याक्थुङ मुन्धुममा आधारित चासोक तङ्नाम मनाउनु भनेको आदिम कृषि युगको स्मृतिलाई ताजा बनाउनु हो । हुन त कृषियुग अझै पनि जारी छ । खेतबारीमा अन्नबाली उत्पादन गर्ने र त्यसलाई खाद्यान्नको रूपमा प्रयोग गरिरहेका छौं ।
तर, याक्थुङ लिम्बू समुदायले परम्परागत रूपमा मनाउँदै आएको चासोक तङ्नाम भने करिब ५ देखि १० हजार वर्षअघिको आदिम कृषि युगको अवशेष हो ।
खोरिया फाँडेर अन्नबालीको बिउ छरपोख गरेपछि फलेको (उत्पादन भएको) खाद्यान्नलाई सबैभन्दा पहिले सिवेरा याक्थुङ्मा ९इष्ट देवी या कुलदेवी युमा रु० लाई चढाएर हार्दिक कृतज्ञता प्रकट गरे ।
अन्नबालीको बिउ संरक्षण गर्दै खेती गर्न र फलेको बाली आगोमा पकाएर खान सिकाउने आदिम स्त्रीप्रति सावायेत्हाङहरूले यसरी हार्दिक कृतज्ञता प्रकट गर्दा अपनाएको मुन्धुमी विधि हो चासोक तङ्नाम ।
खोला–नाला, जङ्गल, डाँडाकाँडा पहाड, ढुङ्गामाटो, देउराली, गुफा, आगो, पानी, घाम, जुनलाई पुज्ने, मान्ने प्रकृतिपूजक भएकाले अन्नबाली फलाउन र फलेपछि आगोमा पकाएर खान सिकाउने सिवेरायाक्थुङ्मालाई सबैभन्दा पहिलो अर्पण गरेरमात्र आफूहरूले खाने वाचा गरेअनुसार शदियौंदेखि सावा येत्हाङका सन्तान हौं भन्ने याक्थुङ लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै आएका छन् ।
कृषि युगमा स्थापित मूल्य मान्यताका आधारमा निरन्तर चासोक तङ्नाम मनाउँदै आउँदा पछिल्लो समयमा यसले सांस्कृतिक चाडको रूप लिएको छ ।
हिन्दुहरूले दशैंलाई हर्षोल्लासका साथ मनाएजस्तै यतिबेला याक्थुङ (लिम्बू) समुदायले चासोक तङ्नामलाई मौलिक चाडको रूपमा मनाउँदै आएका छन् ।
अहिले समयमा यो महिनाको यति गते चासोक तङ्नाम पर्छ भनेर पात्रो (क्यालेण्डर)मा उल्लेख हुने गरेपनि पूर्वी नेपालको इम्बिरी याङ्धाङ्वा (तमोर सभ्यता) आसपास बसोबास गर्ने याक्थुङ लिम्बूहरूले केही सय वर्षअघिसम्म पहाडमा पैयुँ फुल्न थालेपछि खोला–नदीमा माछा ओरालो झर्न थालेपछि र आकाशमा चराचुरुङ्गी दक्षिणतिर लाग्न थालेपछि चासोक तङ्नामको समय आएको मान्ने गरेका थिए ।
सामान्य अर्थमा बुझ्दा आफ्नो खेतबारीमा तीन–चार महिनाअघि नै बिउविजन छरपोख गरेपछि फलेको, उत्पादन भएको अन्नबाली बटुल्ने र त्यसलाई सबैभन्दा पहिले प्रकृतिलाई चढाउने अनि रमाइलो गर्दै खाने, अरूलाई पनि बाँड्ने अवसरलाई पूर्वका प्रकृतिपूजक याक्थुङ लिम्बू समुदायले चासोक तङ्नाम भन्ने गरेका छन् ।
कृषि जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने याक्थुङ समुदायका लागि चासोक तङ्नाम सांस्कृतिक पहिचान दिलाउने सामाजिक चाडको रूपमा विकसित भएको छ ।
यो चाडले याक्थुङ समुदायको आर्थिक, सामाजिक, पारिवारिक, राजनीतिक, सांस्कृतिक, नैतिक जीवन पद्दतिबारे निर्देश गर्ने मुन्धुममै स्पष्ट उल्लेख छ ।
चासोक तङ्नामलाई याक्थुङ लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय पनि मानेका छन् ।लिम्बू भाषामा ‘चासोक’ को अर्थ ‘न्वागी’ र ‘तङ्नाम’ को अर्थ ‘उत्सव’ वा ‘चाडपर्व’ हुन्छ ।
‘उँधौली’ भन्ने शब्द चाहिँ पछि नेपालीकरण मात्र भएको हो । पछिल्लो कालखण्डमा चासोक तङ्नामलाई सामूहिक रूपमा मनाउँदै नया“ पुस्तामा हस्तान्तरण गरेर सांस्कृतिक सम्पदालाई कायम राख्ने प्रयास याक्थुङ लिम्बू समुदायले जारी राखेका छन् ।
मुन्धुममा चासोक ९न्वागी पूजा० बारे गरिएको आदिम वर्णनअनुसार आदिम सावायेत्हाङहरू वनजङ्गलमा तरुल, भ्यागुर, कन्दमूल आगोमा नपकाई का“चै खान्थे । यसरी नै उनीहरूको जीवनयापन चलिरहेको थियो ।
तर, काँचै वा नपकाई खाँदा अपचले कुपोषण हुने र रोगव्याधिको सिकारसमेत हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरा निङ्वाफु माङ (प्रकृति) को पूजा आराधना गरे ।
त्यसपछि उनीहरूले ‘पेना’ र ‘माङदःक्’ (कोदो), परामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बिउविजन पनि पत्ता लगाए ।
आदिम पुर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बिउविजन तिनका चेली सिवेरा एःक्थुक्मा र सिवेरा यावुङ्केक्माले काठ, ढुङ्गाको खन्ती र अङ्कुसेले खोरिया फा“डेर भस्मेमा छर्न सिकाइन् ।
त्यसपछि सावायेत्हाङहरूले बिउविजनको महत्व बुझेर सामूहिक खेतीपाती गर्न सिके । खेतीपातीसँगै उनीहरूले खोरिया र भस्मेमा उत्पादन भएका अन्नबाली आगोमा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगव्याधिबाट मुक्ति पाए ।
याक्थुङ समुदायले मानव हित गर्ने चेली सिवेरा एःक्थुक्माप्रति कृतज्ञता व्यक्त गर्न अन्नबाली फलेपछि पैयुँको फूल फुलेसँगै मङ्सिर, पुसमा चासोक तङ्नाम गर्दै आएका छन् ।
त्यतिमात्र नभएर प्रकृतिपूजक लिम्बूहरूले चासोक तङ्नाममा ममता, मातृत्व, नारी शक्तिको प्रतीकको रूपमा सर्वोपरी इष्टदेवी युमा, बल र सौर्य, शत्रुमाथि विजय, अन्नपात, धनदौलत र समृद्धिका साथ सुस्वास्थ्य, दीर्घायु र सन्तान प्राप्ति गराउने पितृशक्तिको रूपमा प्रकट भएको आदिपुरुष देवता थेबा, मानिसलाई बास दिने हिम (घर), जङ्गली देवताको रूपमा ताम्भुङ्ना, लेकमा बस्ने तक्सङ्वा, उत्तरको उच्च पहाडबाट झरेकी सिरिङ्मा वा मुदेनहाङ्मा (साया मुदेन), दक्षिणको तराईबाट आएकी तेन्छामा, कहिले उत्तर कहिले दक्षिणतिर घुमी हिँड्ने खजमा, पानीमा बस्ने वाजमा, रिसको देवता मिसेक, अन्नबाली उत्पादनमा उचित समयमा घाम र पानी दिएर बालीनाली राम्रो बनाइदिने थुङ्दाङ्बा पनि पहिचान गरेर मुन्धुमअनुसार पूजा आराधना गर्ने गरेका छन् ।
चासोकमै एकापसमा भेटघाट गर्ने, छरछिमेक कुलकुटुम्बबीच शुभकामना साटासाट गर्ने, मुन्धुममा आधारित खेलकुद, जातीय सांस्कृतिक पहिरन प्रदर्शन, यालाङ, केलाङ, मनोरञ्जनात्मक कार्यक्रमहरू लिम्बू समुदायले आयोजना गर्ने गरेका छन् ।
चासोकको पारिवारिक र सामाजिक महत्व बढ्दै गएकोले पायक पर्ने स्थलमा भेला भएर सामूहिकरूपमा फेदाङ्मा वा तुम्याहाङ (भद्रभलाद्मी)हरूका सहयोगले चासोक सम्पन्न गर्न थालेका छन् ।
पहिलेको रिसराग, ईष्र्या आदिलाई बिर्सेर आत्मीयताका साथ क्षमादान अपनाउँदै भेटघाट र शुभकामना आदान–प्रदानका साथ रमाइलो गर्ने गरेका छन् ।
विभिन्न प्रकारका परम्परागत खाद्य परिकारहरू चाम्रे, याङ्बेन (झ्याउ), सिगोले, फिलिङ्गे र फाँदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर सामूहिकरूपमा खानु चासोकको अर्को विशेषता हो ।
छोरीचेलीहरू पनि हुक्वा (आफैले बनाएको सोभित), नाम्स्या (नयाँ धानलाई भुटेर तयार पारिएको विशेष चामलको परिकार) र अन्य प्रकारको ‘चेसुङ’ (कोसेली)का साथ चासोक तङ्नामको अवसरमा माइतीघर जाने गरेकाले चासोकले याक्थुङ लिम्बू समुदायभित्र पारिवारिक, सामाजिक सद्भाव र सम्बन्ध बढाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
उमेर पुगेका तरुनी तन्नेरीहरू सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेलहरू लिआरुप्मा (गुलेली), ‘पक्लुङ’ (छेलो हान्ने) खेल खेल्नुका साथै माछा मार्ने, तोङ आरुप्मा (तीरबाजी), हक्चुम लक्मा (लङ्जम्प) खेल्ने गर्छन् ।
यसै अवसरमा सामूहिक रूपमा केलाङ (च्याब्रुङ) बजाएर नाच्ने गरेका छन् । एकापसमा नाता साइनो नपर्ने तरुण तन्नेरीहरू जातीय पहिरन र गहनामा सजिएर एकापसमा हात समाउँदै माया प्रितीका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाच्ने गरेका छन् ।
यसबेला बसेको मायाप्रिती विवाहमा पनि परिणत हुने गरेको छ । प्रौढ, वृद्धवृद्धाहरू मुन्धुमी साम्लो, हाक्पारे, ख्याली आदि गीत गाएर मनोरञ्जन गर्छन् ।
यसै अवसरमा साम्बारयेबा–येमाहरूबाट गाउँघरमा एकराते र तीनराते ‘तङ्सिङ’ (सुख समृद्धिका लागि गरिने पारिवारिक मेलमिलापको अनुष्ठान) सम्पन्न गर्ने चलन छ ।
तङ्सिङमा साम्बा येबाहरूले विश्व ब्रह्माण्डको सृष्टि, जीवजन्तु, किरा फट्याङ्ग्राको उत्पत्ति, मानव उत्पत्ति, सभ्यता र विकासको कथा वाचन गरेर अरूलाई सुनाउने गरेका छन् ।
यसर्थ चासोक तङ्नामले याक्थुङ समुदायको सामाजिक, पारिवारिक र सांस्कृतिक मनोविज्ञानलाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएकाले प्रभावकारीरूपमा पुस्ताहस्तान्तरण गर्नु अहिलेको टड्कारो आवश्यकता बनेको छ ।