आएको छ तिहार बार तिथिको नक्षत्रका योगमा
राम्रो पर्दछ चाड कार्तिकमहाँ हामी सबैको यहाँ
हाम्रो दूत छ काग पूजन सबै यो रामका भक्तमा
दिन्छन् खान तिहार पर्व यसमा घुम्दैछ आकाशमा ।।१
दोस्रो रक्षक भन्दछन् कुकुरमा माला लगाई त्यहाँ
पूजा मानिस गर्दछन् घर–घरै मिष्टान्नका साथमा
लक्ष्मी पूजन रातमा धनवती भन्दै सबै गर्दछन्
बाली दीप र फूलका लहरमा माला त्यहाँ गाँस्दछन् ।।२
अर्पन्छन् सब भक्तिले भगवती लक्ष्मी भनी झुक्तछन्
पाथी चामल राख्तछन् र गहना पूजा गरी बस्तछन्
रोटी फूल फलादि छन् अनरसा नैवैद्यको बासना
भैलेनी पनि खेल्दछन् घर–घरै आएर यो चाडमा ।।३
आंैशीमा पनि हुन्छ झल्मल सवै दीपावली भन्दछन्
ढोका खुल्न गए धरातिर यहाँ लक्ष्मी यतै आउँछिन्
गाई, गोरु न भै हुँदैन घरमा अन्नादिको पूर्णता
भन्दै गोठ गएर पूजन गरी माता भनी सर्वदा ।।४
ठूलै पर्वत हुन्छ गोबर त्यहाँ निर्माण गोवर्धन
श्रीवृन्दावन सम्झना हुन गई गर्छन् सबै पूजन
सम्झन्छिन् यमुना निमन्त्रण गरिन् आफ्नै थिए अग्रज
टीका लाउन आउने घरमहाँ यो चाड सम्झी अब ।।५
ढोका बन्धन मार्ग खोल्दिनु सबै पापी अधर्मी सब
मुक्तात्मा सम भाइ–पर्व यसमा आनन्द मानून तब
आएको छ तिहार भाइ सबको हो चाड हाम्रो भनी
सम्झन्छिन् बहिनी उतै मन पुगी कर्तव्य सम्झी तिनी ।।६
आज्ञा पालन गर्दछन् यम उता खोलेर त्यो बन्धन
बैनी हुन् यमुना भनी सब यता टीका र आभूषण
धेरै छन् गहना र वस्त्र सँगमा त्यो फूलको बासना
आएको छ हिँडे चढे रथ महाँ यो चाडका पर्वमा ।।७
हाम्रो यो छ परम्परा अब यहाँ द्यौसी सबै खेल्दछन्
भट्याइकन एक नायक यता जे भन्छ त्यो सुन्दछन्
भाकाभित्र सबै प्रभावित भई बोली र लोली पनि
एकै हुन्छ मिलाउँदै घरघरै खेलेर हिँड्छन् तिनी ।।८
बैनीका घरमा बसेर यमले टीका लगाई अब
ल्याएका गहना समर्पण गरे कर्तव्य सम्झी तब
भित्रैदेखि खुशी भएर यमुना सम्मान गर्छिन् तिनी
बैनी दाजु सँगै बसेर घरमा यो पर्व मान्छन् अनी ।।९
बैनी भाइ दिदी र दाजु सबको सम्मान हुन्थ्यो सदा
कोरोना किन मच्चिँदैछ भवमा यो चाडमा सर्वदा
मान्छे त्रस्त भएर हिँड्न नसकी सम्झन्छ बैनी भनी
माया बन्धनले पिरोल्छ उसमा सम्झेर एक्लै बसी ।।१०
भेट्ने हिम्मत गर्छ एक मनले सन्त्रस्त नै पार्दछ
बैनी, दाजु र भाइ सम्झन गई त्यो रात नै पर्दछ
कोरोना किन हिँड्दछस् घुमि घुमी यो पर्व नास्ने गरी
यस्तो चाड तिहारमा पनि सधैँ तर्साउँछस् के गरी ।।११
यस्तो विश्व पसेर भाइरसको जालो सधैँ बुन्दछस्
कोरोना अब शक्ति ह्रास हुनगो एक्लै कता पुग्दछस्
तेरो वर्गत बुझ्दछन् सबजना हिँड्छस् यहाँ के गरी
आयुर्वेद विकासको छ महिमा निर्माण भो औषधी ।।१२
शार्दूलविक्रीडित छन्द