चलचित्रको बारेमा प्रसिद्ध हलिउड अभिनेता रबर्ड रेडफोर्डले भनेका थिए, ‘चलचित्र आफैमा एक सशक्त विश्व भाषा हो । त्यसैले चलचित्रलाई अन्तर्राष्ट्रिय सांस्कृतिक दूत मान्न सकिन्छ ।’ विश्वमा इमेज प्रविधिमा आएको नयाँ विकासले चलचित्र (चल्ने चित्र) को जन्म गरायो । त्यसले विश्व मानव समुदायको चेतना र संस्कृतिमा नयाँ आयाम ल्यायो । मनोरञ्जनमात्रै नभएर चलचित्र ज्ञान र इतिहासको सजीव अभिलेखन पनि बन्दै गयो । चलचित्र जन्मिनुअघिसम्म मनोरञ्जन र युगचेतनाको एकमात्र माध्यमको रुपमा रहेको नाटक वा रङ्गमञ्चलाई उछिन्दै रेडफोर्डले भने जस्तै साँच्चै चलचित्रले सांस्कृतिक दूतकै रुपमा विश्वभरि आफ्नो एकछत्र प्रभुत्व कायम गर्दै गयो । जहाँ गएर नाटकको मृत्यु हुन्छ, त्यहाँबाट चलचित्रको जन्म हुन्छ भन्ने मान्यता अनुसार चलचित्र सशक्त दृश्य माध्यम बनेर सर्वत्र छायो । तर, हलिउड र बलिउडका नग्न उपभोक्तावादी चलचित्रकर्मीहरुले यसको सांस्कृतिक चेतनाजन्य पक्षहरुलाई निमिट्यान्न पारेर नग्नरुप, सेक्स र विकृतिको बजारमा चलचित्र उद्योगलाई चुर्लुम्मै डुबाएका छन् अहिले । सार्थक र सांस्कृतिक संवेदनाले युक्त चलचित्रहरु भन्दा करोड क्लबको नयाँ धन्धामा सम्लग्न उनीहरुले चलचित्र उद्योगलाई विकृतिहरुको केन्द्र बनाउँदै लगेका छन् ।
यद्यपि चलचित्रमा माफियाहरुले कबजा जमाएर उनीहरुको उद्देश्यहरु अनुसार चलचित्रहरु बनाइरहेका भए पनि यस क्षेत्रमा विश्वस्तरमै दुईवटा धार विकास भएको छ । व्यावसायिक र कलात्मक धार, अझ यसलाई व्यापारिक र सार्थक धार भनेर विभक्त गर्न सकिन्छ । सांस्कृतिक विविधताहरुका साथै मानवीय संवेदनाका पक्षहरुलाई सुन्दर ढङ्गबाट समेटेर समाज परिवर्तनका लागि चेतनाको खेती गर्ने सार्थक चलचित्रहरु थोरै बन्ने गरेका छन् । यस्ता चलचित्रहरु हलिउड र बलिउडमै ज्यादै कम बन्ने गरे पनि त्यसले विश्वमै ठूलो प्रभाव पार्ने काम गरेको छ । भारतीय चलचित्रमा त फरक धारका कलात्मक चलचित्रको एउटा छुट्टै माहोल छ, हलमा चलचित्र नचले पनि समाजमा त्यसले सकारात्मक असर राम्रै पु¥याएको देखिन्छ । तर, यस मामलामा नेपाली चलचित्र शून्य अवस्थामै छ भन्दा अत्युक्ति हुन्न । दयाहाङलगायत केही अभिनेता अभिनेत्रीको अनुहार त स्थापित भयो तर, विषयवस्तुले स्थान पाउन सकेको छैन ।
साहित्य र समाजमा जस्तै अहिले उत्तरआधुनिकतावाद अनुसार विविधतायुक्त संस्कृतिको पक्षधरता गर्ने र दबाइएका अल्पसङ्ख्यकहरुको पक्षमा आवाज बुलन्द गर्ने विचारधाराको प्रभाव चलचित्रमा पनि पर्दै गएको छ । यसै क्रममा हालै भारतीय चलचित्र क्षेत्रमा सांस्कृतिक विविधतामा आधारित मानवीय संवेदनालाई विषयवस्तु बनाएर एउटा सार्थक चलचित्रको निर्माण भएको छ । चलचित्रको नाम हो, अखुनीे (ब्हयलभ) । चलचित्रमा भारतको राजधानी दिल्लीमा रहेका विभिन्न जाति समुदायहरुबीचको सांस्कृतिक अन्तर्य र आपसी अन्तरघुलित हुन नसकेको सामाजिक परिवेशभित्रका अल्पसङ्ख्यक जातिहरुले बेहोर्नु परेका भेदभाव, उत्पीडन र सामाजिक दलनको सजीव चित्र उतार्दै भारतीय समाजभित्र जातीय ‘हार्मोनी’ को खोजी गरिएको छ । भारत जस्तो बहुभाषिक तथा बहुसांस्कृतिक देशमा हिन्दुआर्य समाज, संस्कृति र धर्मको वर्चस्व सबैमा मनोवैज्ञानिक, राजनीतिक र सांस्कृतिक रुपमा परिरहेको सत्यलाई कसैले नकार्न नसक्ने तथ्य हो । हिन्दु कट्टरवादले गर्दा त्यहाँ अल्पमतका मुसलमानहरुमात्र होइन, अन्य आदिवासी जातिहरु प्नि उत्तिकै उत्पीडित रहेका छन् । चलचित्र अखुनीेमा त्यहीँ पृष्ठभूमिलाई कसैप्रति आक्षेप प्रक्षेपण नगरी सुन्दर ढङ्गबाट चित्रित गरिएको छ ।
चलचित्र अखुनीको कथा सामान्य र सरल छ । कुनै जटिल विषय वा विचारको उठान गरिएको छैन, चलचित्रमा । यस चलचित्रका सबै पात्रहरु उत्तर–पूर्वी भारतका आदिवासी समुदायहरु (आसाम, मेघालय, मणिपुर, नागाल्याण्ड, अरुणाञ्चल प्रदेश) सित सम्बन्धित छन् । उत्तर–पूर्वी भारतका समुदाय भन्नेवित्तिकै धर्म र संस्कृतिगत रुपमा हिन्दुइतर अनि प्रजातिगत रुपमा मङ्गोलाइड प्रजातिका चिम्से जातिहरु हुन् । भारतको बहुल जनसाङ्ख्यिक आधार आर्य अर्थात् ककेसाइड प्रजातिको हो । धार्मिक–सांस्कृतिक रुपमा आर्य र मुसलमान आपसमा द्वन्द्वरत भए पनि मुसलमानसमेत उनै प्रजातिका हुन् । यस्तो समाजमा बहुसङ्ख्यक जाति वा समुदायले अल्पसङ्ख्यक जाति वा समुदायलाई हेप्नु आम सच्चाइ वा स्वभाविक हो । एउटा सानो उदाहरण हेरौं । २० घर बाहुन र २ घर राई भएको कुनै गाउँमा बाहुनले राईलाई “ए ! किरुवा कता लागिस् ?” भन्नु स्वभाविक हो । त्यस्तै २० घर राई र २ घर बाहुन भएको गाउँमा राईले बाहुनलाई ‘ए ! काठा कता मुण्टेको ?’ भन्नु पनि आम सच्चाइ नै हो । यो कुरा सायद मानवीय स्वभाव नै होला ? भारतको सीमाभित्र जबर्जस्ती भिœयाइएका उत्तर–पूर्वी भारतका समुदायहरु भारतीय समाजका अपहेलित अल्पसङ्ख्यक चिम्से जातिहरु हुन् । डेनी, भाइचुङ भुटिया, मेरीकोमले भारतीय राष्ट्रिय जीवनमा चिम्से जातिको अस्तित्वलाई स्थापित गरे पनि उत्तर–पूर्वी भारतका आदिवासी चिम्सेहरुले ‘इण्डियनसिप’ को मान्यता पाएका छैनन् । उनीहरुमाथि ‘आउटसाइडर्स’ (बाहिरिया) को ‘ट्याग’ लगाइएका छन् र कदम कदममा हेप्ने र होच्याउने गरिएका छन् ।
चलचित्र अखुनीमा ‘इण्डियन’ हुने जति प्रयत्न गरे पनि वा भारतीय राष्ट्रिय भावनाले जतिसुकै ओतप्रोत भए पनि ‘इण्डियनसिप’ पाउन नसकेका यिनै चिम्से प्रजातिका युवा-युवतीहरुले अनुहार र सांस्कृतिक बेमेलका कारण भोग्नु परेका विभिन्न अपहेलना, अमानवीय व्यवहार र दलनलाई देखाइएको छ । यहीँ सच्चाइलाई सुन्दर ढङ्गबाट चलचित्रमा चित्रण गर्ने दिल्लीमा पढ्न, व्यावसाय गर्न, जागिर वा अन्य काम गर्न बसेका आसाम र मेघालयका युवा युवतीहरुको एक समूहले आफ्नो साथीको आफ्नै जातीय सांस्कृतिक आधारमा विवाहको लागि नभई नहुने पकवान तयार गर्ने क्रममा भोगेका विभिन्न दुःख, समस्याहरुलाई यथार्थिक र संवेदनापूर्ण ढङ्गबाट समेटिएको छ । उक्त समूहमा एक जना आसामकी नेपाली चिम्से युवती पनि रहेकी छ । मेघालयकी एक युवती साथीको विवाह भोज तयार गर्ने क्रममा विवाहका लागि सांस्कृतिक रुपमा नभई नहुने विभिन्न हर्बल र किनामा हालेर बनाइने सुँगुरको मासुको विशेष प्रकारको पकवान अखुनी बनाउने काम वा समस्या नै यस चलचित्रको मुख्य प्लट हो ।
दिल्लीका साँघुरा गल्लीमा भएका धेरै भाँडावालहरु बस्ने घरमा भाडामा बसेका चिम्से युवा युवतीहरुलाई एउटा ठूलो चुनौतीपूर्ण समस्या बन्छ, अखुनी । पहिलो त घर मालिक्नीले आफ्नो घरमा
कसैको विवाह हुन नदिने भनेर प्रतिबन्ध लगाउँछिन् । त्यसमाथि अखुनी बनाउँदा आउने गन्ध घरभाडामा बस्ने अन्यहरु र घर मालिक्नीलाई दुर्गन्ध साबित भएपछि उनीहरुबाट अखुनी पकाउन प्रतिबन्ध लगाइन्छ । अखुनी पकाउन उनीहरुले आ–आफ्नो समुदायका आफन्तहरुलाई आ–आफ्नो भाषामा केही घण्टा पकाउन चुल्हा दिन आग्रह गर्छन् । तर, सबैतिरबाट नकारमा उत्तर आउँछ किनकि त्यहाँ पनि समस्या उही नै हुन्छ ।
चिम्सेहरुका लागि सुगन्धित लाग्ने सुँगुरको मासुको पकवान अखुनी अरुका लागि दुर्गन्धित मानिन्छ । चलचित्रमा अखुनी पकाउने क्रममा क्याटरिङमा फी तिरेर पकाउने प्रबन्ध पनि गरिन्छ तर त्यहाँ पनि अर्कैले बुक गरिसकेको हुँदा समय जुधेको कारण आधा पाक्दै गरेको अखुनीको भाँडा नै उचालेर लैजानु पर्छ । कतै पकाउने ठाउँ नपाएपछि बजार हुँदै एकान्त ठाउँमा लगेर अखुनी फालिन्छ । यस घटनाबाट नयाँ ठाउँ अर्थात् आफ्नो मूलस्थानबाट प्रवासित भएर अरुको बहुलता भएको स्थानमा बसेका आदिवासीहरुको संस्कृति कसरी विभिन्न दबावका कारण विलोपीय बन्दै जाँदैछ भन्ने कुरा चलचित्रले राम्ररी चित्रण गरेको छ । यो एक सांस्कृतिक अधिकार हननको कुरा हो, किनकि त्यहाँ उनीहरुको पहिचानको मूलतत्व अन्तर्निहित रहेको छ ।
समस्याको बीचमा विवाहमा भेला भएका युवायुवतीहरुले छलफल गर्छन् । अखुनी बिना विवाह नै सम्पन्न नहुने हुँदा पकाउनै पर्ने निर्णय हुन्छ । सबैजना अखुनी पकाउने समस्याको समाधानका लागि नयाँ तरिका खोज्न जुट्छन् । समाजमा जहाँ पनि मानवीय भावना भएका मानिसहरु हुन्छन् । भारतमा अधिकांशले चिम्सेहरुलाई बाहिरिया माने पनि “चिम्सेहरु पनि इण्डियन नै हुन्” भन्ने भावना बोकेका मानिसहरु पनि छन् । आर्य मूलकी घर मालिक्नीका नाती शिवले अखुनी बनाउने काममा उनीहरुलाई सघाउ गर्छन्, तर उनले पनि उत्तर–पूर्वी राज्यकी एकजना केटीलाई गर्लफ्रेण्ड बनाइदिनुपर्ने प्रस्ताव गर्छन्, जसले चिम्सेहरुप्रति आम मानिसको जस्तै उसको अपहेलनापूर्ण सोँचको प्रदर्शन गर्दछ । तर, उसले मजाक भनेर टार्छ र आफ्नो घरको ट्यारेसमा हजुरआमाको आँखा छलेर पकाउने प्रबन्ध गरिदिन्छ । सबैभन्दा टपमा पकाउँदा कसैलाई गन्ध पनि जाँदैन र अन्तमा अखुनी पाक्छ । सबै जना हाँसीखुशी विवाहमा सरिक हुन्छन्, स्वाद लिई लिई मीठो मानेर अखुनी खान्छन् ।
१ घण्टा ४० मिनेट यो चलचित्र साँच्चै एउटा सार्थक चलचित्र बन्न पुगेको छ । विषय प्रतिपादनमा मात्र होइन, चलचित्रको निर्देशन पक्ष पनि सशक्त रहेको छ । लेखनसमेत गरेका निर्देशक निकोलास खारखोकोङ्गोरले संवेदनशील दृश्य र सांस्कृतिक पक्षहरुलाई अत्यन्त सूक्ष्म किसिमले रेसारेसामा बयान गरेका छन् । सिनेमाटोग्राफीले साँच्चै चलचित्रको कथावस्तुअनुसार सजीव दृश्यहरुलाई प्रतिपादन गरेको छ । चलचित्र हेर्र्दै जाँदा दर्शक चलचित्र हेरिरहेको कृत्रिमताबाट हराएर अखुनी पकाउने समस्यामा चुर्लुम्म डुब्न पुग्छन् किनकि क्यामेराको सजीव दृश्याङ्कन र मोशनले दर्शकलाई घटनास्थलमै पुगेको महसुस गराउँछ । चलचित्रको भाषा क्यामेराले नै बोल्ने गर्छ, जुन कुरा एकदम सशक्त ढङ्गबाट सम्पादन भएको छ, यस चलचित्रमा । दिल्लीका गल्लीहरु र त्यहाँका भाडावाल घरहरुको दृश्य आफू त्यहीँ भए जस्तो गरी सजीव हुन्छन् । चलचित्रको पहिलो स्टाब्लिस्ट शटमा छापामार तरिकाले तीन जना चिम्से युवा युवतीहरुले दिल्लीको गल्लीमा भूमिगत रुपमा बेचिने सुँगुरको मासु पसलसम्म पुगेको दृश्य छ, जुन ज्यादै कौतुहलपूर्ण छ ।
चलचित्रमा चिम्सेहरुले भोग्नु परेका अपहेलना विभेद र उत्पीडनका सजीव उपकथाहरुलाई पटकथामा सजीव रुपले बुनिएका छन् । एउटा दृश्यमा नागा चिम्से युवती चान्बी र उनको कजिन बेण्डाङसँगै बजारको बीचमा ठेलागाडामा तरकारी किनिरहेकी हुन्छिन्, दुई स्थानीय केटाहरुले उनले सुन्ने गरी ‘यो केटीलाई सेक्स गर्दा क्या दामी आवाज निकाल्छे होला है ?’ भन्छ । त्यो सुनेर विद्रोही स्वभावकी निडर चान्बीले किन भल्गर कुरा भनेको भन्दै झगडा गर्छिन् तर, केटाले आफूले केही नभनेको भन्दै उल्टै चान्बीलाई झापड हान्छ । भीड जम्मा हुन्छ । तर, सबैले झापड हानेको नदेखेको बताउँछन् । यहाँसम्म कि स्थानीयको मेजोरिटीका कारण बेण्डाङले पनि केही नदेखेको भन्छ । त्यो घटनाले बेण्डाङमा पहिलो बाजी हुतिहारापन र कायरताको महसुस हुन्छ र विवाहको अवसर छाडेर गायब हुन्छ । त्यस्तै, अर्को एक दृश्यमा विवाह गर्ने हलको चाबी हराएर सबै जना मिलेर हथौडाले ताला तोड्दै गरेका हुन्छन्, पल्लो घरको छिमेकीले हकार्छ । आफ्नै भाडाको घर भएको तर चाबी हराएकोले तोड्न बाध्य भएको सम्झाइन्छ । तर, त्यो छिमेकीले हेपासो पाराले ‘म कसरी चिनौँ त ? तिमीहरु सबै एउटै देखिन्छौँ ।’ भन्ने विभेदकारी जवाफ दिन्छ । सबैभन्दा संवेदनशील दृश्य त बेण्डाङले हिन्दी गीत गाएको दृश्य छ । ऊ नागा भाषाको राम्रो गायक हो । उसले आफूलाई ‘इण्डियन’ नै हुँ भन्ने देखाउन हिन्दी गीत ‘उठे सबके कदम देखो तारा रम पम पम, अजी ऐसा गीत गाया करो !’ गिटार लिएर खुब गाउने अभ्यास गर्छ । तर, भाषिक उच्चारणका कारण असफल हुन्छ र गिटार नै फ्याँकेर क्रुद्ध र निराश बन्छ ।
अखुनीमा आपसी प्रेमका दृश्यांशहरुलाई पनि उत्तिकै सशक्त रुपले प्रस्तुत गरिएको छ । चलचित्रमा नेपाली भाषाको पनि प्रयोग गरिएको छ । आसामकी नेपाली युवती उपासनाको भूमिकामा सयानी गुप्ताले ग्यासको सिलिण्डर उठाउन नसक्दा आसामे टङमा ‘त्यसको बाजेको नाति ।’ अनि एक पटक गाली गर्दा ‘जामा लाउने ।’ भन्दा मीठो सुनिन्छ । यो र यस्तै गरी चलचित्रका अन्य पात्रहरुको आफ्नै भाषाहरु र अङ्ग्रेजीमा समेत खँदिलो र अपेक्षाकृत संवाद संरचना गर्ने संवाद तथा पटकथाकार गौरव शर्माको खुबी यहीँनेर स्पष्ट झल्किन्छ । चलचित्रमा मुख्य भूमिकामा रहेकी सयानी गुप्ताको अभिनय बेजोड रहेको छ । उनी भारतीय बेव सीरिजहरुमा पनि जमिरहेकी अभिनेत्री हुन् । चान्बीको भूमिका लिन लाइस्राम निकै सशक्त छिन् । शारीरिक बनोट र अनुहारमा पनि लाइस्राम निकै सुन्दर छिन् । कजिन बेण्डाङको भूमिकामा लानुआखुम आओ, मेघालयी युवा जोरेमको भूमिका तेञ्जिङ डाल्हा, नागा युवती मिनामको भूमिकामा असेन्ला जामीर, मेघालयी युवती हान्याको भूमिकामा मिलो सन्का र अरु सबै पात्रहरुको अभिनयमा कतै खोट लाउने ठाउँ छैन । बरु बम्बैयाँ स्टारकिड भन्दा सय गुणा राम्रो अभिनय गरेका छन्, उनीहरुले । यस चलचित्रबाट सम्भावनायुक्त नयाँ चिम्से अभिनेता अभिनेत्रीहरुको जन्म भएको मान्न सकिन्छ । हुन त उत्तर–पूर्वी राज्यका केही कलाकारहरु बलिउडमा समेत अभिनय गरिरहेका छन् ।
१२ जुन २०२० मा अखुनी लण्डन फिल्म फेष्टिवलमा रिलिज गरिएको थियो, जहाँ अखुनीले स्ट्याण्डिङ ओबेशन पाएको थियो र धेरैले औधी रुचाएका थिए । यस्तो सार्थक र हाल भारतीय जल्दोबल्दो जातीय विभेदका विषयलाई सुन्दर ढङ्गबाट चलचित्र बनाउने खुल्ला छाती र मनका प्रोड्युसरहरु विक्रम मेहरा र सिद्धार्थ आनन्द कुमार, त्यस्तै एक्जिक्युटिभ प्रोड्युसरहरु गैरव शर्मा, साहिल शर्मा, सोहेब लोखण्डवाला, नितिन नैरलाई मुरीका मुरी धन्यवाद नदिई मन मान्दैन । वास्तवमा अखुनी भारतीय बहुल समाजभित्र अल्पसङ्ख्यक र फरक नाकनक्शाका जातिहरुमाथि गरिने अपहेलना, विभेद र अमानीय व्यवहारहरुको समाजशास्त्र हो । चलचित्रमा समाजशास्त्र बोल्न सफल अखुनी फरक धारको कलात्मक भारतीय चलचित्र मात्रै होइन, निर्माता र निर्देशकले यसलाई व्यावसायिक चलचित्रको रुपमा घोषणा गरेका छन् । यस चलचित्रले भारतमा अहिले निकै चर्चा परिचर्चा बटुलिरहेको छ । हेरौं, यस्तो चलचित्रले भारतीय दर्शकहरुको कस्तो माया र साथ पाउने हो ? समाजशास्त्रीय पृष्टमा यथार्थ विषयको सुन्दर चित्रण र आदिवासी सांस्कृतिक पहिचानमाथि बढ्दै गएको अतिक्रमणलाई केन्द्रित गरी बनाइएको सार्थक, सशक्त र फरक स्वादको चलचित्र अखुनी सबैले एकपटक हेर्नै पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
(लेखक देवानः आरम्भ नाट्य डबली, धरानका अध्यक्ष एवम् सञ्चारकर्मी हुन् ।)