आज १९ फेब्रुअरी सन् २०२१ । विक्रम संवत् २०७७, परमदिचा अर्थात् शाखा संवत् १९४२, शर्वरी, पूर्णिमांत माघ र अमांत पौष । हिन्दू क्यालेण्डरका अनुसार आज माघ शुक्ल सप्तमी तिथि शुक्रबार । सूर्य कुम्भ राशिमा रहनेछ र चन्द्रमा १९ फेब्रुअरी ०९ः४१ प्रातः सम्म मेष राशिमा उपरान्त वृषभ राशिमा संचार गर्नेछ ।
नक्षत्रः कृत्तिका
दिशाशूलः पश्चिम दिशा
राहुकालः ११ः१५ प्रातः देखि १२ः४० मध्यान्ह सम्म ।
सूर्य र चन्द्रमाको समय
सूर्योदयः ६ः४५
सूर्यास्तः ०६ः०६
चन्द्रोदयः ११ः१४ प्रातः
चन्द्रास्त २० फेब्रुअरी १२ः४५ प्रातः
शुभकाल
अभिजित मुहूर्तः १२ः०२ मध्य देखि १२ः४८
अमृत कालः ०३ः१८ प्रातः ०५ः१३ सम्म
ब्रह्म मुहूर्तः ०५ः ०९ प्रातः देखि ०५ः५७
*******************
छापामा आज
आज मुलुकबाट प्रकाशित विभिन्न छापामाध्यमहरुले राजनीतिक, सामाजिक विषयवस्तुहरुलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । यति बेला मुलुक राजनीतिक स्थायित्व, शान्ति र समृद्धिभन्दा पनि राजनीतिक तनावका बीच गुज्रिरहेको छ । कोरोना संक्रमणको त्रासदिबाट माथि उठिरहेकै बेला मुलुक समृद्धि र विकासको गतिमा अघि बढ्नुपर्ने जनताको अपेक्षा छ तर राजनीतिक मुद्दाले मुलुकलाई वैचारिक विभाजनमा लगेको छ भने गति दिन सकिरहेको छैन ।
यसैबीच राजधानीबाट प्रकाशित र मुलुकका विभिन्न स्थानबाट मुद्रित कान्तिपुर दैनिकले आफ्नो २८ औं वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रकाशकीय लेख्दै कान्तिपुरले भनेको छ– यस वर्ष हामीकहाँ कोभिडमात्र आएन, सँगसँगै राजनीतिक संकट पनि जोडिएर आयो । यो अवस्थामा हामी स्पष्ट ढंगले लोकतन्त्र, कानुनी राज र संवैधानिक मूल्य–मान्यताका पक्षमा उभिएका छौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । हामी विश्वस्त छौं – सम्मानित न्यायालयले संविधानको प्रतिरक्षा गर्दै जननिर्वाचित निकायको बलात् विघटन गर्ने कदमलाई सच्याउनेछ । हामीले गरिरहेको कर्म फगत एउटा व्यवसायमात्र होइन, यो समाजप्रति उत्तरदायी कर्म हो, त्यसैले राष्ट्रका सामु गम्भीर संकट आउँदा हामी यताउता कतै नहेरी सदैव जनताका पक्षमा उभिन्छौं । यसपटक पनि हामीले त्यही धर्म निर्वाह गरेका हौं ।
आजको कान्तिपुरले आफ्नो अग्रपृष्ठमा ‘जुलुशमा जाने मान्छेहरु’ शीर्षकमा समाचार टिप्पणी लेखेको छ – उनीहरु तीन कारणले जुलुसमा हिँड्दा रहेछन् । पहिलो, गाउँका नेताले भनेको मान्नुपर्छ भन्ने धारणा । दोस्रो, जुलुसमा गए केही पाइन्छ भन्ने आस । र तेस्रो, नेताहरुले पुराना वाचा पूरा गर्लान् कि भन्ने अपेक्षा ।
कान्तिपुरले आफ्नो सम्पादकीयमा ‘लोकतन्त्र उजिल्याउनु छ’ शीर्षकमा विचार प्रस्तुत गरेको छ । सामाजिक न्याय सुरक्षित हुनुपर्छ, कोही पनि नागरिक गाँस, बास र कापास अभावमा पिल्सिनु हुँदैन । देशमा जनजीवन उजिल्याउने लोकतन्त्रको खाँचो छ भन्ने विषय समेटेको छ ।
*******************
आजको अन्नपूर्ण पोष्ट दैनिकले ‘सहरको रहर, गाउँ खण्डहर’ शीर्षकमा समाचार लेखेको छ । झण्डै ३ सय वर्षअघि बसेको गाउँ ४४ वर्षमा भयो रित्तो, छिमेकीले छाड्दै गएपछि बाँकी रहेकाहरु प्नि हिंड्न बाध्य उपशीर्षक राखेको छ । समाचारमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्– गाउँ रित्तो भएपछि यहाँ प्रचलित संस्कार, संस्कृति पनि लोप भएको छ । भीमसेनथानमा नित्य पूजा हुन्थ्यो, त्यो हरायो। गुठी थियो, त्यो पनि हरायो। कुलदेवता पूजा हुन्थ्यो। गाउँले छिन्नभिन्न भएपछि त्यो पनि रहेन। गाउँको लाखे नाच्ने चलन थियो। त्यो पनि कहाँ पुग्यो ।
यस्तै अन्नपूर्णले अग्रपृष्ठमा अस्ट्रेलियामा फेसबुकको प्रतिबन्ध, दुई साताभित्र खोप ल्याइने, अब हेलना निवेदनले समय खेर, गाडी किन्ने पैसाले एम्बुलेन्सलगायतका शीर्षकमा अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ ।
सम्पादकीयमा अन्नपूर्णले कोरोनालाई नहेपौं शीर्षकमा कोरोनालाई खेलाँची ठानियो भने अझै अर्को लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्था पनि आउन सक्छ । भन्ने विषयमा सचेत गराएको छ ।
*******************
आजको नागरिक दैनिकले ‘पार्टीभित्रको विवादले अन्य दललाई दण्ड किन’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । यस्तै ‘अदालतको अवहेलना गरेको छैनः प्रधानमन्त्री’ शीर्षकमा दायाँ भागमा समाचार प्रकाशन गरेको छ । मानव साङ्लोले टुँडिखेल घेरेर विरोध, कांग्रेसले फेरि लियो संविधानको सहारा, एउटै मञ्चमा दुई थरि कुरा शीर्षकमा अग्रपृष्ठमा समाचार प्रकाशित छन् ।
नागरिक दैनिकले आफ्नो सम्पादकीयमा ‘करकापको कर’ शीर्षकमा विचार प्रस्तुत गरेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको कर समायोजन गर्नुपर्ने, करकापमा सर्वसाधारणसँग कर लिएपछि सोही अनुसारको सेवासुविधा दिनेतर्फ सरकारको ध्यान जानुपर्नेमा नागरिकले सचेत गराएको छ ।
*******************
आजको नयाँ पत्रिका दैनिकले ‘संविधानमाथि शृङ्खलाबद्ध ज्यादती, प्रतिनिधि सभा विघटन, प्रदेश सभा बन्धक’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
यस्तै ‘टुंडिखेलमाथि नागरिक दाबी गर्न आज मार्च, प्रधानमन्त्री ओलीकै शैलीमा मुख्यमन्त्री राई भन्छन्, प्रदेश सभा भंग हुन सक्छ’ संवैधानिक इजलासलाई अधिवक्ता शाक्यको राय, बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड माधव समूहको तयारी’ शीर्षकमा अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ ।
नयाँ पत्रिकाले आफ्नो सम्पादकीयमा समावेशी शासन अभ्यास गरिहेर शीर्षकमा संरचनागत विभेदको अवस्थामाथि हस्तक्षेप गर्नुपर्ने विचार राखेको छ ।
*******************
पूर्वबाट प्रकाशित ब्लाष्ट दैनिकले आफ्नो अग्रपृष्ठमा ‘धरान खानेपानीमा सुटुक्क १६ कर्मचारी नियुक्त’ शीर्षकमा धरानको खानेपानीको अवस्थाका बारेमा समाचार लेखेको छ ।
समाचारमा भनिएको छ– खानेपानी व्यवस्थापन बोर्ड ऐन–२०६३ को व्यवस्था अनुरूप गठन भएको धरान खानेपानी व्यवस्थापन बोर्डको कर्मचारी प्रशासन नियमावली बनेर लोकसेवा आयोगबाट समेत स्वीकृत भइसकेको छ । सो नियमावलीअनुसार खानेपानी संस्थानबाट समायोजन भई आउने कर्मचारीहरूको व्यवस्थापनपछि अपुग कर्मचारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्छ । तर, हाल बोर्ड र संस्थानको समायोजन नै नभई बोर्ड अध्यक्षको तोक आदेशमा गुपचुपमा कर्मचारी नियुक्त गरिएको हो ।
ब्लाष्ट दैनिकले अग्रपृष्ठमा निजी ट्रायल स्थलमा ट्रायल प्रकरण, सार्वजनिक लेखा समितिद्वारा अध्ययन सुरु शीर्षकमा बाँया भागमा समाचार छापेको छ भने दायाँ भागमा नेकपाको वार्ता निष्कर्षविहीन शीर्षकमा समाचार छापेको छ । यस्तै अग्रपृष्ठकै पुछारमा निर्वाचनमा गरेको सबै वाा तीन वर्षमै पूरा गरेको छु शीर्षकमा पथरी बाइलाइनबाट समाचार प्रकाशित छ ।
सम्पादकीयमा ब्लाष्टले ‘बिपी प्रतिष्ठानको बेथिति सुधार्न सकारात्मक हस्तक्षेप जरुरी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
सम्पादकीयमा भनिएको छ– बिरामीहरूले चाँडो उपचार सेवा चाहिरहेको बेलामा यस्ता अनेक समस्याका ऐंजेरु बोकेर प्रतिष्ठान कछुवा तालमा घस्रिरहेछ । बिरामी उपचार सेवालाई चुस्त दुरुस्त बनाउनतिर ध्यान दिनुको सट्टा सिनेटका सदस्य, कार्यकारिणी सदस्य र पदाधिकारीहरू अनि वरिष्ठ चिकित्सक र कर्मचारी भनिएकाहरू कमाउधन्दातिर लाग्दा गिर्दो हविगत प्रदर्शन गरिरहेछ । अस्त–व्यस्त शैलीमा चलिरहेको प्रतिष्ठानलाई सुधार्न न प्रदेश सरकार, न त सङ्घीय सरकार या स्वास्थ्य मन्त्रालय न त धरान उपमहानगरपालिकाले नै ध्यान दिन सकेको छ ।
आज मुलुकबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले मुख्यरुपमा राजनीतिक र सामाजिक विषय उठान गरेका छन् । सामाजिक सुधार, न्यायका विषयमा आफ्ना विचार प्रस्तुत गरेका छन् । समावेशी साशन र सेवा प्रभावको सरलता विश्वसनीयता कायम राख्न सरकारलाई सचेत गराएका छन् ।