स्थानीय तह तथा इलाका लगायतका प्रहरी कार्यालयलाई फागुन १ गते जनयुद्ध दिवसको सन्दर्भमा अप्रिय घटना घटे निकम्मा इञ्चार्ज घोषणा गरिने सर्कुलेसन आएको छ । 

जिल्ला प्रहरी कार्यालयमार्फत् इलाकाहरुमा आएको सर्कुलेसनमा भोलि फागुन १ गते जनयुद्ध दिवसमा नेकपा विप्लव समूहबाट कुनै अप्रिय घटना घटाउन सक्ने सम्भावना भएकाले प्रहरीलाई उच्च सतर्क रहन सर्कुलेसन गरिएको छ । विस्फोट वा होक्स बम राख्ने वा स्थानीय तहका वा सरकारी कार्यालयहरुमा आगजनी वा सानासाना प्रहरी युनिटमा वा टावरमा क्षति पुर्याउने जस्ता कार्य हुनसक्ने भएकाले प्रहरीलाई उच्च सतर्क गराइएको छ । प्रहरीलाई व्यापक परिचालनका लागि निर्देशन दिइएको छ ।

सर्कुलेसनमा भनिएको छः यदि प्रहरी परिचालनमा कमि अभई अप्रिय घटना घटेमा निकम्मा इञ्चार्ज घोषणा गरिने छ । सही नेतृत्व दिनुका साथै व्यवस्थित परिचालन गरी इज्जत बचाउनुहोस् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले समेत प्रहरीको सतर्कता उच्च रहेको बताए । प्रहरी सर्कुलेसन र विप्लव लक्षित कार्वाहीका बारे एसपी थापाले केही नबताए पनि प्रहरीले उच्च सतर्कताका साथ कर्तव्य निर्वाह गर्ने बताए ।