धरान । नेपाल भाषाका अध्येता तथा संस्कृतिविद् बालकृष्ण हलुवाईलाई नेवाः देय दवू केन्द्रीय समितिले सम्मानित गरेको छ । हलुवाई धरानवासी हुन् । 

दुई दशकभन्दा अगाडिदेखि हलुवाई नेपाल भाषाको साहित्य, व्याकरण लेखनमा समेत संलग्न थिए । उनलाई दवूको केन्द्रीय समितिले केही अगाडि नै सम्मानित गरेको भए पनि कोरोना महामारी कारण भौतिक रूपमा उपस्थित हुन नसकेपछि  धरानमै सम्मानित गरिएको हो । दवू सुनसरीले ‘राष्ट्रिय जनगणना सचेतना तथा सम्मान कार्यक्रम’ गरेर हलुवाईलाई सम्मानित गरेको हो । 

उनलाई दवूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, भाषाविद् प्रा.डा. टङ्क न्यौपानेलगायतले सम्मान पत्र र नेवार समुदायका पुरुषले लगाउने फेटा गुथेर सम्मानित गरिएको थियो । सम्मानित व्यक्तित्वले दवूलाई धन्यवाद दिँदै पूर्वमा रहेका नेवार समुदायका लागि आफूले माटो सुहाउँदो नेवारी व्याकरणको पुस्तक लेखेको बताए । 

‘काठमाडौंमा थुप्रै यस्ता पुस्तक लेखिन्छन्, तर त्यहीँका समुदायलाई लक्षित गर्दै लेखिन्छ,’ उनले भने, ‘मैले यहाँका नेवार समुदायलाई लक्षित गरेर लखेको छु ।’ २०७८ को राष्ट्रिय जनगणनाको पूर्वसन्ध्यामा नेवार समुदायले भाषा तथा धर्मको महलमा के कुरा लेख्ने भन्ने विषयमा सचेतना गराइएको दवूका सुनसरी अध्यक्ष तीर्थ मास्केले बताए ।

दवूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले मुख्य भाषामा आफ्नो मातृभाषा (पुख्र्यौली) र छिमेकी भाषामा नेपाली भाषालाई छनौट गर्न आग्रह गरे । धर्मको महलमा कतिपय सनातनी हिन्दू धर्मालम्बी पनि रहेको र कतिपय बौद्धमार्गी पनि रहेकाले यस विषयमा आफै नै सचेत हुनका लागि आग्रह गरे । 

छिमेकी भाषाको महल राखिएको विषयमा भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले प्रष्ट पार्दै भने, ‘नेपाली भाषी कम देखाउनका लागि यो जनगणनामा यो महल थपिएको छ । मुख्य भाषामा सबैले आआफ्नो जातीय भाषालाई लेखे हुन्छ, छिमेकी भाषा भनेको स्थानमा नेपाली भाषालाई लेख्नुपर्छ किनकि यो एकले अर्को भाषीलाई जोड्ने सम्पर्क भाषा हो ।’

उनले २०६८ को जनगणनामा पनि कतिपय जातजातिले आफ्नो भाषा नलेखेर समुदायको प्रतिनिधित्व गर्ने जातलाई भाषाको रूपमा लेखेको बताए । उनले भने, ‘राई भाषा होइन, राईभित्रको वान्तवा, चाम्लिङ, कुलुङ यो चाहिँ भाषा हो, यस्ता विषयमा तपाईंहरू स्पष्ट हुनुपर्छ ।’