एकजना वृद्ध व्यक्ति हिँड्दा हिँड्दै लडेको खण्डमा आज हामीले गर्व गरेर शक्ति भनिने कुनै पनि युवायुवतीले ती वयोवृद्धलाई उठाउँदैनन् । केवल उनीहरूको आँखाले देख्छ तर, मनलाई पटक्कै छुँदैन । उनीहरूलाई यतिसम्म पनि छुँदैन कि भोलि हामी पनि यस्तै हुन्छौँ भनेर ।
आज कुनै पनि सोह्र–सत्र वर्षे छोराछोरीका बाबुआमा आफ्ना सन्तानप्रति सन्तुष्ट देखिँदैनन् । यी दुईबीचको सम्बन्ध तिक्ततापूर्ण देखिन्छ । यी उमेर समूहका बच्चाहरूलाई आफ्नो मौलिक खानपान, मौलिक पोसाक, मौलिक रहन–सहन मन पर्न छोडिसकेको छ । निजी विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरिसकेका कयौं बच्चाहरूलाई नेपालीमा कुनै अङ्क भन्यो भने नबुझ्नु आजको यथार्थ हो । उनीहरूलाई न त देशप्रेमको भावनाले छुन्छ, न त पारिवारिक र सामाजिक प्रेमले नै छुन्छ ।
भावना, करुणा, दया, प्रेम भन्ने कुरालाई यिनीहरू केवल एक शब्दका रूपमा मात्र जान्दछन् । वास्तवमा भन्दा उनीहरू आफ्नो बेग्लै दुनियाँमा रमाइरहेका छन् । अब भनौं, हामी कहाँ जाँदै छौँ ? हामीले हाम्रो शिक्षालाई कुन दिशातर्फ लाँदै छौं ? के हामी सही बाटोमा नै हिँड्दै छौँ त ? माध्यमिक शिक्षा भनेको आधारभूत शिक्षा हो । यो सम्पूर्ण शिक्षाको जग हो । कुनै पनि बच्चालाई भविष्यमा कस्तो बनाउने, उनीहरूलाई कहाँ सुरक्षित अवतरण गर्ने भन्ने कुराको निक्र्यौल नै यही माध्यमिक शिक्षाले गर्दछ ।
बृहत् अर्थमा भन्दा एउटा व्यक्ति पूर्ण व्यक्तिको रूपमा कस्तो बन्ने भन्ने निर्धारण शिक्षासँगै ऊ गर्वमा रहँदादेखि उसले कस्तो आहारविहार अनि विचार ग¥यो भन्ने कुरा साथै उसले कस्तो सङ्गत, शिक्षा अनि संस्कार पायो भन्नेले गर्दछ । त्यसैले माध्यमिक शिक्षाले धेरै हदसम्म एउटा देशको भविष्य कस्तो हुने भन्नेसम्मको प्रभाव पार्दछ ।
तर, आज हामीले दिइरहेको माध्यमिक शिक्षामा नैतिकता खै ? संस्कार खै ? दया, माया, करुणा खै ? अध्यात्मिक ज्ञान खै ? हाम्रो आफ्नो माटोको सुगन्ध खै ? अनि नेपालीपन खै ? त्यसैले अबको माध्यमिक शिक्षामा केही परिवर्तनहरू अत्यन्त जरुरी देखिन्छ । हाम्रो माध्यमिक तहको पाठ्यक्रममा केही फेरबदल अबको अनिवार्य आवश्यकता बनेको छ ।
पाठ्यक्रम फेरबदलको सम्बन्धमा
मुख्यतः तीनवटा तत्वहरू थप गर्न आवश्यक देखिन्छ । ती नैतिकता अध्यात्मिकता र राष्ट्रियता हुन् । नैतिक ज्ञानले एउटा विद्यार्थीलाई बच्चादेखि नै नैतिक र अनैतिकबीचको भिन्नता सिकाउँछ । उसले नैतिकताका दायराको बारेमा जानकारी प्राप्त गर्दछ । त्यस्तै गरेर राष्ट्रियताको ज्ञानले देश प्रेमको भावनाका साथै राष्ट्रिय स्वाभिमानको बारेमा सिकाउँछ । एउटा विद्यार्थीमा सके राष्ट्रलाई नसके पनि समाजलाई चाहिँ केही योगदान अवश्य पुर्याउनुपर्छ भन्ने भाव पैदा गर्दछ ।
त्यस्तै गरेर अध्यात्मिक ज्ञानले विश्वका सम्पूर्ण प्राणीहरू एक हुन्, मैले कसैलाई आफ्नो निजी स्वार्थको लागि ढाँटछल गर्नुहुँदैन भन्ने कुरा सिकाउँछ । मैले सकेसम्म सत्य बोल्नुपर्छ, शान्त हुनुपर्छ, एउटा व्यक्तिको रूपमा मेरा अनेक दायित्व र कर्तव्यहरू छन् भन्ने कुरा अध्यात्मिक ज्ञानले सिकाउँछ ।
यसका साथै हामीले हाम्रो शिक्षण पद्दतिमा पनि केही परिवर्तनहरू ल्याउन आवश्यक देखिन्छ । हाम्रा पूर्वजहरूले शिक्षा ग्रहण गर्नका लागि गुरुकुल परम्पराको विकास गरेका थिए । त्यस परम्परामा धेरै सकारात्मक पक्षहरू छन् । हामीले त्यस परम्पराका सकारात्मक पक्षहरूलाई झिकेर आजको आधुनिक शिक्षण पद्दतिभित्र रहेका सकारात्मक पक्षहरूसँग मिलाएर एउटा नयाँ शिक्षण पद्दति बनाउन आवश्यक छ ।
जुन पद्दतिलाई हामीले आफ्नो भनेर गर्व गर्न सकौँ अनि जसबाट आफ्नो माटोको सुगन्ध पनि प्राप्त गर्न सकौँ । यसप्रकारले अबको माध्यमिक शिक्षालाई हामीले एउटा नयाँ उचाइमा पु¥याउन आवश्यक छ । यस शिक्षामा, ‘सर्वे भवन्तु सुखिनः सर्वे शन्तु निरामया’ को भावलाई जोड्न अपरिहार्य छ । म होइन हामी भन्ने सामूहिक एकताको मन्त्रलाई मिसाउन आवश्यक छ । अबको शिक्षा यस्तो होस् कि एउटा व्यक्तिले विश्वका सबै मानिसहरू मेरा दाजुभाइ अनि दिदीबहिनी हुन् भन्ने भावनाको विकास गरोस् । अबको शिक्षामा योग र साधना समेतलाई समेट्न आवश्यक छ ।
त्यसैले सम्पूर्ण सरोकारवालाहरू एक पूर्ण, व्यवस्थित, वैज्ञानिक अनि सार्थक पाठ्यक्रम बनाउन आजैदेखि एकजुट होऔँ ताकि हाम्रा सन्ततिहरूले यसै शिक्षाको माध्यमबाट संसार हाँक्न सकुन् । विश्वभरका विद्यार्थीहरूको शिक्षाको केन्द्र नेपाल बन्न सकोस् ।