वैदेशिक रोजागारीको नाममा ठगी गर्नेलाई कारबाही गर्ने कानूनको अभाव देखिएको भन्दै कडा कानून ल्याउनु पर्ने मंगलबार धनकुटामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताले जोड दिएका छन् ।
वैदेशिक रोजागारीको क्रममा भइरहेको ठगी न्यूनीकरण विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताले यस्तो धारणा राखेका हुन् ।
ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) इटहरी सुनसरीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिका धनकुटाका प्रमुख पर्शुराम नेपालले वैदेशिक रोजगारीको क्रममा भइरहेको ठगीलाई न्यूनीकरण गर्न कडा भन्दा कडा कानून ल्याउनु पर्नेमा जोड दिएका छन् ।
उनले कडा कानून नभएका कारण प्रहरी र स्थानीय प्रशासनले वैदेशिक रोजगारीको क्रममा भएको आपराधिक घटनाका आरोपितलाई तथ्य प्रमाण हुँदाहुँदै पनि कारबाही गर्न नसक्ने औंल्याए ।
ठगीको मुद्दा मिलापत्र गर्न बाध्य
त्यसैगरी चौबिसे गाउँपालिकाका उप–प्रमुख यज्ञकुमारी रुचालले स्थानीय तहमा रहेको न्यायिक समितिले कुनै वहानामा भएको लेनदेन र ठगीको विषयमा कानूनको अभावमा दुवै पक्ष राखेर मिलापत्र गर्नु बाहेक अन्य विकल्प नरहेको बताइन् । धनकुटाको स्थानीय तहमा गठित न्यायिक समितिमा हालसम्म वैदेशिक रोजगारी सम्बन्धि ठगीको मुद्दा नपरेको समेत रुचालले स्पष्ट पारिन् ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले वैदेशिक रोजगार सम्बन्धी ऐन २०६४ मा कानून फितलो भएकाले ठाडो उजुरीको भरमा आएको ठगीको मुद्दामा कसैलाई थुन्न नमिल्ने बताए ।
उनले वैदेशिक रोजगारीमा ठगी गर्ने अपराधीलाई कारबाही गर्ने कानूनी आधार नभएको बताए । अपराधी भेटियो भने पनि हातमा नेलकडी लाउन नमिल्ने फितलो कानून रहेको प्रजिअ दाहालको भनाइ छ ।
एउटै टोलका नौ जना ठगिए, जनही ५ लाख ठगी
कार्यक्रममा सहभागी मोरङ सुन्दरहरैंचा–४ की रन्जना घिमिरे खडकाले वैदेशिक रोजगारीमा जाने क्रममा आफ्नो श्रीमान लगायत आफ्नो टोलका ९ जनालाई धनकुटाका हरिकुमार राई, केदार राई र किशन राईले जनही साडे ५ लाखको दरले ठगी गरेको खुलासा गरिन् ।
खड्काले आफ्नो परिवारसहित सुन्दर हरैचाका हिमा राई, लक्ष्मी अधिकारी, देविका खत्री, लोकमाया राई, पाख्रिबास नगरपालिका वडा नं.१० चुङवाङका मेहरमान तामाङ, धनकुटा–६ का मणीकुमार राई लगायतका परिवारबाट कम्बोडिया लान्छु भन्दै लाखौं रुपयाँ ठगी गरेको बताइन् ।
उनले श्रम मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र वैदेशिक रोजगारीको क्रममा भैरहेको ठगी न्यूनीकरण गर्न आयोजना सञ्चालन गरिहेको संस्था ग्रामिण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनामा समेत निवेदन दिंदा कतैबाट सुनवाई नभएको गुनासो गरिन् ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख गोविन्द अधिकारीले प्रहरीले दोषीहरुको खोजतलास गरिरहेको बताउँदै प्रहरीले केही काम नगरेको जस्तो आरोप नलगाउन अग्रह गरे । उनले वैदेशिक रोजगारी सम्बन्धि अपराध गर्नेलाई कारबाही गर्ने अधिकार कानूनी रुपमा प्रहरीलाई नभएको बताए ।
दुई वर्षमा झण्डै १५ सय विदेशिए
सो अवसरमा ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजना धनकुटाका सूचना सहायक सुरेन्द्र लिम्बूले ०७५ फागुनदेखि ०७७ फागुन २२ सम्ममा महिला १४ सय ८७ र पुरुष २६ सय ३४ गरी ४ हजार, १ सय २१ जना वैदेशिक रोजगारीमा गएको जानकारी दिए ।
१२ को ज्यान गयो १९ जना समस्यामा
जस मध्ये वैदेशिक रोजगारीको सिलसिलामा दुर्घटनामा–१ जना, ठगी मुद्दामा ९ जना, मृत्यु १२ जना, जेलमा २ जना, बिरामी २ जना गरी जम्मा ३८ जनाको विभिन्न समस्या रहेकोमा १९ जनाको समस्या सामाधान भइसकेको र १९ जनाको प्रक्रियामा रहेको बताइएको छ ।
पीडित परिवारका सदस्यलाई बिमा कम्पनी, वैदेशिक रोजगार बोर्ड र गन्तव्य मुलुकबाट यो अवधिमा १ करोड, २० लाख ३८ हजार क्षतिपूर्ति दिइसकिएको सूचना सहायक लिम्बूले जानकारी दिए । वैदेशिक रोजगारीको नाममा अधिकांशलाई भिजिट भिषामा लगेर ठगी गर्ने गरिएको पाइएको लिम्बूले बताए ।
सो अवसरमा पिपुल फोरमका अध्यक्ष एवम् कानून व्यवसायी कृष्ण न्यौपानेले वैदेशिक रोजगारी सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।
उनले वैदेशिक रोजगारी ऐन २०६४ को विशेषता, वैदेशिक रोजगार ऐनमा भएको संशोधन र वैदेशिक रोजगार सम्बन्धी पालिकाको दायित्व बारेमा सहजीकरण गरेका थिए ।
सो अवसरमा उनले नेपालको कुल जनसंख्याको २६ प्रतिशत मान्छे वैदेशिक रोजगारीमा रहेको र राष्ट्रिय अर्थतन्त्रमा रेमिट्यान्स मार्फत् २३ प्रतिशतले टेवा पुर्याएको जानकारी दिएका थिए ।
ग्रामिण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाका शाखा अधिकृत जीवन श्रेष्ठले कार्यक्रमले धनकुटा जिल्लामा वैदेशिक रोजगारीको सिलसिलामा भएको ठगीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने आशा व्यक्त गरे ।
उनले धनकुटाको महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिका, छथरजोरपाटी, शहीदभूमि र चौबिसे गाउँपालिकामा कार्यक्रम संचालन भइरहेको पनि स्पष्ट पारे ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा शहीदभूमि गाउँपालिकाका प्रमुख मनोज राई, चौबिसे गाउँपालिकाका प्रमुख खजिन्द्र राई, धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला बस्नेत, महालक्ष्मी नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ, शहीदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई लगायतको उपस्थिति थियो ।