प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेलाई युवा पिँढीले मनोरञ्जनका रुपमा बुझिदिँदा ‘प्रेम दिवस’ मा विकृति भित्रिरहेको छ ।
प्रेम दिवसको अभ्युदय समर्पणमा आधारित भए पनि अहिले यस दिवसमा थुप्रै विकृति भित्रिएको अनुभूति युवादेखि बुढ्यौली पुस्ताको छ । युवापुस्ताको प्रतिनिधित्व गर्ने ४० वर्षीय राजेश राईले वास्तविक माया–प्रेमका लागि प्रेम दिवसको आवश्यकता नपर्ने बताउँछन् । उनी भन्छन्, ‘वास्तविक माया गर्ने सच्चाप्रेमीलाई सदैव माया गर्छ, जो स्वार्थसहितको माया गर्छ, उसलाई दिवस चाहिन्छ ।’ उनको बुझाइमा माया–प्रेम भावनामा हुन्छ । स्वार्थरहित मायामा प्रेमको गुण लुकेको हुन्छ । उनको पनि प्रेमविवाह हो ।
वास्तविक प्रेम गर्नेका लागि ‘प्रेम दिवस’ उत्सवको रुपमा आउनु स्वभाविकै भएको रञ्जिता खड्गी राई बताउँछिन् । तर, दिवसको नाममा विकृति फैलिँदै गएकोप्रति उनी खिन्न छिन् । उनले भनिन्, ‘कतिपयले दिवसको नाममा स्वार्थ लुट्ने अनि छोडिदिने संस्कृति छ, केटा होस् वा केटी ।’ किशोर र युवापुस्ताले प्रेम दिवसलाई मनोरञ्जनको साधन बनाउँदै गएका छन् । यी पुस्ताले प्रेम दिवसलाई राम्रै माने पनि ५० भन्दामाथिका पुस्ताले यसलाई उति राम्रो मान्दैनन् । ५० वर्षीया शोभा श्रेष्ठ भन्छिन्, ‘प्रेम दिवस राम्रो होइन, माया गर्ने नाममा गलत संस्कृतिको अभ्यास भइरहेको छ ।’
प्रेम दिवसलाई अहिलेका पुस्ताले खर्चिलो तडक–भडक र नकारात्मकतातिर लगिरहेको उनको बुझाइ छ । ३० वर्षीय मिराज राई प्रेम दिवस आयातित संस्कृति भएको बताउँछन् । युवापुस्ताको प्रेम दिवस मनाउने अभ्यासले समाजलाई नै नकारात्मकतातिर लान सक्ने उनको अनुमान छ । उनले भने, ‘फूल उपहार दिएर गाँसेको प्रेम सफल हुँदैन, तर चोखो मनले गाँसिएको प्रेम दिगो हुन्छ ।’ कक्षा ११ मा अध्ययनरत युगल देवान भन्छन्, ‘कपल हुनेलाई एकदिन दिवस हुँदा रमाइलो हुन्छ ।’
उनले प्रेम दिवसका दिन मन पराएको मान्छेलाई एकतर्फी रुपमा प्रस्ताव गर्दा पनि गलत हुँदैन भन्ने बुझाइ छ । एक २२ वर्षीय युवाले नाम नखुलाउने सर्तमा वर्षमा एकचोटी प्रेम दिवस हुनु राम्रो भएको बताए । तर, नेपालमा गलत अभ्यास भइरहेको उनले बताए । उनले भने, ‘गलत संस्कृतिको विकासले गर्दा उपहार दिन नसकेकै कारण ३ वर्षदेखिको प्रेमसम्बन्ध छुट्न गयो ।’
‘भ्यालेन्टाइन डे’ को सुरुवात
तेस्रो शताब्दीमा रोममा क्याडियस नामका एक शासक थिए । उनी विहेपछि पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ भन्ने मान्यता राख्दथे । उनले राज्यका कुनै पनि अधिकारी वा सैनिकले विहे गर्न नपाउने उद्घोष गरे । तर, सन्त भ्यालेन्टाइनलाई राजाको कुरा मन परेन । त्यसको विरोध गर्दै सन्त भ्यालेन्टाइनले सबैलाई विहे गर्न उक्साए । केही अधिकारी र सैनिकले विवाह पनि गरे ।
त्यसपछि राजाले ‘सन्त भ्यालेन्टाइन’ लाई बन्दी बनाउने आदेश दिए । उनलाई बन्दी बनाई फाँसी दिइने भयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम–पत्र लेखे । पत्रमा ‘फ्रम योर भ्यालेन्टाइन’ लेखेर पत्रसँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । राजाले सन् २६९ को १४ फेबु्रअरीका दिन भ्यालेन्टाइनलाई फाँसी दिए । सोही भ्यालेन्टाइनको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन सुरू भएको हो ।