इनरुवा । सरोकारवालाहरुले मानव बेचविखन विरुद्ध सहकार्यको खाँचो औल्याएका छन् । सुनसरीको इनरुवामा आयोजित मावन बेचविखन तथा ओसारपसार विरुद्ध सरोकारवालाहरुको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रमका सहभागिहरुले त्यस्तो धारणा राखेका हुन् ।
प्लान नेपालको सहयोग र जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा साझा सवालका लागि साझा मञ्च कोकनले इनरुवामा सरोकारवाला बिच अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमका सहभागिले सरोकारवाला बिच अझैपनि आपसी तालमेलको अभाव रहेको औल्याएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा लगायतको उपस्थिति रहेको कार्यक्रममा घटना संख्याको अनुपातको कार्वाहीको प्रकृया भने न्यून रहेको बताइएको थियो ।
अधिकारकर्मीहरुले सीमा क्षेत्रबाट उद्दार गरिएकाहरुको संख्या र घटनाको दाँजोमा प्रहरीले न्यून संख्यामा मात्रै मुद्दाको प्रकृया अघि बढाउँदा अपराधीले समाजमा प्रश्रय पाउँदै गएको बताए ।
असोज देखि मंसिर महिना सम्मको अवधिमा पटक पटक गरी ३९ जनाको उद्दार गरिएको भएपनि जम्मा २ वटा मात्र मुद्दा दर्ता भएको उनीहरुको भनाई छ । खासगरी भाण्टारी नाका बढी संवेदनशील रहेको सरोकारवालाहरुको ठम्याई छ ।
खुला सीमा भएका कारण सहजै आउजाउ हुने हुँदा सम्भावित नाकामा समेत सुरक्षा निगरानी बढाउन आवश्यक रहेको उनीहरु बताउँछन् । अन्तरसम्वादमा कार्यक्रम लागु रहेको क्षेत्रमा कार्यरत प्रहरी युनिटका प्रमुख तथा सरोकारवाला सहितको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिका , रामधुनी नगरपालिकाको साथै बर्जु र कोशी गाउँपालिकाका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिकारकर्मी तथा अधिवक्ता कोषराज न्यौपानेले मावन बेचविखन तथा ओसारपसार विरुद्धको नीति, नियम र त्यसको कार्यान्वयन पक्ष्यको बारेमा जानकारी गराएका थिए ।
उनले विगतको अवस्था र बदलिंदो परिवेश अनरुप मानव बेचविखन तथा ओसारपसारको शैलीमा आएको भिन्न्ता र स्वरुपको बारेमा समेत अवगत गराएका थिए ।
अधिकारकर्मीहरुले उद्दार गरिएको संख्याको दाँजोमा प्रहरीमा मुद्धा भने दर्ता नहुने गरेको बताए । उनीहरुले मावन बेचविखनमा संलग्न उपर कडा कार्वाही चालिनु पर्नेमा जोड दिए ।
कार्यक्रमका सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको सवालमा विगतको तुलनामा कमी आएको बताए ।
उनले सबैको साथ र सहयोगले क्रमशः प्रगति हात लाग्दै गएको बताए । जसकालागि स्थानीय तहले ठोस योजना सहित कार्यान्वयनमा जुट्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रममा धारणा राख्दै सुनसरीका प्रहरी प्रमुख कमल थापाले सीमा क्षेत्रमा सरोकारवाला सहितको पहलमा राखिएका चेक पोन्टसँगै परिचालित सुरक्षाकर्मी मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा खटिदै आएको बताए ।
उनले विभिन्न वहानामा भारत तर्फ लैजादै गरिएका युवतीहरुको उद्दार समेत भएको बताए । मुद्दा दर्ताको सवालमा घटना प्रकृति अनुरुप दोषी उपर कार्वाहीको प्रकृयामा कुनै कसर बाँकी नराखिएको उनले बताए ।
सो कार्यक्रममा कोकन अध्यक्ष मञ्जिता उपाध्यायले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा सबैको साथ र सहयोगको अपरिहार्यता रहेको बताएकी थिइन् ।
उनले सरोकारवाला सँगको समन्वयमा चालिएका प्रयास सार्थक बन्दै गएको भन्दै स्थानीय तहले प्राथमिकतामा राखी दीगोपनाको सवालमा ठोस योजनासाथ अघि बढ्न आवश्यक रहेकोमा जोड दिइन् ।
कार्यक्रममा जनप्रतिनिधिहरुले आ–आफ्नो पालिका स्तरको योजनामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि कार्य योजनालाई प्राथमिकतामा समेटी अघि बढ्ने बताए ।