भरौल। रामधुनी नगरपालिका–२ शिवनगरमा आदिवासी थारू समुदायको पहिचान, संस्कार, संस्कृति झल्काउने सङ्ग्रहालय निर्माण गरिएको छ । 

सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष फागुलाल चौधरीका अनुसार थारू जातिको मानव जन्मदेखि मृत्युसम्मका विषयलाई सङ्ग्रहालयमा सङ्ग्रह गरिएको छ । सङ्ग्रहालयको भित्तामा समुदायको जीवनी चित्रण गरिएको छ ।

 सङ्ग्रहालयमा समुदायको जीवनी परापूर्व कालदेखि कृषिक्षेत्रमा आश्रित रहेको देखाइएको छ । धान दाउनी गर्ने मेह, धानको बिउ राख्ने मेर, पशुपालनका लागि परालको छात, बाँस र काठको घर, आङ्न, बसघरा, खानेपानीका लागि इनार, खानेपानी राख्ने घैल्ची, चामल बनाउने ढिकी, जाँतो, औखल, मुसराको चित्रण गरिएको छ । 

परापूर्वकालमा सामान ओसार– पसारका लागि प्रयोग गरिने बैलगाडा, सामान राख्ने सन्दुक सङ्ग्रहालयमा सजाइएको छ । परापूर्वकालमा साह समुदायले थारू गाउँमा खानेतेलका लागि पुरानो मेसिन कौल प्रयोग गरी आलस, तोरीबाट निकालिने तेल, विश्वकर्मा समुदायले थारू गाउँमा कृषि औजार निर्माण गरेको, ठाकुर समुदायले कपाल मिलाउने काम गरेको चित्रण गरिएको छ ।

 थारू महिलाको हस्तकला कोहबर, धमा, ढेकिया, मना, दौरा, पटियासमेत राखिएको छ । थारू महिला र पुरुषले लगाउने पोसाक पनि देखाइएको छ । सङ्ग्रहालयका समितिले थारू समुदायको परम्परागत धुम्रा नाच, थारू महिलाले गाउने गाउने बिरहैन गीतसमेत संरक्षणका लागि समिति लागिपरेको छ । यहाँ थारू समुदायको परिकारहरू घोङ्ही, बगिया, सिद्रा, चटनी, भुजाको लड्डु रहेकोे छ ।

tharu