परदेशतिरका पीडा र भोगाइ केही समययता लेखनमा एकपछि अर्को गर्दै आउने क्रम जारी छ । आआफ्नो विशेषता आफैसँग छँदैछ । ती लेखाइहरूले छुने पाठकहरू पनि आफ्नो भोगाइअनुसार नै छ । लेखनमा लेखकको प्रभावको लेखाजोखा पाठकको मनमा कति बस्न सकियो त्यो नै हो ।

अर्को कुरो नेपाली साहित्य र सङ्गीतलाई परदेशले धानेको यथार्थलाई पनि हामीले भुल्नु हुँदैन । केही समयअघि चाहिँ अरूले लेखेको पुस्तक प्रकाशनमा रेमिट्यान्समार्फत सहयोगीको भूमिका खेल्थे । तर अहिले चाहिँ आफ्नो प्रवास/परदेशका भोगाइलाई स्वयम भोग्नेहरूले लेख्न थाले ।

जसको कारण अब रेमिट्यान्समार्फत मात्र हैन लेखनको हिसाबले पनि नेपाली साहित्यलाई समृद्ध बनाउनसमेत लागिपरेका छन् । जुन नेपाली साहित्यका कलाकर्मीहरूका निम्ति निक्कै खुसीको कुरा हो । अहिले भौगोलिक रूपले परदेशी लेखनमा पनि केही मत भिन्नताहरू छचल्किएको छ ।

यसरी प्रवासबाट लेखिने साहित्यलाई के भन्ने बारेको बहस पनि तात्न थालेको छ ।  डायस्पोरा, परदेशी या त प्रवाशी लेखन के भन्ने ? यो अहिले छलफलको विषय बन्न थालेको छ । बहसका बीच पुस्तकहरूको आगमन तीव्र छ ।

परदेशी साहित्यको बारेमा एउटा बहसमा सिर्जनशील अराजक अभियानका एक अगुवा चिन्तक हाङ्युग अज्ञातले अब यस्तो साहित्यलाई रेमिट्यान्स साहित्य भनौँ न त । आखिर रेमिट्यान्सले नै त त्यस्ता लेखनको विकास भइरहेको छ । जुन भनाइ निक्कै चर्चामा पनि रह्यो । लेखन र लेखकको चाप बढ्दै गएको छ । यो बहसले चाँडै निकास पाउने छ । 

परदेशमा भोगिएका नालीबेलीहरू विभिन्न पुस्तकहरूमा आए र आउने क्रम जारी नै छ । यही मुद्दा र विषयमा केही ख्याति कमाएका पुस्तकहरू रेमिटल्याण्ड, मुदिर, खबुसलगायत हुन् । यही क्रममा केही महिनाअघि नेपाली साहित्याकासमा ट्रान्जिट उपन्यासले प्रवेश गरेको छ ।

चकेन्द्र राईद्वारा लिखित ट्रान्जिटको आगमनसँगसँगै पाठकहरूको मगजमा अनेकौं खुलदुलीहरू सुरु भएको छ । पाठकहरूले यो उपन्यास अलिअघि नै पढ्न चाहेका थिए । तर कोरोना कहरको चपेटाले भर्खरै मात्र पाठकहरूसम्म पुग्दैछ । पाठकहरूको दृष्टिकोण पनि आउन थालिसकेको छ । 

विधा : उपन्यास

उपन्यासकार : चकेन्द्र राई

पृष्ठ : २०३

मुल्य : रु.३५०।–

चकेन्द्रजीले गाउँबस्तीप्रतिको प्रेम आफ्नो पुस्तक गाउँमै गरेर देखाए । कुनै समय विकट मानिएको मोरङको सिंहदेवीको जेफालेस्थित जेफाले सिर्जना डबलीको डबलीबाट बुकको पर्दापण भयो । सहरको होटल र मञ्चमा गर्ने खर्च गाउँमा गरे र नै पनि हो ट्रान्जिटको पछिल्लो लोकप्रियता चुलिएको । परदेश भोग्ने र भोगिरहेकाहरूको निम्ति ट्रान्जिटको कथा आफ्नै लाग्छ ।

सन्जोग परदेशिने बेला भोगेको पीडाले साँच्चै मन कटक्क खान्छ र हामी आफन्तैबाट ठगिएको तितो यथार्थलाई कलात्मक ढङ्गले उठान गरेका छन् । साँच्चै हामी आफ्ना भनाउँदाहरूबाटै ठगिएका हुन्छौं । हाम्रो उन्नति र प्रगतिको बाधक आफन्तै हुन्छन् । उपन्यासमा यो विषयले राम्रो प्रभाव जमाएको छ ।

नेपालीहरू विदेशिनु परम्परा जस्तै बनेको कुरालाई मिहिन ढङ्गले प्रस्तुत गरेका छन् । सञ्जोग र सूचनाको भेटदेखि खास कथावस्तुमा प्रवेश गरेको ट्रान्जिट एउटा सुन्दर प्रेमकथा हो । प्रेमकथासँगै उपकथाहरू प्रस्स्तै छन् । ती उपकथाहरूलाई पनि चकेन्द्रजीले मूलकथा जत्तिकै अब्बल बनाउन सफल भएका छन् । त्यो उनको लेखकीय खुबी हो ।

मानव जाति इस्र्या, डाहा र इखमा बाँचेका हुन्छौँ । उपन्यासका मुख्य पात्र सञ्जोग पनि इख बोक्दै आफूलाई परदेश जाने क्रममा अलपत्र पार्ने काकालाई देखाउन भए पनि परदेशिने अठोट लिन्छ । तर जुन देखाउने कुरा छ कमाइको कारणले त्यो पक्ष सञ्जोगले गौण गराउन विवश भएका छन् । जीवन सोचेकै जस्तो कहाँ हुन्छ र ? परदेशको पीडा अर्कै छ कथामा ।

सञ्जोगले सोचेको विदेश र भोगेको विदेशमा आकाशपाताल फरक छ । पीडादायी परदेशी जीवनमा धन्न एउटा ट्रान्जिट उडानमा सूचनालाई भेट्नाले र यसो विरक्त चल्दो मरुभूमिमा केही शीतलता मिलेको अनुभव हुन्थ्यो सञ्जोगलाई । दिनभरिको लखतरानमा सूचनाको फोनले ऊर्जा भथ्र्यो ।

आखिर प्रेम त जीवनको मार्ग निर्देश पनि त रहेछ । साँच्चै यी दुईको प्रेमले जीवनमा उत्साह भरेको छ नै र नै यी दुई प्राणी अझ सञ्जोगले परदेशका अनेकौं हण्डरलाई सहजै सामना गरेका छन् । यदि सूचनाको प्रेम नहुन्थ्यो त सञ्जोग त्यहाँको रहन सहन र कहाली लाग्दो सङ्घर्षका कारण अविचलित हुन नि सक्थ्यो एउटा प्रतिकात्मक लेखकले देखाउन खोजेका छन् ।

हुन पनि नारी प्रेम हो, आदर्श हो । यो यथार्थ हो । चाहे विवाहित होस् या अविवाहित परदेशमा पसिना बगाउनेहरूको पीडा उही हो । कि त प्रेमी, या त श्रीमती उनीहरू नै मन बिसाउने थलो हुन् । त्यसमा केही अपवाद जरुर छन् । कुनै अपवादलाई कसैले टारेर टार्न सक्दैन । 

अर्को कुरा चाहिँ आख्यानकार चकेन्द्रजीले सूचनालाई नारीलाई विवेकी र हिम्मती पात्रको रूपमा प्रस्तुत गरेका छन् । यो उनको नारीप्रतिको सम्मान हो भन्ने लाग्छ र एउटा नारी सचेत हुँदा समाज र देशले काँचुली फेर्दोरहेछ भन्ने प्रमाण पनि पेश गरेका छन् । यहाँनिर सूचनाले केही त्यस्ता महङ्खवपूर्ण निर्णय गरेकी छन् । सूचनाले त्यो निर्णय नलिने हो भने सञ्जोगमा अन्योलता छाउन सक्थ्यो ।

प्रेम समर्पण हो भन्ने अर्को आदर्श पनि यो उपन्यासमा छ । ट्रान्जिटको सारै आनन्द र पढौं पढौं लाग्ने विशेषता भनेको चाहिँ सूचनाले विवेकपूर्ण निर्णय लिँदै सञ्जोगसँग बाँकी जीवन जिउने निर्णय लिनु हो । आफूभन्दा कम साक्षर र खानदानको सञ्जोगलाई जीवनसाथीको निम्ति योग्य सम्झदै सञ्जोगको प्रेमलाई सम्मान गरेकी छन् ।

दुई मुटु एक हुने दिन इटहरीमा बडो सशङ्कित सञ्जोगको पर्खाइ, सञ्जोगको प्रेमले सूचना साथीको पाठशालाको बहानामा घरबाट निस्कनु, वर आएर आफ्नो घर हेर्नु र आखिर एक दिन घर छोड्ने नै हो भनी सञ्जोगको निम्ति बाँकी जीवन समर्पण गर्नु एउटा चोखो प्रेमको नमुना योभन्दा अरू के हुन सक्छ ? भने अर्कोतिर परदेशबाट फर्किदा सञ्जोगले कमाएको पैसा मागेर भविष्य सम्झी सूचनाले जग्गा जोड्नु ।

सूचनाको यो विवेकीपनमा जोकोही पाठक एकपटक रोकिन्छ । सञ्जोग जस्तो पात्रले त्यो रकम त परदेशबाट आको हर्षबढाइमा परदेशको पीडा भुलेर पाटी खाएर वा खुवाएर नै पनि त छिन भरमै सक्न के बेर ? यो प्रशङ्गमा पाठक सोचमग्न हुन बाध्य हुन्छन् । 

जब सञ्जोगले सूचनालाई धनकुटा पुर्याएर भिœयाउने क्रमको दृष्यमा थोरै भए नि किराती मुन्धुमको झल्को दिन खोजिएको छ । विवाहसम्म त्यो मुन्धुम देख्न पाएको भए भन्ने एउटा थकथकीचाहिँ भइरहन्छ । पछिल्लो समय लेखनमा पहिचान जोडिन थालेको छ ।

त्यसकै सङ्केत यदाकदा यहाँनिर छ । गाउँमा सञ्जोग र सूचनालाई पर्खेर गाउँका इष्टमित्र भेला भएर रातैभरि खुशी साटासाट गर्नुले अनगिन्ति पीडाहरू बीच गाउँ खुशीका साथ बाँचेको छ भन्ने अर्को प्रमाण पेश गरेका छन् लेखकले ।

अझ विवाहपश्चात् पनि सुचना इजरायल गएर सञ्जोगलाई नेपालमै व्यवसायमा पे्ररित गर्दै आफूले नि विदेशमा कमाएको पैसाले नेपालमा आफ्नो घर (स्वर्गको दरबार) निर्माण हुनु यी निक्कै महङ्खवपूर्ण आदर्श प्रेमका उदाहरण हुन् ।

सुचना परदेशिएपछि उनको प्रेमको अभावमा सञ्जोग अनेकौं शङ्कासहित झण्डै विचलित भएको कथा पनि कम रोमाञ्चक छैन । पटक पटक परदेशिएकी सुचना कुनै कुराले विचलित नभई आफ्नो देश र सञ्जोगको प्रेम सम्झदै आफ्नो देश फर्कनु आफैमा मातृभूमिप्रति र प्रेमप्रतिको सम्मान हो । 

यसरी ट्रान्जिट उपन्यास संयोगान्त कथामा टुङ्गिएको छ । पाठकहरूको निम्ति आकर्षक पुस्तक बनेको छ । पुराना दिनलाई सञ्जोगले बढी नै सम्झेको भान हुन्छ । पहिलो पल्ट विदेशिने सपना तुहेपछि उनले भोगेको सडक बालकहरूसँगको जीवन अलि बढी नै काल्पनिक हो कि भन्ने पाठकमा पर्न सक्छ ।

सूचनाका साथीसङ्गीहरूको ठट्टालाई अलि कलात्मक बनाउन सकिन्थ्यो कि भन्ने अभाव खड्किन्छ । तर पाठकलाई नजिक्याउने लेखकको चतुर्याइँ पनि हुन सक्छ । यी र यस्तै विषयका कथाहरूलाई समेट्दै आख्यानकार चकेन्द्र राईले ट्रान्जिट उपन्यास आम पाठकलाई जिम्मा लगाएका छन् । अब यसको लेखाजोखा गर्दै अध्ययन गर्ने काम तपाईं हाम्रै हो । अन्त्यमा ट्रान्जिटको कथा म/हामी बसेको धरातलले भोगेको कथा हो, जहाँ यो समाज घुमिरहेको छ ।