दुई परिवारबीच सम्बन्ध गाँसिदै थियो । बौद्धिक व्यक्तित्व विष्णुदत्त आङ्बुहाङ (हालः क्यानडा) को  सामाजिक व्यक्तित्व विष्णुकुमार यक्सोको ललितपुर भैंसेपाटीस्थित घरमा दलबलसहित आगमन भयो । यता यक्सो परिवार पनि तयारी अवस्थामा थियो । यक्सो परिवारको एउटा सदस्यका रूपमा भैंसेपाटीमा म पनि उपस्थित थिएँ ।

त्यसपछि एउटा परम्परागत सांस्कृतिक वातावरणमा दुवै परिवारबीच एउटा सहमति भयो । सहमति थियो, विष्णुदत्त आङ्बुहाङको मागअनुसार उनको सुपुत्रलाई विष्णुकुमार यक्सोले आफ्नी सुपुत्री दिनुपर्ने । हिजो एउटै गाउँका गाउँले साथी विष्णुदत्त र विष्णुकुमार अब सम्धि–सम्धिमा परिणत हुँदै थिए । 

यसरी दुई परिवारबीच अनन्तसम्म रहने सुमधुर सम्बन्धको सुरुवात भएकोमा हामी दुवै परिवारका सदस्यले गम्भीरतापूर्वक हर्षोल्लास प्रकट ग¥यौं ।

त्यो सम्बन्ध सुरुवातीलाई औपचारिकता दिलाउनका लागि समाजका लब्ध प्रतिष्ठित नातागोता र इष्टमित्र साक्षीका रूपमा उपस्थित थिए । त्यहाँ पूर्व माननीय दुर्गामणि देवान मुख्य भएर आएका थिए । उनको साथमा नेपाल सरकारका तत्कालीन उपसचिवहरू भगिराज इङ्नाम र प्रेम राईको पनि उपस्थिति थियो ।

हामी यक्सो परिवारको तर्फबाट अलि आलाकाँचा र बुढ्यौली भन्न पनि नसुहाउने ठिटाहरू थियौँ । त्यसैले हामीले अनन्तहाङ यक्सोलाई हाम्रोतर्फबाट सोतरीत कस्ने अघिसरा बनाएका थियौँ । लिम्बू रीतअनुसार उनले कसेर ल्याउँदा दुलाहा पक्षधर नेता देवानलाई निक्कै आच्छुआच्छु परेको थियो । 

यसरी मगनी भएको केही सातापछि भव्यतापूर्वक वैवाहिक कार्यक्रम पनि सम्पन्न भयो । कुरा प¥यो, आठ–नौ वर्षअघिको ।

............

एउटा सांस्कृतिक विधि सम्पन्न भइसकेपछि शून्य समय भयो । खाँदै पिउँदै विविध विषयमा छलफल हुँदा इतिहासको सन्दर्भ जोडियो । मैले आफ्नो घरमा सङ्ग्रहमा रहेका केही पुराना कागजपत्रहरूलाई आफ्नो पुर्खाले सङ्गालिदिएको महŒवपूर्ण सम्पत्तिको रूपमा फेसबुकमार्फत् प्रचार गरेको थिएँ । अर्कातिर पाँचखपनजस्तो ऐतिहासिक क्षेत्रका दुर्गामणि देवानलाई पनि मैले त्यतिखेर इतिहासप्रति अनुरक्त व्यक्तिका रूपमा पाएँ । नेपाल सरकारका तत्कालीन उपसचिव भगिराज इङ्नाम त भित्रभित्रै जोडतोडले इतिहास अनुसन्धानमा साधनारत रहेछन् । 

..........

कलेज पढाएर कोठामा फर्की टुसुक्क बसेको मात्र के थिएँ, मोबाइलको घण्टी बज्यो । उताबाट फोन आयो, ‘भाइ, मैले भर्खरै एउटा किताब निकालेँ, प्रज्ञा प्रतिष्ठानबाट । त्यो भाइलाई दिनुप¥यो भनेर फोन गरेको ।’

किताब भन्नासाथ मनमा अपार जाँगर उत्पन्न भइहाल्यो । त्यसपछि दौडेर पुस्तक हात पार्न पुगिहालेँ । उनले मेरो हातमा पुस्तक थमाउँदै भने, ‘ब म चाँडै सेवानिवृत्त पनि हुँदैछु । भर्खरै बढुवा पनि भएँ ।’

उपसचिवबाट त्यतिखेर सह–सचिवमा बढुवा भएका उनी तत्कालै धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर काठमाडौंबाट रवाना भई पनि हाले । उनी मेरै जन्मथलोको प्रजिअ भई पदग्रहण गरी प्रशासन चलाउन पुगे, त्यसको दुई वर्षपछि म आफू चाहिँ दुःखको भारी खेप्न युरोपतिर हिँडेँ ।

..........

युरोपमा रहेर आफूले हिजो नेपालमा व्यवस्थित गरेको सन्दर्भ सामग्रीहरू, आफूसँग भएका पुराना कागजपत्रहरू केलाउँदै, विश्लेषण गर्दै जाँदा इतिहाससम्बन्धी केही फुटकर लेख रचनाहरूलाई अखबारमा फाट्टफुट्ट लेख्दै रहेँ । नेपालमा बसेर यस्तो लेख रचना गर्न सम्भव थिएन । बिहानै कलेज पढाउन जानुपर्ने, त्यसपछि एक अखबारमा काम गर्ने भएकोले प्रायः मध्यरातमा मात्र कोठामा फर्कनुपर्ने बाध्यताबीच इतिहासजस्तो गम्भीर विषय लेखनका लागि समय नै थिएन मसँग । यता युरोपमा पनि सुख त कहाँ छ र ? यद्यपि कामको निश्चित समय हुने भएकोले सोच्दै, अलिअलि लेख्दै, पढ्दै गर्न सकिएको छ । बाध्यताहरूबीच टिपनहरू लेख्ने काम नछाडेका कारण आज मबाट इतिहासका फुटकर लेखरचना तथा सिङ्गो पुस्तक पाठकसमक्ष प्रस्तुत गर्न सम्भव हुनपुगेको हो ।

..........

राति २ बजेको थियो, सुत्ने तरखरमा थिएँ । उनै भगिराज इङ्नामको सन्देश  आयो । ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ प्रकाशमा ल्याएर अर्को महŒवपूर्ण कृतिको तयारीमा रहेछन्, उनी । उनले त्यसबेला मप्रति गरेको आग्रह थियो,ु ‘भाइ, तपाईंसँग लिम्बूहरूले हिजो पाएको पुराना लालमोहरहरू छन् । म यस्ता दस्तावेजहरू सङ्कलन गरिरहेको छु । तपाईंसँग भएको कागज मलाई दिनुभए आभारी हुने थिएँ । यी सामग्रीहरूलाई कसरी प्रस्तुत गर्ने केही उपायहरू पनि बताइदिनु प¥यो ।’

यता म आफू पनि पुराना कागजहरूको सङ्ग्रह गरेर त्यसलाई ऐतिहासिक पत्रहरूका रूपमा प्रकाशमा ल्याउने तरखर गर्दै थिएँ । मैले उनीसँग प्रस्ताव राखेँ, ‘यसो गरौँ हजुर, हामी दुवैको कागजहरूलाई एकत्रित गरौँ । दुवैको संयुक्त प्रयासमा यो दस्तावेज निकालौँ ।’

मेरो प्रस्तावमा उनको सहर्ष समर्थन रह्यो । तर, मैले मेरो आफ्नो प्रस्तावलाई तब फिर्ता लिएँ, जब उनको प्रयास मेरोभन्दा महŒवपूर्ण अनुभूति भयो मलाई । खासगरी वि.सं. १८१४ को मोरङका राजा कामदत्त सेनको समयको कागजको सक्कल फेला पारी उनले आफ्नो पुस्तकमा समेट्न लागेको थाहा पाएँ । त्यसपछि मैले आत्मसमर्पणको भावमा उनलाई सविनय भनेँ, ‘मैले आफ्नो परियोजना फिर्ता लिएँ । बरु हजुर एक्लैले त्यो परियोजना हाँक्नु होला । मसँग भएका जे जति सामग्रीहरू छन्, म सबै प्रदान गर्नेछु ।’

यति मात्र होइन, त्यसपछि आफूले फेला पारेको जेजति सामग्रीहरू छन्, ती सामग्री मैले उनैलाई टक्र्याएँ, बिना सर्त अनि बिना स्वार्थ । 

...

युरोपबाट एक वर्षअघि नेपाल पुग्दा उनी आफ्ना साधनाका प्रतिफलहरूलाई अन्तिम रूप दिँदै गरिरहेको अवस्थामा पाण्डुलिपि हेर्ने अवसर मिल्यो । त्यतिखेरै थाहा भयो, लिम्बूहरूसँग सम्बन्धित पुराना कागजपत्रहरू सङ्कलन गर्दा उनले बेहोरेको दुःखसास्ती । 

राष्ट्रिय अभिलेखालयमा धाउँदाको परिश्रमको आफ्नै कथा व्यथा छ । खासगरी डिल्लीबजारस्थित मालपोत विभागको अभिलेखालयभित्रको सामग्री अध्ययनका लागि अनुमति माग्न जाँदा तत्कालीन सचिवले अनुमति दिन आनाकानी गरेको, बल्ल मौखिक अनुमतिको भरमा अध्ययन गर्न पुग्दा कार्यालय सहयोगीलाई घूस खुवाउनु परेको हण्डरका कथा व्यथाको सङ्गालो पनि भगिराज इङ्नामसँग रहेको छ ।

कतिपयले धक फुकाएर कागज उपलब्ध गराए पनि कतिपयले चाहिँ आफूलाई दिइसकेको कागज फिर्ता माग्न आउँदा लागेको नमज्जा पनि अविस्मरणीय रहेको छ, साधक भगिराज इङ्नामको मनमा । तर, अथक रूपमा निरन्तर कागजपत्रको जोहो गरेर, त्यसलाई केलाएर निफनेर आवश्यक विवेचना गर्नु सामान्य प्राज्ञिक काम हुँदै होइन । यसको परिणामस्वरूप उनको एउटा गहकिलो पुस्तक बजारमा आइपुगेको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७)’ ।

इतिहासले प्रमाण खोज्छ । प्रमाण इतिहासका स्रोतहरूमा हुन्छ । इतिहासको मूल स्रोत भनेको लिखत नै हो । शिलालेख, अभिलेख, वंशावली, टिपन टापनका कागज, चिठीपत्र, संस्मरण, मुद्रा, हस्तलिखित पुस्तक आदि इतिहासका स्रोत हुन् । यिनै स्रोतहरूमा रहेका विवरण र उल्लेखित साल सम्बत्ले इतिहास निर्धारण गर्छ । 

इतिहास खोजीका साधकहरूले यस्ता इतिहासका स्रोतहरू भेला गरेर प्रकाशमा ल्याएपछि नयाँ पुस्तालाई इतिहासको  खोजी गर्न सहज हुने गर्छ । संशोधन मण्डलको ‘पृथ्वीनारायण शाहको उपदेश’, धनबज्र बज्राचार्यको ‘लिच्छवीकालको अभिलेख’ र ‘शाहकालका ऐतिहासिक सामग्री’, पुरातŒव विभागको ुपुरातŒव पत्र सङ्ग्रहु, मोहन खनालको ‘पृथ्वीपत्र सङ्ग्रह’ आदिको अध्ययनले इतिहासको खोजीमा प्रशस्त मार्ग मिल्छ ।

अहिले आएर सोही परम्परालाई आत्मसात गरी खासगरी लिम्बूहरूको ऐतिहासिक कागजहरूलाई सङ्ग्रह गरेर पाठकसामु प्रस्तुत गर्न सक्नु भगिराज इङ्नामको सानो योगदान होइन । यो सामान्य साधनाले सम्भव हुने काम पनि होइन । इङ्नामको यस्तो असामान्य कार्यले सम्बन्धित सरोकारवालाहरूको ज्ञानचक्षुलाई पक्कै पनि ज्ञानको उज्यालो प्रदान गर्नेछ ।

‘पुराना कुरालाई भेला गरेर रोचक पाराले प्रस्तुत गर्नु मात्रै इतिहास लेखन होइन, इतिहास लेखन त भविष्यको देख्ने आँखा निर्माण गर्नु हो’–भोल्तेयर ।