धनकुटा । पाख्रीवास नगरपालिका–१ सान्नेका एक स्थानीय किसानले हरेक वर्ष लाखौं रुपैयाँ आम्दानी दिने रुद्राक्षको बोट अज्ञात व्यक्तिले तेजाब लगाएर मारिदिएको गुनासो गरेका छन् । 

हरेक वर्ष ५ देखी ७ लाख रुपैयाँसम्म आम्दानी दिने रुद्राक्षको बोटको फेदमा आफु घरमा नभएको समयमा तेजाब लगाई दिएको सान्नेका लालबहादुर सार्कीले ब्लाष्टलाई बताए । आफुले केही दिनअघि देखी एक्कासी रुद्राक्षको बोट सुक्न थालेपछि के भएर सुकेछ भनेर हेर्दा रुद्राक्षको जरा डडेर कालो भएको अवस्थामा पाएको लालवहादुरले बताए । उनले रुद्राक्षको जरा खोतलेर हेर्दा पुर्ण रुपमा ढडेर कालो भएको भन्दै स्थानीय सरकारसंग न्यायको लागी हारगुहार मागेका छन् । 

सार्कीले रुद्राक्षको फेदमा तेजाब हालेको विषयलाई लिएर पाख्रीवास नगरपािलका वडा नं. १ को कार्यालयमा आवश्यक सहयोगको लागी उजुरी दिएका छन् । उनले रुद्राक्षको बोटमा विषादी वा तेजाब हालिएको बारे परिक्षण वा छलफल गरी पाउँ भनि ०७७ माघ ४ गते निवेदन दिएका थिए । वडा कार्यालयलाई समाज भेला गरेर छलफल गराई दिन अनुरोध गर्दा विषादी प्रयोग भए नभएको पत्ता लगाउन सिफारिस मात्र गरि दिएको गुनासो गरे ।  

वडा कार्यालयले स्थानियवासीसंग रुद्राक्ष दानाको फेदमा विषादी हो, होईन के भएको हो भन्ने विषयमा आवश्यक छलफल नगरी सिफारिस मात्र दिएको थियो । उनले पाख्रीवास कृषि अनुशन्धान केन्द्रमा पुनः वडाध्यक्ष हेमवहादुर पाण्डेले दिएको सिफारिस सहितको निवेदन लिएर परिक्षणका लागी पुगेको बताए ।

उता पाख्रीवास कृषि अनुशन्धान केन्द्रमा लालवहादुरले परिक्षणको लागी वडाको सिफारिस सहित निवेदन दिएपछि कृषि अनुसन्धान केन्द्रका वैज्ञानकिहरु तत्काल रुद्राक्षको फेदको माटो परिक्षण गर्न सान्ने पुगेका थिए । पाख्रीवास कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरुले रुद्राक्षको बोटको फेदको माटो लिएर परिक्षण गर्दा कुनै पनि रोगको जिवाणु नभेटिएको रिपोर्ट आएको केन्द्र प्रमुख डा.गोविन्दप्रसाद तिम्सिनाले बताए । केन्द्रको रिपोर्टमा रसायन र विषादीको परिक्षण नहुने भएकोले के कारणले रुद्राक्षको विरुवा मरेको हो भनि एकिन गर्न नसकिएको पनि डा.तिम्सिनाले बताएका छन् । 

कृषि अनुसन्धान केन्द्रले गरेको परिक्षणबाट पनि चित्त नवुझेपछि लालवहादुर फेरी जिल्ला प्रहरी कार्यालयमा वडाको सिफारिस र केन्द्रको परिक्षण रिपोर्ट लिएर पुगेका थिए । तर, प्रहरीले निवेदन लिन नमानेपछि उनी अहिले अन्योलमा परेका छन् । हरेक वर्ष लाखौं रुपैयाँ आम्दानी दिने रुद्राक्षको रुख मरेपछि आफू विरुद्ध सत्रु लागेको उनले गुनासो गरे । 

उनी धनकुटा स्थित ब्लाष्ट कार्यालयमा पनि पाख्रीवास कृषि अनुशन्धान केन्द्रको रिर्पोट र पाख्रीवास नगरपालिका वडा नं.१ को वडा कार्यालयको सिफारिस पत्र पनि लिएर आएका थिए । उनले ति रुद्राक्षका बोट ७ वर्ष अघि दिङ्गलाबाट ल्याएर आफ्नो बारीमा रोपेका थिए ।