धरान । अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको ढुङ्गा ‘खुवालुङ’ बचाउ अभियान चलाएपछि सरकारले उक्त ढुङ्गा नफुटाउने भएको छ । खुवालुङ फुटाउने चर्चा चलेसँगै किरात राई यायोक्खाले त्यसको विरोध गरेको थियो । 

गत फागुन ८ गते विराटनगरको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशीमा जेटबोट सञ्चालन गर्दा नदीका बीच–बीचमा भएका ठूला ढुङ्गाले बाधा पु¥याउने भएकाले सहजताका लागि फुटाउने चर्चा गरेका थिए । प्रम ओलीको उक्त भनाइ सार्वजनिक भएपछि किरात राई यायोक्खाको ध्यानाकर्षण भएको थियो ।

किराती इतिहास, संस्कृति, सभ्यता, आस्था, विश्वास र मुन्दुमका अध्येयताहरूले प्रम ओलीको उक्त भनाइप्रति असहमति जनाउँदै खुवालुङ बचाउन अभियान सुरु गरेका थिए । अभियान सुरु भएको बेला भाडा विवादमा जेटबोट सञ्चालक र अभियन्ताहरूबीच विवाद उत्पन्न भएको थियो ।

उक्त विवाद सामान्य भए पनि जेटबोटका स्टाफमाथि कुटपिट भएपछि प्रहरीले दिनेश राई, साजन राई, सुनिल गोले तामाङ, सन्दीप क्षेत्री, प्रल्हाद खड्कालगायतलाई पक्राउ गरेको थियो । उनीहरूको पक्राउपछि खुवालुङ विवाद झन् चर्किएको थियो ।

सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमहरूमा खुवालुङ अभियन्ता पक्राउ परेको समाचार आयो भने प्रहरीले खुवालुङ विवादमा पक्राउ नगरी कुटपिटमा संलग्नहरूलाई पक्राउ गरेको जनाएको थियो । 

यसैबीच यायोक्खाले खुवालुङ बचाउन सङ्घीय सरकार र प्रदेश सरकारसँग अनौपचारिक छलफल गरेपछि विवाद क्रमशः साम्य हुँदै आएको हो । खुवालुङ क्षेत्र भेला आयोजक समितिका संयोजकसमेत रहेका यायोक्खा सुनसरीका अध्यक्ष बलराम राईले खुवालुङ फुटाउने विषयमा उत्पन्न विवाद समाधान गर्न र खुवालुङ बचाउने बारे मुख्यमन्त्री शेरधन राईसँग अनौपचारिक छलफल यायोक्खाका केन्द्रीय समितिले गरेको बताए ।

उनले भने, ‘खुवालुङ फुटाउने भन्ने जुन तयारी थियो, त्यो तत्कालका लागि रोकिएको छ । किनकी यो हाम्रो इतिहास र आस्थाको केन्द्र भएकाले संरक्षणका लागि उपाय खोज्न प्रदेश सरकारसँग आग्रह गरेका छौं ।’

आधा दशक अघिदेखि नै वराहक्षेत्रको चतरा पुलबाट दूधकोशी र अरुण नदीमा जेटबोट सञ्चालन गर्दा खुवालुङलगायत अरू ढुङ्गाले बाधा पु¥याएको भन्दै जेटबोट सञ्चालकहरूले ती ढुङ्गा फुटाउन अध्ययन गरेका थिए ।

सरकार पनि सहजरूपमा जेटबोट सञ्चालनका लागि नदीका ठूला ढुङ्गा फुटाउन सहमत भएको थियो । यसैबीच  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ फुटाउने निर्णय कतै पनि नभएको ब्लाष्टलाई बताए । खुवालुङबारे विवाद चर्किएपछि मुख्यमन्त्री राईले भने, ‘खुवालुङ विवाद अचानक निकालियो ।

कसले के स्वार्थ पूरा गर्न यो विवाद निकाले मलाई थाहा भएन । तर, खुवालुङ किराती इतिहास, सभ्यता र संस्कृतिसँग जोडिएकाले फुटाउने भन्ने कुरै उठ्दैन ।’ उनले किराती मुन्दुम र संस्कृतिसँग जोडिएको खुवालुङको संरक्षणमा आफू लागेको बताए ।

उनले भने, ‘जेटबोट सञ्चालनमा बाधा पुर्याउने नदीका ढुङ्गा हटाउनेबारे अध्ययन गरिएको हो । त्यसमा खुवालुङ पनि पर्छ । तर, यसलाई नचलाई कसरी जेटबोट सहजरूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विकल्पबारे पनि यायोक्खासँग अनौपचारिकरूपमा थप छलफल हुँदैछ ।