विभाजित एमालेका नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले सप्तकोशी नदीमा रहेको ‘खुवालुङ’ –किराती मुत्दुममा आधारित पवित्र ढुंगा) आन्तरिक पर्यटनसँग जोड्नु पर्ने धारणा राखेका छन् ।
किरात समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गाँसिएको खुवालुङलाई थप संरक्षण गर्नुपर्ने धारणा राखेका हुन् । यसलाई नहटाउन र इतिहास र संस्कृतिप्रति सम्मान गर्न उनले आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा योगेश भट्टराई ह्याण्डलबाट ट्वीट गर्दै उनले सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किरात समुदायको अभिन्न अङ्ग भएको बताए ।
उनले लेखेका छन्ः
सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको ईतिहास र सन्स्कृतिसँग अभिन्न रुपमा गासिएको छ । यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गरौ । नहटाउं, ईतिहास र सन्स्कृतिप्रति सम्मान प्रकट गरौ ।
भ्रम छरेको आरोप
भट्टराईले ट्वीट गरेपछि उनको विचारमा मिश्रित प्रतिक्रिया आएको छ । रमेश फुयाल हेण्डलले नेपालको सभ्यता र संस्कृतिको सम्मान हरेक नेपालीले गर्न जरुरी छ भन्ने प्रतिक्रिया दिएका छन् । नेपाली ह्याण्डलबाट भट्टराईलाई भ्रम छरेको आरोप लागेको छ । प्रतिक्रियामा भनिएको छ, ‘कति भ्रम छर्दै हिन्ड्छौ । कहि निर्ण भएको छैन ।’
केशव अर्यालले प्रतिक्रिया गर्दै लेखेका छन्ः ‘आर्यघाट’ पनि हाम्रो सभ्यता, इतिहास, परम्परा हो, त्यहाँ बेला न कुबेला राष्ट्रगान गाउनुपर्ने उर्दी किन जारी गरेको मन्त्री हुँदा ?
केही ह्याण्डलले सामान्य समस्यामा यत्ती ठूलो राजनीतिक बहन नगर्नुस् भनेका छन् ।
सप्तकोसीमा नदीमा जेटबोट चलाउन त्यहाँका ढुंगाहरु बाधक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका ढुंगा फुटाउने अभिव्यक्ति दिएका थिए । उनको घोषणा पछि स्थानीय स्तरमा खुवालुङ विवाद चर्किएको छ । सरकारका पक्षबाट स्थानीय उपभोक्ता समिति गठन गरी त्यहाँका ढुंगा फुटाउन उपभोक्ता समिति समेत गठन गरिएको छ ।
ढुंगा फुटाउने विषय बाहिर आएपछि सप्तकोशी नदीको बीचमा रहेको खुवालुङ समेत निशानामा परेपछि किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने अधिकारवादी संघसंस्था तथा जातीय, सांस्कृतिक संघसंस्थाले वैकल्पिक बाटो अपनाउन सरकारलाई विभिन्न कार्यक्रम गरी दबाव दिइरहेका छन् । किरात राई जातिको सर्वोच्च संस्था किरात राई यायोक्खाले खुवालुङ फुटाउने सरकारी निर्णयको विरोध गरेको छ ।
फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको ढुंगा क्रेनको प्रयोग गरेर भए पनि फुटाउने घोषणा गरेका थिए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ फुटाउने आधिकारिक निर्णय नभएको बताए । उनले प्राचीन सभ्यता र संस्कृतिका विषयमा सरकार गम्भीर भएकाले विकल्पहरु सोचिरहेको बताएका छन् ।