नेपालको विद्यमान राजनीतिक संकट कुनै परिवर्तन प्राप्तिका लागि होइन । न त विकास, समृद्धि र अग्रगमनका खातिर हो । मात्र यो त पद, प्रतिष्ठा र कुर्सी प्राप्तिका लागि केन्द्रित छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदै ऐतिहासिक रुपमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीबीच कुर्सीको छिनाझपटीपश्चात् विभाजित भयो । कम्युनिष्ट पार्टी एक हुने र एसियाकै वृहत् कम्युनिष्ट पार्टीको नेपालमा उदय भएको केही वर्ष बित्न नपाउँदै कम्युनिष्ट महत्वाकांक्षा माटामै मिल्यो ।
कुर्सीको भागवण्डा नमिल्दा सिर्जना हुन सक्ने परिस्थिति आँकलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे । र, सरकारको नेतृत्व आफूमा निहीत राखे । तत्पश्चात् सदनबाट सडकमा आएको नेकपाको प्रचण्ड– माधव खेमा यतिबेला उनीहरुकै शब्दमा ‘ननभेज आन्दोलन’ मा उत्रिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘वास्तविक आम सभा २३ गते देखाउँछु’ भन्ने वक्तव्यका कारण सिर्जित यो आमहड्ताल कुनै हालतमा ग्राह्य छैन । सडकमा शान्तिपूर्ण रुपमा ‘हामी यता छौं’ भन्दै उत्रिएका सहपाठीले पनि यो आमहड्ताललाई साथ दिएका छैनन् । उनीहरु सडकमा उत्रिएनन् यद्यपि सामाजिक सञ्जालमा उनीहरु यसको विरोधमै छन् ।
मुलुकको परिवर्तन खातिर सयौं आन्दोलनमा उत्रिएका नेपाली जनता र आन्दोलनबाट पीडित बनेका नागरिकलाई पुनः उही प्रतिगमन र पीडाको झल्को दिने गरी सडकमा आएर बन्द, हड्तालको आन्दोलन कुनै हालतमा पच्ने कुरो भएन ।
यसको जवाफ धरानमा मजदुरहरुले अवज्ञा गरेर दिएका छन् ।
सामाजिक सञ्जालमा पनि वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले कटाक्ष गरे । संग्रौलाले लेखेका छन्ः ‘सामन्ती चलनमा आदेश दिनेले आदेश मान्नु नपर्ने, बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्डक्रुजर चढेर भाषण ठोक्न पुलचोक सवारी, माधव स्कुटर चढेर कोटेश्वर सवारी । वाहन चलाउने अरुलाई ढुंगामुडा र गाली गर्ने दासवत् कार्यकर्ता आफ्ना नेतालाई ताली सडकमा देखियो यिनको जनवाद ।’
संसद् विघटनलाई प्रतिगमन मान्ने नेकपाको समर्थन गरेका बुद्धिजीविहरुले पनि बन्द र हड्तालजस्तो अराजनीतिक प्रवृत्तिको खुलेर विरोध गरेका छन् ।
वरिष्ठ लेखक कनकमणि दिक्षितले उर्दी र निर्देशनबाट बन्न बन्दैन भन्दै ‘हड्ताल’ को विरोध गरेका छन् र उनले ‘बन्द’ मा मौन रहेकाहरुको पनि कटाक्ष गरेका छन् । दिक्षित लेख्छन्ः हिजोका बन्द विरोध गर्ने तर आजको बन्दमा मौन रहेका साथीहरुः एमाले, माओवजादी, राजावादी, ने कांग्रेस, नेकपा ओ/दाने जसले गरे पनि बन्दको विरोद गर्ने हो । जनताको स्वस्तफूर्त उभारको बन्द मात्र वास्तविक बन्द हुन्छ, त्यसमा नागरिक भएर भाग लिने हो, ‘नो लाज’ ।
वरिष्ठ लेखक दिक्षितले भनेजस्तै हिजो नेकपा दाने समूहसँगै सडकमा ‘हामी यता छौं’ भनेकाहरु आज मौन छन् । थाहा छैन उनीहरु कता छन् ? के आज उनीहरु ‘ननभेज आन्दोलन’ छैनन् । नारायण वाग्ले, कृष्ण पहाडी खै ?
प्रतिक्रान्ति र प्रतिगमनसँग डराउने ‘नौटंकी’ गरिरहेका दलहरु ‘संघीयता धरापमा पर्दैछ’ भन्ने ‘गोयबल्स’ अराजनीतिक राग अलापी रहेका छन् । जनतालाई यिनीहरुले बारम्बार यो राजनीतिक भागबण्डा नमिलेका विषयलाई व्यवस्थासँग जोडिरहेका छन् । यही सन्दर्भमा राजावादीहरु पनि यसैमा चोचोमोचो मिलाइरहेका छन् । पूर्व राजा पनि जनताको पक्षमा बोलिरहेका छन् । हड्तालको विरोध गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले ट्विटर लेख्छन्ः
‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई जीविका चलाउन धौधौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हड्ताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।’
यता ‘आम हड्ताल ?’ को प्रभावकारिता हेर्न सडकमा निस्किएका नेता आफैंले बन्दको अवज्ञा गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड ल्याण्डक्रुजर चढेर भाषण ठोक्न पुलचोक पुगेका छन् । ‘मुर्दावाद’ को नारा लगाउँदै मन्द मुस्कान छाडिरहेका देखिन्छन् । माधवकुमार नेपाल स्कुटर चढेर कोटेश्वर तिर हुइँकिएका छन् ।
बन्दको मौका छोपी थापाथलीमा थैलीसहित अंगुर चोर बाँदर घरिघरि मल्याकमिलिक गरिरहेको छ ।
तस्बिर कनकमणि दिक्षितको ट्विटरबाट लिइएको ।