कुनै व्यक्तिगत वा समुहगत लाभ प्राप्त गर्ने निहित उद्देश्यले समाजमा भय,डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो उद्देश्य प्राप्त गर्नुलाई नै अपराध वा हिंसा भन्ने बुझिन्छ ।
यसरी अपराध वा हिंसा व्यक्तिगत वा सानो समुहगत स्वार्थ सिद्धीको लागि गरिने गैर मानवीय तथा गैर न्यायिक आतंकवाद हो ।
नेपालका महिलाहरु अहिले घरेलु, पारिवारिक र अन्य प्रकारका हिंसा वा अपराधका आतंकद्वारा पिल्सिएका छन ।
महिला माथि हुने यस्ता हिंसाका स्वरुप विविध छन । घरझगडा, बहुविवाह, चेलीबेटी बेचबिखन, श्रमशोषण, यौनशोषण, छर-छिमेकमा हुने स- साना कलह, गरिबी, बोक्सीको वा आधारहीन आरोपहरू, सम्पत्तिगरगहना लुटपाटका धटना , श्रीमानले गर्ने अत्यधिक मदिरा सेवन, दाइजो वा अनमेल विवाह आदि महिला माथि हुने हिंसा- अत्याचारका श्रोत हुन ।
पहिले यस्ता धटना सार्वजनिक हुन सजिलो थिएन । तर हाल सञ्चारका माध्यमको विकास र विस्तारका कारण तिनको पहुँच भएको क्षेत्रबाट महिला विरुद्धका हिंसाका समाचारहरु लगातार आउन थालेका छन् ।
समाचार सङ्कलनका सुविधा नभएका ग्रामिण दुर्गम क्षेत्रमा भने नेपाली महिलाहरु माथि हुने अत्याचारको लेखाजोखा गर्ने माध्यम नहुने हुँदा अनुमान मात्र गर्न सकिन्छ ।
- राजेश्वरी सापकोटा लम्साल
(समाजशास्त्री)
अहिले महिलाहरु पैतृक सम्पत्तिको हकदार बन्ने स्थितिमा पुगेका छन् । शिक्षा, स्वास्थ्य प्रशासन, व्यापार -व्यवसाय, सञ्चार -मनोरञ्जन क्षेत्रमा महिलाहरुको योगदान बढ्दो क्रममा छ ।
तर अर्कातिर उनीहरु हिंसाको सिकार बनिरहँदा सिङ्गो समाज त्यसबाट उनीहरुको रक्षा गर्न असक्षम र असम्वेदनशिल छ ।
सबै प्रकारको हिंसाहरूको गणना गर्दा धरेलु हिंसा नै महिला उत्थानका लागि ठूलो बाधक देखा पर्छ । कानुनले प्रतिबन्ध लगाएको बाल विवाह र बहुविवाह उन्मूलन हुन सकेको छैन ।
अशिक्षा र अन्धविश्वासले छोरी र बुहारी बीचको भेदभावपूर्ण सोच र तदनुकुल व्यवहारले धरेलु हिंसा उत्पन्न हुन्छ । लोभ र पापको प्रवृत्तिले नै परिवारमा कलह हुने र त्यो जधन्य हिंसामा गएर ङ्गिने गर्छ ।
अझ महिला हिंसाको कुरा गर्दा महिलाको गर्भमा रहेको राम्रो जीवन लिन नपाइसकेको महिलाभ्रूण हत्याको दुखत प्रसंग यहाँ उल्लेख गर्नु बेस हुन्छ ।
छोरालाई अपरिहार्य मान्ने हाम्रो रूढिवादी संस्कृतिबाट जकडिएको समाजमा यस्ता संभावित छोरीको गर्भमा नै हत्या हुने गर्दछ ।
यो भ्रुणहत्याले थुप्रै कानुनी तथा मानवीय प्रश्न उठाएको छ । तर यस्ता कृयाकलापहरूले भ्रूणलाई पूर्ण विकसित शिशुको रूपमा जन्माउने जिम्मेवारी लिएकी आमा र कसैको इच्छामा जीवको भ्रूणको रूप लिन पुगेको त्यस प्राणीको विरुद्धको हत्याले दुईवटा जधन्य हिंसा एकैसाथ गरेको पाइन्छ ।
अतः महिलाहरु स्वयम् नै धरेलु पारिवारिक र अन्य प्रकारका हिन्सा वा आतंक विरुद्ध जुटौ। पुरुष प्रधान नेपाली समाजमा विद्यमान कुरीति, असमानता र अन्याय विरुद्धको यो लडाइँमा सम्पूर्ण संघसंस्थाहरूले र कानुनी राज्यले साथ नदिए सम्म महिलाहरुले एक्लो लडाई नै लडनु पर्नेछ।