बिर्तामोड । पूर्वकै प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा यो बर्षको शिवरात्रीको अवसरमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको छ ।

हरेक बर्ष बालाचतुदर्शीको समयमा महापुराण आयोजना गर्दै आएको जलेश्वरधामले यो बर्ष बार्षिक अनुष्ठान आयोजना गर्न सकेन । अनुष्ठान नहुनुका साथै कोरोनाका कारण भक्तजन नआउँदा जलेश्वरधाम सञ्चालनमा समस्या उत्पन्न भएको थियो ।

धाममा रहेका बटुकहरुलाई खाद्यान्न संकट भएको भन्दै धाम समितिले सहयोग गरिदिन सार्वजनिक अपिल गरेको थियो ।     

धाम समितिले शिबरात्रीको अवसरमा बुहत शिब ताण्डव नृत्य र शिव भजन गायन प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितात्मक नृत्य र गायन प्रतियोगितामा २ सय बढी कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक देविभक्त श्रेष्ठले बताए । बार्षिक अनुष्ठान गर्न कोरोनाले अवरोध भएपनि दातालाई शिवरात्रीको कार्यक्रमले धामसम्म ल्याउने बिश्वास रहेको श्रेष्ठले बताए ।

मंगलबार र बसधबार नृत्य र गायन अडिसन गरेर उत्कृष्ट १०–१० जना प्रतिभा छनौट गर्ने तयारी धाम समितिको रहेको छ ।

छानिएका उत्कृष्ठ १०–१० प्रतियोगिले शिवरात्रीका दिन फाइनल भिडन्त गर्ने छन् । शिव ताण्डव नृत्यमा प्रथम हुनेले ५१ हजार, दोस्रोले ३१ हजार, तेस्रोले २१ हजार र सान्त्वना ५ हजारका दरले दुइजनालाई पुरस्कृत गर्ने तयारी रहेको छ ।

यसैगरी भजन प्रतियोगितामा उत्कृष्ट ठहरिने प्रतियोगिलाई ३१ हजार, दोस्रोलाई २१ हजार, तेस्रोलाई ११ हजार र सान्त्वना दुईजनालाई दुइ हजारका दरले पुरस्कृत गर्ने योजना रहेको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नविन गट्टानीले बताए ।  

अडिसनमा सहभागी हुनका लागि कलाकारले १ हजार र भजन गायकले ५ सय रुपैंयाँ प्रवेश शुल्क बुझाउनुपर्ने नियम समितिले बनाएको छ । कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने समितिका अध्यक्ष गट्टानीले बताए । टाढाबाट आउने कलाकारका लागि खान र बस्नको ब्यबस्था गरिएको धाम समितिले जनाएको छ ।

यसै अवसरमा जलेश्वर धामले भूमिदान महाअभियान समेत चलाएको छ । भूमिदान गर्न चाहनेले प्रतिस्क्वायर फुट ३५० रुपैंयाँका दरले दान गर्न सक्ने बताइएको छ । यो पटक १० कठ्ठा जमिन खरिद गर्ने योजना बनाएको धामले ५ कठ्ठा जमिनका लागि दाता आइसकेको जनाएको छ ।