पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा बढ्दै गएका सृजनशील गतिविधिलाई हेरेर ललितकता विषयमा अध्यापन सुरु भएको छ ।
वडा नम्वर १ स्थित पथरीमा रहेको पञ्चायत माविमा कक्षा ११ र १२ का लागि चित्रकला, मूर्तिकला र ग्राफिक डिजाइन विषयमा यस शैक्षिक शत्रदेखि पढाई सुरु भएको हो ।
कोरोना भाइरसको कहरका कारण चालु शैक्षिकशत्रमा विद्यालयहरु लामो समयसम्म बन्द रही हाल खुला भएको अवस्थामा कक्षा ११ मा ललितकला विषयको पढाई सुरु भएको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जनाए ।
नगरमा सृजनशील क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनको विशेष चासो तथा पहलमा प्रदेशमै पहिलो पटक ललितकलाको पठनपाठन सुरु भएको हो ।
‘ललितकलाप्रति विद्यार्थीहरुको चासो बढ्दै गएको अवस्थामा एभरेष्ट आर्टको समन्वयमा यो वर्षबाट २० जनाको कोटामा पढाई थालिएको छ ।’– प्रअ बुढाथोकीले भने । हाल विद्यालयको निजि स्रोतमा ललितकला विषयमा ललितकला क्षेत्रका अगुवाहरु नविन नाल्वो र अभिशेष दासले शिक्षण गरिरहेका छन् ।
विष्णु श्रेष्ठ, डीवी याम्फू तथा ललितकताका विज्ञ अन्य अतिथि शिक्षकहरुबाट पनि शिक्षण सिकाई क्रियाकलापमा सघाउ पुर्याइने छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवम् एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीको विशेष पहलमा प्रदेशमा नमूना विद्यालयका रुपमा आफुलाई अघि बढाएको पञ्चायतले ललितकला विषयमार्फत थप अर्काे नमूना काम गर्न पाएको छ ।
नेपालमा चित्रकारिता क्षेत्रमा स्थापित पथरीशनिश्चरेको पहिलो प्राज्ञ खड्गी भन्छिन् ‘ यस क्षेत्रमा बढेको सृजनशील गतिविधि अन्तर्गत ललितकलाप्रतिको चासोलाई सम्मान गरेर विद्यालयमा फाइनआर्ट पढाई थालिकोमा ज्यादै खुसी लागेको छ ।’
उनले ललितकलाको पढाई काठमाडौंपछि सामुदायिक विद्यालयमा यो पहिलो भएको जनाइन् । संस्थागत विद्यालयमा भनें पोखरामा सो विषयको पढाइ भइरहेको सुनाइन् ।
ललितकला विषयको कक्षा सञ्चालनको सन्दर्भसँग जोडेर पञ्चायत माविमा हालै आर्ट प्रदर्शनी कार्यक्रम भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहायक डिजाइन तथा आइडब्लूएस नेपालका महासचिव चित्रकार दिपेन्द्र बनेपालीले आर्ट प्रदर्शनीमा बोलेका थिए ।
उनले ग्रामिण परिवेश रहेको पथरीशनिश्चरेमा सृजनशील गतिविधि बढेर ललितकला विषयको पढाई हुनुलाई निकै गौरव र महत्वको रुपमा लिए । काठमाडौंदेखि उनी यही खुसीमा पथरीशनिश्चरे आई २ दिन बसेर निशुल्क रुपमा ललितकला विषयको कक्षा संचालन र कला प्रदर्शनी गरेर फर्किए ।
त्यसोत, एभरेष्ट मार्फत प्रदेशमै पहिलो सेरामिक प्रदर्शनी गरिएको छ । पथरीमा सेरामिक उद्योग नै सञ्चालन गरेर कला क्षेत्रलाई आम सर्वसाधारणसम्म पुर्याउने जमर्काे भएको छ । एभरेष्टको गतिविधि अनि हाल ललितकता विषयको पढाई हुने अवस्थासम्म आइपुगेको सन्दर्भमा पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पनि खुसी व्यक्त गरेका छन् ।
उनले भने ‘हामीले यसखाले सृजनशीलताको विकासमा सधैं साथ सहयोग दिने गर्दछौं ।’