हितराम तिल्लिङ पछिल्लो समयमा याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, संस्कार, संस्कृति र मुन्धुम दर्शनको अध्ययन अनुसन्धानमा व्यस्त छन् । तेह्रथुमको साविक दाङपा–६ (हाल लालीगुराँस नगगरपालिका–५) पुख्र्यौली थलो भएका ३८ वर्षीय तिलिङ हाल धरान–१९ मा एक छोरा, एक छोरी र श्रीमती रूपा तुम्खेवास“ग बस्दै आएका छन् । एमए बिएड गरेका तिलिङको पेशा शिक्षण हो । उनको पछिल्लो पुस्तक ‘याक्थुङ संस्कारहरू’ बजारमा आएको छ । उनका तिल्लिङ वंशावली (२०७४), उद्घोषण तथा प्रस्ताव लेखन कला (२०७५), लालीगुराँस नगरपालिका र यहा“का लिम्बूहरूको इतिहास (२०७६) पुस्तक प्रकाशित छन् । ब्लाष्टले उनै युवा लेखक, मुन्धुम र संस्कृतिविद् तिलिङस“ग गरेको कुराकानीको सारसंक्षेप :
हाल केमा व्यस्त हुनुहुन्छ ?
– खासगरी म शिक्षण पेशामा आबद्ध छु । मेरो पछिल्लो पुस्तक याक्थुङ संस्कार बजारमा आएपछि यसैको मार्केटिङमा पनि व्यस्त छु । विश्वव्यापी कोरोना महामारीले गर्दा शैक्षिक क्षेत्र अवरुद्ध भएको पनि लगभग ९ महिना भयो । यस बीचमा विभिन्न पुस्तकहरूको अध्ययनमा पनि पो व्यस्त छु ।
याक्थुङ संस्कारहरू पुस्तक तयार गर्न कति समय लाग्यो ?
– यो पुस्तक तयार गर्न मलाई लगभग २ वर्ष लाग्यो । तुत्तुतुम्याहाङ, मुम्धुमसावा तथा येवा–येमा, साम्बा, फेदाङ्माहरूलाई सोधखोज गर्दै याक्थुङ संस्कार र सस्ंकृतिसम्बन्धी मुद्रित पुस्तकहरू गहन अध्ययन गरेर आधारभूत कुराहरू सङ्कलन गरी तयार गर्दा निकै समय लाग्यो ।
कहिलेदेखि कसरी लिम्बू संस्कृतिप्रति मोह जाग्यो ?
– म २०६२ सालतिर उच्चशिक्षाको लागि धरान आएँ । धरानको महेन्द्र बहुमुखी क्याम्पसमा लिम्बू विद्यार्थी मञ्चमा काम गर्ने अवसर पाएँ । मञ्चमा रहेर लिम्बू भाषा, लिपि, संस्कार र सस्ंकृतिका सम्बन्धमा धेरै कार्यक्रमहरू आयोजना ग¥यौं । २०६४ सालतिर साम्जिक मुन्धुम चुम्भो नामक संस्था स्थापना गरी मुन्धुमको प्रशिक्षण तथा मुन्धुम सङ्कलन र सम्पादन कार्यमा सहभागी भएँ । त्यस संस्थामा रहेर धेरै लामो समय फेदाङ्मा, येवा, साम्बा, तुत्तुतुम्याहाङहरूसँग बिताइयो । मुन्धुमको अध्ययनपछि याक्थुङ संस्कार र संस्कृति मुन्धुमद्वारा निर्देशित हुन्छ भन्ने थाहा भयो । याक्थुङ मौलिक संस्कारहरू अन्य जातिको संस्कार र संस्कृतिभन्दा तुलनात्मक रूपमा वैज्ञानिक भएको पाएँ । त्यही समयदेखि याक्थुङ संस्कार र संस्कृतिप्रति मोह जाग्न थाल्यो ।
जीवनको उतार–चढाव र सङ्घर्ष के कस्तो रह्यो ?
– पहाडी गाउँको कृषक परिवारमा बाल्यकाल बिताउँदै विद्यालय शिक्षा प्राप्त गरी आफ्नो उच्चशिक्षाको लागि धरानजस्तो बजारमा विद्यार्थी जीवन बिताउनु त्यति सजिलो त थिएन नै, तैपनि निरन्तरको सङ्घर्ष र यहाँका स्थानीय याक्थुङ समुदायका केही वृद्धहरूको सङ्गतले यहाँसम्म आइपुगेको छु । आफ्नो भाषा, लिपि, संस्कार र संस्कृति तथा मुन्धुमको अध्ययनले आफ्नो शैक्षिक अध्ययन र आर्थिक रूपमामा निक्कै पछाडि परेको महसुस गरेको छु ।
हालै विमोचन भएको पछिल्लो तेस्रो किताबको बारेमा केही बताइदिनुहुन्छ कि ?
– यो पुस्तकको परिकल्पना उही प्रकाशक युमा साम्यो महासभा प्रवास समिति मलेसियाले गरेको हो । जुन परिकल्पनाअनुसार याक्थुङ जातिको जन्मपूर्व गरिने साप्पोक चोमेन (गर्भपूजा)देखि मृत्युपश्चात् ई–सेम्मा तङ्सिङसम्मको याक्थुङ संस्कारहरू संक्षेपमा समेट्न प्रयास गरिएको छ । याक्थुङ जातिले गर्नै पर्ने संस्कारहरू कसरी उत्पत्ति भए ? के के हुन् ? किन र कसरी गर्नुपर्छ ? भन्ने बारे संक्षेपमा समेटिएका छन् । जस्तैः जन्मपूर्व गरिने संस्कार साप्पोक चोमेनको उत्पत्ति कसरी भयो ? साप्पोक चोमेन के हो ? किन गर्नुपर्छ ? साप्पोक चोमेन गर्दा कुन–कुन समयमा, कुन–कुन साम्माङहरूको पूजा गर्नुपर्छ ? भन्ने बारे संक्षेपमा उल्लेख गरिएको छ ।
जम्मा ६ खण्डमा लेखिएको यस पुस्तकमा पहिलो खण्डमा याक्थुङ जातिको परिचय, मुन्धुमको परिभाषा, मुन्धुमको दर्शन, मुन्धुमको महत्व, मुन्धुममा मानव उत्पत्तिको वर्णन, याक्थुङ संस्कार र संस्कृतिको परिचय, तुत्तुतुम्याहाङको भूमिका, याक्थुङ समुदायमा फेदाङ्माको भूमिका, साम्बाको भूमिका, येवा/येमाका भूमिका आदि समेटिएको छ ।
दोस्रो खण्डमा जन्म संस्कार अन्तर्गत साप्पोक चोमेनको परिचय तथा यसको विधि, साप्पोक चोमेन अन्तर्गत गरिने विविध साम्माङहरूको बारेमा उल्लेख गरिएको छ । साथै शिशुको जन्मपश्चात् गरिने याङ्दाङ फोङ्मा (न्वारान) र यसको विधि, माङ्गेन्नाको परिचय र माङ्गेन्ना गर्ने विधि, फुङ्वा चाङ्मा आदिका बारेमा उल्लेख गरिएको छ । तेस्रो खण्डमा विवाह संस्कार बारे लेखिएको छ । विवाहको किसिम र विधि मेक्काम (लगन) इङ्मे, मेल्लुङ मुसिङ्मा (वागदत), नाजोङ खेम्जोङ पङ्याङ/तङ्याङ र लावायाङ आदि बारे उल्लेख गरिएको छ । चौथो खण्डमा मृत्यु संस्कारको परिचय, किसिम, अन्त्येष्टी गर्ने विधि उल्लेख गरिएको छ । मेरिङ थक्मा, खाम इङ्मा, युमसा नाक्मा, खाःउमा, ई–सेम्मा, तङ्सिङ आदि बारे व्याख्या गरिएको छ । पाँचौं खण्डमा अन्य महŒवपूर्ण संस्कारहरू उल्लेख गरिएको छ । अक्वानामा, चासोक/थिसोक र यसको विधि, चासोक गर्दा गर्नै पर्ने साम्माङहरू, तङ्सिङ, नाहाङ्मा, लाम्भोबा, माङ्हुक वादेम्मालगायत विविध साम्माङहरू उल्लेख गरिएको छ । हिमलीली, हेमाममा, लेङ्लेप्मा, चा?इङ, पम्भे, थोक्ला, याक्थुङ लाङ, याक्थुङ मिङ, सिलामसाक्मा र याक्थुङ महिलाको थर आदि उल्लेख गरिएको छ । अन्तिम खण्डमा विविध संस्कारसम्बन्धी लगभग तीन दर्जन क्याप्सनसहितका तस्बिरहरू समावेश गरिएको छ ।
युवा संस्कृतिविद् भएको नाताले याक्थुङ संस्कृतिलाई कसरी परिभाषित गर्नुहुन्छ ?
– म त्यस्तो संस्कृतिविद् नै त होइन । तैपनि संस्कार र संस्कृति भनेको कुनै पनि जातिको बाँच्ने कला हो । परापूर्वकालदेखि याक्थुङ पुर्खाहरूले गर्दै आएका मुन्धुमद्वारा निर्देशित येबा, साम्बा, फेदाङ्मा तथा तुम्याहाङद्वारा गरिने जन्मपूर्वदेखि मृत्युप¥र्यन्तसम्मका संस्कार र संस्कृति लिम्बूको मौलिक संस्कृति हो । हाम्रो संस्कार र संस्कृतिमा धेरै वैज्ञानिकता पाइन्छ । संस्कार र संस्कृति बचाउनका लागि कतिपय जटिल संस्कार संस्कृतिलाई समय, काल र परिस्थितिअनुसार मूल मर्म नमर्ने गरी सरलीकृत बनाउँदै लानुपर्छ ।
युमायइजम वा युमा धर्मलाई कसरी हेर्नुभएको छ ? अनि किरात धर्मलाई कसरी हेर्नुभएको छ ?
– युमाइजम वा युमा धर्मलाई केही बौद्धिक मान्छेहरूले युमा साम्माङसँग जोडेर गलत व्याख्या गर्दै आइरहेका छन् । याक्थुङ मुन्धुमलाई अध्ययन गर्दा ‘युमा माङ’ भनेको सर्वोच्च ‘माङ’ नै तागेरा निङ्वाफुमाङ युमा माङ हुन् । समस्त ब्रम्हाण्डका सृष्टिकर्ता, सर्वाेच्च आत्मा, जगत्जननी तागेरा निङ्वाफुमाङ नै युमा माङ हुन् । युमाका उपासक तथा युमाद्वारा निर्देशित मुन्धुमलाई अङ्गीकार गर्ने सबै याक्थुङहरू जन्मदै युमाधर्मी हुन् । हाम्रो मान्छेहरू युमा माङ, युमा साम्माङ र युमा साम बारे भ्रममा परेका छन् । युमा माङ भनेको सर्वाेच्च ईश्वर तागेरा निङ्वाफुमाङ हुन् । उनको निर्देशनअनुसार पोरोक्मी यम्भामीले सारा ब्रम्हाण्डको सृष्टी गर्छन् । युमामाङ साम्माङको पनि माङ हुन् । युमा माङलाई सबै याक्थुङ्बाले दियो कलश राखेर हेना गरिन्छ ।
युमा साम्माङ भनेको युमा माङकै दोस्रो स्वरूप हो । उनी मानवीय आवश्यकताअनुसार दर्शन तथा निर्देशन दिन्छन् । युमा साम्माङसँग धेरै सेनमेन (च्याङ) हरू हुन्छन् । साम्माङ गर्दा युमा साम्माङमार्फत् उनीहरूलाई भोग दिनु पर्ने हुन्छ । युमा साम्माङलाई फेदाङ्माहरूमार्फत् साङ्भे बनाएर खःमा गरिन्छ । युमा साम भनेको युमा माङको उपासक हुन् । युमा माङको साम व्यक्तिको आत्मामा प्रवेश गरेपछि उनलाई युमाको उपासकको रूप मानिन्छ । युमा सामले युमा माङको थान बनाएर युमा हेना गर्ने गर्छन् । उनीहरूले फलफूलबाट मात्र युमालाई दर्शन तथा आराधना गर्छन् । युमा सामहरू जेठी, माइली, साइली लगायत थुप्रै प्रकारका हुन्छन् । किरात धर्म भनेको फाल्गुनन्द लिङ्देनले वि.सं. १९८८ मा समाज सुधार्नको लागि सत्यधर्म मुचुल्का गराई सत्यहाङको विकास गराए । उक्त मुचुल्काका अनुनायीहरूलाई सत्यहाङ्मा भनिन्छ । सत्यहाङ्माहरूकै बलमा वि.सं. २०४८ को जनगणनामा लिम्बूले धर्मको महलमा किरात लेख्न शुरु गरे । वि.सं. २०४९ सालमा धरानमा भएको कियाचुको दोस्रो महाधिवेशनले लिम्बूको धर्म किरात घोषणा गरेपछि लोकप्रियता पाएको थियो ।
युमा साम्यो दर्शन लिम्बूले आदि अनादिकालदेखि (उवाहाङ, मावोहाङ, सिरीजङ्गा, इमानसिं) मान्दै आएको जातीय धर्म हो । यसमा लोक परम्परा, सामूहिक अभ्यास र संस्कार संस्कृतिमा आधारित हुन्छ । याक्थुङ लोक परम्परा र संस्कार संस्कृतिलाई संस्थागत र व्यवस्थित गर्नको लागि युमा धर्म पुनः स्थापना गरिएको हो । यो धर्म कुनै व्यक्तिले प्रतिपादन गरेको सिद्धान्तमा आधारित छैन । मुन्धुम दर्शनमा आधारित भएकोले पेगी फाङ्सामहरू यसका उपकारी हुन् ।
किरात धर्म एक शुद्ध धर्म भएकोले सबै जातजातिलाई समेट्न खोजिएको छ । यो धर्म कुनै एक जात वा समुदाय विशेषमा मात्र आधारित छैन । सबै जातजातिलाई समेट्नका लागि बनेको यो धर्ममा याक्थुङ मुन्धुम दर्शन र मौलिक संस्कार संस्कृतिलाई जोड्न सकिँदैन । त्यसैले यस धर्मबाट याक्थुङ मौलिक संस्कार र संस्कृतिको संरक्षण हँुदैन । गुरुप्रथामा आधारित भएकोले सेवासावामार्फत् संस्कार गराउँछन् । मुन्धुम, दर्शन, संस्कार संस्कृति र कानूनी दस्तावेजको हिसाबले किरात धर्म शुद्ध धर्म हो । यसमा याक्थुङ मुन्धुम, दर्शन, मौलिक संस्कार र संस्कृति पाइँदैन ।
लिम्बू (सावा येत्हाङ)को इतिहास वा मिथक अध्ययन गर्दा मुन्धुममा काठमाडौंको खाल्डोमा राज गर्ने ३२ पुस्ते किरात राजाहरूको कुनै पनि नाम, शासन र प्रकृतिको चर्चा छैन । यसलाई तपाईंले कसरी बुझ्नुभएको छ ?
– सर्वप्रथम त हामी किरात होइनौँ । किरात इतिहास अध्ययन गर्दा आर्य जातिले अनार्यलाई किरात भनेको पाइन्छ । अनार्यको उत्पत्ति तथा विकास एकै ठाउँमा भएको होइन । हाम्रो मुन्धुमअनुसार फक्ताङ्लुङ (कुम्भकर्ण), कञ्चनजङ्घा हिमशिखरहरूको आधारशिविर मारुङ्तेम्बे, पारुङ्तेम्बेमा मानव उत्पत्ति भएको वर्णन छ । मुजिङ्ना खेयङ्ना हुँदै, सावा येत्हाङ हुँदै हालको याक्थुङ समुदाय निर्माण भएको कुरा हाम्रा तुत्तुतुम्याहाङ, फेदाङ्मा, येबा, साम्बाले आजसम्म वर्णन गर्दै, गाउँदै आइरहेका छन् । जब लिम्बू समुदाय (लिम्बुवान) मा अन्य समुदाय (राई, तामाङ, गुरुङ....आदि) को आगमन भयो, त्यसपछि लिम्बू जातिलाई पनि किरात भन्न थालियो र लिम्बू आफैमा किरातको भ्रममा परेको मात्र हो । लिम्बूले माङ्गेन्ना गर्दा मानव उत्पत्तिदेखि मिङ्स्रा (वंशको पहिलो पुर्खा) थाम्ब्रङ यक, माङ्गेना यक हुँदै वर्तमानसम्म आइपुग्नुपर्ने हुन्छ । मानव उत्पत्तिको मुन्धुमदेखि माङ्गेन्ना मुन्धुम र लिम्बुवानको इतिहासमा कहीँ काठमाडौं खाल्डोमा राज गर्ने ३२ पुस्ते किरात राजाहरूको नाम, शासन र प्रवृत्तिको चर्चा छैन । त्यसैले हामी किरात होइनौं । महाभारतकालीन किरात र काठमाडौंको ३२ पुस्ते किरात आफैमा विवादित र अविश्वसनीय छ । त्यसैले किरात इतिहासभित्र जबरजस्ती घुसेर आफ्नो वास्तविक इतिहासलाई कुठाराघात गर्नु राम्रो होइन ।
किरात र लिम्बूमा तपाईंले बुझेको फरक के होला ?
– ‘किरात’ शब्द आर्य समुदायले अनार्य समुदायलाई दिएको नाम हो । जस्तै, लेप्चा समुदायले लिम्बू समुदायलाई ‘चोङ’ भन्ने गर्छन् । लिम्बू समुदायले आर्य समुदायलाई ‘पेनिबा’ भन्छन् । पेनिबाको पनि लिम्बू भाषामा आफ्नै अर्थ तथा परिभाषा छ । उनीहरू हामी पेनिबा हौं भनेर कहिल्यै गर्व गर्दैनन् र आफ्नो पहिचान पनि बनाउँदैनन् । परापूर्वकालदेखि आर्य समुदायले दक्षिण एशियाक्षेत्रका असभ्य, सिकारी, सुँगुर पाल्ने र खाने, चिम्से समुदायलाई किरात भन्दै आएका थिए । हामी आफैलाई ‘किरात’ हौं भन्ने थाहा थिएन । अहिले आएर लिम्बू समुदायमा किरातको भूत सल्बलाएको छ ।
‘लिम्बू’ शब्द शाह वंशीय राज्यले दिएको जातीय नाम हो । राज्यले याक्थुङ समुदायलाई ‘लिम्बू’ र उनीहरू बसोबास गर्ने क्षेत्रलाई ‘लिम्बुवान’ भने । त्यसैले लिम्बू शब्द राजनीतिसँग जोडिन्छ । लिम्बूहरूले आफूलाई ‘याक्थुङ’ भन्न रुचाए पनि लिम्बू थर स्वीकारेका छन् । ‘लिम्बू’ शब्द ‘याक्थुङ’ भाषाबाट नै बनेको पनि हुनसक्छ । त्यसैले यसमा याक्थुङ पहिचान खुल्छजस्तो लाग्छ ।
आख्यान (उपन्यास, कथा, नाटक) कविता, गीत, गजल, लेखन र संस्कार संस्कृतिसम्बन्धी लेखनमा तपाईंको प्रिय विधा के होला ?
– विद्यालय (कक्षा–१२) समयसम्म, आख्यानहरू अत्यन्तै पढियो । सायद अहिले जस्तो सूचना, प्रविधि नभएर होला । गाउँमा रहँदा हामीले साहित्यिक हवाई पत्रिका प्रकाशन गरेकोले मुक्तक, गीत, गजल, कविता जबरजस्ती भए पनि लेख्ने प्रकाशन गर्ने गथ्र्यौं । केही गजल र कविताहरू अझै पनि सुरक्षित छन् । उतिखेर माया प्रितीका गजल कविताहरू हुन्थे । पछिल्लो समयमा मुन्धुमको अध्ययनमा लागियो । मुन्धुमभित्र संस्कार र संस्कृतिको उत्पत्तिको मिथक हुँदा रहेछन् । हामीले हाम्रो संस्कार र संस्कृतिको उचित व्याख्या गर्न नसकेको कारण हाम्रा मान्छेहरू सांस्कृतिक तथा धार्मिक विचलनमा परेका छन् भन्ने कुरा थाहा भयो । यी यावत् समस्या समाधान गर्ने प्रयास गर्नको लागि संस्कार र संस्कृति बारे अध्ययनमा लागेको छु ।
अरू जाति वा समुदायको धार्मिक सांस्कृतिक शास्त्र र याक्थुङ समुदायको मुन्धुम शास्त्रबीचको फरकपन कस्तो पाउनुभएको छ ?
– विल्कुल फरक पाएको छु । अङ्गे्रजहरूले भन्ने गरेको (रिलिजन) 'Religion' शब्दको अर्थ मुक्ति, मोक्ष, त्याग र विश्वाससँग सम्बन्धित छ । क्रिष्टियन धर्मका मानिसहरू जिससले दिएको उपदेशअनुसार चलेमा मात्र सांसारिक पापबाट मुक्त भई मोक्ष प्राप्त गरेर जीवन व्यतित गरेमा मुक्ति पाउन सकिन्छ भन्ने विश्वास लिन्छन्, जो बाइबलमा उल्लेख छ । नेपालमा नेपालीले बोलिएको ‘धर्म’ शब्दको अर्थ ‘कुनै व्यक्तिबाट प्रतिपादित नीतिनियमलाई धारण गर्नु’ हो । ८४ हजार ऋषिले बनाएको नीतिनियम हिन्दु धर्ममा विकास भयो । जो वेदहरूमा अध्ययन गर्न पाइन्छ । गौतम बुद्धबाट प्रतिपादित नीतिनियम धारण गर्नु बौद्ध धर्म हो । हामी याक्थुङ्बाले भन्दै आएको साम्यो कुनै पनि व्यक्तिबाट प्रतिपादन नभई हिजो हाम्रा पितापुर्खाले गर्दै ल्याएको मौलिकतामा आधारित लोकपरम्परा तथा सामूहिक अभ्यासको रूप हो । याक्थुङ जातिले जन्मपूर्वदेखि मृत्युपर्यन्तसम्म गर्ने संस्कारहरूको रूप नै साम्यो हो । जो याक्थुङ मुन्धुमले निर्देशित गरेको छ । यसरी रिलिजन (च्भष्निष्यल० धर्म र साम्यो फरक हुन् ।
तपाईंको विचारमा मुन्धुममा वर्णित कथा, मिथक, किंवदन्ति, पात्र र घटनाहरू काल्पनिक हुन् कि वास्तविक ?
– मुन्धुममा वर्णित कथा, मिथक, किंवदन्ति, पात्र र घटनाहरू कतिपय साङ्केतिक रूपमा भएकोले काल्पनिकजस्तो देखिए पनि यथार्थ र वास्तविक हुन् । किनभने त्यहाँ स्पष्टरूपमा पात्र भेटिन्छन् । मुन्धुमीस्थलहरू भेटिन्छन् । सिलसिलाबद्ध घटनाहरू भेटिन्छन् । घटनाका अवशेषहरू भेटिन्छन् । ती कथा, मिथक तथा किंवदन्तिलाई मुन्धुम भनिन्छ । मुन्धुम मौखिकरूपमा पुस्तान्तरण हुँदै आएको हो । अझै पनि हाम्रा तुम्याहाङ, फेदाङ्मा, येबा, साम्बाले भन्दै र गाउँदै आएका पनि छन् ।
तागेरा निङ्वाफुमाङलाई सर्वोच्च ईश्वरको स्थानमा राखिएको कुरालाई हेर्दा के अरू धर्मको नक्कल गरिएको त होइन ? अनि पछि थपिएको त होइन ?
– मुन्धुम याक्थुङ्बाको साझा धरोहर हो । याक्थुङ मुन्धुम सबैतिर एउटै हुन्छ । आदिमकालदेखि मौखिक पुस्तान्तरण हँुदै आएको मुन्धुममा तागेरा निङ्वाफुमाङ युमामाङलाई सर्वोच्च ईश्वरको रूपमा देखिन्छ । सृष्टिकर्ता पोरोक्मी–यम्भामीमाङ, मुजिङ्ना–खेयङ्ना आदिले सृष्टि गर्ने क्रममा आफू आपत पर्दा तागेरा निङ्वाफुमाङलाई सुनुयुमा..ए, आनुयुमा..ए, तागेरामा..ए, निङ्वाभुमा..ए, भनी सम्बोधन गरी पुकार गर्छन् । कुनै धर्मको पात्रसँग संयोग मिल्न सक्छ । त्यसैले कुनै धर्मको नक्कल गरिएको होइन र पछि थपिएको पनि होइन ।
किरात शुद्ध धर्म हो भने युमा चाहिँ कस्तो धर्म हो ?
– महागुरु फाल्गुनन्द लिङ्देनले प्रतिपादन गरेको दर्शन तथा निर्देसनलाई याक्थुङइतरका अन्य जातजाति तथा समुदायले पनि अँगालेकोे वा स्वीकार गरेको कारणले किरात धर्म शुद्ध धर्म हो । यस धर्ममा नियम तथा प्रक्रिया पूरा गरी प्रवेश गराइन्छ । युमा धर्म हाललाई जातीय धर्मको रूपमा लिन सकिन्छ । याक्थुङ लिम्बूहरू जन्मसिद्ध युमाधर्मी हुन् । यस धर्ममा याक्थुङ मुन्धुम दर्शनअनुसार पिता, पुर्खाले गरी ल्याएको जन्मपूर्वदेखि मृत्युपर्यन्तसम्मका संस्कारहरू गरिन्छ । जब याक्थुङ मुन्धुमबाट निर्देशित संस्कारहरूबाट प्रभावित भई अन्य जातीय समुदायले स्वीकार गरी अँगाल्न थाल्छन्, त्यसपछि युमा धर्म पनि शुद्ध धर्म हुनजान्छ ।
अरू के के पुस्तक लेख्ने तयारी हुँदैछ ?
– अब छथरथुमको इतिहास ‘छथरे लिम्बूहरू’ नामक पुस्तकको तयारीमा छु ।