धनकुटाको स्थानीय बासिन्दा भए पनि मेरो पुख्र्यौली थलो चाहिँ ताप्लेजुङको हाङ्पाङ प¥यो । मभन्दा सात पुस्ता यतादेखिका पुर्खाहरुले जोहो गरिदिएका र आफ्नो हातमा परेपछि म आफैले जोगाउँदै अनि सुम्सुम्याउँदै आइरहेको ऐतिहासिक कागजपत्रले सप्रमाण भन्छ, म तत्कालीन आठराई थुमअन्तर्गत पर्ने हाङ्पाङको एक किपटिया सुब्बाको सन्तान हुँ । संयोगवश, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत आरके मैनाली र सीपी मैनालीको जन्मथलो पनि तत्कालीन आठराई थुम अन्तर्गत नै पर्छ । बामपन्थी नेता नन्दकुमार प्रसाईंको पुर्खालाई त मेरै पुर्खाले भैयाद बनाएका हुन् ।
१९०९ सालमा लेखिएको मावोहाङ यक्सो लिम्बूको वंशावली पनि हाम्रै घरमा भेटिएको र त्यो ऐतिहासिक कागज पनि मसँग सुरक्षित रहेकोले इतिहासको सेरोफेरोले म इतिहासप्रेमीलाई पनि अँगालोमा बाँध्न आइपुगेछ । वंशावलीअनुसार कालान्तरमा हाङ्पाङका यक्सो सुब्बाहरुको किपट विभाजित भयो । जेठो पुस्ताले पाँच भाग पाए र कान्छो पुस्ताले तीन भाग । हाङ्पाङका यक्सोहरु तीन सुब्बा र पाँच सुब्बा खलकका छन्, किपटिया जिम्माको ऐतिहासिक आधारमा । म परेँ, तीन सुब्बा यक्सोको सन्तान ।
तीन सुब्बा यक्सोहरुका लागि लाहुर भर्ती त्यति रुचिकर देखिएन वा फापेन । मेरा बुबा आसबहादुर यक्सो लाहुर जानुभयो, दोस्रो विश्वयुद्ध लडेर पेन्सन पकाउनुभयो र नेपाल आएर नेपाली सेनामा भर्ना भई कप्तान दर्जासम्म प्राप्त गर्नुभयो । यस्तै साइनोसम्बन्धअनुसार मेरा वंशज भतिज विश्वराज ब्रिटिश सेनामा भर्ती भए, तर पाँच वर्षको सैनिक जीवनपछि नाम कटाएर नेपाल फर्केर आरआर क्याम्पसमा पो पढ्न लागे । तीन सुब्बा यक्सोहरुमा ब्रिटिशको सेवा गर्ने यिनै दुई जना देखिए ।
‘लोभलाग्दो सैनिक जीवन किन छाड्यौ त भतिज ?’ विश्वराजलाई एक दिन मैले राखेको मेरो जिज्ञासा ।
‘मलाई आफ्नो अधुरो पढाइ पूरा गर्न मन लाग्यो, त्यसैले मैले लाहुरे भइरहने इच्छा त्यागेर पोलिटिकल साइन्सको पढाइ पो सुरू गरेँ त काका’ लामो समय सरस्वती माध्यमिक विद्यालय हाङ्पाङमा प्रधानाध्यापक चलाउने साइनोमा मेरा दाजु हर्क यक्सोको छोरा विश्वराजले कारण खुलाए ।
मेरो बुबा लाहुर जानुभयो, छातीमा बहादुरीको तक्मा थापेर फर्कनुभयो । सन्तानपुस्ताका विश्वराज लाहुर गए, नाम कटाएर कलेजको पढाइ सुरू गरे । एक दिन सीता हुक्पा चोङ्बाङ (श्रीमती विष्णु यक्सो)समक्ष जिज्ञासा राखेँ, ‘भाउजू, हामी तीन सुब्बेहरुलाई त लाहुर भर्तीले त्यति तानेन जस्तो लाग्यो ।’
‘आबुई, तपाईंहरु त पढाइलेखाइतिर लाग्नुभो नि त’ –भाउजूले सम्झाउनुभयो ।
यसो विचार गरी हेरेको त तीन सुब्बा यक्सोहरु लाहुर जानुभन्दा कि राजनीति गर्ने कि त पढेर शिक्षण पेशातिर लाग्ने देखियो । म पनि कसोकसो ‘पढालेखा’ भइटोपलेँ । आफ्नो वंशमै पहिलो र एक मात्र पत्रकार भएँ, भूईंफुट्टाजस्तो । मैले पाँच सुब्बा यक्सोहरु पढालेखा छैनन् भनेको होइन । त्यो खलकबाट पनि राम्रा बौद्धिक प्रतिभाहरुको विकास भएको छ । राम्रा–राम्रा पढालेखाहरु निस्केका छन् ।
तर, नेपाली समाजमा आफ्नै अनुहारले साथ दिएन मलाई । यही अनुहारले धोका दिइरह्यो । मैले आफ्नो पेशाको रुपमा पत्रकारिता र प्राध्यापन रोजेँ, सिर्जनात्मक यात्राका लागि साहित्य रोजेँ । इतिहास अध्ययन र लेखनप्रतिको मोहलाई जोगाइरहेकै छु । तर, नेपाली समाजमा म अनपत्यारिलो भइरहेँ ।
आखिर मेरो अनुहारमा के चाहिँ छ त्यस्तो ?
फारम भराउन खोज्नेले छोप्दा
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा १४ वर्ष बिताएँ । पहिले यसको कार्यालय अनामनगरमा थियो, पछि तीनकुने, गैरीगाउँ स¥यो म परेँ, सवारीसाधनविहीन । पैदलयात्राबाट पुग्न सकिने गन्तव्य हिँडेरै पुग्ने, नभए सार्वजनिक यातायात जिन्दावाद ।
अनामनगरमा कार्यालय हुँदाखेरि बबरमहल भएर निस्किरहनु पथ्र्यो, कहिलेकाहीँ । जिल्ला प्रशासन कार्यालयको बाटो हुँदै हिँड्दा, म एकप्रकारको पीडाबोध गर्थें ।
जब त्यो बाटो भएर हिँड्थेँ, हातमा डटपेन समातेमा केही मानिसहरु मेरो बाटो छेक्थे, र भन्थे, ‘तपाईं राहदानीको फारम भर्न आउनुभएको हो ? म सस्तोमा गरिदिन्छु ।’ नेपाली अक्षर लेख्ने मान्छे म । लामो समयदेखि नेपाली भाषाकै सेवा गरिरहेको मान्छेलाई राहदानीको फारम भर्न आउँदैन होला र ?
अझ विदेशबाट हितैषीहरुले उपहार पठाइदिएको बुट्टे सर्ट लगाएर त्यो बाटो हिँड्दा त कुनै लाहुरे नै आएजस्तो गर्ने र राहदानीको फारम भराउन खोज्नेहरुको झुत्तो नै लाग्ने ।
यसरी राहदानीको फारम भराउन खोज्नेहरुको प्रस्तावलाई म मन्द मुस्कुराहटका साथ ‘पर्दैन÷होइन’ भन्थेँ । ओठ मात्र हाँस्थ्यो, मन चाहिँ कताकता रून्थ्यो । म आफू आफैलाई प्रश्न गर्थेँ, ‘के मेरो अनुहार राहदानीको फारम भर्नै नजान्ने जस्तो छ ?’
पछि परराष्ट्र मन्त्रालयले राहदानीको जिम्मा लिएपछि बबरमहलको बाटो हिँड्दा राहत महसुस गरेको थिएँ ।
स्वामित्व हस्तान्तरणपछि अन्नपूर्ण पोस्ट्को कार्यालय स¥यो, तीनकुने, गैरीगाउँमा । फेरि बल्झ्यो उही पीडा । नजिकै रहेछ, श्रम विभागको कार्यालय । बबरमहलकोभन्दा ठूलो पीडा अनुभूति भयो, मलाई । त्यहाँ ‘तपाईं श्रममा हो ?’ भनेर सोध्नेहरु त कति हो, कति !
त्यो भीडलाई छिचोलेर कार्यालयमा पुगेपछि आधा लिटर पानी पिएर लामो सास फेर्थेँ र सोच्थेँ, के मेरो अनुहारको बिम्ब विभागको फारम भर्नै नजान्ने वा नसक्ने जस्तो छ ?
हुँदाहुँदा श्रमको फारम भराउन खोज्नेहरु विष्णुमती पुलबाटै पिछा लाग्न थाले । यसरी पिछा लाग्नेहरुमा कतिपय मावि वा उच्चमावि तहमा पढ्ने विद्यार्थीजस्ता पनि थिए । त्यो बेला म आफै बिहानको समयमा एउटा कलेजमा कक्षा ११ देखि स्नातक तहको तेस्रो वर्षसम्मका विद्यार्थीहरुलाई पढाइरहेको थिएँ ।
अब त हदै भयो । त्यसपछि मैले एउटा अक्कल झिकेँ । त्यो दिन कोट लगाएँ, अलि औपचारिकजस्तो हुनलाई । अनि हातमा रातो कभरमा छापिएको डेनिस मक्वीलको मोटो पुस्तक ‘मास कम्युनिकेसन थ्योरी’ बोकेँ । अचम्म, त्यो रुपरेखामा देखेर होला, कसैले पनि त्यो दिन मलाई ‘तपाईं श्रम विभागमा हो ?’ भनेर सोधेनन्, कोही झुत्तो खेल्न आएनन् । त्यसपछि म कुनै न कुनै पुस्तक बोकेरै कार्यालय आउने जाने गर्न थालेँ । ती पुस्तक फुर्सदको समयमा पढिन्थ्यो, प्रायःजसो त देखाउनकै लागि पनि पुस्तक बोक्न बाध्य भएँ म । पछि श्रम विभाग पनि अन्यत्रै स¥यो, मैले कार्यालय आउँदा जाँदा मोटो किताब पनि बोक्न छाडेँ ।
तर्सिरहे मानवअधिकारवादी
मेरो अनुहार कस्तो होला, जसले मानवअधिकारवादीलाई समेत तर्साइरह्यो !
म फेसनदार छैन । कामकाजी पोसाक लगाउँछु र प्रायः कपाल छोटो राख्छु । अन्नपूर्ण पोस्ट्ले त्यो बेला मलाई मानवअधिकार क्षेत्र पनि हेर्ने जिम्मेवारी दिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको समय थियो, त्यो ।
मानवअधिकार तथा शान्ति समाज नामको संस्थाले नियमित कार्यक्रम गरिरहन्थ्यो, कालिकास्थानमा रहेको उसको तत्कालीन कार्यालयमा । जब म त्यहाँ रिपोर्टिङ गर्न पुग्थेँ, तब शान्ति समाजका सदस्यहरुको मन अशान्त भए झैँ लाग्थ्यो । अनौठा आँखाले हेर्थे मलाई । यही बुझ्थेँ म, उनीहरुको आँखाको भाव पढेर । म पुग्ने बित्तिकै ‘ल अब हामी परिचय गरौँ’ भनिहाल्नुहुन्थ्यो, पुरुषोत्तम दाहाल ।
एक दिन सञ्चारकर्मी मित्र खिम घलेसँगै त्यहाँ पुगियो, रिपोर्टिङका क्रममा । मैले बाटोमा उनलाई भनेँ, ‘होइन हौ सोल्टी, म त्यहाँ पुग्नेबित्तिकै परिचय सोध्छन् ।’
‘हो र !’, खिमजीको आश्चर्य ।
सदा झैँ भयो, म कार्यक्रमस्थलमा प्रवेश गरेको मात्र के थिएँ, पुरुषोत्तम दाहालको प्रस्ताव आइहाल्यो, ‘ल अब हामी परिचय गरौँ ।’
त्यसपछि खिमजीको प्रश्नले आफै उत्तर पायो । उनले खुसुक्क भने, ‘सोल्टीले भनेको कुरा हो रहेछ ।’
किन मदेखि तर्सेका होलान्, ती मानवअधिकारवादी ? सायद उनीहरु मलाई सिभिल ड्रेसमा आएको सेना वा प्रहरी भन्ठान्थे । तर, यो मेरो अपुष्ट अनुमान मात्र हो ।
भर्खरै कोरियाबाट फर्केजस्तो
तत्कालीन राजा ज्ञानेन्द्रको शासन थियो । ज्ञानेन्द्र उनी नेपाली नेताहरुलाई बिरालोले मुसा खेलाए झैँ गर्ने सुरमा देखिए । उनले प्रधानमन्त्री बन्न इच्छुकका लागि बिन्तीपत्र आह्वान गरे, अर्कातिर गिरिजाले पनि कार्ड फ्याँकिदिएपछि माहोल पनि कस्तो बन्यो भने अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने छैन । अनि उत्साहले पाइला उचालेको देखियो, एमालेजनले ।
स्वतः स्फूर्त काठमाडौंमा ठूलो जुलुश निस्कियो । माधवकुमार नेपाललाई काँधैमा बोकेर हाँस्दै, नाच्दै र रमाउँदै रत्नपार्क आइपुग्यो, त्यो जुलुश । विजय जुलुश झैँ लाग्ने त्यो जमघटमा एमाले समर्थक निजामति कर्मचारीहरुको पनि ठूलो भीड लागेको थियो । रिपोर्टिङका लागि म रत्नपार्क पुगेको थिएँ । रमिता हेर्दै समाचार सङ्कलन गर्दै म फुटपाथमा उभिइरहेको थिएँ ।
त्यहाँ मेरो चिरपरिचित दुई जना निरौला थरका गाउँलेहरु भेटिए । उनीहरु पनि निजामति कर्मचारी । हामी तीनै जना एउटै वडाबासी । तीमध्ये मेरा अग्रजपुस्ताका लक्ष्मीजीले शाखा अधिकृत (हालः सहसचिव)मा नाम निकालेर स्टाफ कलेज गर्दै हुुनुहुन्थ्यो । उहाँले धनकुटा अखिलको नेतृत्व गर्दा त्यो कमिटीमा म पनि एउटा पदाधिकारी थिएँ । अर्का भाइ पुस्ताका निरौला त बचपनदेखिकै नजिकका ।
‘हेलो, के छ ?’ लामो समयपछि यी साथीभाइसँग भेट भएको थियो, खुसीले उफ्रिएँ, म ।
भाइ निरौला भने मलाई देखेर एकछिन ट्वाँ परे, र भने, ‘ओहो, दाइ त, मोटाउनुभएछ । दाइ त कोरियाबाट भर्खरै फर्केजस्तो पो लाग्यो !’
नेपाली माटोलाई आस्था र प्रेमले सुम्सुम्याउँदै अक्षरको खेती गर्ने मेरो पेशाबारे ती भाइ परिचित थिए र छन् । तर, उनको आँखाले मलाई ‘भर्खरै कोरियाबाट फर्केको’ देख्यो । मैले मन्द मुस्कानकासाथ ती भाइलाई सोधेँ, ‘के म बुद्धिजीवीजस्तो देखिन्नँ र ?’ यहाँनेर मैले भन्न खोजेको के होइन भने कोरिया वा वैदेशिक रोजगारमा जानु कुनै नराम्रो काम होइन ।
‘होइन, दाइ तपाईं भर्खरै कोरियाबाट फर्केजस्तै देखिनुहुन्छ क्या !’ ती भाइले त उल्टै मलाई पो सम्झाउँलाजस्तै गर्न थाले ।
यसरी मेरो अनुहार हेरेर अनेक अनुमान र पूर्वानुमान लगाउने आँखाहरुबाट यतिखेर सशरीर ओझेलिएको छु म । प्रिय, निरौला भाइ, फेरि पनि कुनै दिन नेपालमा भेटौँला, त्यो बेला चाहिँ म कोरियाबाट होइन, युरोपबाट भर्खरै फर्केको हुनेछु । यो चाहिँ कुनै संयोग हुनेछैन । हुनेछ, शतप्रतिशत यथार्थ ।
तत्कालीन आठराई थुमअन्तर्गतको हाङ्पाङको किपट सम्हाल्ने पुर्खाको सन्तान म आज युरोपमा छु । यहाँ रहेर मन्द मुस्कानका साथ सम्झिरहेछु, मेरो अनुहार हेर्ने आँखाहरुलाई ।