सप्तकोशी नदी त्रिवेणीको बीच भागमा रहेको ‘ज्यानमारा ढुङ्गो’ किराती सभ्यता र संस्कृतिसँग जोडिएको ऐतिहासिक महत्वको मुन्दुमी शक्ति केन्द्र ‘खुवालुङ’ भएको किरातजन्य सांस्कृतिक र अधिकारवादी संस्थाहरुले दाबी गरेपछि यसको संरक्षणमा आवाज उठ्न थालेको छ ।
कोशी नदीको बीचमा रहेको यो ढुङ्गोले जलमार्गबाट चेफामा बाँस ल्याएर जीविकोपार्जन गर्नेहरुको वर्षेनी ज्यान लिन थालेपछि स्थानीयले यसलाई ज्यानमारा ढुङ्गा नामाकरण गरिदिएका थिए । तर यो ढुङ्गो किरातीहरूको ऐतिहासिकता, धार्मिक तथा आध्यात्मिक पक्षहरुसँग जोडिएको तथ्य फेला परेपछि यसको संरक्षणमा किराती संघसंस्था लागि परेका छन् ।
अब यसलाई फुटाउने नभएर संरक्षण गर्ने र स्थानीय विकासका लागि उचित निकास दिन माग हुँदै आएको छ ।
आइतबार वराहक्षेत्रको चतरामा ‘खुवालुङ’ को संरक्षणका लागि किरात मुन्धुम परिषद् र किरात राई प्रज्ञा परिषदका तर्फबाट कार्यपत्र प्रस्तुत गरिए ।
किरात मुन्धुम परिषद्का संयोजक ईन्द्रहाङ्ग खम्बूले ‘खुवालुङ के हो ? र यससँग जोडिएको किरातीहरूको ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक पक्षहरु’ बारे कार्यपत्र प्रस्तुत गरे ।
यस्तै किरात राई प्रज्ञा परिषद्का सदस्य तथा खुवालुङ संरक्षण समितिका सल्लाहकार शालिक शतासक राईले ‘खुवालुङः सांकृतिक आस्थाको केन्द्र’ विषयक कार्यपत्र प्रस्तुत गरे ।
किरात समुदायको धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्र ‘खुवालुङ’ लाई विकासको नाममा फुटाउने कुरा कुनै पनि हालतमा सह्य नहुने किराती धार्मिक सांस्कृतिक अभियानताहरुले चेतावनी दिए ।
त्रिवेणीस्थित सप्तकोशी नदीमा रहेको ढुङ्गाले नदीमा सञ्चालित जेटबोटका लागि अवरोध पु¥याएको भन्दै फुटाउने निर्णय गरिएको थियो ।
त्यसको विरोधमा आइतबार चतरामा आयोजित ‘किराती सभ्यता र संस्कृतिसँग जोडिएको ऐतिहासिक महत्वको मुन्दुमी शक्ति केन्द्र खुवालुङसम्बन्धी जानकारी एवम् छलफल कार्यक्रम’ का वक्ताले विकासका नाममा सांस्कृतिक विध्वंश गर्न नहुने बरु यसको उचित निकास खोज्न सुझाव दिए ।
छलफलमा किरात राई यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राई, किरात याम्फू समाजका अध्यक्ष अशोक याम्फू र किरात धर्म संघ नेपालका अध्यक्ष डम्बर तुम्बाहाम्फे लगायतले किरातीको आस्थासँग खेलवाड गर्ने काम नगर्न सुझाव दिए ।
उनीहरूले खुवालुङ किरातीको आत्मा र अस्तित्वसँग जोडिएको बताए ।
‘खुवालुङ किरातीहरुको पवित्र धार्मिक आध्यात्मिक स्थल हो, र मुन्धुमी शक्ति केन्द्र पनि हो , यो हाम्रो आत्मा र अस्तित्व संग जोडिएको छ,’ किरात धर्म संघ नेपालकी सचिव दिला राईले भनिन्, ‘संरक्षण समितिसँग समन्वय र छलफल पनि नगरी आफूखुसी फुटाउने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’
यता त्रिवेणीस्थित कोशी जलमार्ग उपभोक्ता समिति तथा ढुङ्गा फुटाउने समितिका समेत अध्यक्ष रहेका विशाल राईले ढुङ्गाले वर्षेनी स्थानीयको ज्यान लिइरहेको बताए ।
उनले विकासको प्रमुख बाधक बनेको निष्कर्षसहित ढुङ्गा फुटाउनुको विकल्प नभएको निर्णय गरिएको बताए ।
ढुङ्गा फुटाउने ठेक्का पाएका स्थानीयले भने खुवालुङ देउता भए प्रमाणित गर्न चुनौती दिँदै आएका छन् ।
उनीहरुले ढुङ्गामा ठोकिएर कयौं बाँस व्यवसायीले ज्यान गुमाएको तर्क पेश गर्दै आएका छन् । जेटबोटको लागि समेत ढुङ्गा ठूलो अवरोध बनेको बताउँदै आएका छन् ।
ढुङ्गाकै कारणले जेटबोट त्रिवेणीदेखि अगाडि जान नसकेको भन्दै स्थानीयले ढुङ्गा फुटाउनै पर्ने बताउँछन् ।
ढुङ्गा फुटाउनका लागि स्थानीय विशाल राईको अध्यक्षतामा ११ सदस्य उपभोक्ता समिति गठन गरिएको छ ।
नेपाल सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत पानीजहाज कार्यालयबाट ११ लाख ५० हजार रकम समेत विनियोजन भएको छ ।
यसका लागि दुई पटक सरकारी प्राविधिक टोलीसमेत आएर योजना बनाएको छ ।
खुवालुङ संरक्षण समितिले भने ढुङ्गो नफुटाउन निवेदन गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिएको छ । समितिले जिल्ला प्रशासन कार्यालय धनकुटा, शहीदभूमि गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिकाको ९ नं. वडालाई समेत जानकारीपत्र बुझाएको छ ।
के हो ? खुवालुङ
राई भाषामा ‘खु’ ( नदी ) ‘वा’ (पानी ) र ‘लुङ’ अथवा नदीको पानीमा रहेको ढुंगा भनेर बुझिन्छ ।
धनुकटा र उदयपुर जिल्लाको सिमानामा पर्ने त्रिवेणीस्थित अरुण र तमोर नदीको संगमस्थलमा नदीको बीच भागमा अवस्थित उक्त ढुंगालाई किराती समुदायको एक पक्ष ‘खुवालुङ’ भनिरहेका छन् भने अर्को पक्षले ‘ज्यानमारा ढुंगा’ ।
किरात धार्मिक ग्रन्थ मुन्धुममा वर्णन गरिएअनुसार किराती पुर्खाहरु खम्बूहों, मेहों र मेत्नाहों सप्तकोशी नदी पच्छ्याउँदै रदाभ्मा (हालको वराहक्षेत्र) हुँदै याङ्वा (दुधकोशी), रुइतुवा (अरुण) र थावा (तमोर) मिसिएको स्थान संगमस्थलमा पुगेपछि त्यहाँबाट अगाडि जान लाग्दा अदृश्य शक्तिले रोकेपछि, मानभाउ र सेवा–पूजा) गरेपछि बाटो खोलिएको थियो ।
ठीक त्यसै समय पानीमा तामा रङको सर्पले फँडा फैलाएको जस्तो ठूलो अजङ्गको ढुङ्गा उभिएको देखियो । त्यसपछि बाटो बन्द गर्ने शक्ति (पानीमा रहेको ढुंगा) भएकोले त्यही दिनदेखि त्यस स्थानको नाम खुवालुङ रहन गएको किरात मुन्धुम परिषद्का संयोजक ईन्द्र राई बताउँछन् ।
आज पनि आसपासका किरातीहरु माघे संक्रान्तीको दिन त्यहाँ भेला भई मकर नुहाउने र ढुङगा्को पूजा गर्ने चलन रहेको पुजारी समेत रहेका राईको भनाइ छ ।
खुवालुङ, खुक्वालुङ र ख्वालुङ जस्ता नामले चिनिने सो स्थान किरातीहरुको पवित्र स्थान भएको बताइन्छ । त्यसको संरक्षण गर्न सके त्रिवेणी क्षेत्र किराती सुमदायको महत्वपूर्ण धार्मिक पर्यटनको क्षेत्रको रुपमा विकास हुने किरात मुन्धुम परिषद्का संयोजक राई बताउँछन् ।
विवाद समाधानको प्रयास
खुवालुङको विवाद समाधान गर्न केही समय अगाडि धनकुटाको शहीदभूमि गाउँपालिकाको वडा नम्बर १ त्रिवेणीमा बसेको दुवै पक्षको भेलामा निर्णय हुन सकेन ।
भेलामा उपभोक्ताका तर्फका उपभोक्ता समिति अध्यक्ष विशाल राई, सचिव शंकर तामाङ, शहीदभूमि– १ का अध्यक्ष अशोक राई, बेलका–७ का अध्यक्ष सुरेन्द्र राई, साविक हुतवागढी गाविस अध्यक्ष भूमि राई, कृष्ण राई, गणेश राईलगायतले ‘ज्यानमारा ढुंगा’ को व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।
जलपर्यटन व्यवसायी मिना श्रेष्ठ, नवीन पौडेललगायतले ढुङ्गो नफुटाउने हो भने पानीबाट निकालेर उचित व्यवस्थापन गर्न सुझाव दिए ।
तर खुवालुङ संरक्षणकर्मीहरुले जेटबोटलाई बाइपास गरेर लानुपर्ने बताउँदै आएका छन् । उनीहरुले खुवालुङको स्थान परिवर्तन गरिए देउताको शक्ति नाश हुने र महत्व समेत घट्ने तर्क दिएका छन् ।
खुवालुङ संरक्षणका लागि खुवालुङ संरक्षण समिति गठन भएको छ । योसँगै किरात धर्म संघ नेपाल, किरात मुन्धुम परिषद्, नेपाल आदिवासी जनजाति महासंघ धनकुटा, किरात याक्थुङ चुम्लुङ प्रदेश नं. १, याम्फू किरात समाजलगायत संघसंस्थाहरु खुवालुङको संरक्षणमा लागेका छन् ।
तस्बिरः ब्लाष्ट उपेन्द्र चाम्लिङ