विषय प्रवेश: नेपालमा हरेक वर्ष आउने फाल्गुण कृष्ण चतुर्दशीका दिनलाई महाशिवरात्रि पर्वका रूपमा विशेष रूपमा चिनिन्छ । ॐ नमः शिवाय भक्तिमार्गमा यो पञ्चाक्षरी मन्त्रको जप हुन्छ । ज्ञान मार्गमा शिव तत्वको ध्यान र मनन् हुन्छ । यस दिन भगवान शिवको मन्दिरमा गई शिवको दर्शन गर्नाले दिव्य ज्ञान प्राप्त भई सुख, समृद्वि र भक्ति प्राप्त हुने सनातनदेखि चल्दै आएको पौराणिक कथन छ । तिथि अनुसार यसवर्ष २७ गते वृहस्पतिबार परेको छ ।
महाशिवरात्रि पर्व परम्पिता परमात्मा शिव कलियुगको अन्त्य र सत्ययुगको शुभारम्भ पूर्व वर्तमान सङ्गम युगमा गरिएका दिव्य एवम् अलौकिक कर्तव्यहरूको यादगार पर्व हो, शिवरात्रि । आध्यात्मिक जगत्का आचार्यहरूका अनुसार शिवको बासस्थान कैलाशलाई काखमा लिएर बसेको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल भूमि विश्व ब्रह्माण्डको मानचित्रमा महत्वपूर्ण स्थान ओगटेको छ । त्यसैले हिन्दु देश नेपाल भनेर कहलिएको छ ।
शिवमा विचित्रता, उर्वरता र कल्याणकारिता रहेको छ । शिवलिङ्ग शिवको ज्योतिर्मय निराकारको स्वरूप हो । शिवरात्रिलाई नेपाल भाषामा ‘शिला चहे्र पूजा’ भनिन्छ । नेपालका प्रसिद्ध महादेव शिवका मन्दिरहरूमध्ये काठमाडौंमा भगवान पशुपतिनाथ र गोकर्णको गोकर्णेश्वर, ललितपुरमा कुम्भेश्वर, सन्तानेश्वर र तीलेश्वर, काभ्रेमा धनेश्वर र आशा पुरेश्वर, गोरखामा बाबा गोरखनाथ, जुम्लामा चन्दननाथ, महोत्तरीमा जलेश्वर महादेव, खोटाङमा हलेसी महादेव, सप्तरीमा शम्भुनाथ र धरानको विजयपुरमा अमृतपिण्डद्वारा निर्मित पिण्डेश्वर ताम्रलिङ्ग प्रसिद्ध छन् ।
यसदिन पञ्चामृत, गङ्गाजल र बेलपत्र आदिले शिवको पूजन गर्नाले विशेष पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । ठूला–ठूला योगी महात्माहरू पनि आपूmलाई सिद्धि प्राप्त गर्न शिव शक्ति माग्दछन् । यस्ता साकार र अलौकिक शक्ति भएका चराचर जगत्का सञ्चालक देवादिदेव महादेव शिवको पूजा आराधना गर्नाले सम्पूर्ण दुःख दरिद्र, कष्ट, भय, सङ्कट आदि नाश भएर जान्छ भन्ने ठूलो धार्मिक विश्वास रहिआएको छ ।
नेपाल र भारत आध्यात्मप्रधान देश हुन् । जति नेपाल र भारतमा शिवरात्रि मनाइन्छ, त्यति विश्वका अन्य कुनै देशमा मनाइँदैन । समस्त विज्ञान, कला संस्कृतिका मूल, सङ्गीत र नृत्यको मूल पनि भगवान शिव नै भएकोले महाशिवरात्रिको आदर्श महिमा अनन्त र अपार छ । शिवलाई जगत्पिता पनि भनिन्छ । त्यसैले महाशिवरात्रिको महत्व बढी रहन भएको हो ।
पौराणिक पृष्ठभूमि :
शिवरात्रिलाई शिवजी उत्पन्न हुनुभएको रातको नामबाट अर्थात् ‘शिव+रात’ बाट ‘शिवरात्रि’ शब्द बन्न गएको छ । रात्रिहरूमा चारवटा रात्रिको बढी महत्व रहेको छ । १.कालरात्री (दशैंको नवरात्रि) २. मोहरात्रि (कृष्णाष्टमीको रात्रि) ३. सुख रात्रि (लक्ष्मीपूजाको रात्रि) ४. शिवरात्रि (फाल्गुन कृष्ण चतुर्दशीको रात्रि) यी चार प्रमुख रात्रिहरूमध्ये शिवरात्रिको अझ विशेष महत्व रहेको छ ।
शिव पुराणमा उल्लेख भएअनुसार पृथ्वी उत्पत्ति गर्ने, विष्णु, ब्रह्मा आदि सबै देवताहरूको उत्पन्न गर्ने र पालना गर्ने उनै शिव हुन् । भगवान शिव नै सृष्टिको आदि कारण हुन् । यसै दिन ज्योतिर्लिङ्गको उत्पत्ति भएको कुरा इसान संहितामा वर्णित छ । यसै दिन भगवान शिवको विवाह पार्वतीस“ग भएको मानिन्छ । पुराणका अनुसार शिव ब्रत सम्पन्न गर्नेले अक्षय पुण्य पाउँदछ । निराहार ब्रत र रात्रि जागरण यस पर्वका मुख्य अङ्ग हुन् ।
शिवरात्रिको आरम्भ र महत्व
पुराणमा उल्लेख भएअनुसार सम्पूर्ण सृष्टिपछि पार्वतीले एकदिन वर्षभरिको त्यो कुन दिन हो, जुन हजुरलाई साह्रै मन पर्छ भनेर सोध्दा फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी मेरा लागि सर्वप्रिय दिन हो भनी शिवले बताएबाट नै शिवरात्रिको सुरुवात भएको मानिन्छ । ज्योतिष शास्त्रमा उल्लेख भएअनुसार यसै दिन चन्द्रमा सूर्यको समिपमा पुग्दछन् । अतः कहिलेकाहीँ शिवरात्रिको भोलिपल्ट सूर्यग्रहण हुन्छ । यसरी तिथिहरूमा जीवरूपी चन्द्रमाको परमात्मारूपी सूर्यसँग सन्निकट योग हुन्छ ।
अतः यस दिनमा गरिएको साधना सफल हुन्छ भन्ने विश्वास रहेको छ । शिवसँग सम्बद्ध शिवजीको परम्प्रिय तिथि फाल्गुन कृष्ण चतुर्दशी नै शिवरात्रि महा पर्व हो । यस्ता कल्याण मूर्ति भगवान शिवसँग सम्बन्धित पर्व भएकोले महाशिवरात्रिको महत्व बढी रहन गएको हो । विश्वको सर्वोच्च हिम शृङ््खलाको टाकुरा सगरमाथाद्वारा सुशोभित हाम्रो देश नेपाल मानव सभ्यता र संस्कृतिको एक प्रमुख उद्गमस्थल नै भएको छ । यहाँका हिमाली लेक, पाखा, उपत्यका बेंसी फाँटमा बस्ने हाम्रा पितृ पुर्खाहरूले प्राचीनकालदेखि नै परम्परा र मान्यता तथा धारणा विश्वास गरी आत्मसात गरे ।
युगको प्रवाहमा नेपालमा गोपालवंश, किरातवंश, लिच्छवी वंश, मल्ल वंश र शाहवंशको उदय भयो । आज गणतन्त्रको उदय भइरहेको छ । ती सबै वंशले परम्परागत सांस्कृतिक महाशिवरात्रिको महत्व आत्मसात गर्दै आइरहेछ ।
(लेखक कर्माचार्यः धरानका विभिन्न तथ्याङ्क, खोजमूलक, स्तम्भकार एवम् विश्व हिन्दू महासङ्घ सुनसरीका सचिव हुन् ।)