- कमल पोख्रेल
रङ्गवीर बस्नेत पाल्पामा रेञ्जर थिए । उनले रेञ्जरको पढाइ देहरादुनको वन विश्वविद्यालयबाट गरेका थिए । भारतको सबैभन्दा ठूलो वन विश्वविद्यालय पनि त्यही हो ।
रङ्गवीरले पाल्पामा काम गरेको २ वर्ष पुग्न लागेको थियो । पाल्पामा हटिया लागेको दिन रङ्गवीर पियनलाई लिएर किनमेल गर्न गएका थिए ।
त्यहाँ उनले जूनजस्तै चम्किलो अनुहार भएकी जुनीमायालाई देख्दछन् । उनी जुनीमायाको सुन्दरताबाट आकर्षित हुन्छन् । गुलावी गाला, सिन्दूर पोखिएको पिठोजस्तो मुहार, झलक्क हेर्दा जापानी महिलाजस्ती देखिन्छिन् ।
उनी जुनीको घर पत्ता लगाउनतिर लाग्दछन् । जुनीको घर श्रीनगरदेखि अलि पर पाखामा थियो ।
जुनी बाबुआमाकी एक्ली छोरी थिइन् । काकाको छोरो भाइलाई बाबुआमाले धर्मपुत्र पालेका थिए । रङ्गवीरले जुनीका आमा बाबुलाई भेट्दछन् र जुनीको हात माग्दछन् ।
बाबुआमा पनि जागिरेलाई छोरी दिन पाउँदा खुशी नै थिए । दुवैको विवाह हुन्छ । यसरी दिन बित्दै गए । उनीहरुको एउटी छोरी जन्मिन्छिन् । तीनको नाम वैजन्ती राख्दछन् ।
वैजन्ती त्यही स्कुल पढ्दै थिइन् । रङ्गवीर ५८ वर्ष पुगेपछि निवृत्तिभरण पाउँछन् । उनी घर ज्वाइँ भएर बस्न चाहँदैनन् । त्यसैले श्रीमती र छोरी लिएर धनकुटाको मारेकमा आउँछन् ।
त्यहाँ उनको खेतबारी धेरै थियो । रेञ्जर भएकाले जाँगर पनि थियो । वैजन्ती त्यहीँबाट जितपुर हाईस्कुलमा कक्षा ९ मा पढ्दछिन् । मारेकबाट अरु पनि पढ्न जितपुर आउँथे । त्यहाँ प्रा.वि. मात्र थियो ।
मारेकबाट देवबहादुर अर्याल पनि जितपुर हाईस्कुल पढ्न आउँथे । फर्कंदा सबै एकै साथ फर्कन्थे । स्कुल छुट्टी भएर केहीबेर देव भलिबल खेल्थे ।
वैजन्ती पर्खेर बस्दथिन् । यी दुवै सँगै हिंड्ने बस्ने गर्दथे । देवले अर्को साल एस.एल.सी.पास गर्दछन् । वैजन्ती पनि कक्षा दशमा पढ्न थालिन् ।
देवले आफ्नै स्कुलमा कक्षा ११ भर्ना गर्दछन् । जितपुरबाट मारेक पुग्न ४५ मिनेट जति लाग्दथ्यो । देवको ११ बजे छुट्टी हुन्थ्यो । तर, ४ बजे जितपुर वैजन्तीलाई लिन सधैँ पुग्थ्यो । यो वातावरण सबैलाई थाहा थियो ।
रङ्गवीर पनि एक्लो छोरो प्रशस्त सम्पत्ति भू.पू.सैनिक कर्णबहादुर थापाका छोरा थिए भन्ने बुझेर हर्षित नै थिए । यी दुईको विवाह गर्ने सोच दुवै तर्फको थियो । वैजन्तीको टेष्ट परीक्षा चल्दै थियो । वैजन्तीले व्यावसायिक विषय गृह विज्ञान लिएकी थिइन् ।
प्राक्टिकल सकेर घरतिर दुवैजना लागे । बाटोमा मुसलधारे पानी प¥यो । यिनीहरु ओत लाग्न बाटोको छेउमा भएको एउटा पुरानो घरमा पसे । त्यो घर खाली थियो । पानी निकैबेर प{यो । ठूलो गर्जनसहित चट्याङ प¥यो ।
वैजन्ती डराएर देवलाई अँगालो मार्न पुग्दछिन् । दुवैतिरबाट आलिङ्गन भयो । दुवैको शरीरमा फेरि चट्याङ परेजस्तो भयो । दुवै उत्तेजित भए । दुवै निथ्रुक्क भिजेका थिए । पानी केही रहे जस्तो भयो । दुवै घरतिर लागे ।
बाटोमा वैजन्ती रुन थालिन् । देवले सम्झाए ‘म तिमीलाई नै विवाह गर्छु ।’ दुवै आ–आफ्नो घर पुगे । दुवैका आमाबाबु चिन्तित भएर बसेका थिए । आ–आफ्नो छोराछोरी आएको देखेर खुशी भए ।
यसै बीचमा देवलाई कुवेतबाट भिनाजुले एयरपोर्टको जागिर खान बोलाए । तलब प्रशस्त थियो । देवले वैजन्तीका आमाबाबुलाई भेटेर भने, ‘म एक वर्षभित्रमा आएर वैजन्तीलाई विवाह गर्छु ।’ वैजन्ती पनि एस.एल.सी.पास गर्छिन् । देव हिँडेको करिब पाँच महिना भइसकेको थियो ।
वैजन्तीले आफ्नो पेट भारी भएजस्तो महसुस गरिन् । उनले देवलाई फोन गरेर सबै कुरा सुनाइन् । देवले चाँडै फर्कने कुरा गरे र घर तिर आउने तयारीमा लाग्दछन् । उनले १० लाख जति जम्मा पनि गरिसकेका थिए ।
घर आउनलाई उनी ट्याक्सी चढ्दछन् । एयरपोर्ट आउँदा बाटोमा उनी चढेको ट्याक्सी एक्सिडेण्ट हुन्छ । उनको मृत्यु त्यहीँ हुन्छ । यो खबर मारेकमा आउँछ । सबैमा रुवाबासी हुन्छ । वैजन्ती सुन्ने बित्तिकै मूच्र्छा पर्छिन् ।
केहीबेरपछि होस आउँछ । बेलुका सबैकुरा आमालाई बाध्य भएर सुनाउँछिन् । आमाले बाबुलाई सुनाउँछिन् । बाबु कुरा सुनेर स्तब्ध भए । उनलाई रातभर निन्द्रा लागेन । बिहानै छोरी लिएर पाल्पा हिँडे ।
श्रीमतीसँग राति नै सल्लाह गरेका थिए । बाबुछोरी पाल्पा पुग्दछन् । पाल्पामा सासू ससुरालाई सबै कुरा भन्दछन् । छोरी त्यहीँ छोडेर उनी घर फर्कन्छन् । गाउँमा कुरा चल्दा मावलमा पढ्न बसेकी छिन् भनेर भने । एक वर्ष बित्यो ।
पाल्पाबाट रङ्गवीरलाई खबर आउँछ । उनी पाल्पा गएर छोरी ल्याउँछन् । अब उनले छोरीको विवाह गर्ने विचार गर्दछन् । सान्नेका धर्मबहादुर पराजुलीलाई छोरी दिने विचारमा पुग्दछन् ।
धर्मबहादुरका दुई दाजुभाइ थिए । दाजु र भाउजू धनकुटामा पसल खोलेर बसेका थिए । उनी आमाबाबुसँग सान्नेमा बसेका थिए । सान्ने धेरै खेत भएको ठाउँ हो । त्यहाँ उनको खेत निकै थियो । वैजन्तीको विवाह धर्मबहादुर पराजुलीसँग धुमधामसँग हुन्छ ।
धर्मबहादुर धार्मिक स्वभावका थिए । गाउँघरमा उनलाई सबैले मान्दथे । वैजन्तीलाई घरको व्यवहारबारे निकै जानकारी थियो । मेलापातमा खेतालाहरुलाई बेला–बेलामा चिया खाजा, खाना पकाउनु पर्दथ्यो ।
धान रोप्ने बेलामा र धान काट्ने बेलामा फुर्सद हुँदैनथ्यो । उनले घरायसी व्यवहार राम्रो चलाएकी थिइन् । पाँच वर्ष बित्यो । तर वैजन्तीका सन्तान भने भएनन् । धर्मबहादुर पनि खिन्न थिए ।
उनी गाउँको प्रा.वि.मा प्र.अ. थिए । वैजन्तीका कुरा गाउँघरमा छोराछोरी नभएकाले छिमेकीहरुले कुरा गर्थे । गाउँमा पानी खाने धारो एउटै थियो । त्यो पनि माथि पहराबाट ल्याएको थियो । खेतमा भने कुलो थियो । लुगा धुँदा कुलोमा नै सबैले धुन्थे ।
धारामा गाउँका महिला भेला भएर वैजन्तीका कुरा गर्दथे । माथिल्लो घरकी ठूली अलि कुरौटे थिइन् । जसलाई पनि पखालेर बोल्दथिन् । घरमा सबैलाई हेपेर बसेकी थिइन् ।
ठूल्दाइलाई त मान्छे नै गन्दिनथिन् । धारामा पानी थाप्ने गाग्रीको पालो लगाउने चलन थियो । ठूली भने पालो मिचेरै पानी थाप्दथिन् । यसैमा झगडा पनि हुन्थ्यो । पालो वैजन्तीको थियो । ठूली सरासर आइन् र पालो मिच्न खोजिन् । वैजन्तीले दिइनन् । पानी भर्न नपाएको रिसले ठूलीले वैजन्तीलाई ‘बाँझी’ भनेर गाली गरिन् ।
वैजन्ती बोलिनन् । भोलिपल्ट फेरि पँधेरोमा ठूलीले ‘बाँझी’ शब्द नै प्रयोग गरिन् । वैजन्तीलाई असह्य भयो । उनी एक्कासि दुवै हात कानमा राखेर ठूलो स्वरमा चिच्याइन्, ‘म बाँझी होइन, मेरो ५ वर्षको छोरो पाल्पामा छ ।’
उनले आफ्नो वेदनाको वेग रोक्न सकिनन् । रित्तो गाग्री टिपेर रुँदै घरतिर दौडिइन् । सबै छक्क परे । यो कुरा सबै गाउँभर हावाजस्तो फिँजियो । ठूलीलाई पनि पश्चताप भयो । पानी भरेर वैजन्तीको घरमा पु¥याइदिइन् र माफी मागिन् ।
धर्मबहादुर तलब लिन अघिल्लो दिन नै धनकुटा गएका थिए । भोलिपल्ट शिक्षा कार्यालयबाट तलब लिएर घर आए । बाटोमा उनले सबैकुरा सुने । यता वैजन्ती साह्रै चिन्तित थिइन् ।
उनलाई ठूलो डर थियो, अब मलाई श्रीमान्ले छोड्नुहुन्छ होला भनेर । धर्मबहादुर घर आइपुग्छन् । हँसिलो अनुहारले वैजन्तीलाई भन्छन्, ‘वैजन्ती मलाई एक ग्लास पानी देऊ र चियानास्ता तयार पार ।’
वैजन्तीले भने अनुसार गर्छिन् । उनी हदै डराएकी थिइन् । बेलुका खाना खाएर दुवै सुत्न कोठामा पस्दछन् । धर्मबहादुरलाई निन्द्रा लाग्दैन । उनी धनकुटा अस्पतालका कुरा सम्झिरहेका हुन्छन् ।
छोरा छोरी नभएकोले दुवैको शुक्रकीट जँचाएका थिए । डाक्टरले धर्मबहादुरलाई नै दोषी ठह¥याएका थिए । कोठामा बत्ती बलिरहेकै थियो । वैजन्ती भित्तातिर फर्किएर सुतेकी थिइन् ।
धर्मबहादुर उत्तानो परेर सुतेका थिए । यस्तैमा धर्मबहादुरले वैजन्तीको कुममा समातेर आपूmतिर फर्काउँछन् । वैजन्तीका आँखा निदाउरा थिए । धर्मबहादुरले वैजन्तीलाई निधारमा चुम्बन गर्दछन् र भन्दछन्, ‘बाँझी’ तिमी होइन म ‘बाँझो’ हुँ ।
भोलि बिहानै हामी दुवै हाम्रो छोरो लिन पाल्पा जाऊँ है ।’ वैजन्ती धर्मबहादुरलाई अँगालो मारेर रून थाल्छिन् ।