पाँचथर
... जीवनको लामो राजमार्गमा अब
कृष्णभीर बनेर उभिएका छन्
तिम्रा यादहरू।
समकालीन समयका शक्तिशाली कवि चन्द्रवीर तुम्बापोको प्रेम कविता ‘इन्द्रेणी साँझको अवशान’ को अन्त्यतिरका अंश हुन्, माथिका हरफहरू । आफ्नै कविताको अन्तिम अंशले भनेजस्तै अब ‘वैंश’ र ‘प्रेमपत्र’ कवि चन्द्रवीरका यादहरूमा मात्र जीवित छन् । जीवन र जगत्लाई रङ्गवादी दर्शनशास्त्रको आँखाले हेर्न खोज्ने चन्द्रवीरले त्यतिबेला कविता लेख्न थालेकै थिएनन्, जतिबेला खुबै बान्की मिलाएर प्रेमपत्र लेख्थे । गाउँभरिका तन्नेरीहरूका प्रेमिकाहरूका लागि प्रेमपत्र लेखिदिने लेखन्दास थिए उसबेला चन्द्रवीर । त्यसरी प्रेमपत्र लेख्दालेख्दै कविता लेख्न थालेका चन्द्रवीर भन्छन्, ‘साथीभाइको प्रेमपत्र लेखनले मलाई कवि बनायो ।’
हुन पनि त्यो त्यस्तै समय थियो । आफूले कुनै केटा वा केटीलाई मन पराएको कुरा भन्ने अरू माध्यम थिएन । कि त प्रत्यक्ष भेटेर प्रेम प्रस्ताव राख्नुपथ्र्यो, त्यस्तो साहस सबैमा हुन्नथ्यो सायद । नभए प्रेमपत्रको सहारा लिनै पथ्र्यो । आफूले मन पराएको मानिसलाई मनको कुरा राख्ने अनि मनको अन्तरकुन्तरका प्रेमील भावना व्यक्त गर्ने सजिलो माध्यम थियो– प्रेमपत्र । प्रेमपत्र लेख्नलाई सामान्यभन्दा आकर्षक किसिमको पेपर बजारमा पाइन्थ्यो ।
अन्य सामान्य कागजमा लेखे पनि भइहाल्थ्यो । त्यसलाई लिफाले खामेर बाँयापट्टि प्रेषक र दायाँपट्टि प्रापकको स्पष्ट नाम, ठेगाना लेखेपछि बन्द लिफा हुलाक अफिस पुग्थ्यो । जुन पत्र हुलाकीमार्फत् दूरीअनुसार केही दिनमा निश्चित हुलाक अफिसमा पुग्थ्यो । त्यसपछि हल्कारा हुँदै सम्बन्धित व्यक्तिको हातसम्म पुग्थ्यो– प्रेमपत्र ।
प्रेमपत्रमा अभिव्यक्त भएका शब्दहरूको सहायताले आफूले मन पराएको मान्छेको मन जित्ने प्रयास गर्थे त्यतिबेलाका युवायुवती । आफूले मनमा राखेको मान्छेको हृदयसम्म पुग्न खुबै मिहिनेत गरेर, सुन्दर अक्षरमा प्रेमपत्र लेख्ने त्यतिबेलाको प्रचलन अझै पनि सम्झिन्छन्, साहित्यकार प्रेम ओझा । ‘दिलकी रानी’, ‘हृदयेश्वरी’, ‘हृदयको राजा’, ‘मेरो मुटुको टुक्रा’, ‘आकाशभन्दा फराकिलो, सागरभन्दा गहिरो माया’ स्टाइलका शब्द–सम्बोधनसहित अरू मनका भावनाले भरिएका प्रेमपत्रले त्यसै हृदय पगाल्थ्यो । प्रेमपत्र व्यक्तिको सिर्जनशीलता वृद्धि गर्ने महŒवपूर्ण माध्यम भएकैले नेपाली साहित्यमा समेत यसको विशिष्ट स्थान रहँदै आएको साहित्यकार ओझा बताउँछन् ।
प्रेमपत्र लेखेपछि महिनादिनसम्म प्रत्युत्तर पर्खेर बस्नुको छट्पटीभित्र हुर्किरहेको प्रेमको पवित्रता प्रविधिमैत्री प्रेमाभिव्यक्तिमा रमाउने अहिलेका पुस्ताले वास्तवमै हृदयदेखि अनुभूत गर्न गाह्रो हुने बताउँछिन्, लेखिका अप्सरा लाओती । ‘आमाको चाहना’ र ‘लोजीमा’ दुई उपन्यासका लेखिका लाओतीको विचारमा त्यतिबेला जस्तो हातैले लेखेर पठाइने प्रेमपत्रका शब्दहरूले दिने स्नेह, माया र आदरको अनुभूति प्रविधिको सहायताबाट व्यक्त गरिने प्रेमको अभिव्यक्तिमा पाउनै सकिन्न । उनी भन्छिन्, ‘प्रेमपत्रमा प्रयोग हुने शब्द–शैली नै साह्रै मीठो भएर होला, सम्बन्धहरू पनि बलियो हुन्थे, चिठ्ठी आदान–प्रदान हुनु पनि समय लाग्ने, त्यसले प्रेम सम्बन्धहरूलाई हुर्काउन पनि सहयोग पुग्थ्यो सायद !’
अहिले प्रविधिको विकास भएको छ । दुनियाँ डिजिटलाइज भएको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्सएप जस्ता सामाजिक सञ्जाल युवायुवतीको हात–हातमा उपलब्ध छ । यसले प्रेम अभिव्यक्तिलाई सहज बनाइदिएको छ, र उसरी नै जटिल पनि बनाउँदै लगेको छ । प्रविधिको सहजताले एकले अर्कालाई ब्ल्याकमेल गर्नेजस्ता विकृतिहरू भित्रिँदै गएकोप्रति चिन्ता व्यक्त गर्छन्, साहित्यकार ओझा । उनी भन्छन्, ‘प्रविधिले मानिसको प्रेम गर्ने मन र मुटुलाई कठोर बनाउँदै लगेको प्रतीत हुन्छ ।’
प्रेम दुनियाँको एकमात्र त्यस्तो साश्वत् वस्तु हो, जसको पवित्रता र अपार शक्तिसँग संसारको कुनै वस्तुलाई पनि तुलना गर्न सकिन्न । तर, प्रविधिको सहजताले प्रेमलाई कमसल बनाउँदै लगेको पत्रकार गणेश साम्पाङ बताउँछन् । अहिलेको पुस्ता प्रेममा तत्काल ‘रेस्पोन्स’ चाहन्छ । जसले कतिबेला सम्बन्ध बन्ने र कतिबेला भत्किने भन्ने नै टुङ्गो हुँदैन । यो प्रवृत्तिले प्रेमको वास्तविक शक्ति र मूल्यलाई कमजोर बनाउँदै लगेको ले यो निकै दुःखद् अवस्था हो ।
प्रविधिको तीव्र विकासले छोटो समयमै प्रेमपत्रलाई एकादेशको कथाजस्तै बनाइदिएको छ । प्रविधिमैत्री प्रेमाभिव्यक्तिमा रमाइरहेका कतिलाई त प्रेमपत्रबारे थाहा पनि नहुन सक्छ । अहिले सामाजिक सञ्जालमार्फत् प्रेम प्रस्ताव गर्ने, ‘ओके’ भयो भने ठीकै छ, नत्र ‘बालै फरर...’ भन्ने युवापुस्ता रमाइरहेको डिजिटल दुनियाँमा आफूलाई जबरजस्त अभ्यस्त गराइरहेका त्यो पुस्ता, जसले प्रेमपत्रको जमाना बाँचेर आयो, त्यो पुस्ता त अझै पनि सम्झिन्छ– आहा ! त्यो प्रेमपत्र !!