आज २० फेब्रुअरी सन् २०२१ विक्रम संवत् २०७७ फागुन ८ गते शनिबार । नेपाल संवत् ११४१ । पूर्णिमांत माघ र अमांत पौष । माघ शुक्ल अष्टमी तिथि । सूर्य कुम्भ राशिमा रहनेछ र चन्द्रमा वृषभ राशिमा । नक्षत्रः रोहिणी, दिशाशूलः पूर्व दिशा, राहुकालः ९ः३५ प्रातः देखि ११ः०० प्रातः सम्म ।
आज देशमा विभिन्न पत्रपत्रिकाकाले राजनीतिक, सामाजिक विषयवस्तुका साथ आफ्ना अग्रपृष्ठ भरेका छन् ।
कान्तिपुर दैनिकले नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान शीर्षकमा समाचार प्रकाशित गरेको छ । प्रहरीले टुँडिखेल छिर्न नदिएपछि बृहत् नागरिक आन्दोलनद्वारा छेउमै कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गरेको विषयमा समाचार र तस्बिर सार्वजनिक गरेको छ ।
समाचारअनुसारः
बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो ।
आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले अवरोध गरेपछि ‘करोडौं मानिसको रगत र पसिनामा तिम्रो सत्ताको जग बसेको छ’ भन्ने नारा लेखिएको कालो टिसर्टसमेत लगाएका आन्दोलनकारीले संकटा मन्दिर छेउमै घोषणापत्र सार्वजनिक गरेका थिए ।
अग्रपृष्ठमै कान्तिपुरले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमूक्त गरी राजेश झा अहिराजलाई नियुक्त गरेको समाचार प्रकाशित गरेको छ ।
शनिबार विशेष भएकाले कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छैन । शनिबार विशेषमा भित्री पृष्ठमा भूसंवादः झोलेको टार, गण्डकीको किनार, हेर्दा जाबो कागज, बलात्कार, पीडाको पहाड शीर्षकमा आलेख प्रकाशित गरेको छ ।
**********
आजको अन्नपूर्ण पोस्ट दैनिकले मंगल ग्रहमा बस्यो यान शीर्षकमा अग्रपृष्ठमा तस्बिर प्रकाशित गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको अन्तरिक्ष यान पर्सिभिरेन्स रोबर मंगल ग्रहमा अवतरण गरेको परिकल्पनामा कलाकारले बनाएको चित्र र यानले बिहीबार राति मंगल ग्रहमा सफलल अवतरण गरेपछि ट्वीट गर्दै पठाएको त्यहाँको भूसतहको तस्बिर प्रकाशित गरेको छ ।
यस्तै दायाँ भागमा अन्नपूर्णले जुलुस गर्ने हो भने न्यायालय किन चाहियो ? शीर्षकमा नुवाकोटको समाचार प्रकाशित गरेको छ । यस्तै उक्त समाचारकै तल भागरथीको दाहसंस्कार शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
अन्नपूर्णले विघटन फैसला १० गतेपछि शीर्षकमा अग्रपृष्ठमा प्रतिनिधि विघटनविरुद्ध दायर रिट निवेनको पक्षविपक्षमा भएको बहस बारे समाचार प्रकाशित गरेको छ ।
समाचार अनुसारः प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा शुक्रबारदेखि बहस सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकार र निवेदकका वकिललाई फागुन १० गतेभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको छ।
संवैधानिक विवादमा निर्णयमा पुग्न सहजताका लागि इजलासले बहसको सारसंक्षेप माग गर्न सक्छ। कानुन व्यवसायीले आफ्ना बहसका बुँदा समेटेर इजलासमा पेस गरेपछि अन्तिम फैसलाको टुंगो लगाइनेछ।
रिट निवेदक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सरकार, राष्ट्रपति, निवेदक सबैको बहस सकिएर फागुन १० गतेसम्म बहस नोट माग भएकाले त्यसलगत्तै फैसला आउने सम्भावना बढेको बताए।
यस्तै अन्नपूर्णले शिविर कुर्दै बुढेसकाल शीर्षकमा झापा र पथरी मोरङबाट लेखिएको शरणार्थी शिविरबारे समाचार प्रकाशित गरेको छ । अग्रपृष्ठमै फेरिए प्रदेश प्रमुख शीर्षकमा प्रदेश २ का प्रदेश प्रमुख डा राजेश झाको नियुक्तीबारे समाचार प्रकाशित गरेको छ ।
शनिबार अन्नपूर्णले फुर्सद साहित्य आलेख विशेष अंक प्रकाशित गरेको छ । फुर्सदमा शितल गिरीको अ लस्ट हिरो ऐतिहासिक आलेख प्रकाशित गरेको छ भने दायाँ भागमा कविता प्रकाशित गरेको छ ।
**********
नयाँ पत्रिका दैनिकले संवैधानिक निकायका १५ निणार्यक प्रश्न शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
अग्रपृष्ठमै नयाँ पत्रिकाले नागरिकलाई टुँडिखेलभित्र पस्न नदिएको समाचार राखेको छ । विना कारण प्रदेश २ का प्रमुख बर्खास्त शीर्षकमा अर्को समाचार प्रकाशित गरेको छ भने गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी शीर्षकमा अर्को समाचार प्रकाशित गरेको छ ।
आज शनिबार झन नयाँ मार्फत् कर्णाली दलित विशेष अंक प्रकाशित गरेको छ ।
**********
आजको नागरिक दैनिकले बृहत् नागरिक आन्दोलनले प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजना गरेको टुँडिखेल मार्चमा सहभागीको तस्बिर प्रकाशित गरेको छ ।
नागरिकले फेसबुक भर्सेस अस्ट्रेलिया शीर्षकमा फेसबुकले अस्ट्रेलियमा गरेको समाचार निषेधबारे समाचार प्रकाशित गरेको छ ।
समाचार अनुसारः समाचारको आम पहुँचका लागि विश्वभरका समाचार संस्थाले सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्ने चलन लोकप्रिय छ । यसरी लोकप्रिय रहेका सामाजिक सञ्जालमा साझा (सेयर) गरिने समाचारलाई प्रयोगकर्ताले पुनः साझा गर्दा त्यस्ता सामग्री भाइरल बन्ने र त्यसको प्रभाव पनि उत्तिकै बढ्ने गर्छ । फेसबुकको टाइमलाइनमै आउने यस्ता ‘न्युज फिड’ का कारण समाचार साइटको मौलिक लिंकमा लाखौं प्रयोगकर्ता जोडिन पुग्छन् ।
यसैगरी प्रकाशित सामग्री गुगललगायत अन्य सर्च इन्जिनमा तत्काल तथा पछिसम्म देखिँदा समाचारको प्रसारण र पहुँच पनि फराकिलो हुन्छ । तर लोकप्रिय सामाजिक सञ्जालमार्फत समाचार सामग्री उपलब्ध अथवा साझा गरिँदा आयका हिसाबले उत्पादकलाई भन्दा अन्यलाई बढी फाइदा हुने तर्क पनि उत्तिकै बलियो छ । यही परिप्रेक्ष्यमा सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा हालै जारी नयाँ कानुनी व्यवस्थाले विश्वको ध्यान तानेको छ । अस्ट्रेलियाले ल्याएको नयाँ कानुनप्रति फेसबुकले देखाएको कडा प्रतिक्रियापछि यो घटनाले नेपाललगायत समग्र विश्वमा के प्रभाव पार्ला भन्ने चर्चा चुलिएको छ । अस्ट्रेलियाको कानुनी व्यवस्थाको प्रभाव केही देशमा देखिन थालिसकेको छ ।
गत बुधबार संसद्द्वारा पारित एक कानुनले गुगल तथा फेसबुकजस्ता कम्पनीले सम्बन्धित समाचार संस्थाका समाचार आफ्नो सोसल प्लेटफर्ममा प्रकाशन गर्न व्यापारिक सम्झौता गर्नुपर्ने प्रावधान राखेको छ । अर्थात्, अब यसअघि जस्तो समाचार सामग्री सामाजिक सञ्जालमा पूर्ववत् हिसाबले निःशुल्क उपलब्ध हुनेछैनन् । गत साता मात्रा सिनेटको एक कमिटीले अनिवार्य सञ्चारमाध्यम बार्गेनिङ कानुन (म्यान्डेटोरी न्युज मिडिया बार्गेनिङ कोड) नामक उक्त कानुनलाई पारित गर्न संसद्मा प्रस्तुत गर्न सुझाव दिएकोमा संसद्ले त्यसलाई बुधबार कानुनी रूप दिएको हो । अस्ट्रेलियामा रहेका समाचार संस्था र गुगल एवं फेसबुकजस्ता डिजिटल प्लेटफर्मबीच रहेको शक्ति असन्तुलनलाई सम्बोधन गर्न उक्त कानुन आवश्यक रहेको अस्ट्रेलियाले जनाएको छ ।
यस्तै नागरिकले दायाँ भागमा सकियो बहस फैसला हुन बाँकी शीर्षकमा प्रतिनिधि सभा विघटन विरुद्धको पक्षविपक्षमा भएको सुनुवाई बारे समाचार प्रकाशित गरेको छ ।
आज शनिबार नागरिकले शनिबार विशेषांक अक्षर प्रकाशित गरेको छ । सँगै कला र संस्कृति विशेष सामग्री समेत प्रकाशित गरेको छ ।
**********
पूर्वबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकले जनप्रतिनिधिले लुकाएको अवस्थामा राहतको चामल फेला शीर्षकमा मु्ख्य समाचार प्रकाशित गरेको छ ।
समाचार अनुसारः जनप्रतिनिधिले लुकाएर राखेको ४ सय ५० बोरा चामलसहितको गोदाम सुनसरी प्रशासनले सिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार गोदामको रूपमा प्रयोगमा ल्याइएको इनरुवा–३ का युवराज दाहालको घरको तल्लो फ्ल्याट सिल गरिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले उजुरीका आधारमा गोदाम पुगेको टोलीले ठूलो परिमाणमा चामलका बोरा भेटेपछि छानबिनको लागि गोदाम सिल गरेको बताए ।
प्रजिअ पोखरेलका अनुसार २५ केजी दरका ४ सय ५० बोरा चामल कोठामा राखेको भेटिएको छ । उनले उक्त परिमाणको चामल कसले कुन प्रयोजनको लागि राखेको हो भन्ने विषयमा छानबिन थालिएको बताए ।
पोखरेलका अनुसार प्रशासनमा परेको उजुरीमा सो चामलका बोरा भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरूले लुकाएको उल्लेख छ । उजुरीमा कोरोना महामारीका बीच घोषित लकडाउनको क्रममा विपन्नलाई वितरण नगरी वडानम्बर ४ का अध्यक्ष हारुन अन्सारी र वडानम्बर ८ का अध्यक्ष हातिम अन्सारीले लुकाएर राखेको दाबी गरिएको छ ।
सुनसरी प्रशासनले सो सम्बन्धमा परेको उजुरी, प्राप्त सूचना र फेला परेको गोदामको विषयमा केन्द्रित रही भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय समक्ष विस्तृत जानकारी खुलाई लिखित जवाफ पठाउन पत्र काटिएको जनाएको छ ।
यस्तै ब्लाष्ट दैनिकले बायाँ भागमा धनीपूर्जाको आशमा सट्टाभर्ना वासिन्दा शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
मालपोतमा बिचौलिया चाहिं कर्मचारी भूमि व्यवस्था मन्त्रीद्वारा छड्के अनुगमन शीर्षकमा विराटनगरको समाचार प्रकाशित गरेको छ ।
ब्लाष्टले अग्रपृष्ठको पुछारमा मेख्ली मोह शीर्षकमा आलेख प्रस्तुत गरेको छ भने भित्री पृष्ठमा शनिबार विशेषांक शब्दसिर्जना प्रस्तुत गरेको छ । कथा, कवितासँग विविध सामग्री प्रकाशित गरेको छ ।
आज शनिबार भएकाले प्राय छापा माध्यमले कला, साहित्य, संस्कृति र सामाजिक विषयलाई विशेष सामग्रीका रुपमा भित्री पृष्ठमा प्रकाशित गरका छन् भने अग्रपृष्ठमा राजनीतिक उतार चढाव र सामाजिक र केही विज्ञान प्रविधिले मारेको फड्कोका बारे समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । शनिबार परेकाले पत्रपत्रिकाले आफ्नो सम्पादकीय विचारलाई भने विदा दिएका छन् ।