बाल्यकालमा कोप्पा, कोकुहरू (बाजे,बजू) हरूले रैछाकुले, तयामा, खियामा (आदिम किराती पुर्खाहरू), महादेव र दैत्यको कथा खुबै सुनाउनुहुन्थ्यो । धमिनी तिम्मा (बडीआमा), माइलाबाबै (काका) नछुङ (धामी) बस्दा कोकुमापिरिमा (किराती आदिम बूढेनी) उच्चारण गर्नुहुन्थ्यो । गाउँमा धामी बस्दा बाबैहरू कर्छरिपा (धामीको सहकर्मी) हुनुहुन्थ्यो । उहाँहरूले धामी मुन्दुमको माध्यमबाट उकालो ओरालो (अभौतिक, आत्मिक यात्रा) गर्ने कुरा सुनाउनुहुन्थ्यो । 

पछि जानकेम्मा तिम्मा नछुङ निस्किनुभयो । तिम्मा धामी बस्दा कर्छरिपाको भूमिका लिँदा नछुङ बारे जानकारी भयो । धामी, धमिनीहरू उकालो जाँदा माथिमाथि कैलाश र उँधो झर्दा खुवालुङसम्म झर्ने गर्दछन् ।

बाल्यकालमा चतरानजिकै खुवालुङ छ भन्ने सुन्थ्यौं । धामीहरू सप्तकोशी तर्दा नाउ खियाएको शिली (अभिनयजस्तो देखिने) टिप्छन् । 

२०७७ फागुनको दोस्रो साता खुवालुङको चर्चा एक्कासि चुलिएर आयो । नेपालमा मात्र होइन, विश्वका विभिन्न मुलुकमा रहेका किराती (राई, लिम्बू, याक्खा, सुनुवार) समुदायले सामाजिक सञ्जालहरूमार्फत् खुवालुङको चिन्ता र खबरदारी गर्न थाले । सबैको आशय एउटै थियो, खुवालुङ भत्काउन पाइँदैन । धेरैको आक्रोस पनि छ । सामाजिक सञ्जालमा मात्र होइन, आम सञ्चार माध्यमहरूमा जताजतै खुवालुङ छाएको छ ।  

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो समूहको फागुन ८ गते भएको विराटनगरको आमसभामा स्टिमर (जेटबोट) चलाउन समस्या हुँदै आएकोले एउटा ढुङ्गा क्रेन लगाएर फुटाउन लागिएको मन्तव्य दिएका थिए ।  

यद्यपि खुवालुङ फुटाउन टेण्डर लागेको थाहा पाएर माघ १ गते नै किरात राई यायोक्खा सुनसरी जिल्ला अध्यक्ष बलराम राईको संयोजकत्वमा खुवालुङ संरक्षण समिति गठन भइसकेको थियो । खुवालुङ फुटाउन त्यहाँ पु¥याएको जेसिबी लगायतका मेसिनहरू स्थानीयले फर्काएका थिए । 

प्रधानमन्त्रीको अभिव्यक्तिपछि खुवालुङको विश्वव्यापी चर्चा मात्र चलेन, त्यहाँ पुग्ने, दर्शन गर्ने क्रम दिनदिनै बढिरहेको छ । किराती समुदायका युवा, विद्यार्थी, कवि, कलाकार, पत्रकार, नाटककार, साहित्यकार आदिले खुवालुङ पुगेर केही न केही कार्यक्रम गर्दै आएका छन् । 

२०७७ फागुन २१ र २२ गते सुनसरीको रामधुनी–७ (इमानसिंह चेम्जोङ ताल)मा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेश भेलामा खुवालुङ बहसको विषय बन्यो । 

घोषणा–पत्रमार्फत् खुवालुङ नफोड्न सरकारलाई खबरदारी भयो । किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, यो कलमी अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नवीन राई, विशाल कोयु राई, मोरङ जिल्ला अध्यक्ष नरहाङ राईलगायत ५१ जनाको टोली खुवालुङ पुगेर यायोक्खाको झण्डा गाड्ने काम ग¥यो । खुवालुङ तोडफोड नगर्न खबरदारी र चेतावनी दिनेको सङ्ख्या दिनदनै बढ्दै गएको अवस्था छ । 

के हो खुवालुङ ?

‘खुवालुङ’ को शाब्दिक अर्थ किराती समुदायले बोल्ने भाषामा ‘पानीमा भएको ढुङ्गा’ भन्ने हुन्छ । अधिकांश किरातीहरूले ‘ढुङ्गा’ लाई ‘लुङ’ र ‘पानी’ लाई ‘वा, चावा’ भन्ने गर्दछन् । तर, सप्तकोशीमा भएको ‘खुवालुङ’ फगत् पानीमा भएको ढुङ्गा मात्र होइन । किराती समुदायको सांस्कृतिक धरोहर हो । खुवालुङ किरातीहरूको मिथकसँग जोडिएको छ । किराती मुन्दुम (धर्म दर्शन) सँग जोडिएको छ खुवालुङ । खुवालुङ किराती समुदायको साझा सांस्कृतिक केन्द्र र किराती पुर्खाहरू छुट्टिँदाको सिमाना ढुङ्गा हो ।  

कथाअनुसार परापूर्वकालमा किराती पुर्खाहरू पूर्वी तराईदेखि पहाडतिर कोशीको तीरैतीर जाँदै थिए । खुवालुङ भएको स्थानमा पुग्दा अदृश्य शक्तिले बाटो छेक्यो । ढोका बन्द भयो । बुसुरु नाम गरेका पुर्खाको टोलीलाई आपत आइलाग्यो । बुसुरुले उपाय रचे । जुरेली चरा समाएर मुन्दुम फलाक्दै बाटो खोलिदिन अनुरोधसहित भोग दिएपछि खुवालुङ खुल्यो ।

बुसुरुको टोली नदी पछ्याउँदै उकालो चढ्यो । ढोका फेरि बन्द भयो । पछि आएका छछप्पाले बुसुरुलाई सोधे, ‘कसरी ढोका खुल्यो ?’ बुसुरुले रगत चढाएपछि खुवालुङ खुलेको सुनाए । छछाप्पाले बाहिनीको खुट्टाको कान्छीऔंला काटेर रगत चढाए । खुवालुङ खुल्यो । त्यसपछि ढोका सधैँको लागि खुलेको कथा छ ।

ढोका त खुल्यो । तर, छछाप्पाको बहिनीको औंलाको रगत रोकिएन । हिँड्दै जाँदा खुवालुङ खुलाउन औंला काटिएको चेलीको दुःखद् निधन भयो । 

मुत्यु हुनुपूर्व बाटोमा औषधि गर्ने क्रममा केराको पातमा बिरामी चेलीको रगत खस्यो । रगत लत्पतिएको घाँस बाख्राले खायो । चेलीको रगत लत्पतिएको घाँस खाएको देखेपछि किरातीहरूले बाख्रा (खसी, बोका) को मासु खान छाडेका हुन् । अधिकांश किराती समुदायले खसी, बाख्राको मासु हालसम्म खाँदैनन्, खान हुँदैन भन्ने मान्यता छ । 

युवायुवतीले खसी, बोकाको मासु खाए पनि पितृ (चुला, माछाकुक्मा) राखिसकेपछि वा घरको मुल्की भइसकेपछि खाएमा बिसाउँछ वा बिरामी हुन्छन् । यसरी छछाप्पा, वाछप्पालगायतको टोली नदी पछ्याउँदै पहाडतिर लागेर रस्तीबस्ती बसाएको मिथक छ । 

अर्को कथाअनुसार मुकुबुङ, हर्कबुङ, रिब्लबुङ तीन दाजुभाइ क्रमशः जेठा, माइला र कान्छा थिए । दुई दाजुभाइको टोली पहाडतिर लागे पनि कान्छा रिब्लबुङ उकालो आउने क्रममा खुवालुङ पुग्दा दाजुहरू कता गए पत्ता पाएनन् । फर्केर तराईतिरै झरे । रिब्लबुङको सन्तान थारु, धिमाल, दनुवार, कोच, मेचे भए भन्ने कथा छ । 

राई, लिम्बू, याक्खा, सुनुवारलगायत जात विभाजनअघि पुर्खाहरू नदी–खोला पछ्याउँदै पहाडतिर लाग्ने क्रममा खुवालुङबाट छट्टिएका थिए । पुर्खाहरू बिछोडिएको सम्झनाको रूपमा पनि खुवालुङको महत्व रहेको छ ।   

सामाजिक रूपले अध्ययन गर्दा राई, लिम्बू, याक्खा र सुनुवार समुदायको बस्ती  कुनै न कुनै नदी आसपासमा विकास भएको पाइन्छ । तमोर आसपासमा लिम्बू, अरुण, पिखुवा खोलामा बान्तावा, याक्खा, याम्फूहरू, लिखुखोलामा सुनुवार, दूधकोशी थुलुङ, साप्सुखोला आसपासमा चाम्लिङभाषी राईहरूको विकास भएको पाइन्छ । सम्पूर्णभाषी किराती समुदायको मूल थलो कुनै न कुनै नदी, खोलाहरूमा भएको पाइन्छ । विकासक्रमलाई हेर्दा पनि किराती पुर्खाहरू नदी, खोला पछ्याउँदै पहाड लागेको कुरा पुष्टि हुन्छ । 

खुवालुङको अर्को महत्व मुन्दुममा व्याख्या हुनु र मुन्दुमी (धामी) हरूको शक्ति आर्जनको स्रोत पनि हो । परापूर्वकालमा पूर्वी पहाडीक्षेत्रमा किरातीहरूको एकल बसोबास थियो । त्यसबेला समाजको नेतृत्व नछुङ, नाक्छो, फेदाङ्मा (धामी) हरूले गर्दथे । किराती समुदायको जन्मदेखि मृत्युलगायतका संस्कारमा धामी आवश्यक पर्दछ । 

धामी सामासर्दम (धामी बस्दा आवश्यक सामग्री) सहित थान थापेर मुन्दुम फलाक्न थालेपछि भौतिक रूपमा एकै स्थानमा बसेको देखिए पनि मुन्दुमको शक्तिले उँधो, उँभो (अभौतिक, आत्मिक यात्रा) गर्दछन् । कोही नदी, खोलैखोला त कोही डाँडा पहाड हुँदै यात्रा गर्छन् । 

नछोङ, नाक्छो, फेदाङ्माहरू चिन्ता (धामी) बस्दा पितृदेव (कोकुमा पिरिमा), धारा पँधेरा, सिमेभूमे, सिकारी, देउराली हुँदै उँभो (उत्तर) मा कैलाशसम्म र उँधोमा खुवालुङसम्म आएर शक्ति आर्जन गर्दछन् । उँधो झर्दा खुवालुङ हुँदै थारुवाजु भन्ने स्थानसम्म पुग्छन् । थारुवाजुमा थारु दाजुभाइहरूसँग भेटेर फर्किने चलन छ । 

मुन्दुम किराती समुदायको श्रुति, स्मृति र मौखिक परम्परामा आधारित धर्म तथा जीवन दर्शन हो । मुन्दुमलाई दन्त्यकथा, लोककथा, थुथुरीवेद पनि भन्ने गरिन्छ । यसको अर्थ हालसम्म मुन्दुम व्यवस्थितरूपमा लिपिबद्ध छैन ।  चिन्ता (धामी) बस्दा नछुङ, फेदाङ्माले ढ्याङ्ग्रो, थालको तालमा मुन्दुम फलाक्दै शक्ति आर्जन गर्ने र बिरामीलाई झारफुकदेखि दिवङ्गत आत्मालाई बाटो देखाउँदै टुङ्गो लगाउने गर्दछन् । यसरी मुन्दुममा खुवालुङको प्रसङ्ग उल्लेख छ । 

मुन्दुम र धामी संस्कार मानव समुदाय जङ्गली (फिरन्ते) अवस्थादेखि नै सुरु भएको मानिन्छ । समाज १० हजार वर्षअघि कृषियुगमा प्रवेश गरेसँगै मुन्दुम र मुन्दुमी (धामी) संस्कार पनि परिष्कृत भएको पाइन्छ । धामीहरू भौतिकरूपमा नपुगे पनि उँधोमा खुवालुङ, थारुवाजु र उँभोमा वापाचुङ, तेर्पाचुङ, शाल्पा, कैलाश हिमालय हुँदै नियामासम्म पुग्दछन् । 

खुवालुङ कहाँ छ ?

मुन्दुममार्फत् बारम्बार पुगिने खुवालुङ ढुङ्गा भौतिकरूपमा उदयपुरको बेलका र धनकुटाको सहिदभूमि गाउँपालिकाको सिमाना भएर बग्ने सप्तकोशी नदी (पानी)को बीचमा छ । उक्त स्थान तमोरको दोभानसँग जोडिएको र नजिकै अरुण छ । त्यो क्षेत्रलाई सप्तकोशी, तमोर र अरुणको त्रिवेणी क्षेत्र पनि भनिन्छ । दक्षिणमा सुनसरीको वराहक्षेत्र चतरा र उत्तरमा भोजपुरको हतुवागढी गाउँपालिका रहेको छ । 

खुवालुङ पुग्न वराहक्षेत्रको पक्की पुल (उदयपुर–सुनसरी जोड्ने) देखि जेटबोट(जलयात्रा) मा चढेर जाँदा करिब १६ मिनेट (एकतर्फी) को दूरीमा पर्दछ । खुवालुङ पुगेर चतरा पुलमा ल्याउन जेटबोटमा (२०७७ सालमा) प्रतिव्यक्ति ६ देखि ८ सयसम्म भाडा लाग्दछ । 

कस्तो छ, खुवालुङ ? 

खुवालुङ सांस्कृतिक महŒव बोकेको विशाल ढुङ्गा हो । यो सप्तकोशी नदीको ठीक बीच भागमा रहेको छ । खुवालुङको अधिकांश भाग पानीभित्रै छ । माथिल्लो भाग मात्र पानी बाहिर रहेको छ । माथिल्लो भाग पनि वर्षको करिब ६ महिना (हिउँदमा) मात्र देखिन्छ । 

वर्षा लागेर पानीको सतह बढेपछि ६ महिना जति पानीभित्रै हुन्छ । खुवालुङ ६ महिना पानीबाहिर र अर्को ६ महिना पानीभित्रै हुन्छ । 

देखिने सिजनमा पनि खुवालुङको शिरमा सप्तकोशीको विशाल छालले हानिरहन्छ । जति पानीको फोहराले प्रहार हान्छ उति आनन्दसँग सुतिरहेको महसुस हुन्छ । किराती संस्कृतिसँग जोडिएको खुवालुङ नदीको बीचमा भएकाले लाखौं वर्षदेखि मानवले छुन पाएका छैनन् । परैबाट दर्शन गर्नुपर्ने हुन्छ । 

किरातीहरू पितृ, प्रकृति अर्थात् सिमेभूमे, खोला, नदीलाई पुज्ने गर्दछन् । प्रकृतिलाई खुसी बनायो भने मानव जातिलाई सुब्बेफाब्बे (राम्रो) हुन्छ भन्ने विश्वास छ । दुःख बिराम हुँदा, आपत विपत आइपर्दा खुवालुङ सम्झिने, तीन चुला (माखोलुङ, पाखोलुङ, सिक्तेला सामेला) को खरानीको टीका लगाउँदा रक्षा हुने विश्वास गर्दछन् । 

सम्भावनाको खानी खुवालुङ

किरातीहरूले खुवालुङ पुग्नासाथ सिक्का (ढ्याके पैसा) चढाउँदै शिर निहु¥याएर श्रद्धाभाव प्रकट गर्छन् । नदीहरूको त्रिवेणी अनि मुन्दुम दर्शनमा वर्णित श्रद्धा र भक्तिभावले भरिपूर्ण खुवालुङ मास्ने, भत्काउने त कल्पनासम्म गर्न मिल्दैन । बरु त्यहाँ पुग्न अझ सहज बनाउन जलमार्ग मात्र होइन, नदीको पूर्व– पश्चिमतर्फ सडक विस्तार गर्नुपर्ने देखिन्छ । खुवालुङ सांस्कृतिक पर्यटकीय क्षेत्रको सम्भावना देखिन्छ । 

सप्तकोशीमा केही वर्ष अघिदेखि निजी कम्पनीहरूले जेटबोट चलाउँदै आएका छन् । अहिले सुनसरीको वराहक्षेत्र चतरादेखि भोजपुरको हतुवागढी कोप्चेसम्म जलयातायातको रूपमा जेटबोट चल्दै आएको छ । यो करिब १५–२० मिनेटको जलयात्रा हो । 

बोट चलाउने कम्पनीहरूले जेटबोट सङ्खुवासभाको तुम्लिङ्टार र काभ्रेको दोलालघाट (काठमाडौंदेखि ५६ किमी पूर्व) सम्म जलयात्रा गराउन सकिने निष्कर्षका साथ पहल गर्दै आएका छन् । त्यसका लागि नदीको बीचमा भएका अवरोधहरू हटाउनु पर्ने हुन्छ । खुवालुङ हटाउने प्रसङ्ग यहीँबाट आएको हो । 

हाल १६ र ४० जना क्षमता भएका बोटहरू चल्दै आएका छन् । १६ जना क्षमता भएको बोट भोजपुरको हतुवागढीसम्म पुग्दछ भने ४० सिटवाला खुवालुङ नजिकसम्म मात्र पुग्दछ । 

यायोक्खाको टोली पुगेर अवलोकन गर्दा खुवालुङ बचाउन प्रशस्त विकल्पहरू देखियो । खुवालुङ पूर्व वा पश्चिमतिरबाट पानीको बहाव डोल्याएर जलमार्ग खुलाउन सकिन्छ । हुन त खुवालुङको भित्री भाग ३० मिटर चौडाइमा रहेको प्राविधिकहरूको भनाइ छ । सांस्कृतिक धरोहरको रूपमा रहेको खुवालुङ सहमति जुटे प्रविधि प्रयोग गरेर दायाँ–बायाँ सार्न पनि सकिने अवस्था छ । 

अहिले खुवालुङ बचाउ अभियान लिएर सात, आठ सयभन्दा बढी मानिसहरू त्यहाँ पुगेका छन् । खुवालुङ पुग्न सबैले जेटबोट चढ्नै पर्छ । चतरा पुल नजिकको होटलहरूमा व्यापार बढेकै हुनुपर्दछ । खुवालुङ बचाउन आन्दोलन भनौं वा दर्शनको लागि वार्षिकरूपमा केही हजार मान्छे पवित्र पानीढुङ्गा (खुवालुङ) दर्शन गर्न पुग्छन् नै । 

अब राज्य वा निजी कम्पनीहरूले खुवालुङ फुटाउने कल्पना होइन, लाखौं लाख वर्षदेखि सुन्न, हेर्न मात्र पाइँदै आएको खुवालुङ लगानी गरेर छुन र फूल चढाउनसम्म सक्ने बनाइदिए वर्षमा लाखौं मानिसहरू त्यहाँ पुग्दछन् । प्रस्तावित किरात प्रदेशको सबैभन्दा ठूलो सांस्कृतिक पर्यटकीय गन्तव्य बन्न सक्ने विशाल सम्भावना देखिन्छ । 

चार किरात संस्थाको भूमिका आवश्यक 

राई, लिम्बू, याक्खा, सुनुवार समुदायको साझा संस्था छ, चार किरात संस्था । खुवालुङको भावी सम्भाव्यताको अध्ययन गर्दै यिनै संस्थाले नेतृत्व लिनुपर्ने अवस्था आएको छ ।

खुवालुङ चर्चामा आएसँगै विषयसँग जोडिएर आफ्नो प्रचार गर्ने, यही बहानामा अरूलाई गालीगलौज वा प्रहार भइरहेको पनि देखिन्छ । आफू अनुकूल व्याख्या गर्ने, संस्थागत फाइदा बेफाइदाको रूपमा खुवालुङको प्रचार हुन थालेको छ । 

असल र पवित्र भावनाले खुवालुङ बचाउनु पर्छ भनेर चासो, चिन्ता गर्दै त्यहाँ पुग्ने सबैलाई सम्मान गर्नुपर्छ नै । खुवालुङको बहानामा अनावश्यक दोषारोपण र आफ्नो प्रचार गर्ने प्रचलनको न्यूनीकरण गर्नु आवश्यक छ । 

खुवालुङले राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायको साझा भावनाको प्रतिनिधित्व गर्छ भने चार किरात संस्थाले अन्य संस्थाहरूसँग समेत छलफल चलाएर यो क्षेत्रको संरक्षण र दीर्घकालीन विकासमा लाग्नु आवश्यक छ । 

(लेखकः किरात राई यायोक्खा, केन्द्रीय सचिव र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, फोनिज १ नम्बर प्रदेशका अध्यक्ष हुन् ।)

ssffifewf