धरान/ कोरोना महामारीका कारण बन्द रहेका चर्च सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै चर्चका धर्मगुरु तथा अगुवाले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दीले हालसम्म खुल्न नसकेको भन्दै धरानका चर्चहरूलाई खुलाइदिन माग गर्दै नगर प्रमुख तिलक राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । अन्य धार्मिक संस्थाहरू सक्रिय रहेकाले पनि चर्च पनि पुनः सञ्चालन गर्न पाउनुपर्ने मागसहित धरान ख्रिष्टीय समाजको पहलमा आइतबार नगर प्रमुख र उपप्रमुखलाई भेटेर ध्यानाकर्षण पत्र बुझाइएको समाजका अध्यक्ष सामुएल राईले बताए । त्यस्तै पुस १० गते क्रिसमसको सार्वजनिक बिदा दिन पनि अपिल गरिएको उनले बताए ।

उनले सरकारले जारी गरेको आवश्यक मापदण्ड भौतिक दूरी कायम गरेर चर्च सञ्चालनमा ल्याउने बताए । धरानमा साना–ठूला गरी ७५ वटा चर्च छन् । यी चर्चमा झण्डै २० हजार इसाई धर्मावलम्बीहरू आराधना गर्दै आइरहेको प्रवक्ता हिमाल राईले बताए । तर, विगत ९ महिनादेखि घर–घरमै सेवा गरिरहेको उनले बताए ।

प्रदेश १ इसाई समाजका महासचिव मेहरमान ह्यूज गिरीका अनुसार प्रदेशभरि करिब २ हजार चर्च रहेकाले सबै चर्च खुल्नुपर्ने आग्रह गरे । अनुग्रह चर्च धरानका वरिष्ठ धर्मगुरु परशु गुरुङले क्रिसमसमा बिदा नदिनुलाई सरकारको इसाई धर्मापलम्बीप्रति हेर्ने दृष्टिकोणबारे अगवत हुने बताए ।

नगर प्रमुख राईले चर्च खोल्ने र क्रिसमसको बिदाको सम्बन्धमा बृहत् छलफल गरेर चाँडै निर्णय गरिने बताए । उनले आफू यस विषयमा सकारात्मक रहेको बताए । त्यस्तै उपप्रमुख मञ्जु भण्डारी सुवेदीले क्रिसमसको बिदाका लागि छलफल चलाइने बताइन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि क्रिसमसको बिदा दिइँदै आएको भए पनि नेपालको संविधान २०७२ पछि बिदा कटौती गरिएको छ । यद्यपि कतिपय स्थानीय तहले स्वतःस्फूर्त रूपमा क्रिसमसको सार्वजनिक बिदा दिँदै आएका छन् ।