शास्त्रीय प्रमाणका आधारमा परापूर्व कालमा यस गाधि नाम गरेका अत्यन्तै प्रतापी र धर्मात्मा राजा थिए । गाधि राजाकी एक सत्यवती नाम गरेकी कन्यारत्न राजकुमारीको जन्म भएको थियो । कन्या बढ्दै गइन ।
विवाहयोग्य भएपछि एकदिन पवित्र कर्मनिष्ठ सिद्ध ऋचिक नाम गरेका ऋषि गाधि राजाका घरमा आएर विवाहको प्रस्ताव राखे । अर्थात् कन्या मागे तर गाधिले यसो हेरेर आफ्नी छोरी दिन सुहाउने उत्तम र लायक ज्वाइँ ती ऋचिक नाम गरेका ऋषिलाई देखेनन् । त्यसैले राजाले ‘कसरी यो ऋषिलाई फर्काइदिऊँ’ भन्दै थिए । एउता उपायस्वरुप गाधिले भूमिका बनाएर भने, ‘हे मुनिवर हामी कुसित वंशका हौँ, हाम्री छोरी तपाईंलाई दिन अलिक अप्ठ्यारै छ ।
त्यही पनि एउटा काम गर्न सक्नुहुन्छ भने तपाईंलाई मेरी छोरी कन्यादान दिन सक्छु । प्रस्तावस्वरुप जसले पूरा शरीर सेतो तर कान चाहिँ कालो भएका (श्याम कर्ण) एक हजार घोडा प्रदान गर्दछ । त्यसलाई मेरी छोरी कन्यादान दिनेछु’ भनी जब गाधिले यी कुरा व्यक्त गरे तब ऋचिकमुनिले पनि आशय बुझेर सिधै वरुणलोक गएर वरुणदेवलाई खुसी पारी अत्यन्तै सुन्दर एक हजार श्यामकर्ण घोडाहरू ल्याएर गाधि राजालाई प्रदान गरे । तत्पश्चात् राजाले छोरी सत्यवती ऋषिमुनिलाई कन्यादान गरी विदा गरे ।
गाधि राजाका एकमात्र छोरी थिइन् । छोरी विवाह गरी विदा गरेपछि घरमा कोही भएनन् । किनकि उनका छोरा थिएनन् । ऋचिक मुनि शास्त्रवेत्ता तन्त्रमन्त्रका पनि प्रखर विद्वान हुनुहुन्थ्यो ।
यो कुरा गाधिकी पत्नीलाई थाहा भयो । पुत्र प्राप्तिका लागि गाधिकी पत्नी र छोरी सत्यवती दुवै आफ्नो कामनाका लागि ऋचिक मुनि सामु गई प्रार्थना गरे । त्यसपछि ऋचिक मुनिले आफ्नी पत्नी सत्यवती र सासु गाधि पत्नीका लागि अलगअलग दुई भाग चरु तयार गर्नुभयो । आआफ्ना भागको चरु ग्रहण गर्ने आज्ञा दिएर ऋषिदेव स्नानार्थ नदी तट प्रस्थान गर्नुभयो । यता सत्यवतीकी माता गाधिपत्नीले ऋचिक मुनिले आफ्नी पत्नीका लागि श्रेष्ठ चरु बनाएका होलान् भन्ने ठानेर छोरी सत्यवतीका हातका चरु मागेर खाइन् । माताको हातको चरु छोरी सत्यवतीले ग्रहण गरिन् ।
जब यो कुरा ऋचिक मुनिले थाहा पाउनु भयो तब सत्यवतीलाई ‘तिमीले ठूलो भूल ग¥यौ, अनर्थ ग¥यौ यसको फलस्वरुप अब तिम्रो जन्मने पुत्र यो जगतलाई नै दण्ड दिने, नरसंहार गर्ने, सारा प्राणी देवताहरूलाई समेत दुःख दिने, घोर घमण्डी स्वभावको पुत्र जन्मने छ भने तिम्री आमा गाधिपत्नीबाट भने व्रह्मवेत्ता तपस्वी र सान्त स्वभावको बालक जन्मने छ ।’
यो सुन्नासाथ सत्यवती छट्पटाउँदै दुखित हुँदै आफ्ना पति ऋचिकलाई अनेक प्रार्थना बिलौना गाउँदै भनिन्, ‘पतिदेव यस्तो हुनु भएन’, त्यसपछि पतिदेवले प्रसन्नै मुद्रामा भने, ‘ठीक छ पुत्रको सट्टा पौत्र (नाति) यस्तो घोर घमण्डी स्वभावको हुनेछ ।’ ऋचिक ऋषि अन्यन्तै शक्तिशाली शास्त्रवेत्ता र तन्त्रमन्त्रका समेत प्रखर भएकाले आफ्ना पतिदेवले दिएको सान्त्वनाबाट सत्यवतीको चिन्ता केही कम भयो । तर नातिमा सरेपनि आफ्नो कूलमा नरसंहारकारी सन्तान जन्मने भन्ने बित्तिकै उनमा अत्यन्त चिन्ता भएकै थियो ।
सोही मुताविक गाधि राजाका कूलमा महान् तपस्वी बालक विश्वामित्रको जन्म भयो । सत्यवतीका कोखबाट जमदग्नीको जन्म भयो । जमदग्नी ठूला भए । विवाहयोग्य भएपछि उनको रेणुकासँग विवाह भयो ।
अब जमदग्नी र रेणुकाबाट पर्शुराम जन्मने बित्तिकै भविष्यको घोर नरसंहार हेर्नुपर्छ । यो दृश्य यो राक्षसी स्वभाव आफ्नै कूलमा हेर्नुपर्छ भनेर गाधिपुत्री सत्यवतीले प्राण छाडिदिइन् । र, शरीर स्वर्गमा गई स्वर्गबाट नै लोक पावनी आदि गङ्गा कौशिकाका रूपमा प्रकट भइन् ।
कौशिकीको जल अत्यन्तै पवित्र र रोग नाशक पनि छ । धर्मशास्त्रका आधारमा श्रीमद्भागवतको उत्पति कौशिकीबाटै भएको मानिन्छ । श्रृङ्गी ऋषिले राजा परिच्छितलाई यही कौशिकीको जल उठाएर श्राप दिएका थिए । यो जल अन्य नदीहरूको जलजस्तो मात्र होइन । अत्यन्तै शक्तिशाली छ ।
बलरामको व्रह्महत्याको मोचन पनि यही कौशिकीबाटै भएको थियो । जसका कारणबाट बलरामेश्वर भोलेबाबाको स्थापना भई यसैको निरन्तरता अद्यावधि बलरामेश्वर महादेव मन्दिर प्राचीन हरिद्वार चतरामा स्थापना गरिएको छ । प्राचीन समयमा सन्त महापुरुषहरूले कौशिकीसँग शक्ति मागी कौशिकीको जलमा रुमाल ओछ्याएर नदी तर्ने सामथ्र्यता प्राप्त गरेका थिए । भारतमा गङ्गा नदीलाई सबैभन्दा पवित्र र प्राचीन मानिन्छ ।
कौशिकी नदी गङ्गा नदीभन्दा पनि जेठी (सात दिनले) पवित्र शक्तिशाली, लोक पावनी नदी मानिन्छ । त्यसैले कौशिकीको महत्व अतुलनीय छ । दिव्य छ र, राष्ट्रको गौरव बढाउन सक्ने नदीका रुपमा स्थापित छ ।
अस्तु ।
– लेखक वराहक्षेत्र वडा नं. २ निवासी शिक्षक, बुद्धिजीवि तथा वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष हुन् ।