दुई देशीय सीमाको सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले मोरङमा बोर्डर आउट पोस्ट (बीओपी) को संख्यामा वृद्धि गर्दै लगेको छ । 

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने र सीमामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने सरकारको नीति अनुरुप नयाँ बीओपी थप गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेल जानकारी दिए । 

६३ दशमल ४ किलोमिटर खुला सिमाना रहेको मोरङ जिल्लामा पछिल्लो पटक आइतबार तीनवटा बीओपी एकैसाथ उद्घाटन गरिएको छ । मोरङको सिक्टी, धनापट्टि र मिर्चाडाँगी नाकामा स्थापना भएपछि मोरङमा बीओपीको संख्या जम्मा ११ पुगेको छ । 

थपिएका सबै युनिटमा प्रहरी नायव निरीक्षक (सइ)को नेतृत्वमा टोली खटाइएको छ ।

सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले संयुक्त रुपमा बीओपीको उद्घाटन गरे ।

भारत र चीनसँग सीमा जोडिएका नाकामा चालू आर्थिक वर्षभित्र एक सय १४ वटा बीओपी थप गरी मुलुकभर दुई सय २१ वटा पुर्याउने सरकारी लक्ष्य थियो । 

पहिलो चरणमा प्रदेश १ मा नयाँ २२ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेका छन् । प्रदेशमा थपिएका सहित जम्मा बीओपीको संख्या ५१ पुगेको छ । जसमा भारततर्फ ४९ र चीनतर्फ दुईवटा रहेका छन् ।

सिक्टी बीओपी सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न संसद् विकास कोषबाट १० लाख तथा सुनवर्षी नगरपालिकाबाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको एसपी पौडेलले जानकारी दिए । 

स्थानीय समाजसेवी बाजुदिन आलम, मनताज आलम तथा कफिर आलमले बीओपीका लागि १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । 

राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतंकवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्र प्रहरीको प्राथमिकतामा छन् । 

लागूऔषधको ओसारपसार, जडिबुटी तथा वनपैदावारको ओसारपसार, मानव बेचबिखन, मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्रले निगरानी गर्दै आएको छ ।