्वी युरोपका राष्ट्रहरू युरोपियन र नाटो सैन्य गठबन्धनमा आबद्ध हुनपुगे । झन् पूर्वतिर फर्किए ।
यो समीकरणले रुस झस्कियो । पश्चिमाहरु आफ्नो विजयले विश्वव्यापी रुपमा प्रजातन्त्र र खुला बजार अर्थतन्त्रको वकालत गर्न थाले । उदार विश्वको विजय मानिएको यो घटनाको तीन दशकपछि आज उदार विश्व नै सङ्कटमा परेको छ । सूचना प्रविधि क्रान्ति यसपछिको मुख्य घटना हो । अहिले सबै राष्ट्र प्रभावित रहेको यो क्रान्तिपश्चात् संसार डिजिटल प्रजातन्त्र र डिजिटल एकाधिकारवादमा विभाजन हुन पुगेको छ । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर अबको द्वन्द्व खुला समाज र बन्द समाज चाहनेहरूबीच हुने बताउँछन् । बर्लिनको पर्खाल पनि यही द्वन्द्वमा आधारित थियो । यसर्थ समय बदलियो, चरित्र उस्तै छ ।