केही क्षणअगाडि अचानक म रहस्यमय अन्तरिक्षमा, सौर्यमण्डलमा, आकाशगङ्गामा, ब्रह्माण्डमा या कतै झिल्को भएर विचरण गर्दै थिएँ । मैले के महसुस गरेँ भने म एउटा बिशाल ब्रह्माण्डमा कतै हराइरहेको महŒवहीन या अर्थहीन कण हुँ, जो शून्य बराबर छ ।
मलाई लाग्यो म शून्यताको महाशून्यमा कतै छु र त्यहाँबाट आफूलाई नियाल्दैछु । अचानक मैले पहिला शून्य थिएँ, शून्य छु र शून्यतामा बिलाउनेछु भने अनुभूत गरेँ । शेक्सपियरले भनेजस्तै शून्यबाट शून्य नै निस्कन्छ । कणले मबाट शून्य नै निस्कँदै गरेको देख्यो । रिक्तता निस्कँदै गरेको देख्यो । अचम्मसँग आफ्नो अनुपस्थितिलाई आफैले हेर्दैछ । रित्तो देखिँदैछ । फगत् रित्तो । त्यहीक्षण जब तपाईं आफूलाई शून्य बनाउनुहुन्छ, तपाईंको शक्ति अजेय हुन्छ । अझ भनेर महात्मा गान्धीले भनेको त्यतै कतै गुञ्जियो । त्यहाँबाट हेर्दा त कणले हिँड्दा हिँड्दा सबै थाकेर लखतरान भएको देखियो कतै लामो विश्राम चाहिएको हो कि जस्तो लाग्यो। अरस्तुले भनेका थिए, ‘शून्य के होइन । मेरो अहिलेको अवस्थामा शून्यता भनेको ज्ञानको शून्यता वा भोकको शून्यता देखियो । दर्शन र विचारको शून्यता हुनुपर्छ ।’
माओको सङ्गीत सुनियो–भोकबाट जे निस्कन्छ, त्यो निस्कियो । झुपडीबाट जे निस्कन्छ, त्यही निस्कियो । जीवनप्रतिको चकमन्नता देखियो । स्थिरता देखियो । एकाङ्कीपन हेरियो । म बोध गरिरहेको छु, थाहा छैन कसरी ? यसबेला चेतना शून्य छ वा त्यसको उपस्थिति । जहाँ न जीवन छ, न जगत् । न पदार्थ छ, न चेतना । देखँे केवल शून्य । समय पनि टक्क रोकिएको पाएँ । न हिजो थियो, न आज, न भोलि । पाएँ महाशून्य । लाग्यो यी सबै क्षणिक र कल्पित कुरा हुन् । दीर्घकालमा वास्तविक त शून्य मात्र रहेछ । एक मात्र सत्य–शून्य । न त जगत् छ, न त ब्रम्ह । दुवै मिथ्या । सत्य त दुवैको अनुपस्थितिमा छ । त्यो हो– शून्य । महाशून्य । जुन देवकोटाले पनि देखेका थिए । मलाई अनुभूत भो–जे हुँ, त्यो होइन जे होइन त्यो हुँ । र यो पनि अनुभूत भो– बाँच्नु सजाय, मर्नु मुक्ति ।
जीवन र जगत् मिथ्या नै देखेँ तर, जब फ्रेडरिक नित्सेले ईश्वर मरेको घोषणा गरेको समेत अनुभूत गरेँ, तब मलाई झन् महाशून्यले छोप्यो । ब्युँझिएपछि लाग्यो– बरु चार्वाकले भनेजस्तै ऋण गरेर घ्यू खाएको भए हुने । शून्य, पदार्थ, चेतना, आत्मामा नअल्झेको भए उत्तम हुने । शून्य आफैमा केही पनि हुँदैन, तर शून्य बिना म केही पनि गणना गर्न सक्दिनँ । तसर्थ, शून्य केही हो, अझै शून्य त्यो हो महाशून्य । समाधिस्थ कि के घटित भो खै थाहा पाइनँ ।
पारमेनियसले भनेको जस्तो जे छ छ र जे छैन त्यो हुनै सक्दैन नै ठीक । केही नहुनुको पछाडि केही छैन । केही नहुँदासम्म केही हुनेछैन । गिलासमा पानी राख्नुअघि केही थिएन राखेपछि पनि केही हुँदैन पिइहालिन्छ । खाली त्यहाँ समय हुन्छ । मात्र समय । वास्तवमा हुँदा नहुँदाको अर्थ हुन्छ । नहुँदा हुँदाको । उपस्थित हुनु भनेको नहुनु हो र नहुनु भनेको हुनु हो । हुनु र नहुनुबीचको पुल समय । यही समयले अस्तित्वमा छ छैन भन्ने निर्धारण गर्ने । समय पनि शून्यकै वरिपरि रहने । यसले महाशून्यवाट यात्रा प्रारम्भ गरी महाशून्यमा नै पु¥याउने । मानिसले हुनै नसक्ने तŒव चेतना खडा गरेर आफ्नो अस्तित्व देखाउने प्रपञ्च रचेको छर्लङ्ग देखियो । त्यस्तो तŒव कतै अस्तित्वमा देखिँदैन । देखिन्छ त केवल शून्य मात्र ।
अनुराग श्रीवास्तवको ध्वनि शून्य अन्तिम सत्य हो । यो वास्तवमै छ । यो अराजकताको अन्तिम परिणाम हो । यो जिज्ञासा हो कि कसरी चिजहरू आफ्नै चिजमा थपिन्छ, घटाइन्छ, गुणा गरिन्छ र विभाजित हुन्छ अन्त्यमा, एउटा अद्वितीय परिणाम दिन शून्य बनिन्छ । यो शून्य हो जुन ब्रह्माण्ड अराजक रूपमा बास गर्छ । ब्रह्माण्डको एक कुनाबाट अर्को कुना मधुर आवाज दिएर जाँदै गरेको सुनियो ।
नरकको नाद शून्य चाहना हो । जब यो अस्तित्वमा आउँछ, यसले एक सिर्जना गर्दछ र त्यहाँ सधैँ अर्को हुन्छ र त्यो अराजकता हुन्छ भन्ने महाशून्यबाट ओर्लन लाग्दा सुनियो कि । अन्तरिक्षबाट ओर्लिंदै गर्दा हो कि कतै राष्ट्र कवि माधवप्रसाद घिमिरेको मृत्युपछि बजाउनू भनिएको गीत, त्यसरी होस् मरण–जसरी सुत्छन् तारमा, गीतका चारु चरण ...., महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता, म शून्यमा शून्य सरी बिलाएँ....आखिर भै खाक त्यसै बिलाएँ.... र लेखनाथ पौडेलको आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो.... वायुमण्डलमा मधुर सङ्गीतमा गुञ्जिरहेको हो कि भन्ने अनुभूत गर्दै थिएँ ।
अचानक त्यो कण आफूमा उपस्थित भएछ । अनि त म शून्यबाट एकमा ओर्लिएँछु । यो तकिया, यो झ्याल र बाहिर हल्लिइरहेका बाँसहरू । यो पङ्खा, यो सेनिटाइजर यी मास्कहरू, सरसर बगेर आएको यो बतास र यो मेरो कलम म महसुस गर्छु तसर्थ म छु । डेकार्टसले भनेजस्तै म सोच्छु त्यसैले म छु । म शून्य भएर अस्तित्वमा आएँ । म पूर्ववत् स्थितिमा आएँ । जीवनमा अचम्म घटित भो । रोमाञ्चक भयो । फेरि त्यस्तो कहिल्यै भएको छैन । तपाईं नपत्याउन पनि सक्नुहुन्छ । ईश्वरले त तपाईंलाई पत्याउने पार्न सकेका छैनन् भने मेरो त के कुरा भयो र ?
जब कसैको आशालाई शून्यमा झारिन्छ, तब उसले सबै चिज आफैसँग भएकोमा साँच्ची नै प्रशंसा गर्छ, भनेर स्टेफन हकिङले भनेजस्तै भयो आज मलाई । तर, उनले भोगेको जस्तो स्पष्ट छ मेरो अशक्तताको कारण मलाई सहयोग चाहिन्छ । तर, मैले जहिले पनि मेरो अवस्थाको सीमिततालाई पार गर्न सकेसम्म पूरा जीवन बिताउने कोशिस गरेँ । मैले अन्टार्कटिकाबाट शून्य गुरुत्वाकर्षणसम्म विश्व यात्रा गरेको छु । महान् जीवनको शून्यताको यात्रा त जाबो म कसरी गर्न सक्थेँ र ? शून्यताको यात्रा गर्नु भनेको आफ्नो ‘स्व’ गुमाएर आफैले आफैलाई अनुभूत गर्नु हो ।
त्यहाँ दुःख पीडा, व्यथा, वेदना र विचार त ब्याक होल भइसक्छ सायद । यथार्थमा त्यस्तो हुन्छ ? तपाईंले बुझेको यथार्थ र मैले बुझेको यथार्थ एउटै छ र ? कि फरक पनि हुन सक्छ ? अहिले यथार्थ खण्डित भएको विचार आएको छैन र ? तर, यो विचार होइन, नितान्त मेरो आश्चर्यजनक अनुभूति हो ।
पक्कै पनि शून्य जस्तै अनौठो केही पनि छैन । मलाई थाहा भएको अरू कुनै पनि अङ्कले भन्दा यसले धेरै आनन्द प्रदान गर्दछ । हामीलाई अनन्त शक्तिको साथ भविष्यको पूर्वानुमान गर्न यही शून्यले अनुमति दिन्छ । हामी आएको बाटोको समेत बोध गराउँछ । हाम्रो संस्कृतमा कुनै चिज नै नहुनु भन्ने धारणा निक्कै गहिरो छ । शून्यताको अवस्था निर्वाण...सबै चिन्ता र इच्छा गायब भएको अवस्था उल्लेख छ । शून्यले जीवनको सर्कलको अर्थ बुझाउँछ । तर, म धार्मिक मान्छे पनि होइन । यो सब घटित भएर पूर्ववत् स्थितिमा आएपछि म आश्चर्यचकित र रोमाञ्चित भएँ । पलभरकै लागि भए पनि मेरो त्यो अद्भूत अनुभूति थियो ।
मलाई थाहा छ–म दुःख र सुख, पीडा र खुशीबाट बच्न सक्दिनँ । भाग्न सक्दिनँ । तर, दुःखलाई कम र सुखलाई बढी गर्न सक्छु । त्यसैले म कोशिस गर्दैछु–उराठलाग्दो जीवन नबाँचू, अरूलाई कष्ट नदिई बाँचू, परिवारको सहारा बनूँ, साथिभाइको चित्त नदुखाऊँ । मेरो हिसाबले असल गर्ने कोशिस गर्छु । आन्तरिक यात्राबाट होस् या बाहिरी दुनियाँबाट आफूलाई चिन्ने प्रयास गरूँ । आफ्नो पहिचान र अस्तित्व कायम गरूँ । सायद धेरै विचारक यसै गर्छन् । थाहा छ मलाई म परमाणुको जमोट हुँ, कुनै दिन म परमाणुहरूमा छरपष्ट हुन्छु र ब्रह्माण्डमा कतै हराउँछु ।
फेरि शून्य नै हुन्छु । अनन्त ऊर्जा हुन्छु । किनकी सिर्जना हुनु छ । तर, मार्क कुरलान्स्कीले भनेजस्तै ‘शून्यले कति अझै शून्य उत्पन्न गर्छ थाहा छैन ।’ मलाई झन् के थाहा ? महाशून्यलाई । अबोधलाई । अता मोहम्मदले भनेजस्तै ‘तपाईं माथि हुनुहुन्छ । म केवल शून्यबाट सुरु गर्दैछु ।’ चाहिँ म भन्दिनँ । अहिले म यहीँ छु जहाँ तपाईं हुनुहुन्छ । म ईश्वरप्रति धेरै आभारी छु र तपाईंप्रति । तपाईंबाट आएको प्रेमको भाइब्रेसन महसुस गर्दैछु, ठीक यसैबेला ।