शिक्षासेवी तथा साहित्यकार डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
डा. द्रोणकुमार पौडेल स्मृति ग्रन्थ प्रकाशन समितिकी संरक्षक मिरादेवी पौडेलको अध्यक्षता तथा भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्यमा पौडेल निवास भद्रपुर १० मा स्मृति ग्रन्थसँगै पौडेलले अनुवाद गरेको प्राचीन गीताको पनि विमोचन गरिएको थियो ।
स्मृति ग्रन्थको समीक्षा गर्दै मेची क्याम्पसका सहप्राध्यापक गङ्गाराम ढुङ्गेलले डा. पौडेलको खोज अनुसन्धानदेखि समाज सेवासम्मका विविध पक्षलाई स्मृति ग्रन्थले समेटेको प्रष्ट पारे ।
पौडेलद्वारा प्राचीन ग्रन्थ गीताको नेपाली अनुवाद गरिएको धार्मिक कृति प्राचीन गीताको समीक्षा गर्दै सहप्राध्यापक तथा समालोचक चुडामणि वशिष्ठले संस्कृत वाङ्मयका रूपमा रहेको गीताको मौलिक अस्तित्व कायम गर्दै नेपालीपनभित्र कृति तयार भएको जानकारी दिए ।
कार्यक्रममा झापा, मोरङ, भारतको आसाम, सिलीगुडी लगायतका स्थानबाट साहित्य तथा शिक्षा क्षेत्रमा कृयाशील व्यक्तित्वहरूको उपस्थिति थियो ।