ऊ मलाई देखेर छक्क प¥यो । म पनि उसलाई देखेर छक्क परेँ । दुवै एक–अर्कालाई हेरेर छक्क मात्र परेनौँ । अचम्मित पनि भयौँ । नहुन पनि यतिका समयपछि हाम्रो भेट भएको थियो । समयले हदैसम्म हामीलाई घचेट्दै–घचेट्दै उमेरको ओल्लो डिलदेखि पल्लो डिलसम्म ल्याइपु¥याएको थियो । २५–३० वर्ष पहिलेको हाम्रो चेहरा, शरीर, शारीरिक अवस्था र हाउभाउ बेग्लै हुँदो हो । वरपर भेट हुने हो भने त साँच्चै हामी आफैमा नचिनिने भएछौँ । ऊ उताबाट आउँदै रहेछ । म यताबाट जाँदै थिएँ । एउटा भञ्ज्याङनिर हाम्रो भेट भयो । यो भञ्ज्याङले हामी जस्ता धेरैलाई बीच–बीचमा भेट गराउने जस पाएको छ । जिन्दगीको आ–आफ्नै यात्रामा निस्केका यात्री हामी । नमरी बाँचे यसरी पनि भेट हुँदो रहेछ । हल्का हाँसोकासाथ दुवैका आँखा एक–अर्कालाई हेरेको हेरेकै भएँ । हाम्रो जिन्दगीको यात्रा आ–आफ्नै रफ्तारमा हुइँकिरहेको थियो । मैले उसको अनुहार राम्रोसँग नियालेँ । आँखाका कोशकोश र निधारको छाला मात्र होइन । गाला पनि चाउरी पर्न थालेछन् । आधीसरो केश फुलेछ । ज्यान त खर्लापखुर्लुप भएछ । सोध्न मन लाग्यो, के भो तिमीलाई ? त्यस्तो ज्यानको मान्छे ! यस्तो भएछौ । काँ गयो, त्यो भुकुरचाँदे ज्यान ? ऐना जस्तो उसको अनुहारमा आफ्नो अनुहार हेर्थेँ म । उसको अनुहार एकाएक अँध्यारो भयो । भन्यो, मलाई त व्यवहारले खायो बाबै । तिमी त उस्तै रहेछौ । हाम्रो बाल्यकालसँगै बित्यो, स्कुल सँगै पढ्यौँ । सँगै बढ्यौँ । सानामा पनि म उसलाई दिनदिनै जसो भेट्दैपिच्छे मिहिनसँग नियाल्थेँ । उसको उचाइ, हातखुट्टा, अङ्गअङ्ग पर्गेल्थेँ । मलाई लाग्थ्यो, उसका जुँगाका रेखी बस्दा मेरा पनि बस्नेछन् । ऊ तन्नेरी हुँदा म पनि तन्नेरी हुनेछु । उसको उमेर पुग्दा मेरो पनि पुग्नेछ । उसको विहे गर्ने बेला हुँदा मेरो पनि विहे गर्ने बेला हुनेछ । छोराछोरी पनि सँगसँगै जन्मनेछन् र बूढो हुँदा पनि हामी सँगै बूढो हुनेछौँ अनि मर्दा पनि हामी करिब करिब सँगसँगै मर्नेछौँ । उसले मलाई यसरी मैले उसलाई जसरी नियाल्यो, नियालेन । हामी दुईबीच यस्ता कुरा कहिल्यै भएनन् । यी मेरा मनमा खेलेका कुरा हुन् । सायद उसका मनमा पनि यस्ता कुरा खेलेको हुनुपर्छ ।
प्रारम्भिक शिक्षा सक्दानसक्दै उसले पढ्न छोड्दियो । पढ्न छोडे पनि हाम्रो घर टाढा थिएन । हाटबजार एउटै थियो । गाउँ एउटै थियो । खेतीपाती सँगसँगै थियो । मैले पढाइलाई अगि बढाएँ । एसएलसी पास गरेपछि भने मैले छुट्टै बाटो समाएँ । ऊ घर व्यवहार सम्हाल्नतिर लाग्यो । म पढाइतिर लागेँ । उसले विहे ग¥यो । उसका बालबच्चा भए । समयले हामी दुईलाई सोचे जस्तो गरी सँगै डोहो¥याएन । हामी अगिपछि भयौँ । त्यसपछि यति नजिकबाट हाम्रो देखाभेट भएको थिएन । हामी दुवै एक–अर्कालाई हेरेर उमेरसँग तर्सियौँ । सायद उसलाई पनि लाग्यो होला । अब उमेरले डाँडो काटेछ । पापी मन उमेरसँग सधैँ लोभिन्छ । मृत्युसँग डराउँछ । थाहै नपाई जीवनका ५० औँ वसन्त पूरा गरिएछ । आफूलाई चाहिँ जीवन त अझै उर्वर बनाउँन बाँकी रहेको बगर जस्तो लाग्छ । यसो हेरेको उसको नाकमा मास्क छैन । सम्झेँ, कोरोनाको यस्तो माहामारी छ । नाकमा मास्क नलाएर के गरेको हो यो मान्छेले ! सोध्न मन लाग्यो, हैन कोरोनाको यस्तो जगजगी छ । नाकमा मास्क खोइ ? यो के गर्न खोजेको हो ! उसले भन्यो, आ यो कोरोनासोरोना केही पनि होइन । यो रुघामर्की हो । यसले जति भाग्यो त्यति खेद्छ । बचेर हिँड्ने हो । मैले चिउँडोतिर झरेको मास्क एक हातका दुई औँलाले च्यापेर नाकमा मिलाएँ । एक मनले भन्यो, हैन यो मान्छे त ठिस नै पो भएछ कि क्याहो ! यत्रो कोरोना माहामारीले विश्व तहसनहस भइसक्यो । आ, यो कोरोनासोरोना केही पनि होइन भन्छ ! अरु कुरा के गर्नु ।
कोरोना त केही होइन, भन्छ भने । पहिले पनि ऊ कम बोल्ने त्यसमा पनि व्यङ्ग्य बढी गर्ने मानिस हो । अहिले पनि उसको बानीमा परिवर्तन भएको रहेनछ । अनि भात के गरेर खाइँदैछ त ? मेरो प्रश्नमा उसले भन्यो, के गरेर खानु । विदेशमा थिएँ । जिनेतिने चलेको थियो । कोरोनाका कारण कम्पनी नै बन्द भएपछि छोडेर आइयो । म डराएँ । अलि पर्तिर सरेर सामाजिक दूरी कायम गरेँ । डराउनु पर्दैन । म कोरोना सङ्क्रमित होइन । उताबाट आउँदै १४ दिन क्वारेण्टाइनमा बसेरै आएको हुँ । पीसीआर रिपोर्ट नेगेटिभ नै आयो ।
यति लामो समयपछि बाल्यकालको साथीसँग भेट भएको क्षण । यो कोरोनाका कारण एकछिन सँगै बसेर गफ गर्न पनि पाइएन । आज जाऔँ यतै मेरो घरतिर भन्न पनि सकिएन । उत्तरतिर गड्याङगुडुङ गरेर विजुली चम्किन थाल्यो । दक्षिणतिरबाट अँध्यारोसँगै हावाहुरी बटारिएर आउन थाल्यो । टिनकै छानो र टिनकै बेरा भएको एउटा सानो छाप्रो थियो । अगाडि एउटा टेवल त्यसको पछाडिपट्टि २–४ ओटा बेड । एउटा बेडमा ऊ । अर्को बेडमा म । त्यही पो रहेछ क्वारेण्टाइन । दुवै क्वारेन्टाइनमा पो रहेछौँ । हामी आफैमा कोरोना सङ्क्रमित थिएनौँ । कसैको संसर्गमा परेछौँ । जो कोरोना सङ्क्रमित रहेछ । एउटा शङ्काले जलेको मन ! हामीबाट अरु कति सङ्क्रमित भए । कोरोनाको लहरो त लामो रहेछ ।
थुप्रै गाडी लाइनै रोकेर राखेको ठाउँमा एकापट्टि लगेर गाडी रोकेँ । अगाडि पेटीमा ट्राफिक ठिङ्ग उभिएको रहेछ । मैले देखिनँ । गाडी मिलाएर राख्न नपाई सोधी हाल्यो, यो पार्किङ हो ? यो पार्किङ होइन । यहाँ गाडी नरोक भन्ने कुरातर्फ सङ्केत गर्दै उसले त्यसो भनेको रहेछ । मैले उसको छड्के कुरा बुझिनँ । म अर्कै मुडमा थिएँ । मलाई लाग्यो, उसलाई पनि थाहा रहेनछ र मलाई सोध्यो । मैले खै मलाई पनि थाहा भएन । यहाँ यतिका गाडी राखिराखेका छन् त ? भनेर प्रति प्रश्न गरेँ । उसले भन्यो, यी सब अगि राखेका थिए । सायद ऊ आउनुभन्दा पहिले राखिसकेका थिए । उता राख्नु भनेर उसले त्यसको विपरीत दिशातर्फ देखायो । त्यसबेला पो यसो अगाडि हेरेको आँखै अगाडि नो पार्किङको सानो साङ्केतिक बोर्ड ठडिइरहेको रहेछ । मैले केही नभनी आफ्नो गाडी उसले देखाएको ठाउँतिर लगेर राखेँ । बजार सिल गरिएको थियो । सबै पसलहरु बन्द थिए । म इटहरीको कृषि विकास बैङ्कको शाखा अगाडि रहेछु । चोक मसानघाट जस्तो सुनसान थियो । सुनसरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बढेकै थियो ।
हाम्रो घर नजिकै उसका बाउआमाको एउटा ठूलो खायल बारी थियो । उसका बाउआमाले त्यो खायल बारी पछि उसैलाई दिए । त्यसपछि ऊ बाउआमासँग अलग भएर त्यहीँ बस्न थाल्यो । यसरी उसले आफ्नो गृहस्थी शुरु ग¥यो । मायाँ जालको लहरो समायो । गाउँलेहरु उसलाई हेरेर मलाई हेर्थे । मलाई हेरेर फेरि उसलाई हेर्थे । जसरी म पहिले उसको शरीरसँग आफ्नो शरीर नियाल्थेँ । गहिरिएर निक्कै गहिरिएर । उसको शरीरमा भएको हरेक परिवर्तन आफूमा भयो, भएन भनेर मसिनोसँग खोज्थेँ । हाम्रो शरीरका हरेक परिवर्तन एक–अर्कामा सँगसँगै हुनै पर्ने ! नभए किन भएन ? भनेर मनमा जिज्ञासा उत्पन्न भइहाल्ने । सायद गाउँलेहरुमा पनि त्यस्तै खाले जिज्ञासा उत्पन्न हुन्थ्यो, होला र तिनीहरु हामी दुवैलाई त्यसरी नियाल्थेँ । सायद तिनीहरुका आँखामा हामी जुम्ल्याहा जस्ता देखिन्थ्यौँ । तिनीहरु कत्ति त हामीलाई तिमीहरु उत्रैउत्रा छौ पनि भन्थे । अहिले त उसले पनि मधेसमा अलिकति जग्गा के कसरी जोडेछ ।
सायद रेमिट्यान्सबाट होला । मधेसमा टेक्ने ठाउँ भएपछि पहाड छोडेर ऊ पनि मधेसतिरै झरेछ । मैले सोचेको थिएँ । दुःख–सुखका धेरै कुरा गर्नेछ उसले । अनि म पनि गर्नेछु । दुवै बाल्यकालका ती दिन सम्झेर मन माझौँला । जीवनको पूवाद्र्ध त दिनको बिहानी जस्तो रहेछ । उसले पनि यो कुरा महसुस गरेको हुनुपर्छ । ती दिन सम्झेर सायद ऊ पनि म जस्तैै लोभिँदो हो । बुढ्यौली उमेर त कसलाई मन पर्छ र । लाग्छ, उसको भन्दा मेरा बाल्यकालका ती दिन अझ आनन्ददायक थिए । कहिलेकाहीँ हाम्रा घरका सदस्यहरु पनि हामी दुवैलाई खुब नियाल्थे । हामी एक–अर्कामा लजाएर ओल्टेकोल्टे हुन्थ्यौँ । हामी हुर्कदै, बढ्दै जाँदा हाम्रो शरीरको बनावट घरका सदस्यहरुले पनि एक–अर्कामा समान रुपले खोजे झैँ लाग्थ्यो । उसका ओठ माथि जुँगाका रेखी बस्दा मेरा पनि ओठ माथि जुँगाका रेखी बसे, बसेनन् ? भनेर हेरे झैँ लाग्थ्यो । त्यो बेला यसको रहस्य उसलाई थाहा थियो, थिएन । म यसै भन्न सक्दिन । मलाई भने थाहा थिएन ।
एक दिन आमाले हामी दुवैसँगै भएको बेला यसको रहस्य खोल्दै भन्नुभयो,तिमीहरु दुई एकै दिनका । २०२८ साल दशैँको टीकाको दिन जन्मेका हौ । ऊ बिहान घाम झुल्किने बेलाको । तँ बेलुका घाम अस्ताउँने बेलाको । मलाई ऊ र म एकै दिन जन्मेका हौँ भन्ने कुरा पछिसम्म पनि थाहा थिएन । त्यसरी एक दिन आमाले बताउनु भएपछि मात्र थाहा भयो । त्यो बेला पनि हामी एक–अर्कालाई हेरेर छक्क परेका थियौँ । हामी बाहेक हाम्रो गाउँमा एकै दिन जन्मेका अरु कोही थिएनन् ।