धनकुटा नगरमा त्यतिखेर लिम्बूका घर केवल दुईवटा थिए । तत्कालीन धनकुटा बजार पञ्चायतको वडानम्बर १ (पछि धनकुटा नगरपञ्चायत हुँदै नगरपालिकाको वडानम्बर ४)को माथिल्लोटोल (भोटेचौतारा, हालः स्कुलडाँडा) मा हाम्रो घर थियो भने तल्लोटोल (देब्रेबास)मा नन्दप्रसाद खेवा लिम्बूको ।

rk

मेरा बुबाले दोस्रो विश्वयुद्ध लडी पेन्सन पकाई, नेपाली सेनाको सैन्य अधिकारीमा जागिर सुरु गरेपछि उनले तत्कालीन धनकुटा गौंडा नामले प्रख्यात प्रशासनिक क्षेत्र भएकै आसपासमा बसोबास सुरु गरे । लिम्बूहरूको सुवाङ्गी, राजनीति तथा विभिन्न मुद्दामामिलाका कारण धनकुटा गौंडा धाउनु परेको मात्रै होइन, भोजपुर दिप्साबाट धनकुटा आई बसोबास सुरु गरेका वृखबहादुर राईकी बहिनीसँग घरजम गरी धनकुटामै बसोबास गर्न सुरु गरेका रहेछन्, नन्दप्रसाद खेवाले ।

हाम्रो पुख्र्याैली थलो आठराईको हाङ्पाङ भएजस्तै उनको मूल थातथलो चाहिँ छथरको सुदाप हो । धनकुटामा उनको घरपरिवार भए पनि उनको मूल कार्यथलो चाहिँ छथर नै थियो ।

हामी तल्लो–माथिल्लो टोल गरेर दुई घर लिम्बू र एक घर राईको बसोबास थियो । कालान्तरमा यी तीनै घरको एकापसमा वैवाहिक नातागोता गाँसियो । वृषबहादुरकी बहिनीको विवाह नन्दप्रसादसँग भयो । वृखबहादुरकै छोरीसँग मेरा जेठा दाजुको विवाह भयो । आफ्ना जेठानका सम्धी भएकोले मेरा बुबा र नन्दप्रसाद एकापसमा दाजुभाइको साइनोमा सम्बन्धित भए । त्यसैले हामी नन्दप्रसादलाई काका भनेर सम्बोधन गथ्र्याैँ । हामी दुई लिम्बू पारिवारबीच मित्रवत् सम्बन्ध थियो, अहिले पनि त्यो पारिवारिक आत्मीयता कायमै छ ।

मैले देख्दा नन्दप्रसाद काका चल्तापुर्जा राजनीतिज्ञ थिए । मेरा बुबा चाहिँ सेवानिवृत्त एउटा सोझो लाहुरे । मेरो बुबामा ज्ञान र बुद्धि त प्रशस्तै थियो, तर त्यसलाई बाहिरफेरतिर प्रयोग गर्नमा उनको त्यति रुचि थिएन । सानै उमेरमा आमा खसेपछि उनी मावली (हुक्पा चोङ्वाङ)हरूको सहयोगमा लाहुर लागेछन् । 

उनको बाजे भगिवन्तको पालासम्म किपटिया कर्ताको विरासत आउँदा हाम्रो पारिवारिक हाँगामा भगिवन्तका छोरा सिंहबहादुरले त्यो किपटिया विरासत थाम्न सकेनन् । माथि पनि भनिसकेँ, सिंहबहादुरका छोरा आसबहादुरले अर्थात् मेरा बुबा लाहुरे भई पेन्सन पकाई फेरि नेपाली सेनामा जागिर सुरु गरे । हाम्रो वंशका पुर्खा श्रीवाजका जेठा छोरा फौदल (भगिवन्तका बुबा)तिर नभई माइला छोरा अदलबाज र कान्छा छोरा चतुरध्वजतिर सुवाङ्गी सरेको देखिन्छ । त्यसैले किपट सम्हालेको जग्गा जमिन र यससँग सम्बन्धित विभिन्न कारोबारबाट मेरा बुबाले आफ्ना बुबाको समयदेखि नै मुक्ति पाइसकेका थिए ।

तर, नन्दप्रसाद काका चाहिँ आफ्नो पुख्र्यौली किपटको सुवाङ्गी सम्हाल्दै रहेका कारण यससँग सम्बन्धित कारोबार, मुद्दा मामिला आदिको दायिŒव र झन्झटहरू खेप्दै गएको कारण पनि उनलाई हामी फुच्चाफुच्चीहरू चल्तापुर्जाका देख्थ्यौँ । कम्मरमा हस्तीहाडको बिँड भएको खुकुरी भिरेर सेतो घोडामा गड्गडाउँदै ओहोरदोहोर गरेको देख्दा उनको शान र चमक बेग्लै खालका लाग्थ्यो, हामीलाई ।

लिम्बुवान प्रतिनिधिमण्डलमा

इतिहासकार तथा लिम्बूहरूको प्राज्ञिक विभूति इमानसिंह चेम्जोङले लिम्बुवान सुधार सङ्घ गठन गरी लिम्बुवानको किपटलाई व्यवस्थित गर्नुपर्नेमा लिम्बूहरूलाई सचेत गराइरहेका थिए । राजा त्रिभुवनले आफ्नो विराटनगर भ्रमणको बेला २००८ साल मङ्सिर २९ गते लिम्बूहरूलाई लालमोहर प्रदान गरेका थिए । २००९ साल जेठ २ गते इमानसिंह चेम्जोङ सभापति र तेजबहादुर प्रसाईं प्रधानमन्त्री रहेको अखिल नेपाल लिम्बुवान सुधार सङ्घ गठन भयो । यसले किपटभूमि यथावत् राखी राजनीतिक अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको माग गरी २००९ साल कात्तिक २५ र २०१० साल जेठ २ गते राजालाई स्मृति–पत्र चढाएको थियो ।

त्यसपछि किपट समस्यासम्बन्धी छलफल गर्न नीरविक्रम राणाको नेतृत्वमा एक टोली लिम्बुवान आइपुग्यो । तर, वार्ता निष्कर्षमा पुग्न सकेन । यो टोलीसँग लिम्बू किपटिया सुब्बाहरू, रैतीका तर्फबाट सूर्यबहादुर थापालगायत वार्तामा सामेल थिए । 

सुन्नमा आएअनुसार सूर्यबहादुर थापाले त्यतिखेर राजासँग बिन्ती गर्दा भनेका थिए रे, ‘महाराज, एउटा मात्र राजा मान्न पाऊँ ।’ उनको भनाइमा अर्का राजा अर्थात् लिम्बूलाई राजा मान्न उनी इच्छुक थिएनन् । यसको सिधा अर्थ हो, किपट व्यवस्थाको अन्त्य । उनको यो सपना २०२१ सालमा भूमिसुधार लागू भएपछि पूरा पनि भयो ।

यसपछि किपटिया लिम्बू सुब्बाहरूलाई राजाबाट काठमाडौं बोलावट भयो । फेदाप थुमका सुब्बा ललितबहादुर तुम्बाहाम्फेको नेतृत्वमा २९ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं पुग्यो । तुम्बाहाम्फे हाल कानून, न्याय तथा सङ्घीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फे र प्रतिनिधिसभा सदस्य डा. विजय सुब्बाका पिता हुन् । उनी २००७ को परिवर्तनपछि बनेको अन्तरिम प्रान्तीय सरकारका गभर्नर पनि थिए ।

राजाको बोलावटमा ललितबहादुरका साथ काठमाडौं जाने प्रतिनिधि मण्डलमा इतिहासकार इमानसिंह चेम्जोङ पनि एक सदस्यका रूपमा सहभागी थिए ।

यस प्रतिनिधिमण्डलमा छथर थुमबाट दुई जना सदस्य काठमाडौं पुगेको देखिन्छ, तीमध्ये एक जना हुन्, नन्दप्रसाद खेवा र अर्का प्रेमभक्त खेवा ।

यो प्रतिनिधिमण्डलले २०१३ साल मङ्सिर १३ गते राजासँग भेटेर लिम्बुवानको किपटसम्बन्धी स्मृति र मागपत्र बुझायो ।

यसरी नन्दप्रसाद खेवाले लिम्बुवानको एक किपटिया सुब्बा हुनुको दायित्व निर्वाह गर्नुका साथै लिम्बुवानको अधिकार संरक्षण अभियानको प्रारम्भिक चरणमा महŒवपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।

प्रजातन्त्र सेनानी

नन्दप्रसाद खेवा राणाविरोधी आन्दोलनमा होमिएका व्यक्ति हुन् । यसअर्थमा उनी प्रजातन्त्र सेनानी पनि हुन् । 

२००९ सालमा धनकुटामा नेपाली काङ्ग्रेसको पूर्वाञ्चल अधिवेशन भएको थियो । उक्त अधिवेशनलाई सम्बोधन गर्न बीपी कोइराला, सुवर्णशम्शेर राणा तथा सूर्यप्रसाद उपाध्यय आएका थिए । अधिवेशनको सभापतित्व नन्दप्रसाद खेवाले गरेका थिए ।

राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि नन्दप्रसादमाथि अराष्ट्रिय तŒवको अभियोग लाग्ने नै भयो । २०१७ सालमा उनी जेल परे । २०२० सालमा उनी जेलमुक्त भए । पाँचथरका प्रजातन्त्र सेनानी कृष्णविक्रम नेम्वाङ पनि उनीसँगै धनकुटा जेलमा थुनिएका थिए । जेलमुक्त भएपछि नन्दप्रसादसँगै कृष्णविक्रम देब्रेबासस्थित उनको घरमा केहीदिन आराम र केही भलाकुसारी गर्न आएका थिए । नेम्वाङ र खेवा परिवारबीच अहिले वैवाहिक सम्बन्धले जोडेको पारिवारिक सम्बन्ध पनि रहेको छ । 

कीर्ति र स्मृति

नन्दप्रसाद खेवा इतिहासका स्रोत व्यक्ति पनि हुन् । इतिहासकार शिवकुमार श्रेष्ठको आफ्नो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ मा वि.सं. १८४८ मा जोरावरसिंह र सुब्बा इन्द्रसिंहले खेवा रामजित राईलाई दिएको र १८६६ मा राजाबाट रामजित राई र युधनले पाएको रुक्का नन्दप्रसाद खेवाबाटै इतिहासकार श्रेष्ठले प्राप्त गरी आफ्नो इतिहास लेखनमा प्रयोग गरेको देखिन्छ ।

समयक्रममा नन्दप्रसाद तेह्रथुम जिल्लाको जिल्ला पञ्चायत सदस्यमा पनि निर्वाचित भएका थिए । एकातिर जनप्रतिनिधि र अर्कातिर किपटिया सुब्बा हुनुको जिम्मेवारीले उनले जनसहभागितामा सुदाप शुक्रबारेदेखि तमोरसम्म बाटो निर्माण गरे । 

वि.सं. १९७२ फागुन २९ गते जन्मेका नन्दप्रसादको २०४६ भदौ ८ गते देहान्त भयो । उनको स्मृतिमा ललितपुर तीखेदेवलस्थित किरात माङ्हिममा उनका सन्तानले ‘सुब्बा नन्दप्रसाद खेवा लाम’ नामको बाटो निर्माण गरेर उनको स्मृतिलाई ताजा बनाएका छन् ।

पञ्चायतकालीन ताप्लेजुङका चर्चित नेता विष्णु मादेन (हालः दिवङ्गत) का बुबा हर्कजङ मादेन त्यहाँका किपटिया सुब्बा थिए । उनले लप्टन दर्जा पनि पाएका थिए । उनका सन्तानले आज पनि उनलाई लप्टन हर्कजङ मादेन भनेर चिनाउनमा गौरव गर्छन् ।

नन्दप्रसादको एउटा लुकेको पाटो के हो भने उनलाई पनि राणाहरूले त्यतिखेर मानार्थ लप्टन दिएका थिए । यो कुरा मेरो बुबाले मलाई पनि बताएका थिए । उनी भन्थे, ‘म कप्तान हुँ, तेरो काका नन्दप्रसाद चाहिँ लप्टन ।’

मैले यो सम्झना आफ्ना मनमस्तिष्कमा साँचिरहेकै थिएँ । एकदिन बागबजारको एक चियापसलमा लिम्बू भाषा तथा साहित्यसेवी क्षितिज सुब्बा (पाक्सावाँ)सँग भेट भयो । छथरे लिम्बू भाषाको शब्दकोश तथा कथा सङ्ग्रहसमेत प्रकाशित गरिसकेका क्षितिजजीसँगको कुराकानीमा नन्दप्रसाद खेवाको नाम उच्चारण भइहाल्यो, मेरै मुखबाट ।

‘उहाँ त, लप्टन पनि हो नि’ क्षितिजजीको भनाइ । मलाई यो कुरा थाहा थियो । तर, एउटा आश्चर्यको विषय नन्दप्रसाद खेवा लप्टन भएको कुरा चाहिँ उनको परिवारका सदस्यहरूलाई नै थाहा रहेनछ ।

उनलाई राणाहरूले मानार्थ लप्टन दिएका हुन् । तर, प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुँदा उनका लागि त्यो लप्टन पद गौण भइदियो । सम्भवतः राणाहरूले दिएको उक्त पदलाई उनले छोटो समयमै परित्याग गरिदिए । फलतः उनको लप्टन पद इतिहासमै गुमनाम भयो, जसकाबारेमा उनका दरसन्तान नै अनभिज्ञ हुन पुगे ।