–कोलमुनि

आमाले भन्नुभयो, ‘जाओ धामी लिन । धामी नलाई यल्लाई निको हुँदैन । अरू जाँदा आउँदैनन् । म जाउँ भने घाँस छैन । बुवा काँको कामबाट गलेर आउनु भएको थियो । झर्किदै भन्नुभयो, के धामीले चाहिँ सास लाउँछन् ? धामीले सास लाउँदा रहेनछन् भन्ने कुरा मलाई त्यहीबाट थाँहा भयो ।

धामीप्रतिको अविश्वासको विजारोपण पनि ममा सायद त्यही दिनबाट भयो । नत्र टाउको दुख्यो कि धामीकहाँ कुदिहाल्ने । ज्वरो आयो कि धामीकहाँ कुदिहाल्ने । अलिकति केही भयो कि आमाले जा धामीकहाँ यताउति गरी मागेर आइज भोलि ता निको हुन्छ भनेर पठाइहाल्नु हुन्थ्यो ।

नगए फकाएर भए पनि पठाउनु हुन्थ्यो । फकाउँदा नगए गाली गर्न थाल्नुहुन्थ्यो । नगई सुखै थिएन । सामान्य बिरामी हुँदा आफैँ धामीकहाँ जानु पर्ने । उठ्नै नसक्दा मात्रै लिन जाने गथ्र्यौ । कहिले त लिन जाँदा पनि नआउने । कहिले भरे आउँछु भन्ने । कहिले भोलि बिहान । कहिले आउँछु भनेर पनि नआउने । जतिसुकै गाह्रो बिरामी भए पनि पहिले उनैलाई हो लाउने । उनले २–४ चोटी झारफुक गर्दा पनि निको भएन भने मात्र अरू धामी खोज्ने हो । त्यतिबेला बिरामी हुँदा औषधोपचार गर्न धामीझाँक्रीको विकल्प थिएन । त्यतिबेलासम्म पनि मौवामा आयुर्वेदिक औषधालयको स्थापना भएको थिएन । धामी खुब भाउ खोज्थे । अरूले त बसेको ठाउँबाट उठाउनै नसकिने । बुवा जाँदाचाहिँ घरमा छन् भने केही नभनी सरक्क उठेर आउँथे ।

गाउँमा खसी काट्दा हामीलाई कसैले पनि छुटाउँैदैनथे । खाए पनि नखाए पनि यसरी आज फल्नाकहाँ खसी काट्ने कति राखिदिउँ÷ल्याइदिउँ मासु भनेर सोध्न आउने । हामी प्रायः धार्नी राख्न लाउथ्यौँ । हाम्रो ठूलो परिवार थियो ।

हजुरआमासँग हाम्रो परिवार ११ जनाको थियो । यति राखिदिनु भनेपछि त्यति नै हाम्रो घरमा मासु आइपुग्थ्यो । म गएर ल्याउन सक्ने भएपछि बुवाआमाले मासु लिन मलाई पठाउन थाल्नुभयो । आज  फल्नाकहाँ खसी काट्ने रे जा लिन भनेर पठाउनु हुन्थ्यो, म जान्थेँ ।

आजभन्दा करिब ४० वर्ष पहिलेको कुरा । पहाडको दूरदराज । त्यतिबेला गाउँमा मासु धार्नीको त्यही ३०–४० रुपैयाँ थियो । बुबाले आज धामीकहाँ खसी काट्ने रे जा मासु लिन भनेर पठाउनु भयो । केटाकेटीलाई खसी काट्ने रे मासु लिन जा भनेपछि अरू के चाहियो । म खुसीले उफ्रदै बाटो लागि हाल्थे । गाउँले अरू भेला नभई १ नम्बरमा म नै पहिले पुगिहाल्थेँ । त्यो दिन पनि म त्यसरी बिहानै मासु लिन धामीकहाँ पुगिहालेँ ।

मान्छे ढिलो भेला भए । खसी काट्न ढिलो भयो । मासु लिएर घर आउँदा ११ बजिसकेको थियो । त्यो दिन मासु लिएर आउँदा आउँदै बाटैदेखि म बिरामी भएँ । बाटैदेखि एकदमसँगले टाउको दुख्न थाल्यो । टाउको दुखाइ पनि सामान्य होइन । एकदम जोडसँग दुख्न थाल्यो ।

२/४ ठाउँ बसेर मात्र घर आइपुगेँ । घर आइपुगेर मासु राख्ने वित्तिकैदेखि त झन् फœयाकफœयाक भएँ । बुवा धामी लिन गएपछि म झन् सारै भएँ । आमा आत्तिन लाग्नु भयो । केटाकेटी मान्छे मासुसँग मूलडाँडोको बाटो भएर आएको । मसान पो लाग्यो कि । कि काटेको खसीको रक्ती चढाउनु पथ्र्यो । 

त्यो चढाएनन् कि भनेर मासुको रक्ती टाँकीको पातमा दलेर आँगनको डिलमा लगेर राखिदिनु भयो । म बिरामी भएको थाहा पाउने वित्तिकै छर–छिमेकी भेला भइहाले । अहिलेसँगै शिकार लिएर आएको मान्छे । अहिलेको अहिले के भयो त भन्दै आँगन, सिकुमा उभिएर कुरा गर्न थाले ।

कोही खोल्मेनीलाई दोष दिन थाले । कोही सगुने बुझाएन भने पनि यस्तो हुन्छ भन्न थाले । कसैले कुल देवता रिसाए भने पनि यस्तो हुन्छ भने । कसैले जङ्गली लाग्यो भने । कसैले वनकाले भेट्टायो भने पनि यस्तो हुन्छ भने । दिनको १२/१ बजेको हुँदो हो । एक्कासी मेरो टाउको हलुका भएर आयो । अहिले भर्खरसम्म इन्तु न चिन्तु भएर सुतेको मान्छे मलाई त निको भयो भनेर उठेको देखेर आमा पनि छक्क पर्नुभयो ।

साँच्चै रक्ती नचढाएरै रहेछ भन्नु जस्तो भयो । अहिले बाउ धामी लिएर आउँछन् । धामीलाई ढाँटे जस्तो हुन्छ । धामी नआउञ्जेल सुतिराख । धामी आएपछि उठ्नु भन्नुभयो आमाले । त्यसै गरेँ । त्यो पटक भने बुबाले पनि धामी ल्याउन सक्नु भएनछ । धामीले अक्षता फुकेर दिएछन् ।

त्यही फुकेको अक्षता लिएर आउनु भएछ । अक्षताको एउटा पोको खानु पर्ने । अर्को पोको सिराने मुनी राख्नु पर्ने । यति गरेपछि निको हुन्छ । भएन छ भने भोलि बिहानै म आइपुग्छु । लिन आउनु पर्दैन । धामीले यति भनेपछि बुबा उठेर आउनु भएछ ।

पछि विचार गर्दा त्यो दिन चैते दशैंको दिन रहेछ । त्यो दिन मासु पनि खाइयो जस्तो लाग्दैन । म बिरामी भएपछि घरमा कोकोहोलो मच्चिहाल्यो । के मासु खानु । यसमा के कुराले मलाई बढी आश्चर्यचकित बनायो भने आमाले रक्ती चढाइदिनु पथ्र्यो भनिसक्दा मेरो आधा बिराम निको भइसकेको थियो ।

लगेर पातमा रक्ती चढाइसक्दा पूरै निको भइसकेको थियो । कस्तो संयोग ! कस्तो अचम्म ! यस्तो पनि हुँदो रहेछ । अहिले सम्झदा पनि म छक्क पर्छु । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो ।