धरान/ बाल उद्यान, पिकनिक स्पट भएको धरानको हरियाली पार्क धेरैलाई जानकारी होला । तर, अब यो पार्क अझ रमणीय बन्दैछ । पार्कभित्रै भ्यूटावर, हिमशृङ्खलाको आकृतिदेखि पोखरीसम्म निर्माणको योजना छ । धरानमा मात्र होइन भेडेटार, भोजपुरदेखि खोटाङसम्म यस्तै रमाइला दर्जनौं पार्कहरू बन्दैछन् र यी रमणीय पार्कहरूको डिजाइन गर्दैछन्, स्पेक्ट्रम इञ्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक सुमन श्रेष्ठ ।
कोरोना महामारीका कारण देशमा लकडाउन भएपछिको समय धेरैका लागि फुुर्सदको समय बन्यो । यो बेला कसैले युट्युबमा फिल्म हेरेर बिताए, कसैले पढेर त कसैले अल्छी मानेरै समय काटे ।
धरानका सुमन श्रेष्ठको चलिरहेको ‘फ्रेण्ड गार्डेन’ रेष्टुरेण्ट एण्ड लाउञ्ज बन्द भयो । उनको स्पेक्ट्रम इञ्जिनियरिङ कन्सल्टेन्सी पनि बन्द भयो । तर, उनी निराश भएर बसेनन् । लकडाउनका बेला उनले कोठामै बसेर प्रदेश १ का विभिन्न जिल्लामा रमाइला पार्कहरू बनेको परिकल्पना गरे र त्यसलाई कम्प्युटरमा उतारे । उनले लकडाउनकै बेला आधादर्जन भन्दा बढी ठाउँको विकासका लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरे ।
पछिल्लो समय हरेक आयोजनाका लागि डीपीआर अत्यावश्यक मानिन थालेको छ । डीपीआरका लागि पहिला आयोजनालाई दिमागमा उतार्नु पर्छ, जसका लागि सृजनशील क्षमता चाहिन्छ । प्रदेश १ मै व्यावसायिक रूपमा सृजनशील डीपीआर निर्माण गर्नेहरूको कमी छ । पछिल्लो समय सुमन यही सृजनशील कार्यमा ध्यान दिइरहेका छन् । गायक तथा गीतकारसमेत रहेका सुमन भन्छन्, ‘लकडाउनले भएभरका व्यवसाय बन्द हुँदा समस्या त भयो तर, मेरो मात्र होइन, संसारमै यस्तै छ भनेर मन बुझाएँ । चुपचाप बस्दा निराशा बढ्थ्यो, त्यसैले पनि केही गर्नैपर्छ भनेर सृजनात्मक काममा हात हालेँ ।’
सुमनले लकडाउनकै बेला भोजपुरको ‘भैंसीपङ्खा रक गार्डेन’, धनकुटाको भेडेटार फन पार्क, धरानका हरियाली फनपार्क, मनमोहन स्मृति पार्क, धरान प्याराग्लाइडिङ र प्राथमिक स्वास्थ्य केन्द्र, पौवादुम्मा भोजपुरको डीपीआर तयार गरे । तीमध्ये कतिपयको काम भइरहेका छन् भने कतिपय हुने क्रममा छन् ।
हुन त सुमनले त्यसअघि पनि धेरै ठाउँका डीपीआरहरू बनाइसकेका थिए । खोटाङका यलम्बर हिल पार्क, साकेला भिलेज पार्क, भोजपुरका चुलाचुली पार्क, नागछाँगा, गोल्मे भीर, दिमालुङ स्मृति पार्क, वाबुक सङ्ग्रहालय, दिमालुङ ढुङ्गा संरक्षण, दुम्माली सङ्ग्रहालय, भेडेटारको पानरोमा राइजिङ हिल तथा रिसोर्ट, धरानको यलम्बर स्मृति सङ्ग्रहालयको डीपीआर सुमनले नै बनाएका हुन् । यसरी डीपीआर बनाउँदा त्यो ठाउँमा के–के बनाउने, कस्तो बनाउने, कसरी बनाउने ? पूरै क्षेत्रको चित्र दिमागमा उतार्नु पर्छ । सृजनशील मान्छेले मात्र राम्रो परिकल्पना गरेर डीपीआर बनाउन सक्छ । सङ्गीत क्षेत्रमा रहेका सुमनले पछिल्लो समय आफ्नो सृजनशीलता यस्तै रमणीयस्थलहरू निर्माण गर्नमा लगाएका छन् ।
देशमा लकडाउन खुले पनि सुमनको रेष्टुरेण्ट खुलेको छैन । धरान उपमहानगरपालिका अगाडि रहेको कन्सल्टेन्सीको कार्यालयमा अहिले उनी विभिन्न ठाउँका परियोजनाहरूको कल्पनामा घोरिइरहेका हुन्छन् । उनी भन्छन्, ‘लकडाउनका बेला निरन्तर डीपीआरको काम गरियो, यो सृजनाकै क्षेत्र भएकाले अहिले यसैमा समय दिइरहेको छु । यसैमा मज्जा पनि लागेको छ ।’
कुनै पनि योजना सफल बनाउन डीपीआरको महŒवपूर्ण भूमिका हुन्छ । धेरै स्थानीय तह र समितिहरूले डीपीआर बिनै योजना सुरु गर्दा असफल भएका उदाहरण पनि धेरै छन् । सुमनको अनुभवमा कतिपय जनप्रतिनिधि र कर्मचारीले बुझ्न डीपीआरको महŒव नबुझ्दा पनि विकासका काम दिगो हुन सकेका छैनन् । उनी भन्छन्, ‘डीपीआरले कुनै पनि आयोजनाको आकार दिन्छ र योजनालाई साकार बनाउँछ तर, यो कुरा नबुझेर वा बुझ्न नचाहेर डीपीआर बिनै काम सुरु गर्दा योजनाहरू अलपत्र पर्छन् ।’ उनी अहिले स्थानीय तहहरूले पनि डीपीआर बिनै हचुवाको भरमा बजेट छुट्याउने गर्दा पनि धेरै योजना सफल नभएको बताउँछन् ।