खानाको अद्भूत स्वाद लिन तारे होटलमै पस्नु पर्छ भन्ने तपाईंको सोच छ ? होइन भने तपाईं सडक खानाको स्वाद र त्यसको पारखी हुनुपर्छ । ‘सडक खाना’ वा ‘तयारी खाना’ यसलाई ‘फास्टफुड’ र ‘स्ट्रिट फुड’ भन्दा नै जिब्रोमा ट्वाक्क झुण्डिहाल्छ ।
तर यसको अर्थ, यो ठोकुवा गर्न खोजेको होइन कि ‘स्ट्रिट फुड’ शतप्रतिशत स्वस्थकर छ । यो अर्थमा चाहिं तपाईं आफैं सचेत हुनुपर्छ । तर अहिले ‘स्ट्रिट फुड’को ‘क्रेज’ बढ्दो छ । अझ धरानको सवालमा त यो लामो समयदेखि लोकप्रिय छ ।
ठूलाठूला शहर । धनाड्य व्यक्तित्व । तर मोह भने सडक खानपानको । बिहान दिउँसो जहाँ खाजा, खाना खाए पनि साँझ परेपछि र रातको खाना चाहिं स्ट्रिट फुड नै चाहिन्छ ।
ठेलागाडामा पाइने पानीपुरी, आलुनिम्की, चनाचटपटेदेखि सुरु भएको मोबाइल रेष्टुराँमा अहिले तारे होटलका परिकार सजिलै पाइन थालेको छ । मःमः, चाउमिन, ससेज, ड्रमस्टिक, फ्राइडराइस, एगरोल, पकौडाहरु साझा खाना भएका छन् । त्यसका अलावा बिरयानी, कवाफ, बारालगायतका खाना पनि लोकिप्रिय छन् ।
धरानको भानुचोकमा बदाम, पोलेको मकैदेखि मःमः, चाउमिन, फ्राइड राइस, तारेको आलुदेखि सेकुवा, बिर्यानीसम्म पाइन्छ । छेउछाउमै ठूला र नाम चलेका होटल छन् तर युवायुवतीको मोह फास्टफुड र स्ट्रिट फुडमै छ ।
धरानको घण्टाघरले सात बजेको घण्टी बजाएको छ । दर्जन बढी फास्टफुडका मोबाइल गाडी र ठेला व्यस्त छन् । पारखीहरु रातको खानाको सट्टा नै फास्टफुड खाइरहेका जस्ता देखिन्छन् ।
फ्राइडराइस र बिर्यानी धेरैको रोजाइमा परेको देखिन्छ । मःमः, चाउमिन, ससेज र ड्रमस्टिक पनि उत्ति नै पस्किरहेका छन् । यो भोक र स्वादको चहलपहल हेर्दा लाग्छ, पश्चिमतिरको धरान किचन, दक्षिणतिरको सन्ध्या इन, उत्तरतिरका गोर्खा किचन र हङ्ग्री आइ पनि उसैगरी भोकाइ रहेका छन् ।
मैले यो पललाई कैद गरौं भन्ने विचार गरेर क्यामेरा अन गरें ।
म पनि स्ट्रिट फुडको पारखी । त्यसैले पनि यो आइडिया पहिलेदेखि नै आएको हो । केही दिन अघि परिवारसँग बसेर मैले पनि फ्राइड राइस, ड्रमस्टिक र भेज मःमः खाएको थिएँ । त्यतिबेला फास्टफुडवाला साथीले तातो तेल हातमा खनाएको थियो । काम गर्दै जाँदा गल्तीवस यस्ता दुर्घटना हुन्छन् । फोटो खिच्नु अघि सोधें । ‘हात कस्तो भो ?’ ‘यस्तै हो कहिलेकाहीं’ उसले भन्यो र मैले उसँगै फास्टफुड सञ्चालकहरुलाई भने, ‘ल साथी हो म त फोटो खिच्नँ आएँ है ।’
उसले मेरै लागि केही पोज दियो ।
मैले वरपरका दुईचार तस्बिर खिचें ।
खानाको कुरामा हामी लजालु हौं । घरमै पनि वा आफन्तकहाँ थपीथपी खान पनि हामीलाई लाज लाग्छ । त्यसैले साथीभाइ र पाहुनालाई खाना पस्किसकेपछि हामी भन्छौं ‘न लजाई खानू है ।’
म त स्ट्रिटफुड पारखीको फोटो खिच्दै छु । कोही निर्धक्क ‘खिच्नुहोस् न त’ भन्छन् । कोही ‘ला, मेरो पनि खिच्न लागेको ? हुँदैन है ।’ भन्छन् । तर हामी फोटो खिच्ने मामिलामा कसैको पनि नसोधी फोटो खिच्दैनौं ।
मैले फोटो खिच्ने क्रममा यही अप्ठेरो भो ।
भानुचोकमा उभिएका ‘भानु’ को फोटो घण्टाघरलाई पृष्ठभूमि पारेर खिच्दै थिएँ । त्यतिकैमा सेतै कपाल र सेतै दारी फुलेका व्यक्ति मेरो फ्रेममा पर्नु भयो । क्यामेराबाटा आँखा निकालेर हेरें । भीम सर हुनुहुँदो रहेछ । उहाँ पनि बडो उदारताका साथ हाँस्नु भयो ।
मैले नमस्कार गरें । प्रा.डा. भीम खतिवडा । व्यस्त सडकको बीचमा भानुचोक । भानुचोक मुन्तिर उज्यालोमा उभिरहनु भएका सरको केही हराएको होइन रहेछ । उहाँ त रमेश सरलाई पर्खिरहनु भएको रहेछ । डा. रमेश घिमिरे । भीम सरले हाम्रो भेटको किस्सा सुनाउनु भयो । र उज्यालोमा एउटा सेल्फी लिनुभयो ।
खानाको कुरामा एउटा तस्बिर खिच्ने बहानाको कुरो बीचमा घुसाएँ ।
धेरै स्ट्रिटफुडका पारखीले फोटो खिच्न मानेनन् । अझ ब्लाष्टबाट भनेपछि त ‘ला, भोलिको पत्रिकामा आउँछ, हैट हुँदैन ।’ भने । कतिपय घुम्ती रेष्टुराँकाहरुले ‘हामीलाई उठाउन आँटेको हो ?’ पनि भनें । मैले त्यसो होइन । धरानको साँझको ‘लाइफस्टाइल’ खिचेको भनें । र फेरि दुईचार तस्बिर झल्याकझुलुक पारें ।
तस्बिरमा हेरौं ।