झापाको बिर्तामोडमा ३८ लाख रुपैयाँको लागतमा २७ फिटको ‘शिव’को प्रतिमा निर्माण भएको छ ।

प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक दाबी गरिएको शिव प्रतिमाको महाशिवरात्रीका अवसरमा (फागुन २७ गते) अनावरण गरिने छ ।

स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेव (शिव) को प्रतिमा स्थापना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

नौ फुट अग्लो आधारस्थल (जग) बनाएर त्यसमाथि बनाइएको शिवको प्रतिमा कला र सौन्दर्यका हिसाबले प्रदेश नं १ कै उत्कृष्ट र भव्य रहेको निर्माण समितिका संयोजक दीपक दाहालले बताए ।  

प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ । 

अनावरणपछि प्रतिमास्थल क्षेत्रको ५ सय मिटरको सडकलाई नमूना सडक बनाउन शुरु गरिने समितिले जनाएको छ ।