सदन स्कुलको ठीक पारी पट्टि सानो भट्टी पसलको ठीक अगाडि पुरानो भाँचिन लागेको टुलमाथि कालो जङगी बुट, जिन्सको कालो पेन्ट, रातो कम्मरपेटी ,सेतो टि–सर्ट माथि कालो कोट लगाएर चिउँडोमा हात राख्नेलाई नचिनेर को हो भन्नुहोला ? म नै हो महन्त उर्फ स्पन्दन । 

यतिबेला बेलुकाको चार बज्नै लागेको छ । तीन चार जनाको सानो हुल केटाकेटी आइसक्रिम चाट्दै पिण्डेश्वर चोकको बाटो लागे । भित्र भट्टी पसल्नीको सानी छोरी ललिपपको लागि आमालाई निधारमा पप्पी गर्न तयार छे । मैले बच्पनमा आमालाई के भनेर सुन्तला चकलेट मागे हुँला ? 

यसएलसी सकेर सहरमा पढन आए पछि मैले आमालाई बिरलै फोन गरेको छु यदाकदा काममा बाहेक । अस्ती दुई महिना अगाडि गरेको थिए । अघि भर्खरै भाइले फोनमा आमालाई मैले फोन गर्दिनँ भनेर सम्झाउँदै थियो । उफ् उफ् चिया पनि कती तातो । पिएनले चार बजेको घन्टी बजाउना साथ साना केटाकेटी कराउदै गेटसम्म आइपुगे । पालेले गेट पूरा खोली नसक्दै बाहिर निस्किसक्दा मलाई मेरो बालापनको स्कुलको सम्झनाले चियायो । तिनीहरुले पछाडि बोकेको गर्हौं झोलालाई बेस्सरी दुबै हातले च्यापेर दौडिए । 

हाम्रो स्कुले जीवनको सुरुवाती कक्षाहरुमा प्रायको झोला नै हुँदैन थियो र मेरो पनि थिएन । म रु दुई पर्ने कपी, एक दुई किताब अनी सानो टुक्रा सिसाकलम त्यो पनि मेरो जेठा दाजुले धरानबाट घर आउँदा ल्याइदिनुहुन्थ्यो । हाम्रो स्कुलको युनिफर्म  सेतो सर्ट र कालो पेंट थियो तर हुन्थ्यो त जहिले कालो कालो । त्यही सेतोबाट कालो बनाउनेमा मेरो नम्बर सात आठतिर पथ्र्यो होला । 

त्यही टाटैटाटा बसेको कालो सर्टको पछाडिभित्र पट्टि पुस्तक र कापी राखेर सर्टको अगाडिको तलको दुई वटा टाक खोलेर बेस्सरी कसेर म पनि जोडले ओह्रालो कुद्थें । त्यही दौडाइको चिनो मेरो निधारमा अझै पनि छ । हामी हातिछाप चप्पल लगाउँथ्यौं । कति पटक त खाली खुट्टा नै स्कुल पुगेको छु । लाज नै नमानी चोरपुलिस खेल्न । म जहिले चोर हुन्थे आज पनि जिन्दगीको चोर छु । 

दुई जना साना स्कुले केटीहरु अंगालो मारेर चुइगम चपाउँदै माथि तिर लागें । आजकाल त कत्ती धेरै पैसा छ । एकपतक त मैले पूजा गर्ने दियोमा राखेको आठाना चोरेर एउटा चुइगम किनेर पाँच जनाले बाँडेर पनि खायौं । त्यो पनि मैले त बेलुकी खाना खादा आमाले कराउनु भएपछि मात्र फालेको हुँ । यदाकदा मेरो साथीहरुले पनी चुइगम ल्याउँथ्यो हामी बाडेर कक्षा कोठामा नै खान्थ्यौं । त्यो समयमा हाम्रो एक मात्र दुस्मन थियो होचो कदको भीम सर । लठ्ठीले गालामा घोचेर मिल्काउन भन्नुहुन्थ्यो र मिल्काउनु पथ्र्यो । उहाँ गैसक्नु भएपछि हामी भन्थ्यौ फुच्चे ।

आजकल कविता माथि नै विभिन्न्न प्रयोग गर्ने जीवनवादी कविहरु नै बालसुलभता देखेपछि बालापन फर्काउला जस्तै गरी बिम्बलाई दुःख दिंदै कवितालाई अकविताको क्याटागोरिमा थप्छन । तर जिन्दगीलाई नयाँ आयाम र प्रयोगको चस्माले पटक्कै हेर्न रुचाउँदैनन् ।

एक पटक मैले जिन्दगीलाई जोडजोडले सम्झाएको छु बडो मुस्किलले । र भनेको छु यो पनि जिन्दगी हो । अघिल्लो वर्षको ठन्डी मौसममा एक अबेर साझ बिएसी पत्रिकाको कार्यालयबाट फर्किंदा घण्टाघरको पूर्व पट्टिको पेटीमा मसिनो दाउरा जम्मा गरेर  सानो आगो फुकेको आगोको वरिपरि करिब एक दर्जन सडक बालबालिका र एक अधबैंसे आइमाइ आगो तापिरहेका थिए । आइमाइ पुगेकी थी होली करिब पैतालिस जति या त्यो भन्दा कम ।

म अड्कलबाजीमा पहिलेदेखि नै अलिक कमजोर छु । सबैको पुरानो र मैलो कपडा थियो । त्यो पनि प्वाल नै प्वाल यस्तो लाग्थ्यो पूरा शरीर यो खुला संसार हेर्न लालायित छ । बाइक रोकेर एक दुई क्लिक फोटो लिन भ्याएँ । भोलिको अंकको फोटो फिचरको लागि । सात आठ बर्से सानो फुच्चे बलिस्ठताको कमजोर प्रतिमूर्ति पछाडि उभिएको थियो । हातले इशारा गरेर छेउमै आएपछि बेढंगको फोस्रो मानवियता देखाए मेरो टोपी लागाइदिएर चूपचाप । यहाँ थियो भोलिको देशको प्रधानमन्त्री डाक्टर शिक्षक या समाजसेवी । 

प्राय हिउँदे स्कुल बिदाको मौकामा सधैं जसो गुच्चा र डन्डिबियो खेल्नकै लागि पनि गोठाला गइन्थ्यो । गाईवस्तुको वास्ता नगरी मस्त सँग दिनभर खेलेर तल मण्डल काकाको बारीको मकै र अन्य बाली गाईबस्तुलेले सखाप पारेपछि भेटेको सिरकनोको डाम अनी गुच्चा र डन्डिबियो हारेपछिको पीडा लिएर साँझमा घर फर्किंदा पनि पश्चिम दिशामा गोधुलीसँगै कती सुन्दर सूर्यास्तको अनुभव लिन सक्थें । आजकाल म उही भए पनि समयको काँटा अलिक माथि चढेछ र सही मानेमा जीवनका सुन्दर पहेंलीहरु पछाडि नै छोडिएका छन् । जीवनका ती सुन्दर अनुभूति र स्पर्श गर्न अब यिनै र यस्तै साना साना केटाकेटी सँग मात्र समय होलान् ।  जो मस्तसँग बाँच्नकै लागि जीवन बाँचिरहेका छन् । 

किन सडकमै नहोस् । म आफू अब त्यो बालापनको सुन्दर अनुभूति गर्न सक्दिंन । म त अब प्रत्येक पल अरुको लागि बाँच्ने यन्त्रमानव जो बनेको छु र बन्नु पर्ने बाध्यता आउँछ । बुढी आमाको लागि बुढो आपाको लागि मान्छे हुनुको समाजको लागि र म आफ्नै लागि । अब त घत परिन्जेल हाँस्न पनि कहाँ सकिन्छ र ।

  अस्ति भर्खर फोन गरेर फेसबूकको भित्तामा कम नजर आउनुहुन्छ भन्ने मेरो सवालमा मेरो हेटौडा क्याम्पस जीवनको हृदयी मित्र गजलकार धर्मअराज स्याङतान अब फेसबुकको भित्ता र भित्तामा टाँस्ने सामग्रीको भन्दा जीवनको भित्ता बढी जरुरत भएको सुनाउने  मित्रको विषयमा मलाई थाहा छ । 

ऊ अब अरुकै लागि बाँचिरहेका छन् । जो सुन्दर जीवन कलिला पाइलाहरुमा चालिरहेको छ । उस्को कविता र गजल भन्दा पनि बेजोड शक्तिशाली हरेक बिहान बनाइरहेको छ सानो मुटुको टुक्रासँग । उस्ले लेखिदिनाले लेखिएको थियो अक्षरहरु अब ऊ त जीवनको कवितामा व्यस्त र मुस्किलले आफ्नो लागि हास्नेछ ।

अब अक्षरको झगडामा रमाउने मान्छे नयाँ परीनिर्माणमा जीवन जिउनाले पनि कति पनि आवाजमा तलमाथि नगरी त्यसरी नै फोन राख्यो जसरी ऊ फेरि कवितामा नयाँ प्रयोग गर्दैछ वास्तविक जीवन माथिको धरातललाई टेकेर । ऊ कविता जस्तै लयमा प्रकृतिले नै झुन्ड्याई दिएको जीवनको भित्तामा मुस्कान झुन्ड्याउनेछ । प्रत्येक पटकको सानी छोरीको मुस्कानमा ।

म बसेको भट्टीको नजिकैको मेडिकलबाट सानो नानीको जोडजोडको रुवाइ मेरो कानमै ठोकिएर दुखाइको दुखेसो पोखिरहेको छ । रुवाईमा एक प्रकारको पीडा छ । हुनसक्छ कठोर देखिने डाक्टरको हातले कोमल शरीरमा सुई रोपेको या ज्वरोको असह्य पीडाको चित्कार । मौसम परिवर्तन सँगै आएको रुघाखोकीले ती सानी नानीलाई भन्दा उनको फुल जस्तै कोमल हृदयकी आमाको दिलमा बिराम लागेको म सजिलै अनुमान लगाउन सक्छु ।

हरेक साल यसरी नै मौसम परिवर्तनको सँगै आउँछ काल रुघाखोकी र माहामारी बनेर र उजाड बनाएर आमाको कोख जान्छ । सानो नानीलाई फुल्याउन र पीडा कम बोध गराउन काखी च्यापेर मेडिकलको पेटीमा यताउता गर्दै घरी लोरीको लयमा गुनगुनाउदै त स्तनपान गराउन तल्लीन छिन आमा । आमा शब्द र आमाको महानता कत्रो हुन्छ ? म स्तब्ध हुन्छु यो सोचेर ।  

जति पटक आमा शब्द उच्चारण गर्यो त्यति नै यसको भारिपन बढ्ने । सानो नानीलाई एकछिनको फुल्याए पछि ती आमा निदाएको नानी काखी च्यापेर रिक्सा चढेर लागिन भानु चोकको बाटो पट्टि । म आवश्यक्ता भन्दा बढी सेलाएको चियाको घुट्को लिन्छु । चिनी अलिक बेसी भएछ । कहिलेकाहीं जीवनमा पनि यो नियम लागू हुन्छ ।

यस भट्टि पसलको निक्कै बेरको बसाइपछि भट्टिबाट दूध खाएर निस्किएको बिरालोलाई पनि रक्सी खाइन भन्दा कस्ले पत्याउला र ? भन्ने सोचेर चियाको पैसा तिरेर मेडिकल छिरें । खाली समयको सदुपयोग गफ लडाउन चिरपरिचित कर्मचारीहरुसँग । गफगाफ गर्दा थाहा भयो ती अघी रुने सानी नानीको अवस्था निक्कै क्रिटिकल रहेछ ।

उपाचारको लागि अलिक राम्रो अस्पताल लान सल्लाह दिएर पठाएको रहेछ ।  घडीले छ बजेको लक्षण काटामा मिलाउनु अघि नै म घरको बाटो लागें । बाटामा अघि ललिपपको लागि आमालाई निधारमा  पप्पी गर्न तयार हुने सानी नानी फेरि आइसक्रिमको लागि झगडा गरिरहेकी थी । आज कोठामा पुगेर घरमा आमा र आपालाई फोन गर्नुछ । 

प्रतीकात्मक तस्बिरः पुरानो धरान/ इन्डलेसजर्नी फेसबुक