• गोपाल दाहाल

    धरानको बुद्धचोक स्थित विमल स्मृति पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङ हरेक विहान थर्मसमा चिया/कफी बोकेर पाठकको प्रतिक्षामा बस्छन् । ‘अचेल दिनमा बल्लतल्ल ४/५ जना आउँछन् ।’ गुरुङ भन्छन्, ‘आउनेहरु पनि पुस्तक खोज्दैनन्, यसो पत्रिका हेर्छन् । सबै इन्टरनेटतिर लागे ।’ 

Bimal

साहित्यकर्ममा लागेका छोरा विमलको कलिलैमा मृत्यु भएपछि उनैको स्मृतिमा बुवा पूर्णबहादुर गुरुङ र आमा सरस्वती गुरुङले २०४८ सालमा पुस्तकालय स्थापना गरेर अहिलेसम्म करोडौं लगानी गरिसकेका छन् । ४०/४५ हजार पुस्तकहरु रहेको पुस्तकालयमै समर्पित पूर्णबहादुरले धरानको समाजलाई पठन लेखनमा प्रोत्साहित गरिरहेका छन् । तर पुस्तक पढ्नेहरु दिनदिनै घटिरहेका छन् । 

Janata pustakalaya

धरानको फुस्रेमा २०१७ सालमा स्थापना भएको ‘जनता पुस्तकालय’ को अवश्था पनि उस्तै छ । स्थानीय समाजसेवी कृष्णभगत श्रेष्ठले स्थापना गरेको पुस्तकालयमा अहिले दैनिक मुस्किलले ८/१० जना पत्रिका पढ्न आउँछन् । पुस्तक त कसैले वास्ता गर्दैनन् । धरान–८ सिद्धार्थमार्गका युवाहरुले २०५४ सालमा स्थापना गरेको ‘सिद्धार्थ पुस्तकालय’ मा पनि स्थानीय केही युवाहरु पत्रपत्रिका पढ्न जम्मा हुन्छन् । पुस्तकालयलाई सहयोग गर्दै आएकी चन्द्रकला लिम्बु भन्छिन्, ‘पत्रिका पढ्नेहरु चाहिं अलिअलि देखिन्छन्, पुस्तक त पढेको देखिएको छैन ।’

धरानमा कुनैसमय पुस्तक पढ्नेहरु धेरै थिए भन्ने कुरा यहाँका टोलैपिच्छे जस्तो खुलेका पुुस्तकालयहरुबाट पनि प्रष्ट हुन्छ । धरानको राजनीतिक तथा बौद्धिक विकासमा यहाँमा पुस्तकालयहरुले ठूलो योगदान पु¥याएका थिए । पहिला कम्युनिष्ट निकटकाहरु बुक क्लब, रसियन पुस्तकालय सञ्चालन गर्थे भने काङ्ग्रेस निकटको फ्रेन्ड्स क्लबले पनि पत्रिका प्रकाशन ग¥थ्यो । पछि ति सबै बन्द भए । 

धरान–१८ मा २०४५सालमा स्थापना भएको बुद्ध वाचनालय,  २०४६ मा धरान–१०मा स्थापना भएको नारायणी वाचनालय, धरान–१०कै मुनालचोकमा २०५५ सालमा क्रिश्चियन धर्मावलम्बी युवाहरुले खोलको ‘एलरोई पुस्तकालय’, २०५६ सालमा धरान–१४को पिण्डेश्वर मन्दिर नजिक स्थापना भएको विहानी सामुदायिक वाचनालय, धरान १६को साहित्यिक सृजनशील पुस्तकालय, धरान १२को छिमेकी पुस्तकालय, धरान १४को दन्तकाली अध्ययन मण्डल, धरान–१७को गोधुली पुस्तकालय, धरान–११को भानु स्मृति पुस्तकालय बन्द भए । 

पुस्तकालय बन्द हुने क्रम अहिलेपनि जारी छ । धरान–१७ रेल्वेमा २०५५ सालमा स्थानीय युवाहरुले स्थापना गरेको सुनौलो पुस्तकालयले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको थियो । २०५६ देखि आफ्नै भवनमा सञ्चालित पुस्तकालयमा २ हजारजति पुस्तकहरु थिए । तर डेढ वर्षयता पुस्तकालय बन्द छ ।

पहिला रेल्वे चोकमा रहेको पुरानो सरकारी घरलाई पुस्तकालयले भाडामा लगाएको थियो । त्यसबाट आउने आम्दानीले पुस्तकालयमा कर्मचारी राखिएको थियो । पुस्तकालयका संस्थापक सचिव कुलचन्द्र न्यौपाने भन्छन्, ‘वार्षिक डेढ लाख जति भए पुस्तकालय चल्छ । हामीले वडा कार्यालयमा कुरा राख्यौं तर सुनुवाई नभएपछि पुस्तकालय बन्द गर्नु प¥यो ।’

कला, साहित्य र ज्ञानको स्रोतका रुपमा रहेका पुस्तकालय बन्द र अस्तव्यस्त हुनु भनेको बौद्धिक विकासको गति रोकिनु हो । यसतर्फ स्थानीय सरकारले पनि ध्यान दिएको पाईदैन । स्थानीय सरकारले पुस्तकालयलाई कतिको प्राथमिकता दिएको छ भन्ने बुझ्न सार्वजनिक पुस्तकालयको अवलोकन गरे पुग्छ ।

नगरपालिकाकै पुस्तकालयको बेहाल

Satbajanik pustakalaya

धरान उपमहानगरपालिकाले सञ्चालन गरेको ‘सार्वजनिक पुस्तकालय’ पस्नेहरुको ध्यान पुस्तकमा भन्दा पहिले त्यहाँको अस्तव्यस्ततामा पुग्छ ।

पुस्तकालयका टेलबहरुमा धुलैधुलो देखिन्छ । भवनको भित्तामा पानी चुहेर बनेको कालो दाग छ । यहाँ करिब ५ हजार पुस्तकहरु छन् तर खोजेको पुस्तक भेट्न मुस्किल पर्छ । नयाँ पुस्तक त डेढ वर्षदेखि किनिएकै छैन । वर्षदिन अघि बिग्रिएको इन्टरनेट पनि बनेको छैन । पुस्तकालयबाट ३ सय २४ जनाले सदस्यता लिएका छन् । तर उनीहरुलाई एक वर्षदेखि सदस्यता नविकरण गर्न र पुस्तक लगेर पढ्न बन्द गरिएको छ ।

लकडाउन अगाडिसम्म यहाँ दैनिक ५०/६० जना पाठकहरु आउँथे तर अहिले दैनिक १० जना पनि पुग्न मुस्किल छ । उपमहानगरपालिकाले पुस्तकालयका लागि भनेर २ जना कर्मचारी खटाइदिएको छ । पुस्तकालयको इञ्चार्जमा खटाइएकी पुष्पा मोते स्वास्थ्य समस्याका कारण नियमित आउँदिनन् । कार्यालय सहयोगी दयाप्रसाद चौलागाईंको भरमा जेनतेन चलेको छ पुस्तकालय । ‘उपमहानगरपालिकालाई पुस्तक किन्न कति माग गरियो । नेटको तार ब्रिगिएर अनुुरोध गरियो तर केही काम भएन ।’ उनी भन्छन्,‘ पानी परेका बेला छत चुहिएर पुस्तकालयमा पानी आईपुग्छ । कति पत्रिका बिग्रिएका छन् । छानो हाल्न आग्रह गरियो तर हाम्रा कुरा कसले सुन्ने ?’

वि.सं.२००४ सालमा स्थानीय देवलाल श्रेष्ठ, भागवत गोविन्द श्रेष्ठ, जगदीश नेपाली, गणेशमान श्रेष्ठ लगायतले सुरु गरेको ‘सार्वजनिक विद्याभवन’ मा २०२६ सालमा एकतले काठको घर बनाएर पुस्तकालय सञ्चालन भएको थियो । २०४५ सालको भूकम्पले पुस्तकालय भत्काएपछि तत्कालिन धरान नगरपालिकाको पहल र नगर विकास कोषको सहयोगमा १६ लाख लगानीमा दुई तले भवन निर्माण भएको थियो । अहिले पुस्तकालय भवनको पहिलो तला उपमहानगरपालिकाले भाडामा लगाएको छ । त्यसबाट मासिक २०÷२५ हजार आम्दानी हुने उपमहानगरपालिकाका सुचना अधिकारी खगेन्द्रप्रसाद खतिवडा बताउँछन् । 

पुस्तकालयको भवनका कोठा मध्ये एउटा हुलाक कार्यालयलाई भाडामा दिईएको छ भने एउटामा चिया नास्ता पसल, अर्कोमा कपडा पसललाई भाडामा दिइएको छ । एउटा कोठामा भने उपमहानगरपालिकाका कर्मचारी रमेशकुमार साहले भाडामा लिएर लोकसेवाको कक्षा सञ्चालन गर्छन् । उनी पुस्तकालयकै माथिल्लो तलामा क्वाटरमा बस्छन् । 

उपमहानगरपालिकाले पुस्तकालयका लागि यो आर्थिक वर्षमा ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । पुस्तकालयका नियमित पाठक कृष्ण ब्लोन यो पुस्तकालय व्यवस्थित गर्नु आवश्यक रहेको बताउँछन् । भन्छन्,‘एउटा समिति गठन गरेर हप्ताको सातैदिन खोल्ने व्यवस्था गर्न सके पाठकहरु बढ्छन् । अहिले जस्तै अस्तव्यस्त रहने हो भने को पढ्न आउँछ र ?’

पुस्तकालयमा तास अड्डा

Laxmi pustakalaya

धरान–१३, लक्ष्मीचोक नजिकै ‘लक्ष्मी वाचनालय’को तीनतले भवन छ । तर यहाँ अहिले पुस्तक तथा पत्रपत्रिका पढ्नेहरु भेटिंदैनन् । बरु वाचनालयभित्र तास खेल्नेहरु भेटिन्छन् ।

९ माघको दिउँसो सुरुङ जस्तो अँध्यारो गल्लि हुँदै भ¥याङ चढेर पुस्तकालय रहेको दोस्रो तला उक्लिंदा तीन जना चिया नास्ता खाँदै तास खेलिरहेका थिए । तीन मध्ये एक जना चाहिं वाचनालयकै कोषाध्यक्ष सुमन श्रेष्ठ रहेछन् । पर भित्तामा थन्किएका पुस्तकहरु देखाउँदै उनले भने, ‘पुस्तकालय त यहि हो तर कोहि पढ्न आउँदैनन्, त्यसैले टाइमपास गरेको ।’

पहिला भवनको बाहिरैबाट भ¥याङ थियो । सडक विस्तारका क्रममा भ¥याङ भक्काउनु परेपछि भित्रबाट राखियो तर यति ढङ्ग नपु¥याई राखिएको छ कि, पुस्तकालयमा पढ्न आउने मान्छेले हतपत त्यो भ¥याङ भेट्दैन । अँध्यारो कुनाबाट माथि चढ्नुपर्ने भएकाले पाठकहरुले पुस्तकालय पत्तै पाउँदैनन् । कोषाध्यक्ष श्रेष्ठ पनि भ¥याङभित्र राखेपछि पढ्ने मान्छे आउन छाडेको बताउँछन् । भवनको पहिलो तला भाडामा लगाइएको छ । पुस्तकालय दोस्रो तलमा छ तर पुस्तकालयमा न धेरै किताब छन्, न टेबल कुर्सी । खाली कोठामा कतै अन्न फिजाईएको हुन्छ कतै लुगा सुकाइएको हुन्छ । कोषाध्यक्ष श्रेष्ठपनि यहि भवनमा बस्छन् । भवनका चार कोठा भाडामा लगाईएको छ । त्यसबाट मासिक ९ हजार ५ सय आम्दानी हुने कोषाध्यक्ष श्रेष्ठको भनाई छ । 

पुस्तकालयसम्म पुग्ने अफ्ठ्यारो बाटो अनि अस्तव्यस्त पुस्तकालय । पाठकहरु जाने कुरै भएन । पाठकहरुलाई पुस्तकालयमै आकर्षित गर्ने उपाय अपनाउने बाटो नखोजेर पुस्तकालय सञ्चालक समितिले पुस्तकालयका लागि आउने पत्रपत्रिका अर्कै पसलमा राखिदिने गरेको छ । केही मान्छे त्यहिं गए पढ्छन् ।  

२०१६ सालमा समाजसेवी शिवमाया राई (श्रेष्ठ)ले धरान–धनकुटा बाटो हिड्ने मान्छेहरुका लागि बास बस्ने पाटी बनाउनका लागि ८ धुर जग्गा दिएपछि स्थानीयले २ कोठे पाटी बनाए । त्यहि साल महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भयो । १३ औं पुण्यतिथीका दिन स्थानीय जनार्दन आचार्य, इन्द्रबहादुर थापा, रमापति पराजुली, दण्डपाणी नेपाल, हरिनाथ बास्तोला, टोमप्रसाद आचार्य लगायतको सक्रियतामा सोहि पाटीलाई ‘लक्ष्मी वाचनालय’ नामाकरण गरी पुस्तकालय सञ्चालन गरियो । २०४५ सालको भूकम्पले त्यो पार्टी भत्काएपछि जिर्णोद्वारका लागि पहल गर्दापनि सहयोग जुटेन । त्यसपछि २०४७ सालमा भगवती माविको एउटा कोठामा सारियो पुस्तकालय । पछि २०५२ सालमा मोहनलाल सिटौलाले वाचनालयका लागि २ कठ्ठा १० धुर जग्गा प्रदान गरेपछि त्यहिं भवन निर्माण गरियो । स्थानीयले धेरै दुख गरेर स्थापना गरेको यो पुस्तकालयको यस्तो दुर्दशा छ । 

स्कुल/कलेजका पुस्तकालय पनि उस्तै

धरानमा राणाकालमै २००३ सालमा बहुउद्देश्यीय पब्लिक हाईस्कुल खुलेको थियो । विद्यालयहरु खुलेपछि विस्तारै पुस्तकालयहरु पनि खुले । तर अहिलेसम्म पनि ति पुस्तकालयहरु व्यवस्थित छैनन् । पुस्तकालयको वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा खोजेको बेला तुरुन्त पुस्तक पाउन मुस्किल पर्छ ।

धरानका पब्लिक,  महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर क्याम्पस, सदन, निकेतन स्कुलहरुमा रहेका पुस्तकालय पुरानै तरिकाले चलेका छन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसले केही समय व्यवस्थापन गर्न खोजेपनि अझै व्यवस्थित हुन सकेका छैनन् । नीजि स्तरबाट सञ्चालित स्कुल कलेजका पुस्तकालय पनि उस्तै छन् । महेन्द्र बहुमुखी क्याम्पस धरानम लामो समय अध्यापन गरेका सहप्राध्यापक डा.राजेन्द्र शर्मा भन्छन्, ‘पुस्तकहरुको क्याटागोराईज्ड गर्न सके एक मिनेटमा भेटिन्छन् तर यहाँ कुनै व्यवस्थित छैनन् ।’

अबको विकल्प डिजिटल पुस्तकालय

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा मानवीय विकासका लागि जम्मा १ करोड ४९ लाख २९ हजार ५ सय ६६ रुपैयाँ छुट्याएको छ । उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार यो बजेट नगर र वडाले सञ्चालन गर्ने शिपविकास र तालिमहरुमा खर्च गरिन्छ । त्यसबाहेक कला साहित्यको विकासका लागि भनेर नगरकै प्रज्ञा प्रतिष्ठानका लागि ३० लाखको बजेट छुट्याइएको छ । यि बजेटबाट पठन संस्कृतिको विकासका लागि खर्च गरिँदैन । 

अहिले समाज पनि पुस्तकालय भन्दा इन्टरनेटमा व्यस्त रहेको भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘पुस्तकालय अव्यवस्थित छन्, । पाठकको आकर्षण छैन । यसले समाजले ऐतिहासिक ज्ञानको स्रोत गुमाउँछ । त्यसैले पुराना पुस्तकलाई पनि संरक्षण गर्दै आधुनिक प्रविधिमा जानु आवश्यक छ । ’

सहप्राध्यापक डा. राजेन्द्र शर्मा घरघरमा टेलिभिजन भित्रिएपछि दोस्रो स्थानमा पुगेको पुस्तकालय अहिले हातहातमा इन्टरनेट पुगेपछि ते्रस्रो स्थानमा झरेको बताउँछन् । अब पुस्तकालयलाई डिजिटल प्रणालीमा लानुको विकल्प नरहेको उनको भनाई छ । ‘अब समयानुकुल पुस्तकालय आवश्यक छ । उपमहानगरपालिकाले पुस्तकालयका पुस्तकहरुलाई स्क्यान गरेर डिजिटल लाइब्रेरी बनाउनुपर्छ ।’ उनी भन्छन्, ‘सार्वजनिक पुस्तकालयसँगै अरु पुस्तकालयका पुस्तक पनि स्क्यान गरेर इन्टरनेटमा राखिदिन सके संसारबाट हेर्न सकिन्छ । त्यसो गर्न सके धरान फेरि डिजिटल युगको शैक्षिक केन्द्र बन्न सक्छ ।’

(यो आलेख नेपाल पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिकाको सहयोगमा तयार पारिएको हो ।)