धरान
मानिस मर्यो जसरी
सायद कुनै एकदिन
ईश्वर पनि मर्यो त्यसरी नै
मानिस मरेपछि
मानिस नरही लास भए झैं
ईश्वर पनि मरेपछि
ईश्वर नरही पत्थर भयो ।
कवि देवान किरातीले सोमबार धरानमा आफ्नो कविता ‘मन्दिर र चिहान’ वाचन गर्दा उनलाई सुनिरहेका÷हेरिरहेका श्रोता/दर्शकले जोडले ताली बजाए ।
कोरोना कहरपछिको लामो समय साहित्यिक गतिविधि ठप्प रहेको धरानमा सोमबार भएको साहित्यिक जमघटमा कवि देवानसँगै उनका पिता कवि जसराज किरातीले पनि कविता वाँचे । बम देवान, कुन्ता शर्मा, हेमन यात्री, सुदीप पाख्रिनलगायतका कवि गुञ्जिएको कार्यक्रममा कवि सन्तोष थेवेले ‘रुखमा पैसा फल्ने देश’ यसरी सुनाए :
प्रिय छोरी
अचानोमा दुई फ्याक पारेर
तिम्रो आमा र मेरो धड्कन
ओठमा निकैबेर आँशु पिउँदै
रुखमा पैसा फल्ने देश
फकाएर फुल्याएर
पठाउने बाबु मै हुँ ।
धरानको माछाभौडी पहिले फोहोर फालिने, दुर्गन्धित ठाउँका रूपमा चिनिन्थ्यो । त्यही भौडीमा स्थानीयवासीको पहलमा सुन्दर पार्क निर्माण भइरहेको छ । सोही पार्कमा सोमबार धरान दिवसको अवसरमा धरानका वडा नं.२ र ३ ले संयुक्तरूपमा ‘कविता वाचन तथा चित्रकला कार्यशाला’ आयोजना गरे ।
स्वर्गीय कवि कृष्ण पाख्रिनको घरैअगाडि पुराना र नयाँपुस्ताका कविहरूले रचना वाचन गर्दा ‘कृष्ण पाख्रिन मार्ग’ साहित्यमय बन्यो । प्रदीप मेन्याङ्वो, करुणा राई, प्रदीप योङ्हाङ, राज आशातित, विनय सरगम, विवेक विवश रेग्मीलगायत २ दर्जन कविहरूले रचना वाचन गरिरहँदा त्यहीँ छेउमा चित्रकला कार्यशाला चलिरहेको थियो ।
कार्यशालामा झापाका छितेन शेर्पा, विनोद राजवंशी, तुलसी श्रेष्ठ, रीना राई, मौलिक लिम्बू, अर्जुन बस्नेत र असिम प्रधान, धनकुटाका दिल्लीकृष्ण आले मगर र सञ्जय सयल, विराटनगरका प्रकाश चौधरी र उद्धव गुरुङ, धरानका प्रनोद दत्त, रूपक राई, पूजा श्रेष्ठ र आयुष भुजेलले विभिन्न सामाजिक र सांस्कृतिक पहिचान झल्किने चित्र कोरे ।
एकसाथ आयोजित कविता वाचन र चित्रकला कार्यशालाले धरानको कला, साहित्य कोरोनाकालमा पनि चुपचाप रहेन भन्ने सन्देश पनि दिएको छ । साथै आगामी दिनमा कला, साहित्यका गतिविधि बढ्ने सङ्केत पनि गरेको छ । धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले भौतिक विकास मात्र होइन, मानवीय विकासमा पनि उपमहानगरपालिकाले लगानी गरिरहेको बताइन् । उनले भनिन्, ‘हामी कला, साहित्यको विकासलाई पनि भौतिक विकाससँगै अघि बढाउनुपर्छ भन्ने मान्यतामा छौं ।’