ताप्लेजुङ/ वरिपरि अग्ला पहाड र हरियाली वन जङ्गल, मुग्ध पार्ने चराचुरुङ्गीको आवाज । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सावाँमा पर्ने फुङ्फुङे झरना पुग्ने जोकोहीले महसुस गर्ने दृश्य हो ।
अझ झरना नजिकैको सावाँ गाउँवासीको स्वागत, सत्कार र आतिथ्यले थप मोहित बनाउँछ । गुमनाम फुङ्फुङे झरनाले आजकाल आन्तरिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । गत सालसम्म फाट्टफुट्ट मात्र पर्यटकहरू पुग्ने झरनामा यो वर्ष जिल्लाभित्रका मात्रै नभई काठमाडौं, पोखरा, इटहरी, धरान, झापा, इलाम, पाँचथरलगायतबाट आन्तरिक पर्यटकहरू झरनाको अवलोकन गर्न आइपुग्ने गरेका छन् ।
असोजयता दैनिक ५०–६० जनासम्म आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । कहिलेकाहीँ त एक–दुई सयकै हाराहारीमा आन्तरिक पर्यटकहरू पुग्ने गरेको स्थानीय होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष विजय साँवाले बताए । पछिल्लो समय फुङ्फुङेको प्रचार–प्रसारमा वृद्धि हुँदै गएको र यायायातको सुविधाले क्रमशः पर्यटकहरूको सङ्ख्या पनि बढेको साँवाको भनाइ छ ।
‘यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि सानोतिनो बजेट पनि आउन थालेको छ, नजिकै सामुदायिक होम–स्टेसमेत खोलेका छौँ, आउन जान सडक यातायात सहज बनेको छ, दैनिकजसो गाडी रिजर्भ गरेर पनि आन्तरिक पर्यटकहरू आउन थालेका छन्’ –अध्यक्ष साँवाले भने । हिमाली संरक्षण मञ्च, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका सङ्घ–संस्थाको सहयोगमा झरना नजिकैको बस्तीमा सामुदायिक होम–स्टे सञ्चालनमा आएको हो ।
होम–स्टेमा पुग्ने पर्यटकले लिम्बू समुदायको परम्परागत नाचहरू धान नाच, हाक्पारे ख्याली, च्याब्रुङ नाच, बिजुवा नाचसमेत हेर्न पाउँछन् । होम–स्टेमा लिम्बू समुदायकै परम्परागत खाना, तोङ्बा, सुकुटी, स्थानीय उत्पादनमा आधारित विभिन्न खाद्यपरिकार, सिस्नु, ढिँडो, लोकल कुखुराको मासु इत्यादिको स्वादसमेत चाख्न पाइन्छ । आवश्यक पूर्वाधारको विकास र उचित प्रचार–प्रसार नहुँदा फुङ्फुङे झरना गतवर्षसम्म ओझेलमै थियो । तर, पछिल्लो समय सरकारको यस क्षेत्रमा ध्यान पुगेपछि विकास क्रमशः हुँदै गएको स्थानीयले बताए ।
केही पूर्वाधार निर्माणका कार्य समेत सुरु भएका छन् । थप पूर्वाधार निर्माणसहित प्रचार–प्रसार र स्थानीय संस्कार र संस्कृतिको संरक्षणमा लागेको स्थानीय बताउँछन् । ‘पूर्वाधारको विकास र निर्माणले मात्रै पुग्दैन, पर्यटन प्रवद्र्धनका लागि स्थानीयस्तरका भाषा, भेषभूषा, कला र संस्कृतिको जगेर्नासमेत गरिनुपर्छ, साथै स्थानीयलाई पर्यटन व्यवसायबाटै आत्मनिर्भर बनाउनु पर्छ’ –स्थानीय समाजसेवी बिके थलङले भने । यस्तै जलवायु परिवर्तनलगायतका कारण जलाधार क्षेत्रसमेत प्रभावित भइरहेका बेला पर्यटकलाई आकर्षण गर्ने तालतलैया, पोखरी, झरनाजस्ता क्षेत्रलाई कसरी संरक्षण गर्ने जस्ता कुरामा समेत उत्तिकै ध्यान दिन जरुरी भएको उनको भनाइ छ ।
यता जिल्लाका धार्मिक तथा सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीय क्षेत्रलाई सडक मार्गबाट एक–आपसमा जोड्नसके थप पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने जिल्लावासीहरू बताउँछन् । जिल्लामा तिम्बुङ पोखरी, सोदु पोखरी, भूत पोखरीका साथै सानातिना सयौँ तालतलैया छन् भने उत्तिकै सङ्ख्यामा झरनाहरू पनि छन् । विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, करिब ४ सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा आदि जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् । बर्सेनि यी क्षेत्रको विकासका नाममा बजेट र कार्यक्रम आएको प्रशस्तै सुन्ने गरिए पनि देखिनेगरिका गतिविधि कमै मात्र भएका छन् ।