पत्रकारितालाई पेशा नै बनाउँछु भनेर हिँडियो । धनकुटामा रहेर एक राष्ट्रिय दैनिकमा काम गरिरहेको बेला शत्रु लाग्यो । त्यसपछि काठमाडौं गएर पत्रकारिता गर्ने इख लिएँ । तर, काठमाडौंमा रहेर पत्रकारिता गर्ने आधार खोज्दाखोज्दै मेरा मित्र जीवन भट्टराई (धरान–१७) ले भन्नुभयो, ‘धरानमा बसेर पत्रकारिता गर्नुहोस्, केही व्यवस्था गर्ने कोशिस म गर्नेछु ।’

जीवनजीको व्यवस्थापनअन्तर्गत तारा सुब्बा (धरान उपमहानगरपालिकाका पूर्व प्रमुख, हालः दिवङ्गत) ले लगानी खोज्ने र एउटा साप्ताहिक अखबार चलाउने योजना थियो । यो योजना असफल रह्यो । एकातिर श्रम जीवन गर्नुछ, अर्काेतिर पढाइलाई पनि अगाडि बढाउनु छ । त्यसैले मैले अङ्ग्रेजी र अर्थशास्त्रलाई मुख्य विषय बनाएर महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा नाम लेखाएँ । परीक्षाको मिति पनि आयो । तर, म पढाइमा महा लापरबाह ।

जेसुकै होस्, एउटा विषयमा चाहिँ परीक्षा दिन्छु भन्ने ध्येयले अनिवार्य नेपालीको चाहिँ परीक्षा दिने निर्णय गरेँ । परीक्षा फर्म पनि म आफैले भरेको होइन, मेरा साथी प्रतिमा विवस राईले भरिदिनुभएको हो । भोलिपल्ट बिहान ७ बजे परीक्षा छ । के पढेर परीक्षा दिन जाने भन्ने भयो । संयोग पनि कस्तो भने त्यतिखेर म छाताचोकमा डेरा गरेर बस्थेँ, महेश श्रेष्ठसँगै । त्यसैबेला काठमाडौंबाट मेरा साथी सरोज भण्डारी मेरो कोठामा पाहुना बनेर आउनुभयो । साह्रै राम्रो चित्रकार सरोजजी । धनकुटाको लेगुवा उहाँको जन्मस्थल ।

तर, दमको रोगले अल्पायुमै बित्नुभयो । हामी सँगै भित्तेपत्रिका चलाउँथ्यौँ, धनकुटा क्याम्पसमा । उहाँलाई समय दिँदादिँदै दिउँको ३ बज्यो । भोलिको परीक्षाका लागि मेरा मित्र सनद राईको सल्लाहअनुसार बीए प्रथम वर्षको अनिवार्य नेपालीको गाइड किन्न बजारमा निस्किएँ । त्यो गाइड लिएर रातभर पढेँ । त्यहीँ गाइड पढेको आधारमा भोलिको परीक्षा दिन भनी उठेको झण्डै ढिला भएछ । अघिल्लो रात भाइ डम्बरकृष्ण श्रेष्ठ मसँग बस्न आएका थिए । उनले भने, ‘अनिखेर तपाईंको परीक्षा आज होइन दाइ, उठ्नुस् ।’ त्यसपछि हत्त न पत्त उठेर परीक्षा दिन गएँ, डम्बरकृष्णको थोत्रो खिरखिरे साइकलको लिफ्ट लिएर । ८० नम्बरको परीक्षा लेखेर डेढ घण्टामा परीक्षा हलबाट निस्केँ । परीक्षाको नतिजा आउँदा ३९ प्राप्ताङ्क आएको रहेछ, हर्षोल्लास मनाएँ । मैले यो सफलता पाउनुमा प्रा.डा. टङ्क न्यौपानेद्वारा लेखिएको गाइडको मुख्य भूमिका छ । म उहाँप्रति कृतज्ञ छु । उहाँ त्यसबेला क्याम्पस प्रमुख हुनुहुन्थ्यो । तर, हामी दुईबीच कुनै संवाद भएन कुनै दिन पनि ।

वर्तमानमा सुखी र प्रतिष्ठित जीवन बिताएकाहरू विगतमा आफूले भोगेका दुःख–कष्टहरू बताउन हिच्किचाउँछन् । त्यस्तो आडम्बर नेपालीहरूमा प्रचुर देखिन्छ । वर्तमानको सुख र प्रतिष्ठा विगतको दुःख–कष्टले खोस्न नसक्ने गौरव हो, तर आडम्बरीहरूलाई यस्तो गौरवपूर्ण महŒवले छोए पो ! तर प्रा.डा. टङ्कप्रसाद न्यौपाने वर्तमानको सुख र प्रतिष्ठा प्राप्ति हिजोको आफ्नो गरिबी, दुःख–कष्ट र सङ्घर्षलाई नआइत्तिकन सामना गरी प्राप्त भएको सम्पत्तिका रूपमा लिनुहुन्छ । उहाँमा  विगतमा आफू निम्नभन्दा अति निम्न परिवारबाट आएको, अनि मन्दिरमा चढाइएका अक्षताहरू बटुलेर धोई पखाली भात पकाएर खाई हुर्किएको हाकाहाकी भन्नुमा गौरव गर्नुहुन्छ ।

उनै प्रा.डा. न्यौपाने नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषामा सेवा गरेबापत पुरस्कृत भएको सुन्न पाउँदा यो लेखकलाई कम्ती आनन्द आएन ! तीन वर्षअघि पनि उहाँकै सन्दर्भमा एउटा आनन्ददायक खबर पाएको थिएँ । टङ्क सरको नागरिकस्तरबाट अभिनन्दन हुने खबर मेरो लागि खुसीको विषय नहुने कुरै भएन । त्यसको लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रस्तावक भएको खबरले खुसीमाथि खुसी थपेको थियो ।

कर्म गरिरहे प्रतिभाको पहिचान हुने रहेछ । भाषाशास्त्री तथा साहित्यसेवी टङ्क सरको कर्मले यस्तै सन्देश दिन्छ । म धरानमा साढे चार वर्षजति बसेँ, पत्रकारिता र स्नातक तहको अध्ययन गर्दै । म स्नातक तहको विद्यार्थी हुँदा टङ्क सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो । म पाहुनाजस्तो विद्यार्थीलाई उहाँले चिन्ने कुरै भएन । तर, मेरा लागि टङ्क सर अपरिचित हुनुहुन्नथ्यो । एउटा सञ्चारकर्मीको हिसाबले म उहाँसँग जति नजिक हुनुपर्ने हो, त्यसबेला त्यो सम्बन्ध कायम भएन हामीबीच । म २०५२÷५३ सालतिरको कुरा गर्दैछु । 

उहाँ क्याम्पस प्रमुख भइरहेको बेला उहाँले आस्था राख्ने पार्टी नेपाली काङ्ग्रेससमर्थक प्राध्यापकहरू नै उहाँको विरोधमा उत्रिएका देखिए । बनारसबाट प्रतिबन्धित नेपाली काङ्ग्रेसको पर्चा बोकेर नेपाल आउँदा राजकाज मुद्दा खेप्ने टङ्क सरलाई उहाँकै पार्टीनिकट प्राध्यापकहरूले किन खेदो खनेका होलान् भनी सोच्थेँ । तर, यसबारेमा भित्री कुरा कहिल्यै बुझ्ने प्रयास गरिनँ । त्यसबेलासम्म क्याम्पस प्रमुखबाट राजीनामा दिइसक्नुभएको थियो, उहाँले । उहाँले प्रशासनको झन्झटिलो बोझबाट मुक्त भएर कक्षा कोठामा ज्ञान बाँड्न थालिसक्नुभएको थियो । पछि महेन्द्र बहुमुखी क्याम्पसबाट मैले स्नातक तहको पढाइ पनि सकेँ । त्यसपछि धरान पनि छाडेँ मैले ।

मैले सुरुमा धरानमा सङ्गत गरेका साथीहरू टङ्क सरको विषयमा कुरा गर्दै भन्थे, ‘टङ्क सर त सुकुम्बासी हो नि !’ छाताचोकका चिया पसलमा बसेर गफिने प्राध्यापकहरू उहाँको कुरा काट्दै उहाँलाई ‘लघुमानव’ भनिरहेका हुन्थे । उहाँको शारीरिक बनावट सानो कदको भएकोले उहाँलाई लघुमानव भनेका होलान् । तर, टङ्क सरभित्र मैले कहिल्यै लघुताभास भएको अनुभूति गरिनँ । विद्वताको कसीमा उहाँको कुरा गर्ने हो भने उहाँका कर्म नै घामजस्तै छर्लङ्ग छ । त्यसैले टङ्क सर लघुमानव हुनै सक्नुहुन्न । उहाँ हिमालचुली हुनुहुन्छ । 

...

पछि रहर र बाध्यताको मिश्रण बोकेर म काठमाडौं आएँ । काठमाडौंमै पत्रकारिता र प्राध्यापन दुवै पेशालाई समानान्तर रूपमा अघि बढाउँदै थिएँ । अचानक टङ्क सरको फोन आयो, ९ वर्षअघि । उहाँ आठपहरिया भाषामा विद्यावारिधि गर्ने क्रममा धनकुटामा अनुसन्धानरत हुँदा जिल्ला विकास समितिमा एकपटक भेट हुँदा उहाँलाई मैले आदरसाथ नमस्कार गरेको थिएँ । उहाँले नमस्कार त फर्काउनुभयो, तर उहाँका निम्ति अपरिचित थिएँ म । उहाँले आफ्नो विद्यार्थी सम्झेर होला, यति मात्रै भन्नुभयो, ‘के छ ?’

एक दिन धरानबाट मलाई टेलिफोन गर्दा चिरपरिचित व्यवहार गर्नुभयो । सोचेँ, टङ्क सरका लागि अनुहारले आफू परिचित नभए पनि मेरा कर्महरूसँग उहाँ परिचित हुनुहुँदोरहेछ । खासगरी दीपा एवाई राईको कविता सङ्ग्रहको विमोचनको मिसन लिएर टङ्क सर काठमाडौँ आउँदै हुनुहुन्थ्यो । म एउटा सञ्चारकर्मी भएको नाताले मलाई निम्तो दिन पनि उहाँले मसँग सम्पर्क बढाउनुभएको भन्ठानेँ । 

...

टङ्क सरसँग काठमाडौंमा भेट भएपछि सोचेँ, भाषा र साहित्य भनेपछि हुरुक्क हुने यी विद्वान्को बारेमा आफू कार्यरत अखबारको परिशिष्टाङ्कमा केही लेखौँ न त । पूर्वाञ्चलमा रहेर बालकृष्ण पोखरेलपछि भाषाशास्त्रमा हलचल मच्चाइरहेका यी विद्वान्का अन्तरकुन्तर खोतलेर प्रकाशमा ल्याउने विचारले बागबजारको जयदुर्गे गेष्ट हाउसमा उहाँसँग भेट गर्न गएँ । उहाँ बोल्दै जानुभयो, मैले टिप्दै गएँ । उहाँले आफ्नो जीवनका अन्तरकुन्तरका कुरा जति बोल्दै जानुभयो, उति म भावुक हुँदै गएँ । उहाँका विषयमा टिपन टापन गरेर कार्यालयमा फर्केर एउटा फिचर लेखिसक्दा म कतिसम्म भावनामा डुबेँछु भने मेरा दुवै आँखा ओभानो थिएनन् । फिचर टाइप गरिसकेपछि मैले आँखा पुछेँ । दुःख र सङ्घर्षले निर्माण भएको उहाँको विराट व्यक्तित्वलाई हात उचालेर सलाम गरेँ । हाम्रो भेट काठमाडौंमा भयो, आत्मीयता साटियो । काठमाडौंको भेटपछि मात्रै मैले टङ्क सरलाई भित्री रूपमा चिनेँ । उहाँका आन्तरिक सङ्घर्षका आयामहरू अध्ययन गर्ने मौका पाएँ । त्यसपछि हो, मेरो टङ्क सरप्रतिको आस्था बढेर गएको । मेरो आस्थाका केही सीमित हिमालचुलीहरूमध्ये एक हुनुहुन्छ, टङ्क सर ।

सानै हुँदा आमा बित्नु । अर्काको दूध खाएर हुर्कनु । बुबा पक्षाघातग्रस्त हुनु । दुवै बाबुछोरा धनकुटाको चुङ्माङबाट जीविकाको मेलो खोज्दै तीन दिन हिँडेर विजयपुर आइपुग्नु । त्यहाँको मन्दिरमा बास बस्नु । दान र सहयोगबाट बाबुछोराको वृत्ति चल्नु । यस्तो अवस्थामा गुज्रेर पनि पढाइमा अब्बल हुनु । पढाइलाई निरन्तरता दिनु । पढाइ सकेर शिक्षण पेशामा लाग्नु । त्यतिखेरै एउटा ठूलो विद्वान् घरानाका चेलीसँग उहाँको मगनी सम्पन्न हुनु । यो मगनीलाई लिएर धरानमा अचम्मले हेरिनु । विहेलगत्तै जेल पर्नु । छुटेर आएपछि अनेक सङ्घर्षको भुमरीमा पर्नु । प्राध्यापन सुरु गर्नु । विद्यावारिधि गर्नु । अनि प्राध्यापक पदमा पुग्नु ।

जीवनमा यी आयामहरूबाट गुज्रँदा टङ्क सरभित्रको धैर्यता सामान्य खालको थिएन भन्ने स्पष्ट हुन्छ । उहाँमा यस्तो धैर्यता नभएको भए त टङ्क सरका विषयमा यी पङ्क्तिहरू लेखिने थिएनन् । अहिले हामी उहाँको बारेमा लेख्न पाउँदा गौरव अनुभूति गर्छौं ।

...

विस्तारै टङ्क सरको व्यस्तता बढ्दै गएको देखियो । कहिले कुन साहित्यिक कार्यक्रमको प्रमुख अतिथि, कहिले कहाँको सम्मान तथा पुरस्कार ग्रहण । कहिले साहित्यिक यात्रा । कस्तो लाग्न थाल्यो भने पूर्वाञ्चलमा टङ्क सर नै सम्पूर्ण रूपमा यो वा त्यो नभनी भाषा तथा साहित्यको नेतृत्व गरिरहनुभएको छ । फेरि हरेक कार्यक्रम हुनुभन्दाअघि र कार्यक्रम सम्पन्न भएपछि टङ्क सरको फोन आइहाल्ने, ‘राजकुमारजी, यस्तो पनि हुन लागिरहेको छ त । यसो पो गरियो त हौ ।’ पूर्वाञ्चलमा अरू पनि छन्, प्रा.डा.हरू । तर, टङ्क सर सबैभन्दा व्यस्त । 

‘सरले आजभोलि खुब व्यस्त हुनुहुन्छ नि ?’ काठमाडौं आएको बेला जयदुर्गे गेष्ट हाउसमा उहाँलाई सोधेँ । ‘तपाईंले गर्दा त हो नि यो सबै भएको’ उहाँले म आफूलाई अचम्म पार्ने खालको पो उत्तर दिनुभयो । मैले नाक र आँखा खुम्च्याएर फेरि सोधेँ, ‘कसरी ? मैले के गरेँ र ?’

‘तपाईंले मेरो बारेमा जुन ढङ्गले प्रकाश पारिदिनुभयो, मेरो बारेमा धेरैले थाहा पाएछन्, त्यसपछि मेरो व्यस्तता बढिहाल्यो नि’ उहाँले म आफैलाई आश्चर्यमा पार्ने उत्तर दिनुभयो । टङ्क सरको सङ्घर्ष र विद्वताको बारेमा मैले फिचरमा लेखेपछि उहाँको व्यक्तित्वका बारेमा धेरैलाई अवगत भयो र उहाँजस्तो सङ्घर्षबाट खारिएर आएका विद्वान्लाई सम्मानित र पुरस्कृत गर्नुपर्ने आवश्यकता ठाने विद्वत्पूजकहरूले । 

जब मैले अन्नपूर्ण पोस्ट दैनिकको २०६६ साल माघ ६ गतेको अङ्कमा टङ्क सरको फिचर प्रकाशमा ल्याएँ, त्यसको केही दिनपछि तत्कालीन पुरानो बानेश्वरस्थित ‘गुरुकुल’ परिसरमा भेट हुँदा भट्टराई सर (प्रा.डा. गोविन्दराज भट्टराई) र कुमार सर (डा. कुमार कोइराला) ले मलाई स्याबासीको धाप मार्नुभएको थियो । उहाँहरूले भन्नुभएको थियो, ‘एउटा असल मानिसको बारेमा लेख्यौ है भाइ ।’

एकातिर यस्तो स्याबासी पाउनु, अर्कातिर टङ्क सरको व्यस्तता बढ्नुले स्पष्ट हुन्छ, सूचनामा शक्ति छ । सूचना ज्ञान हो र ज्ञान शक्ति हो । मैले सञ्चारलाई यसरी नै बुझेको छु । एउटा ओझेलमा परेका विद्वान्को विषय प्रकाशमा ल्याउन पाउनु मेरै लागि गौरवको विषय थियो । यसअघि लेखेरै प्रतिभाशाली कलाकार कुवेर राईलाई पुनस्र्थापित गर्न पहल गरेको, तीनधारा संस्कृत छात्रावासको एकाधिकार तोड्न सफल भएको यस प्रसङ्गमा पनि सम्झना आउने गर्छ ।

यही फिचर पढेर तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले टङ्क सरबारे ‘अक्षरको अभिवादन’ प्रकाशमा ल्याउनुभएको रहेछ । मैले त यो अग्रज विद्वत्पूजक शिवाकोटीकै शब्दहरूबाट यो सूचना पाएँ ।

...

सबैलाई थाहा छ, टङ्क सर एउटा निश्चित विचारमा आबद्ध हुनुहुन्छ । त्यही विचारले देशको राजनीतिक परिवर्तनमा लाग्दा उहाँले जेलनेल भोग्नुभयो । तर, उहाँले आफ्नो विद्वत् कर्ममा यो विचार वा यो जाति भन्नुभएन । अझ उहाँले सीमान्तकृत समुदायको भाषाको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यसैले सबै पक्षबाट उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ । सबै पक्ष उहाँलाई सम्मान गर्न त्यतिकै तयार भएका होइनन् । यस्ता विद्वान्को खोजी खोजी पूजा गर्नुपर्छ ।