उनी भर्खर हिँड्न सिक्दै थिईन्। तोते बोलीमा भषिक लवज टिप्न थाल्दै थिईन्। रंगका नामहरु जान्दै थिईन्। बिस्तारै मानिसका अनुहारहरु ठम्याउन थालेकी थिइन्। दिन र रात, तातो र चिसो अनि नजिक र टाढा भेउ पाउँदै थिईन् उनी। तर, शैशव क्रीडालाभ पूरापुर अनुभव गर्न नपाउँदै आधा काख गुमाईन्। उनी दुई बर्षको हुँदा उनका बुवा को हत्या भयो।
उनी यो धरतिमा आउँदा यहाँ वहने हावा स्वच्छ थिएन। त्यहाँ बारुदको गन्ध सघन थियो। कालो धुवाँका मुस्लोहरुले आकाश मैलिएको थियो। आफ्नो किल्ला जमाउनका निम्ति मान्छेहरु मारिंदै थिए, मार्दैथिए। आहत र चीत्कारमा चिथोरिएर कुरुप थियो परिस्थिति। सन् १९४५ मा रंगुनको यस्तै परिवेशको एउटा दिनमा आङ सान सुकी जन्मिईन्, जतिबेला दोश्रो विश्वयुद्ध उत्कर्षमा पुगेको थियो।
उनका बाबू आङ सान राष्ट्रप्रेमी योद्धा थिए। शासनका लागि आफ्नो उपनिवेशका भू-क्षेत्र बिस्तार गरि शक्तिसाली कहलाउने होडमा जापान र ब्रिटेनले बर्मालाई पनि रणभूमी बनाएका थिए। ब्रीटिस कोलोनी बर्मामा आफ्नो कब्जा जमाउन जापान लड्दै थियो। हो त्यहिँ, स्वतन्त्र बर्माको सपना बोकेर अघि बढेका युवा थिए आङ सान। ब्रीटिस शासनबाट मुक्त गरेर स्वतन्त्र बर्मा बनाउन मद्धत गर्ने आश्वासन पाएका थिए जापानीबाट।
त्यसैबेला उनले बर्माकै पहिलो सशस्त्र सेना गठन गरे। त्यो सेनामा उनी सहित ३० जना थिए। तर पछि, जापानले बर्माको स्वतन्त्रता अभियानमा सहयोग गर्ने छाँट नदेखाएकाले उनले बर्मालाई स्वतन्त्र गर्ने शर्तमा जापानी सेनालाई त्यहाँबाट हटाउन ब्रीटिस सेनालाई साथ दिए। सन् १९४७ मा बर्मामा आम निर्वाचन हुनेभयो। तर निर्वाचनसंगै मुलुक स्वतन्त्र हुनुभन्दा ६ महिना अघि प्रतिष्पर्धीद्वारा सान सहित उनका धेरैजना सहपाठीको रंगुनमा हत्या भएको थियो। आङ सानलाई बर्मा (पछि १९८९ मा नाम फेरेर म्यानमार बनाईयो) का राष्ट्रपिता भनिन्छ।
बुवाको हत्यापछि दुईजना भाईहरुसंगै आमा खिन कीले सुकीको पालनपोषण गर्दै थिइन्। एकदिन रंगुन स्थित घर नजिकैको पोखरीमा डुबेर उनका भाइ आङ सान लीनको ज्यान गयो। त्यसपछी उनिहरु एउटा गाउँमा बसाइँ सरे। त्यहीँको एउटा बिद्यालयमा उनले माध्यमिक शिक्षा हासिल गरिन्। त्यहाँ रहँदा उनले धेरैथरीका मानिसको संगत पाईन्।
र त्यहीँ धार्मिक तथा राजनीतिक चेतको पनि उनमा विकास भयो। सन् १९६० मा उनकी आमा खिन की भारत तथा नेपालकालागी राजदूत नियुक्त भएपछी भारतको एउटा कलेजमा अध्ययन गरिन्। जब लण्डनको एउटा विश्वविद्यालयबाट एमफिलकालागि बर्मेली साहित्यमाथि सोध अध्ययन गर्दैथिइन्, आमा खिन सिकिस्त बिरामी परिन्। बयोबृद्ध आमाको आखिरी दिनहरुमा स्याहारका निम्ति १९८८ मा सुकी बर्मा फर्किईन्।
पराया शक्तिको पन्जाबाट मुक्त भएपनी, तत्कालीन जुन्ता शासकले देशको नाम फेरेर म्यानमार बनाएपनी त्यहाँका आम जनताले निजी स्वतन्त्रताको सास फेर्न अझै पाएनन्। आङ सानको हत्यापछि बर्मेली शैनिक जुन्ताले शासन गरेको थियो। म्यानमार फर्किएपछी सुकी प्रजातान्त्रीक आन्दोलनमा होमिईन्। देशमा प्रजातन्त्र स्थापनाका निमित्त लाखौंलाख मानिसहरु आन्दोलनमा सरिक भए। हुकुमी शैनिक शासन हल्लियो।
सत्ता उल्टिने भयले व्यापक धरपकड भयो। सन् १९८९ मा जुन्ताले आङ सान सुकीलाई नजरबन्दमा राख्यो। उनका सन्तान र श्रीमानलाई समेत भेट्न निषेध गरियो। बिदेशमा रहेका उनका पति एरिस क्यान्सर पीडित थिए। उनी सिकिस्त भएपछी उनिहरुलाई भेट्न दिन संयुक्त राष्ट्रसंघले समेत आग्रह गर्यो। तर जुन्ताले पुन: म्यानमार नफर्किने सर्तमा मात्र सुकीलाई जानदिने बतायो। सुकीले सर्त अस्वीकार गरिन्। उनको ५३औं जन्मदिनका दिन सन् १९९९ माएरिस उतै बिते। सन् १९९५ को क्रीसमसका बेला एरिस र सुकी दम्पतीले भेट्न पाएका थिए। त्यसपछी जुन्ता प्रशासनले एरिसलाई म्यानमार आउने भिसा दिन बन्द गरेको थियो।
युनिभर्सिटी अफ दिल्लीबाट बि.ए, युनिभर्सिटी अफ अक्स्फोर्डबाट बि.ए-एम.ए अध्ययन गरेकी आङ सान सुकीले एसओएस युनिभर्सिटी अफ लण्डनबाट एमफिल गरेकी छन्।
उनले लेखेका लेटर्स फ्रम बर्मा, फ्रीडम फ्रम फियर, दि भ्वाईस अफ होप, आङ सान अफ बर्मा, लेट्स भिजिट सिरिज अन्तर्गत लेट्स भिजिट-बर्मा, लेट्स भिजिट-भुटान, लेट्स भिजिट-नेपाल आदि पुस्तकहरु प्रकाशित छन्।
सन् २००८ को मे महिनामा म्यानमारका जनतालाई अर्को बिपत्ती आईपर्यो। म्यानमारको ईतिहासमै सबभन्दा बिनाशकारी चक्रवात आँधीले म्यानमारलाई तहसनहस बनायो। नरगिस नामक उक्त आँधीले कम्तिमा १ लाख ३८ हजार भन्दा बढी मानिसको ज्यान लियो। सो चक्रवात आँधीले म्यानमारको लबत्ता शहरमा मात्र ८० हजार मानिसको मृत्यु भयो। ५५ हजार मानिस लापत्ता भए। यद्यपि तत्कालिन म्यानमार सरकारले आधिकारिक मृत्युको संख्या कम जानकारी दिएको हुनसक्ने बताईन्छ। सरकारी अधिकारीहरूले मृतकको संख्या १ लाख ३८ हजार नाघेपछी बिवरण सार्वजनिक गर्न बन्द गरेको थियो।
सो घातक आँधीका कारण सुकीको घरपनि क्षतिग्रस्त भएको थियो। घरको मर्मत गर्नैपर्ने भएकोले सन् २०१० को अन्त्यतिर सुकीलाई फुकुवा गरिएको थियो। बेलायतमा बस्दै आएका आफ्ना छोरालाई सुकीले ११ बर्षपछी फेरि भेट्न पाईन्।
सन् २०१० को नोभेम्बरमा चुनाव भएपछी जुन्ताको नयाँ सरकार सुकीलाई नजरबन्दबाट मुक्त गर्न मन्जुर भयो। त्यसपश्चातको केहि परिवर्तित राजनीति र म्यानमारका प्रजातन्त्रप्रेमी जनताको साथले उनको नेशनल लिग फर डेमोक्रेसी पार्टी शक्तिशाली बन्यो र सत्तामा पुग्यो। उनी मुलुकको राज्य सल्लाहकार एवं परराष्ट्र मन्त्री बनिन्।
तर म्यानमारको सेनाले सन् २०१७ मा त्यहाँका अल्पसंख्यक रोहिंग्या समुदायमाथी हिंसा गर्यो। कैयौं रोहिंग्याहरु देशबाट लखेटिए। तब उनलाई रोहिंग्याप्रती अनुदार रहेको आरोप लाग्यो। उनी बिरुद्ध अन्तरास्ट्रिय फौजदारी अदालतमा मानवता बिरोधि अपराधमा मुद्धा चलिरहेको छ।
यसैबिच बारम्बार धोका दिँदै आएको सेनाले गत फेब्रुअरी-१ मा फेरि सुकीलाई गिरफ्तार गरेको छ। म्यानमारका प्रजातन्त्र पक्षधर लाखौंलाख जनता सुकीलाई रिहा गर्न माग गर्दै सेनाको निषेधाज्ञा चिरेर प्रदर्शनमा उत्रीरहेका छन् र अन्तरास्ट्रिय समुदायले पनि उनलाई तत्काल रिहा गर्न दबाब दिईरहेका छन्। तर म्यानमारमा प्रजातन्त्र स्थापनाका निम्ति प्राय: जीवनभर काँडाको बाटोमा पनि निडरतासाथ हिँडेकी उनको अवस्था अज्ञात छ।