धरान । धरानको मुटु भानुचौकबाट ८ सय मिटर पूर्वउत्तरमा पर्ने गल्ली टोल देहातझै लाग्छ । त्यहाँ पुग्ने जोकोही सय वर्षअगाडिको धरानको झट्ट स्मरण गर्न पुग्छन् । त्यहाँ धरानको ऐतिहासिक अवशेष जीवित भएझैं लाग्छ ।
पुगनपुग १४ फुटे सडकको दुवैतिर पुराना शैलीका घर, सडकसँगै टाँसिएको छाप्रा । भट्टी पसलझै लाग्ने ससाना किराना तथा नास्ता पसलसँगै जोडिएका आलुचप, ढोङ्ग्री र प्याजीहरू बनाउने छाप्राहरू ।
मन्दिरका घण्टझैं हरेक बिहान ‘ठ्याङ्ग– ठ्याङ्गको आवाज एकनासले बज्छ । कालिगढहरूले भाडालाई आकार दिँदा निस्किएको आवाज हो । ‘बिहानैदैखि ठ्याङ्ग–ठ्याङ्गको आवाज पनि एकनासले सुनिन्छ’ नेवाः देय दवू नगरका पूर्वअध्यक्ष अनिल मास्के भन्छन्, ‘यो टोल धरानको अन्य टोलभन्दा एकदमै फरक लाग्छ ।’ बिहानैदेखि भाडा बनाउन खटिन्छन् कालिगढहरू ।
धरानका अधिकांश पसललाई यहाँकै कासा तथा तामाका भाडाले धानिएको छ । यहाँका रैथाने भाडा बनाउनेहरूलाई बाडावाल भनेर पुकारिन्छ । उनीहरूको पुख्र्यौली घर भोजपुर हो । आजसम्म पाँच–छ पुस्ताले जीवन व्यतित गरिसके । जीविकोपार्जनको प्रमुख स्रोत भाडा नै हो । १९६०–६१ सालमा धरानको नयाँ चित्र बन्न थालेपछि नै गल्ली टोलले आफ्नो परिचय बनाएको छ । लमतन्न परेको उत्तरदक्षिण बस्तीले नयाँ नाम पाएको छ, शङ्घधर मार्ग । शङ्घधर तिनै हुन् जो नेपाल संवत्का प्रवर्तक मानिन्छन् । यो टोल आजसम्म रङ्गिएन । त्यसैले यो धरानको मुटुमा भएर पनि ग्रामीण वस्ती झै लाग्छ । ‘धरानको मुटुमा भएर पनि यो टोल पिछडिएको गाउँजस्तै लाग्छ’–हालै पुस्ताका अमृत श्रेष्ठ भन्छन् ।
अमृतले भनेजस्तै धरानमा आउने नयाँ पाहुनाका लागि यो टोल एकदमै नौलो लाग्छ । यो टोलले धरानको ऐतिहासिकतालाई जीवित राखेको अनुभूति हुन्छ । धरानका अन्य टोल तथा सडकले कयौंपटक रूप फेरे । बाटो पनि चौडा बन्यो । घरहरू उसैगरी फेरिए । गगनचुम्बी महलहरू बने तर गल्ली टोल, नामअनुसार नै कायम रह्यो । यही गल्ली टोल पहिलोपटक मङ्सिरे पूर्णिमाका दिन अर्थात् यःमरी पून्हीको अवसर पारेर रङ्गिएको छ । बेहुलीझैं सिङ्गारिएको छ । केही समयअघि मात्रै नेपाल संवत् फेरियो । यःमरी पून्हीको बेला गल्ली टोलवासीले ‘घरघरमा यःमरी उत्सव’ लगाएको छ । यो उत्सव दुई दिनसम्म लाग्ने स्थानीय आयोजक अमृत श्रेष्ठ बताउँछन् ।
धरानमा मङ्सिरे पूर्णिमाको बेला यःमरी उत्सव लाग्दै आएको थियो तर यसपटक कोरोना महामारीका कारणले सरकारले भिडभाड नगर्न निर्देशन दिएपछि गल्ली टोलमा घरघरमा यःमरी कार्यक्रम ल्याइएको सामाजिक अभियन्ता राजीव हलुवाई बताउँछन् । गल्ली टोलमा ८० प्रतिशत नेवार समुदाय बस्छन् । केही वर्षअघिसम्म सतप्रतिशत नेवारको मात्रै बस्ती थियो तर अहिले किनबेच भएका कारण अन्य समुदायको पनि बसोबास छ । अमृत भन्छन्, ‘यो टोलमा अहिले छासमिस भएको छ, अझै पनि ८० प्रतिशत नेवारै छ ।’ उनका अनुसार कुनै समय यो टोलमा धरानवासीहरू पानी लिनका लागि आउँथे । टोलको सबैभन्दा सिरानमा गौरी कुवा छ । त्यही कुवाबाट पानी भर्न धरानवासीहरू लाम लाग्थे । ‘पानी भर्ने ड्रम कुवादेखि माछाभौडीसम्म पुग्थ्यो’–उनी भन्छन् ।
कुनै समय गल्ली टोलको सडक ढुङ्गाले छापिएको थियो । त्यो बेला धरानको ऐतिहासिक सडक पथ्र्यो तर अन्य सडकको रूप फेरिएसँगै गल्ली टोलले पनि नयाँ रूप पायो । यो वर्षबाट गल्ली टोलले अर्को नयाँ रूप पनि धारण गरेको छ, घरघरमा यःमरी मनाएर ।