भण्टाबारी। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा चरादेखि दुर्लभ अर्नाबारे अध्ययन तथा घुमघाम गर्न विदेशी पर्यटक आउने गरेका छन् । उनीहरू प्रायःजसो जनवरीदेखि मार्च महिनाको अवधिमा कोशीटप्पु आउने गरेका छन् । तर, यसपटक अवस्था भने फरक छ । कोभिड–१९ का कारण विदेशी पर्यटकहरू आउन सकेका छैनन् । जसले गर्दा विगतका अङ्ग्रेजी नयाँ वर्षमा वाह्य पर्यटकले भरिभराउ रहने कोशीटप्पु क्षेत्रका होटलहरू आजभोलि भने आन्तरिक पर्यटकको भरमा चलेका छन् ।
विश्वव्यापी फैलिएको कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्र आन्तरिक पर्यटकले भए पनि केही राहत दिएको पर्यटन व्यवसायी बताउँछन् । विदेशी पर्यटक आउने अवस्थामा नभए पनि आन्तरिक पर्यटकले चहल–पहल बढाएको कोशीटप्पु वन्यजन्तु आरक्षस्थित अकुवा बर्ड्स रिसोर्ट सञ्चालक सुरज गिरीले बताए । ‘कोभिड–१९ ले विदेशी पर्यटक आउने माहोल छैन’ उनले भने, ‘आन्तरिक पर्यटकहरूले कोशीटप्पु क्षेत्रमा चहल–पहल बढ्न थालेको छ ।’ विदेशी पर्यटक नआउँदा अपेक्षा गरिएअनुसार आम्दानी नभए पनि कोशीटप्पुजस्ता नयाँ गन्तव्यको पहिचान र प्रचार हुनु सुखद् पक्ष भएको गिरीको बुझाइ छ । उनले युरोपको पीआर छाडेर कोशीटप्पुमा पर्यटन व्यवसाय थालेको बताए ।
कोभिड–१९ को सन्त्रास तथा लकडाउनबाट उकुसमुकुस भएका नेपालीको घुम्ने चाहनाका कारण आन्तरिक पर्यटन विस्तारमा टेवा पुगेको अर्का पर्यटन व्यवसायी कुरवान मन्सुरीको कथन छ । ‘कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्र विदेशी पर्यटक नआएसम्म आन्तरिककै भर पर्नुपर्ने अवस्था छ’ –उनले भने । पछिल्लो समय आन्तरिक पर्यटक बढेको देखिए पनि आन्तरिक पर्यटककै भरमा पर्यटन क्षेत्र धान्नसक्ने अवस्था नभएको उनको भनाइ छ । ‘आन्तरिक पर्यटक बढ्नु हाम्रो लागि सकारात्मक पक्ष हो’ मन्सुरी भन्छन्, ‘तर, कोरोना अगाडिको समयमा जस्तो पर्यटकहरूको चहल–पहल बढे पनि कारोबार छैन । पर्यटकहरू दिनभर आएर घुमघाम गर्ने र साँझपख फर्किने गरेका छन्, जसले गर्दा व्यापार छैन ।’
आर्थिक वर्ष २०७६÷०७७ मा लकडाउन हुनु अगाडिसम्म १० हजार ८ सय २५ जना नेपाली, १९ जना सार्क मुलुकका र १ सय ७० जना गरी ११ हजार १४ जना पर्यटकले कोशीटप्पु भ्रमण गरेबापत ४० लाख ४४ हजार २ सय ४५ रुपैयाँ राजस्व असुली भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको तथ्याङ्क छ । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपश्चात् अघिल्लो आर्थिक वर्षको चैतदेखि जेठमहिनासम्म कोही पर्यटक कोशीटप्पु आएनन् भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म दुईहजार ५३ जना पर्यटकले कोशीटप्पु भ्रमण गरेका छन् ।
तीमध्ये सबै आन्तरिक पर्यटक मात्र रहेको कोशीटप्पु वन्यजन्तु आरक्षका रेञ्जर जयराम न्यौपानेले जानकारी दिए । ती पर्यटकहरूबाट १३ लाख ४३ हजार ४ सय ९० रुपैयाँ बराबरको राजस्व असुली भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७५/०७६ मा भने आन्तरिक, सार्क र विदेशी गरी १४ हजार ७ सय १२ जना पर्यटकले कोशीटप्पु भ्रमण गरेकोले ५६ लाख ९९ हजार ८१ रुपैयाँ बराबर राजस्व असुली भएको तथ्याङ्क छ ।
‘अष्ट्रेलिया, क्यानाडा, जापान, चीन, अमेरिका, बेलायत तथा युरोपका अन्य देशबाट विदेशी पर्यटकहरू विगतका वर्षमा आउँदा होटल भरिभराउ हुन्थ्यो’ पर्यटन व्यवसायी गिरी भन्छन्, ‘फुर्सद हुँदैनथ्यो । तर, आजभोलि आन्तरिक पर्यटकहरू शुक्रबार र शनिबार बढी मात्रामा आउने गर्छन् । ती दुई दिनबाहेक अरू बेला खासै भीडभाड हुँदैन ।’ ‘जाडोयाममा साइबेरिया, अष्ट्रिया, भारतलगायत मुलुकबाट कोशीटप्पुमा आउने चरा, विश्वमै दुर्लभ मानिएको अर्ना, हात्तीलगायत हेर्न र तिनीहरूका बारे अध्ययन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउने गर्थे’ उनले भने, ‘तर, आजभोलि बोटिङ र जङ्गल सफारी कोशीटप्पु आउने आन्तरिक पर्यटकहरूको मुख्य रोजाइमा पर्ने गरेको पाइन्छ ।’
एक वर्षअघि कोशीटप्पुमा भएको कोशी पर्यटन महोत्सवका कारण कोशी टप्पुको प्रचार–प्रसारमा टेवा पुगेको दाबी गर्दै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले पछिल्लो समय आन्तरिक पर्यटन प्रवद्र्धन हुनुमा महोत्सवको उल्लेख्य योगदान रहेको बताए । कोशीटप्पुलाई पूर्व क्षेत्रकै मुख्य र आकर्षक पर्यटन गन्तव्य बनाउने योजनाअनुरूप कोशी पर्यटन महोत्सव आयोजना गरिएको बताउँदै उनले भने, ‘कोभिड–१९ का कारण बाँकी योजनाअनुसार काम गर्न सकिएको छैन ।’ अवस्था सामान्य भएको खण्डमा कोशीटप्पुलाई व्यवस्थित पर्यटकीय क्षेत्र बनाउन भौतिक पूर्वाधारदेखि प्रचार–प्रसारका कार्य अगाडि बढाइने अध्यक्ष अन्सारीको भनाइ छ ।