कमरेड रेविकाले आज पनि फोन गर्नुभयो ।

भन्दै हुनुहुन्थो, ‘महामारीको समय छ ।

आमा । तपाईंले एकदिन औषधि छुटाउनु हुँदैन ।

छोरीलाई एक जोर जाडोका कपडाहरु किन्दिनू । पैसा हालेर चिटिक्क परेका किन्ने हैन ।

भानुचौकको बसपार्कमा अगाडि राखेका हुन्छन् नि बाक्ला पनि हुन्छन्, सस्ता पनि हुन्छन् ।

हो, त्यहाँ किन्ने ।

२० हजार पठाइदेको छु । बहिनीको औषधि छ–छैन ?

त्यहाँ कसैको काम छैन ।भोलि के पर्छ–पर्छ १–२ हजार चेपेर राख्नू । परेको बेला ऋण खोज्ने पनि समय हुँदैन । फेरि यस्तो बेला कसले दिन्छ ?’

केहीबेरमा समाचार आयो अब कोरोना सङ्क्रमित आफैले उपचार गर्नुपर्छ । कति दूरदर्शी कमरेड रेविका । हुन त मध्य जनयुद्धमा ५ वर्ष ज्यानको बाजी लगाएर माक्र्स, लेनिन, माओ र प्रचण्ड पथका किताबका ठेली खर्लप्पै निल्नुभएको थियो ।

त्यही भएर पनि होला खाडीमा हाड घोटेर आर्जेको पसिना दाना परिस्थितिअनुसार खर्च गर्न जानेको ।

अस्तिको दिन मेरो पनि कुरा भएको थियो,  वहाँसँग । माननीयलाई दशंैभत्ता दिने सरकारको निर्णयले सहयोद्धाहरुले राहत पाएकोमा निक्कै खुसी हुनुहुन्थ्यो ।

भन्दै हुनुहुन्थ्यो, ‘सर्वहाराको पनि दिन आउँदोरहेछ ।

सहयोद्धाहरुले राहत पाए । जनताले गणतन्त्र पाए ।

त्यो निरङ्कुश सामन्त त ढल्नै थियो । अफसोस्, कमरेड बादल सहिद हुनुभयो । आज वहाँ जीवित हुनुहुन्थो भने कति आनन्द आउँथ्यो ।’

धनकुटाको राजारानी, खोकुछिन्ताङ, सल्लेरी मौनाबुधुकदेखि मोरङको जाँते, केचना, विराटनगरसम्म राता–रात भाग्दाको सहयात्री सम्झँदै हुनुहुन्यो ।

कमरेड बादललाई मैले दुई पटक देखेको थिएँ । जनयुद्धको अन्त–अन्ततिर शान्ति सम्झौता हुँदै गर्दाताका ।

माओवादीका विद्यार्थी युनियनका कार्यकर्ताहरु हाम्रो स्कुलमा पनि सङ्गठन विस्तारका लागि आएका थिए । दुई पटकको भेटमै कमरेड बादलले मलाई यति प्रभावित बनाउनुभएको थियो कि म नै पहिलो थिएँ, जो सदन सभाहलमा मुठ्ठी कसेर देब्रो हात उचाल्दै लाल अविभादन गर्न सकोस् ।

कमरेड बादलको शरीरलाई निक्कै परबाट तेस्रो पटक देखेको थिएँ ।

सेतो सर्ट, कालो पाइण्ट, गोल्डस्टार जुत्ता, ढाडमा सेनाका झोला बोकाइएको वहाँको दुवै हात नाइलनको हरियो डोरीले बाँधेको थियो ।

सय बढी सेनाको बीचमा पनि सूर्यभन्दा चम्किलो अनुहार लिएर मेरै घरअगाडिबाट जानुभएको थियो ।तर, फर्कनुभएन ।


कमरेड रेविकालाई म सानैदेखि नै चिन्थेँ । सेउती, सर्दु, खदम खोलामा मात्र हैन, गछियाखोलामा गिट्टी फोर्नेदेखि लिएर कोइला, गोलिया र फेण्टा रातारात धरान ल्याउनमा पनि माहिर हुनुहुन्थ्यो ।

देउराली, खैरेनी, खोरिया बस्ती, निराजन बस्तीलगायत साबिकको धरान, याङ्शिला, केराबारी, पाँचकन्या र विष्णुपादुकाका विपन्न बस्तीका ढिकुटी थिए, त्यो आसपासका खोला र जङ्गल ।

लालच र ईष्या दुवै नभएकी वहाँको विवाह नै प्रचण्ड पथको पहिलो पाइला थियो ।

श्रीमानसँगको बेमेल मिलापत्रको १ बाकस कागज माइतमा जिम्मा लगाई जङ्गल पस्नुभएको थियो । गोलिया काट्न हैन ।

रातोदिन जाँड खाएर पिट्ने श्रीमानसँग हजारौं पटक मिलापत्र किन हुन्छ ? किन छोरीमान्छे भएपछि सहनुपर्छ भन्छ समाज ? किन मध्यराति पटक–पटक जिउँदै जलाउने प्रयास हुँदा पनि प्रमाण पुग्दैन ? हामी को हौं ? यस्तै केही प्रश्नको उत्तर खोज्नु छ भन्नुहुन्थ्यो ।

पिछडिएका, पछि पारिएका र दबाइएकाहरुको समानता र मुक्तिको सङ्घर्ष नै जनयुद्ध हो । गरिब, उत्पीडन, महिला, दलित तथा राज्य सत्ताबाट दबाइएकाहरुको साझा मञ्च हो प्रचण्ड पथ ।

नन्देभाइ र श्रीमानसँग कुपी निभाएपछि घरमा आउने पाहुनाले यस्तै केही भन्दै गरेको सुन्नुभएको थियो । बिहान ३ बजे उठेर २० किलोमिटर पर अनकण्टार जङ्गलमा पुगी ल्याएको गोलिया बेची आर्जेको १ सय ५० दाम पत्तै नपाई श्रीमानले मङ्गले दाइको होटलमा भुटनको सितनसँग तीनपाने चुस्क्याउँदै तासमा उडाएपछि किसान दाइको पसलबाट उधारो नुन, तेल गर्नुभएको वहाँलाई समानता, सङ्घर्ष, मुक्ति र बलिदान थाहा थिएन ।

अँध्यारो रातमा भित्रिएको पाहुना भालेको पहिलो डाकमा बाहिरिँदा भन्ने गरेको ‘यो जनसङ्घर्षमा तपाईंको पनि योगदान छ । तपाईंको योगदानको कदर हुनेछ ।’ यो भनाइले गोलिया बोक्न नपर्ने हो वा श्रीमान् सुध्रिने हो, अक्कल काट्न मुस्किल पर्ने गरेको मैले देखेको थिएँ । खैर, त्यतिबेला वहाँको आवश्यकता दुई छाक र शान्तिपूर्ण पारिवारिक वातावरण थियो ।

आज वहाँको आवश्यकता अलि फरक छ । जनयुद्धले दिएको एउटा उपहार छ वहाँसँग । बिछट्टै सुन्दर, वहाँ त्यो उपहारलाई मेरो फूलबारी भन्नुहुन्छ । त्यो फूलबारीलाई गोडमेल गर्नु वहाँको जिम्मेवारी रहेको छ । जनयुद्धको उत्कर्ष सशस्त्र द्वन्द्वमा गोली र बम, बारुदमा छर्राहरुसँग लुकामारी खेल्दै भविष्यको निर्मम हत्या गरेर ल्याएको समानता स्थापित गरिसकेपछि समानताको सदुपयोग गर्दै खाडी पस्नुभएको छ ।

मैले वहाँलाई जनयुद्धमा होमिएपछि पहिलो पटक लगभग डेढ वर्षपछि पथरीमा भेटेको थिएँ । देवीबाट कमरेड रेविका हुनुभएछ । बगर र जङ्गलमा नङ्ग्रा र पाखुरा खियाएको मलिन अनुहार । निधारमा भग्य र कर्मका वर्षगाँठहरु ।

हात र पैतालामा बञ्चरा, झम्पल र गैंतीको स्नेहले उमेरेका पसिना दाना । यस्तै देखिने देवी हैन । मैले मेरो अगाडि सामन्ती जलाउने आगोको ज्वालो रेविका भेटेँ । मैले कहिल्यै नचिनेको रेविका ।

४ वटा प्रश्नको उत्तर खोज्न जङ्गल पस्नुभएको वहाँ प्रश्नै–प्रश्नमा अल्झनु भएछ ।

भन्दै हुनुहुन्थो, ‘दलित किन घर पस्नु हुन्न ? महाजनको ऋण बढेर किन हलिया, बँधिया, कमैया हुन्छन् गरिब ? किसानको घरमा किन भोकमरी ?’
गरिब बस्तीमा दरिद्रता बढ्दा पुँजीपतिको सम्पत्ति कसरी बढ्छ ? निमुखाले न्याय खोज्न घर–खेत किन बेच्नुपर्छ ? महिला सीमान्तीकृत, आदिबासी जनजाति, दलित, मधेसीलाई किन दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्छ ?’

म अक्क न बक्क भएँ ।

मैले वहाँलाई सोधेँ, ‘तपाईंका प्रश्नहरुको उत्तर पाउनुभयो ?’

थोरै शिर झुकाएर मलिन स्वरमा भन्नुभयो, ‘क्रान्तिको पहिलो सफलता भनेको माफी माग्नेलाई माफ गर्दै सहयात्रा गर्नु हो ।’

देवीको १० औं पटकसम्मको माफ त मलाई पनि याद छ । त्योभन्दा अघि म सानै थिएँ । कमरेड रेविकाको क्रान्तिको पहिलो सफलता सुनेर मन अमिलो भएको थियो ।

माफ गरेको सुनेर हैन, सहयात्रा सुनेर केही क्षणका लागि मेरा अनुहार चाउरिएका थिए । त्यस बखत गाउँपालिकाकी महिला सदस्यको भनाइ पनि आयो, ‘नमिलेर के पोइल जान्छेस् त ?’

कमरेड रेविकासँगै पहिलो पटक कमरेड बादल र आकासलाई भेटेको थिएँ ।

पञ्चायत ढल्यो, पञ्चेहरु ढलेनन् ।

कमरेड आकास भन्दै हुनुहुन्थो, ‘राणा ढले काठमाण्डुमा तर, गाउँको मुखिया ढलेन । पटक–पटक सत्ता फेरिए, ऋण लिने र दिने फेरिएनन् । साही नोकर गाउँ छिर्दा तरुनी र खसीको व्यवस्था गर्नुपर्ने ।

कर हाम्रो सेवा राजाको । पश्चिममा झाडापखालाले गाउँ चिहान बनाउँदा दरबार फ्राइडे पार्टी मनाउँछ । छोरा, भतिजा दिनदहाडै सडकमा मान्छे किचेर मार्छन् । कानून छैन । गाउँका मुखियाको तमसुक कैले च्यातिँदैन ।’

जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ, रोजगारको लागि हो, यो क्रान्ति ।

जनताको बहुदलीय जनवाद भन्ने अनि सामन्ती, पुँजीवादी र राजासँग साँठगाँठ गर्नेलाई पनि छोड्दैनौं । अब गरिबका दिन आउँछ । काम नगरी खानेलाई पाता कसेर काममा लगाइन्छ । सबैलाई रोजगार दिइनेछ ।

निजी हैन, सरकारी उद्योग, व्यापार, स्वास्थ्य र शिक्षा हुनेछ । गाउँ हैन, केन्द्र सत्ता कब्जा गरेपछि १० वर्षभित्रमा युरोप हुन्छ देश । कमरेड आकास आक्रोसपूर्ण कर्कस ध्वनि निकाल्दै हुनुहुन्थ्यो ।

घरबेटी चौकोबाट दगुर्दै ढोकामा आए । सातो हराएको उनको अनुहार खुम्च्याउँदै, सास दबाउँदै विस्तारै बोल्नु न माओवादी घरमा आएर बसेको थाहा पायो भने हामीलाई पनि मार्छ भनेपछि कोठामा सन्नाटा छायो ।

राति त्यहीँ बसियो । किताब पढिरहने बानी थाहा पाउनुभएकी कमरेड रेविकाले बिहान मलाई माओत्सेतुङ र कार्लमाक्र्सका २ थान किताब दिनुभयो र भन्नुभयो, ‘आमूल परिर्वतनका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेका महान् पुरुषहरु हुन् । विश्व वहाँहरुको आदर्शको अनुसरण गर्छ । त्यागको बलिदानको आभारी छ । पढ्नु ।’

म घरतिर फर्किएँ ।

घरमा आएर हेर्दा दुई किताबको चेपमा सानो लेप्टो रहेछ । ‘विश्व चर्चित क्रान्तिकारी महिलाहरु’ १० जना क्रान्तिकारी महिलाको जीवनी । त्यतिबेला खुब पढेको थिएँ, अहिले बिर्सिएँछु ।

पथरीको भेटपछि करिब ३ महिनाको अन्तरालमा पार्टीका कार्यकर्ताले कमरेड रेविकाले पठाउनुभएको पत्र लिएर आउनुभएको रहेछ । पत्रको शुरुमै पार्टीमा महिला कमरेडहरुले गरेको त्याग र योगदान हेर्दा आफू निक्कै तल रहेको र थप योगदानको लागि आतुर रहेको उल्लेख गरिएको थियो ।

वहाँ भन्दै हुनुहुन्थ्यो, ‘हाम्रा जनसेनाले भोजपुरको ब्यारेकमा रहेका राजाका नोकरहरुमाथि आक्रमण गर्यो, शानदार आक्रमण ।

यो एक इतिहास शुरुवात हो । त्यसलाई इतिहास बनाउने ।

आज म गौरवान्वित छु । विशेषगरी महिला योद्धा कमरेड झरनाप्रति । निरङ्कुश सामन्तीको लागि यो एउटा सबक हो ।

अँ, जनसेनाभित्र पनि दुई–तीनजना महिलाको त्योे साहस र त्यसमाथि गर्भवती कमरेड झरना । भोजपुरको ब्यारेक हानेर तेह्रथुममा बच्चा जन्माउनु, को सक्छ, त्यस तहको योगदान दिन पुरुषले ?’

प्रश्नको उत्तर मसँग अझै पनि छैन ।

‘महिलाहरुमा तागत र सहनशक्ति कतिसम्म हुन्छ भन्ने कुरा जनसङ्घर्षले सिकाउँदै छ’ वहाँ भन्दै हुनुहुन्थ्यो, ‘जनताका लागि मृत्युसँग जुहारी खेल्नु । महिला त्यो पनि गर्भवती मेरा लागि निक्कै अनौठो थियो ।’

पत्रमा अगाडि लेखिएको थियो, ‘हामी धैर्यवान आमाबुबाका कर्मठ र बहादुर सन्तान हौं । आज पछि पर्यौं भने भोलि हाम्रा सन्ततीले हामीलाई धिक्कार्नेछन् ।

त्यसैले हामी यहाँ लडिरहेका छौं । अब तपाईं पनि यो मुक्ति युद्धमा एउटा मसाल बन्नुपर्छ । माओवाद, माक्र्सवाद, लेनिनको विचारधारा अँगालेर प्रचण्ड पथमा लागेका हाम्रा नेताहरुको उद्देश्य जनता र सत्ताकाे एउटै आँगनमा बनाउन हो ।

जसरी एउटै आँगन भएको छिमेकीले तपाईंको दुःख–सुखका ऐंचो पंैचो टार्छ । मर्दा मलामी र बाँच्दा जन्ती जान्छ । हो, त्यस्तै हुनुपर्छ सरकार र जनता बीचको सम्बन्ध ।

किसानले बाली लगाउँदा बाउसे गर्ने र बाली पाक्दा दाइँ गर्न सघाउने सिद्धान्त कम्युनिष्ट सिद्धान्त हो । यहाँ जात, धर्म, पेशा, वर्ण, सम्प्रदाय, लिङ्ग, धनी, गरिब हुँदैन ।

त्यसैले विभेद छैन । सामन्तीहरुले आफ्नो दासत्व कायम राख्नका लागि समाजलाई खण्डीकरण गरे । अनि केही पातकीहरुले कम्युनिष्टको खोल ओढेर जनता र बुर्जुवाहरुसँग दलाली गरेका छन् । समाजका ती विखण्डनकारीहरुलाई सिध्याएर नयाँ युगको शुरुवात गर्नु छ ।आज देशलाई तपाईंको खाँचो छ ।

क्रान्तिको ‘क’ पनि नजान्ने मैले योगदान, त्याग, वलिदान, समानता, असमानता कम्युनिष्ट जस्ता शब्दको अर्थ लगाउन सकिनँ ।

तर, ८० रुपैयाँ रोजमा काम गरेर ९ जनाको परिवार पाल्ने हर्कवीरको भैंसी बेचेर राखेको ५ हजार दाम सापटी भन्दै मागेर मैले लिएको हैन भन्ने मुखिया र विक्रम कामीलाई छिमेकी जित राईले ‘डाङ्ग्री’ भन्दै कुटपिट गरेपछि निवेदन दिन आउँदा कामीलाई डाङ्ग्री, दमाईलाई डुम्रे र सार्कीलाई चमार नै भन्छन् भन्ने उपमुखिया हरि विकहरु कम्युनिष्ट हुन सक्दैनन् भन्ने लाग्यो ।’

पत्रको अन्ततिर शीर्षनेताहरु पूर्वमा आउने भएकाले विचार बचाउन सुरक्षा योजना बनाउनु पर्ने र बाटो क्लियरेन्स गर्नु पर्ने भएकाले केही दिन पाँचथरमा रहने लेखिएको थियो ।

विचार बचाउनु भनेको नेतालाई बचाउन कार्यकर्ताले ज्यानको बाजी राखेर सुरक्षा दिनु भनेको त हैन ? मनमा प्रश्न उब्जियो । तर, नेता र कार्यकर्ताबीच समान व्यवहार हुन्छ भनेको सुनेको थिएँ । माथिका हरफहरुले त्यसलाई झन् प्रष्ट पारेकोले प्रश्न शङ्कामा बदलिन पाएन ।

दुई पेजको पत्रको बिट ३ लाइनमा लेखिएको व्यक्तिगत विषयले मारिएको थियो ।

‘श्रीमानकाे उही रबैया देखिन थाल्यो । पार्टी भित्र भएकाले कुटपिटबाट भने बचेको छु । एक हप्ताअघि निकै ठूलो झगडा भयो । जनताले विश्वास गरेर दिएको चन्दा फजुल खर्च, रक्सी र तासमा उडाएको थाहा पाएपछि मैले त्यसो नगर्न भनेको थिएँ ।

सयौंको भीडमा अश्लील गालीगलौज गर्यो । मातेर मान्छे नै नचिन्ने भएको थियो । पटक–पटक यस्तै भइरहकोले अब सँगै नबस्ने निर्णय गरेर पार्टीमा कम्प्लेन गरेको छु । हाई कमाण्डबाट मिल्न समय दिएको छ । तर, अब नमिल्ने पक्का छ । कारबाहीको माग गरेको छु ।

मन खिन्न भो । श्री ५ को सरकारसँग १० औं पटक हारगुहार गर्दा पनि त्यही जँड्याहालाई जिम्मा लगाएर पठाएपछि जनसरकारको ढोका ढक्ढकाउन पुग्नुभएको वहाँको हविगत फेरि पनि उही त हुने हैन ।

मनमा शङ्का उब्जियो । महिला सङ्घर्षका गौरविला गाथा सुनाउनुभएको वहाँ आफै लैङ्गिक विभेदमा त पर्नुभएन ? मन चसक्क घोच्यो । तर, माथिका हरफहरुमा महिलालाई समान अवसर दिएको महसुस गर्न सकिन्थ्यो ।

समानता नै मुख्य एजेण्डा बोकेर मार्न र मर्न तयार भएको जनयोद्धाहरुबीच लैङ्गिक असमानपूर्ण न्याय कदापि हुँदैन, म केही ढुक्क भएँ ।

त्यसपछि लामो समयको अन्तरालमा याङ्शिलामा भेट भयो वहाँ र मेरो ।

सरकार र माओवादीका शीर्षनेता वार्ताको तयारीमा थिए । युद्धविरामको औपचारिक र अनौपचारिक घोषणाहरु भइरहेका थिए । मुठभेड कम भए पनि धरपकड भई नै रहेको थियो ।

माओवादीका कार्यकर्ताहरु जनस्तरमा सङ्गठन विस्तारलाई तीव्रता दिँदै थिए । गाउँमा भाटे कारबाही निकै लोकप्रिय थियो ।

यस बीचमा कमरेड रेविका र वहाँको श्रीमानबिच पुनः सम्बन्धविच्छेद र पुनर्मिलन भइसकेको रहेछ ।

वहाँ गर्भवती हुनुहुँदो रहेछ । ‘सङ्गठन विस्तार गर्नु पर्नेछ । जनतामा जनचेतना उजागर गर्नु छ । सुमदायभित्र नेतृत्वको विकास गर्नु छ । नेतृत्वलाई बलियो र प्रभावशाली बनाउनु छ’ –वहाँ भन्दै हुनुहुन्थ्यो ।

माओवादीका लडाकु र कार्यकर्ताहरुको बारेमा जानकारी राख्न इच्छुक रहने म वहाँको क्रान्तिका यात्राहरुको बारेमा जान्न लालायित थिएँ ।
क्रमशः