दशकअघिसम्म धरानमा पर्यटन शब्दको प्रयोग न्यून हुन्थ्यो । धराने नै पर्यटन शब्दसँग अभ्यस्त थिएनन् । त्यसबेला पर्यटनलाई सौखको रूपमा लिइन्थ्यो । पर्यटन भन्ने बित्तिकै पोखराको दृश्य आँखामा नाच्थ्यो । त्यही पनि घरेलु (आन्तरिक) पर्यटक पनि हुन्छन् भन्ने कल्पना बाहिर थियो ।
त्यही शब्दलाई धरानेको मानसपटलमा छिराउने काम पर्यटनकर्मीद्वय वासुदेव बराल र एलिना मगरले गरे, सेछ ट्राभलिङमार्फत् । सेछले धरानलाई देशविदेशमा चिनाउने काम ग¥यो । अझ भारत र बङ्गलादेशजस्ता छिमेकी देशमा धरानका धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरूलाई बेच्ने काम उनीहरूले नै गरे । धरान मात्रै होइन, धरान आसपासका धेरै पर्यटकीय ‘हब’ लाई चिनाउने काम गरे । त्यो नित्य कर्म अहिले पनि यथावत् छ ।
उनीहरूले पर्यटन क्षेत्रका दिग्गज भारतीय पत्रकारलाई धरानमा ल्याएर थुप्रै पटक गोष्ठी गरे । पूर्वी नेपालमा पर्यटक बढाउन के के गर्नुपर्छ भन्ने विमर्श गरे, छलफल चलाए । भारतीय पत्रकारहरूले पूर्वी नेपालका थुप्रै पर्यटकीय हबको विषयमा आलेख, फिचरहरू लेखे । त्यसैले पनि अहिले पर्यटन शब्द हरेक घरेलु पर्यटकलाई पनि रैथाने शब्द झैं लाग्न थालेको छ । यो शब्द सबैको मनमनमा बसेको छ । पर्यटनकर्मीद्वय बराल र मगरले पूर्वका पर्यटकीय क्षेत्रलाई मात्रै चिनाएनन्, त्यसका लागि पूर्वाधारको आवश्यकताबारे बृहत् छलफल पनि चलाउँदै आएका छन् ।
‘पर्यटन भनेको बेच्ने वस्तु हो’ यी दुईको यही निष्कर्ष छ । त्यसका लागि पूर्वाधार मुख्य कुरा हो । अहिले यही पूर्वाधारका लागि जुटेका छन् । धरान–२० कालीमाटीमा करिब १० करोडको लगानीमा दुई चरणमा फरक अवधारणाको ‘एड्भेञ्चर पार्क’ निर्माणमा जुटेका हुन् । ‘यो नेपालमै पहिलो एड्भेञ्चर पार्क हो’ पर्यटनकर्मी तथा सेछ एड्भेञ्चर पार्कका लगानीकर्तामध्येका एक वासुदेव बरालको दाबी छ, ‘एलिनाजीले भारतको सिमलामा यस खालको अवधारणाको पार्क देख्नुभएको रहेछ, त्यही अवधारणा हामीले यहाँ इप्लिमेण्टेसन गर्न लागेका हौं ।’
यो पार्क दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा रेष्टुरेण्टसहित स्काई साइकल, मिनी जीपलाइन, हेङ्गिङ ब्रीज बन्छन् । जसको लागत मूल्य ५ करोड अनुमान गरिएको छ । यो डेढ महिनाको अवधिभित्र बनिसक्ने उनको दाबी छ । स्काई साइकल डब्बल लाइनको हुनेछ जसको लम्बाइ डेढ–डेढ सय मिटर गरेर तीन सय मिटरको हुनेछ । मिनी जीपलाइन २ सय मिटरको हुनेछ भने हेङ्गिङ ब्रीज पनि उस्तै हुनेछ । यस्ता गन्तव्य निर्माणका लागि सेछले २ बिघा जग्गा खरिद गरिसकेको छ भने धरान उपमहानगर र स्थानीय सामुदायिक वनसँग समन्वय गरेर डेढ बिघा जग्गा लिएका छन् ।
‘ब्युटीफिकेसनका लागि सरकारी जग्गामा रुखहरू रोप्नेछौं’ बराल भन्छन्, ‘त्यो जग्गालाई हामी अन्य प्रयोजनका लागि प्रयोग गर्नेछैनौं ।’ दोस्रो चरणअन्तर्गत चार महिनाभित्रमा सिसाको ब्रीज (पुल) बन्नेछ । जसको लम्बाइ २ सय फिट र चौडाइ ६ फिटको रहनेछ । उचाइ झण्डै ५० फिटको हाराहारीमा रहनेछ । एक वर्षभित्रमा इण्डोर चिल्ड्रेन पार्क, स्विमिङ पुलसहितको १६ कोठाको जङ्गल रिसोर्ट रहनेछ ।
‘यी सबै पूर्वाधार निर्माण गरिसक्दा करिब १० करोड खर्च हुने अनुमान गरेका छौं’ –उनी भन्छन् । यसले आन्तरिकसँगै वाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास पर्यटनकर्मी एलिना मगरले लिएकी छन् । सन् २०२० भ्रमण वर्षको रूपमा घोषित गरे पनि कोरोना महामारीले तहसनहस पारिदिएको पर्यटनलाई अब निर्माण हुने पूर्वाधारले टेवा दिनेमा उनको अपेक्षा छ । उनी भन्छिन्, ‘कोरोनाले पर्यटन व्यवसाय धरासायी बनाइदियो, अब २०२१ मा राहत मिल्ला कि भन्ने विश्वास लिएका छौं ।’ उनको विद्वता पनि पर्यटनसँगै सम्बन्धित छ । धरान–२० विष्णुपादुका क्षेत्र धरानको महाभारत शृङ्खलासँग जोडिएको छ ।
यसको सुन्दरतालाई बेच्ने गरी अहिले विष्णुपादुका क्षेत्रमा थुप्रै खालका पर्यटन व्यवसाय सञ्चालित छन् । जसमध्ये चिण्डेडाँडाबाट प्याराग्लाइडिङको सम्भावना व्यापक छ । यसका अलावा साइक्लिङ, बञ्जी, जीपलाइन जस्ता पर्यटनको सम्भावना पनि उस्तै छ तर, पूर्वाधारको अभावमा विष्णुपादुकाले सोचेअनुरूपको प्रगति गर्न सकेको छैन । अध्यक्ष मणिराम राई भन्छन्, ‘सेछले जुन तयारी गरेको छ, यसले विष्णुपादुकावासीलाई मात्रै होइन, समग्र धरानलाई नै प्रभाव पार्नेछ ।’ उनका अनुसार निजी लगानीमा यस्तो परियोजना आउनु विष्णुपादुकावासीको लागि गौरवकै कुरा हो । स्थानीय सरकारले विष्णुपादुकामा पर्यटनका लागि बर्सेनि ५–७ लाख रुपैयाँ मात्रै छुट्याउने गरेको उनले बताए । त्यसमध्ये पनि धार्मिक पर्यटनमा बजेट केन्द्रित छ ।
विष्णुपादुकावासीका लागि जीविकोपार्जनको माध्यम यसअघि परम्परागत खेती र पाखाली (तीन पाने रक्सी) थियो । अहिले वैदेशिक रोजगारी, कृषिसँगै ज्यालामजदुरी गरेर विष्णुपादुकावासीको दैनिकी बित्ने गरेको वडासदस्य कर्ण तामाङ बताउँछन् । तर, पर्यटनका कारण यहाँको जीवनशैलीमा केही परिवर्तन आउन थालेको उनको अनुभव छ । अझ यस्ता पार्कहरू निर्माण भए भोलिका दिनमा स–साना पसल तथा होटल खोलेर यहाँका घरपरिवार आर्थिक रूपमा आत्मनिर्भर बन्नसक्ने सम्भावना उनी देख्छन् ।
उनी भन्छन्, ‘भोलि यस्ता पार्कका कारणले होटल, किराना पसल गरेर पनि यहाँका मान्छे बाँच्न सक्ने भए, हिजो रक्सी पार्ने र धरान लगेर बेच्ने, परम्परागत खेती गरेर बाँच्न बाध्य थिए, पर्यटकीय क्षेत्रले जीवनशैली नै परिवर्तन हुनेछ ।’ अहिले विष्णुपादुकावासीलाई नै पर्यटन शब्द आफ्नै भाषिका जस्तो लाग्न थालेको छ ।